arrow

फ्ल्यासब्याकः आवारा हुँ 

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० वैशाख ९ शनिबार
article-aawara-huh-krishna-sharma.jpg

हामीले सपना देख्न सिक्यौँ भने ढिलो चाँडो सत्य पनि भेट्टाउन सक्छौं – अगष्ट केकुले । ‘ओल्ड ह्याबिट्स डाइ हार्ड’ भने जस्तै काठमाडौंमा स्नातकोत्तर गर्दाका बखतसम्म पनि मलाई बुटवल हुँदाको आवारगीको धङधङीले छोडेको थिएन ।

केही वर्ष अघिमात्र भित्रिएको प्रजातन्त्रले गुलाबी कार्पेट बिच्छ्याइदिएको राजधानी शहरमा शायद म अझ बढी स्वतन्त्र आवारा बन्ने क्रममा थिएँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भने जस्तै म त्यो एतिहासिक उपत्यकामा छरिएका सपनालाई समात्न भनी आएको थिएँ । 

राजधानी शहरमा चल्ने जीवनको गाडी यति तीव्र गतिमा थियो कि सबै कुराहरु छुटेको प्रतीत हुन्थ्यो । तर साँझपख जब म कट्टुको पसलमा छिर्थेँ तब जीवन आफ्नै गतिमा रहेछ जस्तो लाग्थ्यो ।

हुन सक्छ पत्रकार विजयकुमार पाण्डेले सत्ताको चोर औँला समातेर बालुवाटार छिरेपछि होश हटुन्जेल पिउँदै गर्दाको रात म शंकरदेव क्याम्पस पछाडिको त्यो पुतलीसडक छेउँको नीलो पर्दावाला पसलमा नशा नचढ्दै गिलासको रक्सी अनि खल्तीको पैसा सकिएकोमा दुःख मनाउ गर्दै झोँक्राएर बसेको हुँदो हुँ । 

या फेरि स्यामुअल बेकेटका नाटक, जाँ पाल शार्त्रका निबन्ध, अल्बेयर कामूका उपन्यास अनि गरिबका लागि ठडिँदै गरेका राजधानी शहरका असमान कहरहरुले शून्य भन्दा पनि तल कतै धकेल्न खोजिरहेको पीडालाई लुकाउने ठाउँ खोजिरहेको हुँदो हुँ । 

जीवन सबैले खोजेजस्तो राजपथदेखि भद्रकालीसम्म पुग्ने बाटो जस्तो चौडा र सोझो थिएन । म नपिएका बखत भक्तपुरका साँगुरा गल्लीहरुमा
दिउँसै  हराउँदा हतास हुन्थेँ । तर पिएपछि सबै डराउने त्यो थापाथलीबाट कुपन्डोल जाने काठको कालो पुलमा बस्ने भूतसँग मध्यरातमा हिँड्दा पनि डराउन्नथेँ । 

माफ गर्नु होला तर त्यति बेलाको सत्य यही थियो कि मैले गल्लीमा हराउँदा हतास हुने आफूलाई भन्दा बढी मध्यरातमा पनि साथ दिने
रक्सीलाई माया गर्थेँ । 

यस्तै थियो साथी मेरो हाल । गरिबीले मेरा बाध्यताहरुको लिस्नोमा चढेर मेरो चुत्थो जीवनको इहलीला समाप्त गरिदिन धेरै पटक कोसिस गरेको थियो । तर म कसो कसो बाँच्दै उम्कदै गरेको अवस्था थियो ।

यता मेरो आवारगीले मलाई सम्पूर्ण रूपमा आवारा नबनाउँदै स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाको मिति प्रकाशित गर्दै गर्दा बुटवलमा योग्य वर
भेटिएकाले बहिनीको बिहे तुरुन्तै गरिदिनु पर्ने प्रस्ताव आयो । म बुटवल गएँ । 

बहिनीको बिहे सम्पन्न भएपछि काठमाडौं फर्कंदै गर्दा हजुरआमा दुर्घटनामा पर्नुभयो । हजुरआमाको स्वास्थ्यमा सुधार आएपछि काठमाडौँ
आउँदा परीक्षा शुरु हुन दुई दिन मात्रै बाँकी थियो । 

गरिबीमे आँटा गिलाः
आवारगीले रक्सी नपिलाएकोमा मसँग कट्टि गरेको अवस्था थियो । काठमाडौँ झरेपछि म के हुँदै थिएँ स्वयम्लाई थाहा थिएन । रात्री बसमा फर्कंदै गर्दा मैले तयारी नपुगेको त्यो पहिलो विषय भने त्यस वर्षका लागि स्थगित गर्ने निधो गरेको थिएँ । 

डेरामा पुग्दा साथ प्रविणता प्रमाण पत्र तह देखिको धेरै नै मन मिल्ने साथी बुद्धराज न्यौपाने मलाई भेट्न आयो । 

मेरो कुरा अनि हतासपनलाई महसुस गरेपछि उसले भन्यो, ‘परीक्षामा सामेलै नहुने कुरा चाहिँ गर्दै नगर । हद होला, फेल हौला । सो व्हाट...? यु वोन्ट डाइ ! सन वोन्ट स्टप राइजिङ फ्रम द इस्ट ! यु विल स्टिल फिल हंगर फर लाइफ ! एन्ड आइ बेट, गर्ल्स वोन्ट मुभ फर्वार्ड विदाउट लुकिङ एट यु सिन्स यु आर सो डार्न गुड लुकिङ योंग म्यान ! सो ... डन्ट एक्ट सिली विथ योरसेल्फ !’

उसले मलाई ढाडस दिएर गएको अर्को दिन बिहान ११ बजे परीक्षा थियो । मैले ढोका बन्द गरेर पुस्तकहरु खोजेँ । सात वटै अंग्रेजी नाटकका ती साना ठूला पुस्तकहरु टेबलमा राखेपछि मन झनै हतास भयो । 

सबै कुरा पर्याप्त थियो शिवाय पढ्ने समय । ढोका खोलेर भान्सामा गएँ अनि पानी पिएर फर्किएँ । आँखाले बिस्ताराको सिरानीमा गाढा नीलो रंगमाथि सेतो अक्षरले लेखेको ‘क्लिफ्स नोट्स अन ड्रामा’ देखेँ ।

बुद्धराजले मेरो लागि सुटुक्क छोडेर गएको रहेछ । सर्सरति पाना पल्टाउँदै गएँ । अंग्रेजीमा त्यस्तो पढाइलाई ‘स्किमिङ’ भन्छन् । 

स्किमिंग गर्दा पनि मलाई त्यो नोट्सको अन्तिम पेजसम्म पुग्न करिब चार घण्टा लागेको हुनुपर्छ । थाकेको थिएँ । बिहानको २ बजेतिर म भुसुक्कै निदाएछु । तपाईले नपत्याउन पाउनु हुन्छ । त्यो तपाईको नैसर्गिक अधिकारको कुरा हो । तर सत्य यही हो कि त्यस रात मेरो सपनामा बुद्धराज आयो र सबै नाटकहरुको बारेमा संक्षिप्त जानकारी गरायो । 

अनि तिनीहरुलाई कुन साहित्यिक सिद्धान्त (लिटरेरि थ्यौरी) प्रयोग गरेर समालोचनात्मक विवेचना गर्दा बढी प्रासंगिक हुन्छ भनेर सम्झायो, अनि सपनाबाट हरायो । म निद्राबाट ब्युझँदा बिहानको ८ बजेको थियो ।

यस्तो प्रकृतिको घटना मेरो जीवनमा पहिले पनि भएकाले म त्यति धेरै आश्चर्यमा परिन जति पहिलो पल्ट हुँदा परेको थिएँ । पहिलो पटकको सपनामा मेरी हजुरआमा म बिमार हुँदा आएर जानु भएको थियो ।  

त्यो सपनाले अरु केही नगरे पनि मेरो त्यस दिनको परीक्षामा सामेल हुन जाने कि नजाने भन्ने ‘ह्याम्लेटियन’ हिच्किचाहटलाई भने निकै सहजता साथ निर्णय गर्न सघाएको थियो । 

र साँच्चिकै भन्नु पर्दा त्यस दिनको परीक्षामा सोधिएका प्रश्नका सही एवं विश्लेषणात्मक जवाफ दिन पनि म सफल भएको थिएँ ।

अब यहाँ निर करोडौँ डलरको प्रश्न उठ्छः सपना कसरी देखिन्छ र यसको संकत के हो ? 

अनि यो प्रक्रियामा दिमाग र आँखाको प्रयोग वा सामन्जस्यता हुन्छ कि हुँदैन ? 

यसबारे सिग्मन्ड फ्रायड, कार्ल जंगलगायत आधुनिक मनोविज्ञानका असाधारण धुरन्धरहरुले समेत यकिन साथ केही भन्न नसकेको अवस्था हो । 

मैले त त्यो सपनाको लाभ लिने बाहेक अरु मैले केही गर्न सकेको पनि छैन । सिग्मन्ड फ्रायडका अनुसार सपना भनेको हामी सचेत अवस्थामा हुँदा सम्पन्न हुन नसकेका जिजीविषाहरुको उद्घाटन एवम् समापन हुने एउटा मन्च हो ।

म फ्रायडलाई स्वीकार्छु, सपना एक त्यस्तो नाङ्गो मन्च हो जहाँ मानिसले आफ्ना अतृप्त चाहनाहरु उर्ध्वपातन (सुब्लिमेशन) भएको देख्छ र त्यसबाट केही क्षणकै लागि सही तर त्राण महसुस गर्छ । सारा कला, साहित्य, संगीत आदि इत्यादि त्यो मञ्चको उत्पादन हो । 

तर आश्चर्य म यसमै छु कि त्यही सपनाले मानिसको त्यो पक्षलाई पनि सम्बोधन गर्छ जसले उसको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने क्षमता राख्छ । यतिबेला म डा. सन्तोष सापकोटालाई पनि सम्झन्छु जसले कतैबाट वाक्य सापट लिएर सजिलै अर्र्थयाउँछन्ः मष्तिष्कले नदेखेका कुरा आँखाले देख्न सक्दैनन् ।

मस्तिष्कमा भएको अप्टिकल सेन्टरले जबसम्म भिज्युअल क्लु (प्रकाश र इमेजले बनेको) को वा प्रकाशका स्टिमुलाइहरुको प्रसङ्गसहित विवेचना गर्दैन तबसम्म मानिसले देख्दैन । स्टिमुलस न्युट्रल हुन्छ ।

तर अप्टिकल सेन्टर र रिजनिङ सेन्टरको विवेचनाले हामीलाई निर्णय प्रदान गर्दछ ! चिकित्सा विज्ञानको गहन अध्ययन र पेशागत जीवनको कटु अनुभवबाट खारिएको आधारमा आफ्ना कुरालाई निशंकोच राख्न सक्ने डा. सापकोटाको उपरोक्त कथनमा बिमति राख्ने ठाउँ सायदै होला । 

कहिलेकाहिँ अप्टिकल सेन्टर र रिजनिङ सेन्टरबीच सम्पर्क स्थापित हुन नसक्दाका क्षणहरु सम्झौं त ! जस्तै– तपाईले आँखा खुलै राखेर दिउँसै प्रेयषीलाई सम्झी टोलाएका बखतमा आफ्नो अगाडि आउँदै गरेकी साक्षात् मातालाई देख्न सक्नु हुन्न । 

‘हेर हेर, उल्लाइ सम्झेर टोलाएको’ भनेर उहाँले जिस्क्याएपछिमात्र तपाईको ‘हाइपोथ्यालामस’ र ‘सेरेब्रल कर्टेकस्ट’ को रिजनिङ सेन्टरले काम गर्न थाल्छ अनि त्यसपछि मात्र तपाईले दृष्य र सूचनाबीच सामन्जस्यता भएको महसुस गर्न थाल्नुहुन्छ ।

तर के यो सब अन्य अवस्थामा पनि लागु हुन्छ ? केही वर्षअघि बीबीसीले जन्मनुअघि नै दृष्टि गुमाएर बाँच्न बाध्य मानिसले कस्तो प्रकारका सपना देख्छन् भनी एक अध्ययन गरेको थियो । 

उक्त अध्ययनले त्यस्ता मानिसहरुले अनुभव, संस्कृति, अवस्था र ब्यक्तित्वको आधारमा सपना देख्ने कुराको रहस्योद्घाटन गरेको थियो । उनीहरु भातको स्वादको सपना देख्न सक्छन् । तर चामलको सपना देख्न सक्दैनन् ।

मेरा अनन्य मित्र अमर प्रसाई भन्छन्, ‘जीवनमा आउने रोडब्लकहरुले उसको दिमागमा तनाव पैदा गरेनन् भने मानव जातिले आविष्कार गर्ने क्षमता राख्दैन र सिक्दैन ।’ 

अनि सपनाको प्रसङ्गमा उनले जर्मन वैज्ञानिक केकुलेको महान् आविष्कारको पछाडि उनले सपनामा देखेको सर्पको गोलाकार चित्रको प्रसङ्ग
सुनाए । 

मित्र प्रसाईका कुरा सुनेपछि मैले युवा अवस्थामा हल्का आवारा भई त्यो अमूल्य समय खेर फालेकोमा त्यति दुःख मान्न छोडेको छु । 

जीवन भनेको आखिर निजी, स्वतन्त्र, प्राकृतिक शक्ति र अन्य अवरोध शक्तिहरु बीचको द्वन्द्वै–द्वन्द्वहरुको श्रेणी पनि त हो रहेछ । आवारा हुँदा जे कुराको स्वतन्त्रता खोजिन्थ्यो, सामाजिक परिवेशले फेरि लक्ष्मणरेखा कोरि हाल्थ्यो !
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ