arrow

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ४ बिहिबार
shamsher-miya-haz-committee-nakkali-bhutani.jpg

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । फरार रहेका उनलाई आज बिहान १० बजेतिर काठमाडौंबाट पक्राउ गरेको हो । 

उनीसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ । 

अझै दुई जना फरार रहेका छन् ।  एमाले उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतिक थापा र इन्द्रजित राईका छोरा निरज राई फरार सूचीमा रहेका छन् । उनीहरुलाई प्रहरीले खोजी गरिरहेको छ । यसअघि पक्राउ परेका १४ मध्ये १३ जनाको बयान लिइसकिएको छ । 

बिचौलियाले पीडितबाट उठाएको रकम ओसार्न मियाँको गाडी प्रयोग गर्ने गरेका थिए । 

प्रहरीले उनको गाडी यसअघि नियन्त्रणमा लिइसकेको छ ।

मियाँको समेत गिरोहसँग निकटता देखिएपछि उनी प्रहरीको सम्पर्कबाहिर थिए । 

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १४ जनाको मुद्धा शुक्रबार–आइतबार सरकारी वकिलको कार्यालयमा बुझाउने भएको छ । 

बुधबार थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएसँगै सकेसम्म शुक्रबार नत्र आइतबार सो मुद्धा बुझाउने प्रहरीले जनाएको छ । ‘हामी सकेसम्म शुक्रबार नै मुद्धा पठाउनेछौँ नत्र आइतबार पठाइनेछ’, जिल्ला प्रहरी परिसर काठमाडौँमा एक अधिकारीले भने । 

पक्राउ परेका १४ जनामाथि अनुसन्धान गर्न अदालतले थप तीन दिनको म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएसँगै उनले अब केही दिनमै मुद्धा बुझाउने पनि जानकारी दिए । 

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार अहिलेसम्म १३ जनासँग बयान लिने काम सकाएको छ । अब पूर्वसभासद आङतावा शेर्पासँग मात्रै बयान बाँकी रहेको छ ।

‘मलाई घाइते बनाएर बयान लिने ?’, आङतावाले भनेका थिए । त्यसपछि प्रहरीले बुधबार उनको बयान रोकेको थियो । 

अन्तिम समयमा हाइप्रोफाइलका आरोपीहरु पक्राउ परेसँगै प्रहरीलाई मुद्धा बुझाउन दबाब परेको थियो । समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई बुधबारसम्ममा अनुसन्धान सकाउन निर्देशन दिएको थियो । 

तर प्रमाण संकलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएपछि प्रहरीले शुक्रबारसम्मको समय लिएको हो । 

यसअघि आइतबार पूर्वगृहमन्त्री बालकृष्ण खाँडका स्वकीय सचिव नरेन्द्र केसी र पूर्वगृहसचिव टेकनारायण पाण्डेसँग बयान लिएको थियो । सोमबार टोपबहादुर रायमाझी र खाँडको बयान लिएको थियो । 

मंगलबार पनि खाँडसँगै बयान लिइएको थियो । उक्त घटनामा अहिलेसम्म खाँड, रायमाझी, पाण्डे र केसीसहित १५ जना पक्राउ परेका छन् । 

भुटानी शरणार्थी ठगी प्रकरणमा जोडिएपछि प्रहरीले नेपाली पूर्वगृहमन्त्री खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, बहालवाला सचिव ९तत्कालीन गृहसचिव० टेकनारायण पाण्डेलाई पक्राउ गरेर उनीहरुको अनुसन्धान पनि सिध्याएको छ । 

सो घटनाका आरोपी काठमाडौँको टोखा बस्ने रामशरण केसी, मोरङ घर भएका गोविन्द चौधरीसहित उक्त प्रकरणका गिरोह मानिएका केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल, सागर थुलुङ पक्राउ परेका छन् । 

शरणार्थी ठगी प्रकरणमा एक सय छ जना पीडितले उनीहरूविरुद्ध जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी गरेको आरोप लगाएका छन् । 

उक्त घटनामा अझै धेरै पीडित भएको बताइएको छ । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनभित्र थुनामा राखेर अनुसन्धान तथा अभियोजन गर्ने समय पाउँछ । 

जसअनुसार १० जेठसम्म अदालतमा अभियोजन दर्ता गर्नुपर्ने हुन्छ । अभियोजनको तयारीकै लागि सरकारी वकिल कार्यालयले प्रहरी कार्यालयबाट मुद्धा आएकै दिनदेखि काम गर्ने कार्यालयका प्रमुख अच्युत न्यौपानेले जानकारी दिए । ‘कानूनी प्रकृया र आधार हेरेर हामी अदालतमा मुद्धा पठाउने छौँ’, न्यौपानेले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ