arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ७ आइतबार
top-bahadur-rayamajhi-arrested-2080.jpg

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ। प्रहरीले पीडितहरूको बयान, उजुरी र बिचौलियाले दिएको बयान र बिचौलियाहरूबाट बरामद भएका केही टिपोटलाई आधार मानेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई पठाउने तयारी गरेको हो। 

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको विषयले ठूलै चर्चा पाएको भए पनि प्रहरीले प्रमाणित गर्ने पर्याप्त आधार र प्रमाण भने पुर्‍याउन कठिन देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिएका छन्। 

नेपाल प्रहरीले चैत १२ गतेदेखि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो। प्रकरणमा पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृह सचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरेको थियो ।यो प्रकरणमा संलग्नता पाइएकाहरूमाथि झन्डै पाँच कसुर आकर्षित हुन सक्ने अनुसन्धान अधिकारीहरूले बताए पनि उनीहरूलाई ठोस प्रमाणसहित मुद्दा बुझाउन पीडितको बयान र बिचौलियाको बयानलाई मुख्य आधार मानिएको छ । 

प्रहरीले सो प्रकरणमा हालसम्म १६ जना पक्राउ परिसकेका छन् भने अन्य २ जनाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले अनुसन्धान प्रतिवेदनमा यिनैलाई मात्र मुद्दा चलाउन सिफारिस गर्ने तयारी भइरहेको छ ।

सो अवधिमा प्रहरीले सरकारी वकिल कार्यालय हुँदै अदालतमा मुद्दा पुराउनुपर्छ । पक्राउ पर्नेमा शुरुमा ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङ थिए। त्यसको तीन दिनपछि मोरङ पथरी घर भएका ४४ वर्षीय सागर राई, दाङ घर भएका ३३ वर्षीय सन्देश शर्मा चैत २९ गते पक्राउ परेका थिए । 

वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ परेपछि भने सो घटनाले निकै चर्चा पाएको थियो। राई पक्राउ परेको भोलिपल्ट वैशाख २० गते नेपाल सरकारका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका थिए । एमाले सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भयो । वैशाख २० गते साँझ बुटवलबाट टोपबहादुरका छोरा सन्दीप पक्राउ परे । छोरा समातिएको खबर पाएका रायमाझी भने फरार रहे ।

वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परे । वैशाख २७ गते बिहान काठमाडौंको मैजुबहालबाट पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँड पक्राउ परे । 

खाँडसँगै सोही दिन उनका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परे। ११ दिन फरार रहेका टोपबहादुर रायमाझी वैशाख ३१ गते काठमाडौंबाट पक्राउ परे । गत सोमबार कांग्रेसका पूर्वसभासद आङटावा शेर्पाले आत्मसमर्पण गरे । त्यसपछि बिहीबार बिहान र साँझ गरी हज कमिटीका अध्यक्ष शमशेर मिया र भुटानी शरणार्थीका सक्कली नेता नेता टेकनाथ रिजाल नक्कली भुटानी शरणार्थी प्रकरणमै पक्राउ परे । 

अहिले यस प्रकरणमा १६ जना हिरासतमा छन् । इन्द्रजित राईका छोरा नीरज र रामबहादुर थापा बालदका छोरा प्रतीक भने फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ