- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहको अनुसन्धान प्रकरणले प्रहरीको आन्तरिक विवाद छताछुल्ल भएको छ ।
गिरोहको अनुसन्धानको जश लिने होडमा आईजीपी वसन्तबहादुर कुँवर र एआईजी श्याम ज्ञवालीबीचको विवाद अघोषित रुपमै बजारमा आएको हो ।
विगतमा आईजीपी हुन चाहेका र आईजीपी भएकाहरुको विवादमा भुटानी शरणार्थीहरुको गिरोहको अनुसन्धानमा एकले अर्काको कमजोरी खोतल्ने काम भयो ।
हाल एकै ब्याचका एक जना प्रहरी महानिरीक्षक र अर्को अतिरिक्त प्रहरी महानिरीक्षक रहेका प्रहरी अधिकृतको काम कसको बलियो भन्ने कुरा छताछुल्ल भयो ।
प्रकरणले आईजीपी कुँवर र एआईजी ज्ञवालीबीच विवाद बाहिर आएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठलेसमेत विवाद नगर्न र गुटबन्दी नगर्न भन्नु परेको थियो ।
२०७९ असार ८ गते प्रहरी नायब महानिरीक्षक बढुवाबाट शुरु भएका कुँवर र ज्ञवालीबीच शक्तिकेन्द्र नजिक बन्ने टकरावले मंगलबार बेलुकीसम्म आइपुग्दा सतहमा छरपष्ट भयो ।
त्यो बेला १२ औँ नम्बरमा रहेका कुँवर एक नम्बरमा डीआईजी बढुवा हुँदै आईजीपीमा फड्को मारे ।
ज्ञवाली भने ५ नम्बरमा डीआईजी भएका थिए । उनी त्यहाँभन्दा माथि उक्लिन पनि सकेनन्, माथि चढ्न पनि सकेनन । जसको प्रभाव र दबाब आईजीपी हुँदासम्म कायमै रह्यो ।
कुँवरले आफ्नो पहिलो नम्बरको वरियता अतिरिक्त महानिरीक्षक हुँदा कायम राखेर आईजीपीमा बाजी मार्दा ज्ञवाली भने अतिरिक्त महानिरीक्षक हुँदा एक वरियता सुधार गर्दै चौँथोमा पुगे ।
तर महानिरीक्षक दौडमा पहिलो नभइ दोस्रो मात्र बन्न सके । स्रोतका अनुसार मुख्यगरी ज्ञवालीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरी ज्वाइँ (गंगा दाहालका श्रीमान्) जीवन आचार्य र माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महरामार्फत दबाब दिएका थिए ।
गंगा अहिले प्रधानमन्त्री दाहालकी स्वकीय सचिव पनि हुन् । र आचार्य कोशी प्रदेशका मन्त्री हुन् । महरा, दाहाल र आचार्यको दबाबमा प्रचण्ड ज्ञवालीलाई महानिरीक्षक बनाउन सकारात्मक थिए ।
तर मन्त्रिपरिषद्ले निर्णय लिने दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको एउटा टेलिफोनले ज्ञवालीको महानिरीक्षक बन्ने दौडलाई पहिलो बन्न रोकेको थियो ।
‘यसैगरी सरकार चलाउनु होला, म मन्त्रिपरिषद विस्तारमा मन्त्रीहरु पठाउदिन भनेपछि प्रचण्डले बाध्य भएर कुँवरलाई आईजीपी बनाएका थिए’, स्रोतले भन्यो ।
नयाँ महानिरीक्षक नियुक्त गर्न १० चैतको अपरान्ह ४ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । प्रधानमन्त्री ज्ञवालीप्रति सकारात्मक देखिएको सूचनापछि देउवाले बिहान साढे १० बजेतिर टेलिफोन गरेका थिए ।
उपप्रधान तथा गृहमन्त्री भएर नारायणकाजी श्रेष्ठ भएर आए । त्यसपछि उनको ट्युनिङ कुँवरसँग भन्दा अतिरिक्त महानिरीक्षक ज्ञवालीसँग मिल्दै गएको छ । निकटस्थ स्रोतले राम्रो काम गरेमा बीचमै कुँवरलाई हटाएर ज्ञवालीलाई महानिरीक्षकमा बढुवा गर्न सक्ने आश्वासन पनि गृहमन्त्री श्रेष्ठले दिएका हुन् कि भन्ने शंकाको लाभ देखिएको छ ।
यसबारे आफूले प्रधानमन्त्रीलाई ‘कन्भिन्स’ गर्ने पनि श्रेष्ठले आश्वासन दिएका छन् । यति आश्वासन पाएपछि ज्ञवालीले आफ्नो काम देखाउने र महानिरीक्षक कुँवरले नेतृत्व गर्न नसक्ने तरिकाले अगाडि बढिरहेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि महानिरीक्षक कुँवरभन्दा ज्ञवाली नै हावी भएको प्रचार गरिएको छ ।
यतिसम्मकि पूर्वगृहमन्त्रीलाई नियन्त्रणमा लिने योजना प्रधानमन्त्री प्रचण्ड र महानिरीक्षक कुँवरलाई थाहै नदिइ गृहमन्त्री श्रेष्ठ र अहिले उपत्यका प्रहरी कार्यालयको प्रमुख रहेका ज्ञवालीले योजना बनाएर गरेका थिए ।
र ज्ञवालीले परम्परा विपरीत अपराध अनुसन्धान महाशाखाका प्रमुख डा. मनोज केसीलाई नियन्त्रण गर्न आफैँ जान निर्देशन दिएका थिए ।
योजना अनुरुप पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गरेपछि मात्रै यो सूचना आईजीपी कुँवर र प्रधानमन्त्री प्रचण्डलाई दिइएको थियो ।
२७ बैशाखमा खाँडलाई आफूलाई जानकारी नदिइ पक्राउ गरिएपछि कुँवरले ज्ञवाली र केसीलाई बोलाएर मलाई जानकारी नदिइ कसको आदेशमा नियन्त्रणमा लिएको भनेर सोधेका थिए ।
त्यसबेला ज्ञवालीले माथिको निर्देशन भनेपछि प्रधानमन्त्रीले मलाई जानकारी भएन भनेको बताएका थिए । ज्ञवालीले त्यसको जवाफ नदिएको कुँवर निकट स्रोत बताउँछ ।
त्यस दिनदेखि ज्ञवालीले कुँवरको निर्देशनभन्दा पनि गृहमन्त्री श्रेष्ठसँग समन्वय गरेर मात्रै काम गरिरहेका छन् ।
यो मुद्दामा सफल हुन सकेमा बढुवा हुन सक्ने आश्वासन पाएका ज्ञवालीले कसरी हुन्छ कुँवरलाई असफल बनाउन पर्छ भन्दै लागेको प्रहरी अधिकारीहरूने बताउँछन् ।
ज्ञवालीले अहिले कुँवर अपराध अनुसन्धान महाशाखाको प्रमुख हुँदा नक्कली भुटानी शरणार्थी प्रकरणका नाइके भनिएका केशव दुलाल र टंक गुरूङलाई नियन्त्रणमा लिएर छोडेको घटनालाई बाहिर ल्याइदिएपछि बुधबार आईजीपीसहितको टोली गृहमन्त्री श्रेष्ठसँग डेलिगेशनमा गएको थियो ।
मन्त्रीस्तरीय निर्णयबाट २०७८ पुस २२ गते कुँवर उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनमा सरूवा भएपछि उनीहरु पक्राउ परेको र उनीहरुलाई सामान्य सोधपुछ गरेर छाडिएको थियो ।
उनी त्यहीँ भएको बेलामा पीडितहरूको उजुरीका आधारमा २०७९ जेठ २८ गते मात्र काठमाडौं जिल्ला अदालतबाट दुलाल र गुरूङविरूद्ध कार्यालयले पक्राउ पुर्जी लिएर त्यसको केही दिनपछि पक्राउ गरिएको थियो ।
तर रेकर्डमै नराखी छोडिएको घटना अहिले ज्ञवालीले बाहिर ल्याइदिएका थिए । ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौँ असुली गरिएको प्रकरणमा कुँवरको भूमिका पनि शंकास्पद देखिएको विषय बाहिर आएको हो, यसले कुँवरलाई अप्ठेरो पार्ने काम ज्ञावाली गरेको आशंका गरिएको छ’, स्रोतले भन्यो ।
प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण बाहिर ल्याइएको छ ।
प्रकरणका अभियुक्त केशव दुलालले १० असार २०७९ मा पाण्डेलाई म्यासेज पठाएका छन्, ‘सर नमस्ते, डीआईजी वसन्त कुँवरसँग कुरा भयो हजुर ?’ त्यसपछि पाण्डेले ‘१२ बजेपछि जानु न’ भन्ने जवाफ फर्काएका छन् ।
उनीहरू पक्राउ परेको खबर गृह मन्त्रालयसम्मै पुग्यो । पक्राउ परेको केही घन्टामै उनीहरू छुटे । उनीहरू पक्राउ परेको रेकर्डसम्म कार्यालयमा राखिएन ।
आईजीपी कुँवरले भने आफू निकटस्थहरूसँग आफूविरुद्ध प्रतिसोध साँध्न खोजिएको बताउँदै आफू अपराध अनुसन्धान महाशाखामा रहँदा आफूले समातेका व्यक्ति कोही नछुटेको बरु २५, २६ दिनको दौरानमा जाहेरी दर्ता भएको बताउने गरेका छन् ।
आफूलाई कसरी लाञ्छना लगाउन सकिन्छ भन्ने हिसाबले प्रायोजित विषयहरु बाहिर ल्याइएको कुँवरको तर्क हुने गरेको छ ।
अहिले आफू नेतृत्वमा रहेको बेलामा मुद्दा चलाए पनि क्रेडिट अरुले लिन खोजिरहेको यसले संगठनभित्र विद्रोह हुन लागेको संकेत दिने भन्दै आफू निकटस्थहरूलाई सतर्क रहन भनेका छन् ।
‘यो राम्रो भएन संगठन प्रमुखकै गल्ती थियो कि थिएन भन्ने बारेमा अनुसन्धान गरे भैहाल्छ नि’, एक प्रहरी अधिकारीले भने ‘भैरहेको अनुसन्धानलाई यसरी कमजोर पार्न खोजिदा प्रहरी संगठनभित्र राम्रो सन्देश गएको छैन ।’