arrow

अमृता दिदी !

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० जेठ २० शनिबार
article-krishna-sharma-2080-02-20.jpg

पशुपतिमा साँझको आरती सकिएपछि मित्रपार्कस्थित दिदीको अपार्टमेन्टमा पुग्दा करिब रातिको ९ बज्न लागेको थियो । काठमाडौंको आकाशमा अधिराज्यका सबै भागबाट नेताहरु भेला हुन आए जस्तै गरी कालो बादलका टुक्राहरु जम्मा भइसकेका थिए । 

राजेन्द्र भाइ र म दिदीको अपार्टमेन्टमा पनि छिर्ने र हुरीबताससहित पानी पनि बर्सने काम लगभग एकै समयमा भयो । दिदीलाई मैले ११ वर्षपछि भट्दै थिएँ । दिदी एक्लै थिइन् । 

मलाई डर थियो भेट्दै गर्दा दिदी रोइन् भने मैले कसरी सम्झाउने होला भनेर । म फकाउने फुलाउने मामिलामा एकदम कमजोर छु । धन्न ! दिदी रोइनन् । शायद बर्सात्ले हामी दुवैको हकको आँशु रोइसकेको थियो । 

मलाइ यो पनि अनुमान थियो भेटेपछि अमृता दिदीले निराशका कुरा गर्छिन् भनेर । नेपाल सरकारको जनताप्रतिको गैरजिम्मेवारपनविरुद्ध रीस ओकल्छिन् भनेर । 

पल शाह अनि सन्दीप लामिछानेका बलात्कारसम्बन्धी मुद्दाप्रति तीव्र आक्रोश जाहेर गर्छिन् भनेर । नेपालीहरुको बाटोमै फोहर फाल्ने घटिया
प्रवृत्ति अनि अनगिन्ती अरु कमजोरीहरुप्रति पनि जवाफ लगाउँछिन् भन्ने पनि मलाई लगभग अनुमान थियो ।

दिदीले त्यही गरिन् । मलाई मात्र होइन उनलाई चिन्ने सबैलाई थाहा छ उनले अन्तिम श्वाससम्म पनि सुशासन र विकासका लागि सबैलाई खबरदारी गरिरहन्छिन् भन्ने कुरा ।

थर्थराउँदो लवजमा दिदी बोल्दै गइन् । राजेन्द्र भाइ र म सुन्दै गयौँ । एक विन्दुमा पुगेपछि मैले उहालाई रोकेँ र भनें, ‘साँझमा भाइहरु आएका छन्, कुरा मात्रै खुवाएर पठाउने हो कि खाना पनि खुवाउने हो, दिदी ?’

दिदीले खाना बनाउन अनि अरु सहयोग गर्न राखेकी अर्की दिदी गैसकेकोले आफैँले पकाउने कुरा गरिन् । 

मलाई प्रसङ्ग बदल्न सजिलो भयो । दिदीलाई म स्वयम् पनि सन् २०२० तिर अफगानिस्तानमा हुँदा डिप्रेसनमा गएको र अस्पताल गएर अपरेशन नै गर्नु पर्ने गरी बिरामी परेको कुरा गरेँ । 

नैराश्यता किन आउँछ र त्यसलाई कसरी मन मष्तिष्कबाट हटाउन सकिन्छ भनेर चर्चा गर्यौं । छोरा, बुहारी, छोरी, जुवाइँ आदि भेट्न दिदी अमेरिका कहिले भ्रमण गर्ने भन्ने बारे कुरा गर्यौँ ।

दिदीले आफूले लेखेको ‘हजुरआमाका कथाहरु’ हामी लगायत गिरिषजीको लागि भनेर दिइन् । ‘माफ गर्नु लेख्न सक्दिन, अटोग्राफ भएन ।’ दिदीले भनेको लेखे जस्तै भयो हाम्रा लागि ।

अमृता लम्साल दिदीलाई मैले पहिलो पटक सन् २०११ को मे महिनामा मृदुला कोइराला दिदीसँगै न्यूयोर्कमा भेटेको थिएँ । 

मेरो अनि गिरिषजीको अनुरोधलाई टार्न नसकेर उनी टेक्सासबाट नेपाल अमेरिका पत्रकार संघको वार्षिकोत्सवमा सामेल हुन आएकी थिइन् । 

सन् २०१२ मा दाजु–भाउजु – तत्कालीन अमेरिकाका लागि नेपाली राजदूत डा. शंकर शर्मा अनि कल्पना शर्मा – लाई भेट्न डीसी आएका बखत हाम्रो घरमा डिनर गर्ने अनुरोधलाई स्वीकारेर आउँदा मैले दोस्रो पटक भेटेँ ।

उनलाई गएको मेमा काठमाडौँमा भेट्दा ११ वर्ष बितिसकेको थियो ।

दिदीलाई देख्दा मलाई मेरी स्वर्गीय हजुरआमाको याद आउँछ । 

दिदीले मेरी हजुरआमाको कथा लेख्न पाइनन् । तर लेखेको भए शायद उनलाई आफ्नो कथा लेख्नै पर्दैनथ्यो । दिदी र मेरी हजुरआमा स्वभावका मामिलामा उस्तै छन् भन्दा फरक नपर्ला । 

त्यसैले हुनुपर्छ अमृता दिदीलाई देख्दा मैले आफ्नी हजुरआमाको नियास्रो मेट्ने । 

दुवै सत्यका पक्षपाती । 

एकदमै निडर । 

आफ्नो दुःख लुकाएर अरुको खुशीको लागि हाँस्न सक्ने । हरदम अरुलाई दिन पाए हुन्थ्यो भनी सोच्ने । लडेर अरुको लागि जित्दा आफू हारेको थाहा नपाउने । आफ्नो हारमा मस्तसँग खुशी मनाउन सक्ने ।

दिदी ! म चाहन्छु तिमीलाई मेरो उमेर पनि थपियोस् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ