arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

थुनछेक बहसमा न्यायाधीशले नै माने दिक्क, अधिवक्ताहरुको लामो लाइन

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३१ बुधबार
nakkali-bhutani-sharanarthi-prakaran-17.jpg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी थुनछेक बहसमा न्यायाधीशले नै दिक्क मानेका छन् । पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडको बहसको क्रममा अधिवक्ताहरुले बहस नटुंग्याएपछि उनले दिक्क मान्दै अदालत नै बन्धक बनाउन खोजेको बताएका थिए । 

‘म त बिरामी नै हुन लागिसकेँ छोटो गरौँ’, मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रकाश न्यौपानेले भने । आइतबार र सोमबार प्रतिवादीका तर्फबाट बहस गर्ने अधिवक्ता अन्तिम समयमा इजलासमा नभेटिने समस्या थियो । तर मंगरबार भने अधिवक्ताहरूको एक प्रकारले भन्ने हो भने जुलुश नै देखियो । 

प्रतिवादी बालकृष्ण खाँडको तर्फबाट बहस गर्न वकिलहरू लाइनमा थिए । साँझ ६ बजिसक्दा पनि खाँडका तर्फबाट बहस गरेका अधिवक्ता मणिराम उपाध्यायले बहस सके । 

पौने ६ बजे न्यायाधीश न्यौपानेले उपाध्यायलाई सचेत गराएका थिए । उपाध्यायको बहस सकिएपछि खाँडको तर्फबाट बहस गर्न पुगे नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे । 

त्यतिबेला न्यायाधीश न्यौपाने थप बहस सुन्ने मुडमा थिएनन् । उनले भने, ‘अनन्तकालको बहस कहिलेसम्म ? मैले नसक्ने भएँ । नाम टिपाउनुस् न अब । बस्नै नसकिने काम गर्नै नसकिने भयो ।’ 

समय निर्धारण हुनुपूर्व १८ जना प्रतिवादीको तर्फबाट प्रति प्रतिवादी ३ जना अधिवक्ताको हिसाब गरेर समय निर्धारण गरिएको स्मरण गराए । 

उनले खाँडका अधिवक्तालाई बुधबार १२ बजेसम्म बहस सक्ने निर्देशन नै दिएका छन् । 

खाँणका अधिवक्ताहरूले समय मागिरहेपछि न्यायाधीश न्यौपानेले भने, ‘मैले टार्न सकिन भोलि १२ बजेसम्म तपाईंहरूका तर्फबाट बहस सक्नुस् ।’

११ बजेबाट शुरु हुने इजलास १२ बजेसम्म बहस नसकिने भन्दै खाँडका अधिवक्ताले बुधबारको टी ब्रेकसम्मको समय मागेका थिए । 

मंगलबार दिउँसो बहसको क्रममा वरिष्ठ अधिवक्ता महादेव यादवले तत्काल प्राप्त प्रमाणहरु हेर्दा पूर्वमन्त्री खाँड कसुरदार नदेखिने जिकिर गरेका थिए । 

उनले भने, ‘मन्त्रिपरिषद्मा लगेको प्रस्ताव र निर्णय नीतिगत प्रकृतिको हो । भ्रष्टाचारले पनि छुँदैन ।’ 

अर्का वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले ‘केही मान्छेलाई थुन्दैमा ठूलो भइन्छ’ भनेझैं गरी अनुसन्धान अधिकारीहरुले मुद्दा तयार गरेको बताए । 

‘कमजोर मुद्दा ल्याउने, अनि थुन्नुपर्छ भन्ने ?’ उनले भनेका थिए । वरिष्ठ अधिवक्ता एगराज पोखरेलले एकभन्दा बढी कसुर देखाएर सजाय बढाउन खोजिएको आरोप लगाएका थिए । 

वरिष्ठ अधिवक्ता हरिहर दाहालले खाँड थुनामुक्त भएमासमेत प्रमाण नष्ट गर्ने जोखिम नभएकाले उनलाई धरौटीमा छाड्नुपर्ने तर्क गरेका थिए । 

वरिष्ठ अधिवक्ता नरसिंह केसीले पञ्चायतकालदेखि प्रजातान्त्रिक आन्दोलनमा बलिदानी गरेका बालकृष्ण खाँडमाथि मुद्दा चलाउनु गलत भएको जिकिर गरेका थिए । 

बहसकै क्रममा द्वन्द्वोत्तर कालखण्डमा रहेका मुलुकका समाजमा विश्रृंखलता बढ्ने भन्दै उनले नक्कली शरणार्थीको मुद्दालाई नेपालको प्रतिबिम्बित हुने मुद्दा भनी टिप्पणी गरे । 

आरोपितहरुलाई थुनामा राख्दा पीडितहरुको फसेको रकम उठ्ने सम्भावना नरहेको भन्दै बरु धरौटीमा छाडेमा बाहिरबाट रकम जुट्न सक्ने र पैसा उठ्न सक्ने बताएका थिए । 

‘यो मुद्दा हेर्दा नेपाल राष्ट्र यहीँ छ । हिमालको शेर्पादेखि तराईको चौधरीसमेतलाई प्रतिवादी बनाइएको छ । झापादेखि कैलालीका मान्छे यहीँ छन् । यिनलाई न्याय गरौँ,’ उनले भनेका थिए । 

अधिवक्ता मणिराम उपाध्यायले एउटा कसुरमा ५ वटा अभियोग लगाइएको टिप्पणी गरे । ‘अनुसन्धानलाई बौद्धिक मनोरञ्जन बनाइयो’ उनले भने, ‘बालकृष्ण खाँडको ४० वर्षे राजनीति समाप्त पार्न खोजियो ।’

खाँडको तर्फबाट बहस गर्दै अधिवक्ता पंकज कर्णले जाहेरवालाले खाँणको नाम उल्लेख नगरेको भन्दै आफ्नै परिचय कीर्ते गर्नेलाई कसरी न्याय दिने भनेर प्रश्न गरेका थिए । 

‘गजेन्द्रको जाहेरीमा मेरो पक्षको नाम कहीँ छैन । अनुसन्धानको प्रारम्भिक अनुसन्धान प्रतिवेदनमा पनि मेरो पक्षको नाम छैन,’ अधिवक्ता कर्णले भने, ’जाहेरवालाले आफैँलाई किन्न पैसा उठाएका छन् । पेस गरेको प्रमाण योग्य छैन ।’ मन्त्रिपरिषद्मा प्रस्ताव लैजाँदैमा आपराधिक क्रियाकलाप नहुने कर्णले जिकिर गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा रहेको भनिएका ३० जनाको नाम सार्वननिक भएको छ । जसमा १२ जना अझै फरार छन् । १८ जनामाथि थुनछेक बहस भइरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ