arrow

जीवन दर्शन

साधारण सत्य

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० असार २ शनिबार
article-krishna-sharma-2080-03-02.jpg

मेरा अति प्रिय मित्र बुद्धराजले मलाई जिस्क्याएयता पनि मलाई पूरा हेक्का थियो कि म उनले भने जस्तो नपत्याउने खोला थिइन । अरु मानिसहरु जस्तै भिन्न अर्थमा असाधारण थिएँ होला । तर बिलक्षण प्रतिभाको धनी म बिल्कुलै थिइन ।

त्यति बेलाका शैक्षिक प्रमाणपत्रहरुको मूल्यांकन गर्ने हो भने पनि स्प्ष्ट हुन्छ म गणितमा एकदमै कमजोर विद्यार्थी थिएँ । त्यो समयमा समाजमा पैसा र इज्जत दुवै कुरा एक साथ कमाइ गर्न सकिने दुईमात्र पेशा – डाक्टर वा इन्जिनियर बन्नको लागि हाइस्कुलमा पढ्नु पर्ने विज्ञान तथा अतिरिक्त गणित जस्ता विषय छानेको खण्डमा एसएलसी मै फेल भइन्छ कि भन्ने डरले गर्दा अर्थशास्त्र र लेखा जस्ता सजिला विषय रोजेको थिएँ ।

तर विक्रम सम्बत २०४४ को सेन्टअप परीक्षामा कसो कसो स्कुलमै सबैभन्दा धेरै नम्बर ल्याएर प्रथम भएपछिको सबैभन्दा ठूलो डर भने गणित र विज्ञान पढेका सधै प्रथम, दोस्रो र तेस्रो हुने धर्म, विष्णु अनि गिरीराज जस्ता साथीहरु इर्श्याको कारणले अब मसँग बोल्दैनन् कि भन्ने थियो । 

साथीहरु मेरो फ्यान भए पनि नभए पनि मेरो चाहिँ साथीहरु भनेपछि हुरुक्कै हुने स्वभाव थियो । प्रथम भएपछि म स्वय्ले पढेको तानसेनको सेन माध्यमिक विद्यालयका केही शिक्षकहरुले सार्वजनिक रुपमै ‘यो वर्ष हाम्रो स्कुलले एसएलसीको परिणाममा प्रथम श्रेणीमा एक जना पनि विद्यार्थी आशा नगरे हुन्छ’ भनेको सुनेपछि मसँग त्यो उपलब्धिको खुशी लामो समयसम्म टिक्ने कुरै भएन । 

मित्र गिरीराज मसँग बोल्न छोडेपछि त मैले गमै खाएको थिएँ । मेरो ठाउँमा ऊ नै प्रथम भएको भए पनि हुन्थ्यो । 

कलेजमा अध्ययन गर्दै गर्दा सोमराज खनालले गणितको परीक्षामा अपेक्षाकृत रुपमा राम्रो गर्न नसकेपछि मबाट छात्रवृत्ति खोस्न नसकिने ठानेर एक वर्ष ढिला गर्ने तर छात्रवृत्तिमै पढ्ने निर्णय गरेको थाहा पाएपछि किन समय खेर फाल्ने मूर्खतापूर्ण काम गरेको होला जस्तो लागेको थियो । 

मैले आफैँलाई केर्ने बाहेक अरुका गलत निर्णयहरु बदल्न के नै पो गर्न सक्थेँ र ? धेरै वर्षपछि काठमाडौँमा बस्दा वर्षौंको शिक्षण पेशाबाट थाकेर म सजिलो खालको अन्य कुनै कुर्सीमा बसेर गर्न सकिने जागिरको खोजीमा थिएँ । 

कुनै एक संस्थामा आवेदन दिएर अन्तर्वार्ताको चरणमा पुगेपछि उक्त जागिर मेरो त्यो बेरोजगार प्रतिस्पर्धीले पाओस् भन्ने सोची म छनोटको अन्तिम चरणमा सामेल भइन । 

मलाई थाहा छैन त्यो मेरो त्याग थियो वा अन्य केही नै थियो । त्यो मेरो संभावित हारको स्वीकारोक्ति पनि हुनसक्छ । जे होस् मैले बिर्सन सजिलो होस् भनी यही सोचेँ कि त्यो पेशा मेरो लागि थिएन । जीवनमा अलिक लामो समयसम्म चित्त दुखेका कुरा तीन ओटा थिए । 

पिताजीको बहिर्गमन र भाइसँगको बिछोडपछि तेस्रो चाहिँ मनैदेखि गर्न पाए हुन्थ्यो भन्ने सोचेर आवेदन दिएको नेपाल टेलिभिजनको समाचार वाचकको जागिरका लागि स्वर परीक्षामा फेल हुँदाको क्षण थियो । बाँकी कुरा त मेरो मित्र गोपीलाई थाहा छ – म सधै बिन्दास बाँचेँ ।

दुइ दिने जिन्दगीको आधा कालखण्ड अध्ययन, मनोवाद र रोजगारीमै बित्यो । मैले कुनै पदार्थ वा पद प्राप्तिको लागि लम्पट भएर कहिल्यै कसैको चाकरी गरिन ।

जिन्दगीले जे दिँदै गयो त्यसमै सन्तोष रहेँ । तर जस्तो जिन्दगी प्राप्त भयो त्यसैलाई स्वीकार गर्दै जाँदा एउटा कुरा चाहिँ पछाडि छुट्यो । आफूभित्रै रहेको ‘म’ लाई कतै बिसौनीमा पर्खन भनेर अद्वैतमार्गमा म लामो बाटो हिँडेछु ।

करिब तीन वर्ष पहिले अफगानिस्तानमा अमेरिकी कूटनीतिक सदस्यको हैसियतले भ्रमण गरिरहेको समयमा कोभिडसहित अचानक पाचन प्रणालीमा गडबडी देखिएको थियो । एक्सरे बिना काबुलमा समस्याका लक्षणहरुको आधारमा मात्र नेटोका लागि खटिएका नर्वेका डाक्टरहरुले मलाई अपेन्डिसाइटिस भएको शंका गरी शल्यक्रिया गरेका थिए । 

पुनर्जीवन पाएको अनुभूतिमा अस्पतालबाटै बेडमा आराम गरिरहेको एउटा तस्बिर फेसबुकमा पोस्ट गरेँ । 

कोभिडको समय थियो । मानिसहरु फुर्सदमा थिए । सिघ्र स्वास्थ्यलाभका कामनाहरुको बाढी नै आयो । त्यसमध्येको एउटा सन्देशले मेरो दिनचर्यालाई यु टर्न गरेर आफूतिर फर्कन प्रेरित गर्यो । 

म ती महोदयको ऋणी छु जसले त्यो सन्देश पठाएका थिए । उनले मलाई स्वयंतिर फर्केर आफ्नो अन्तरमनको आवाज सुन्न अनुरोध गरेका थिए ।

त्यसपछि मैले जिन्दगीलाई केहीबेर अड्डयाएर मूल्यांकन गर्ने असफल कोसिस गरेँ । 

मैले जानी नजानी तय गरिसकेको एक्लो यात्राको मूल्यांकन गरेँ । मेरा उपलब्धिहरुको मूल्यांकन गरेँ । त्यसपछि थाहा पाएँ आफूलाई बिर्सेर हिँडेको यात्रा स्वयंमा एक गन्तव्य हुन सक्छ । तर स्वयंलाई चिन्ने अवसरलाई भने त्यस्तो यात्राले पछाडि छोड्दो रहेछ । 

यात्रा त त्यसै पनि जारी रहन्छ । तर मैले स्वयंतर्फ फर्कने यात्राको लागि आफूलाई तयार गर्ने निधो गरेँ । मलाई थोरैले मात्र भाग लिने जीवनको त्यो दौडमा सामेल हुनु थियो जसमा प्रतिस्पर्धा हुँदैनथ्यो ।

त्यसपछि मैले आफ्नो आवाज सुन्न थालेँ । त्यो भन्दा पहिलेसम्म म दश दिशातिर फर्केको रहेछु । अरुका आवाजहरु मात्र सुन्दो रहेछु । 

स्वयंलाई बिर्सेर अरुलाई सम्झदो रहेछु । सबैतिर भ्याइनभ्याइ दौडदो रहेछु । दशतिरबाट लम्काइएका हातहरुले मलाई तान्नमात्र खोज्दा रहेछन् । 

घर, व्यवहार, बालबच्चा, परिवार, काम, टेलिभिजन कार्यक्रम, स्कूल, साथीभाइ, जन्म दिवस, विवाहोत्सव, मलामी... जताततै पुग्दो रहेछु । 

चिनेजानेका सबैका बारेमा खोजखवर राख्दो रहेछु । आफ्नो दुःख लुकाएर अरुको खुशीको लागि हाँस्दो रहेछु । हरदम अरुलाई दिन पाए हुन्थ्यो भनी सोच्दो रहेछु ।

लडेर अरुको लागि जित्दा आफू हारेको थाहा पाउँदो रहेनछु । आफ्नो हारमा पनि मस्तसँग खुशी मनाउन सक्दो रहेछु । किन किन यस्तो लाग्थ्योः म हारे पो कसैले जित्न सक्छ ।

उनले मलाई स्वयंतिर फर्कन त भने तर फर्केपछि मात्र थाहा पाएँ मैले त आफूलाई धेरै पछाडि छोडेर कोषौँ दूरसम्मको बाटो काटिसकेको रहेछु । 

म दंग पर्छु । मानिस अरुको व्यर्थको माया पाउने तीर्खाले स्वयंलाई माया गर्न बिर्सेर एउटा सिंगो जीवन बाँच्न सक्दो रहेछ ।

फर्केर ‘म’ लाई हेर्न खोज्दा ऐनामा यति धेरै बाक्लो धुलो जमिसकेको थियो कि त्यो बिसौनीमा छुटेको ‘म’ लाई देख्ने कुनै गोरेटोको नामोनिशान थिएन ।

फर्कने गोरेटोको सुबिधा गुमिसकेपछि आफू हिँड्ने बाटो आफैँ खन्नु पर्ने भयो । गैंति, बेल्चा र कोदालो खोज्ने–बनाउने क्रममा केही समय बित्यो । पहाड खोस्रेर हिँड्ने क्रममा आवाज निस्कँदा खोला पारि कतै ध्यान मग्न सन्त आत्मालाई चित्त बुझेनछ । 

उहाँ मेरो नजीक आउनु भयो र भन्नुभयो, ‘अब प्राप्त गर्न खोजेको गन्तब्यमा पुग्नका लागि तिमीले बनाउन खोजेको बाटोको जरुरी छैन ।’ त्यसपछि उहाँले मलाई आफ्नो सानो कुटीमा लिएर जानु भयो । 

मैले उहाँबाट ध्यानका धेरै विधिहरु सिकेँ । बाँदर जस्तै विचारका हाँगाहरुमा हाम्फालिरहने मनलाई एकत्रित गर्न सिकेँ । लामो समयसम्म अविचार रहन सिकेँ ।

तरै पनि मैले स्वयलाई भेट्ने बाटो भेट्टाउन चाहिँ सकिन । म एक दिन ती सन्त महात्माले आराम गरिरहेको समयमा सुटुक्क त्यहाँबाट भागेँ । 

तर भागेपछि मैले त्यस्तो अर्को कुनै ब्यक्ति वा स्थान भेटिन जहाँ वा जोबाट मैले आफ्नो लक्ष्यमा पुग्नको लागि केही सिक्न सकूँ । 

त्यसैले मलाइ पछुतो भयो । म पुनः फकेँ । महात्माबाट आफूले अब केही गर्न नसक्ने हुकुम भयो । मसँग फेरि आफू हिँड्ने गोरेटो आफै खन्नुको विकल्प थिएन । 

जब विकल्पहरु सकिँदै जान्छन् अनि ढुङ्गाको कापबाट बोट उम्रन्छ भने जस्तै मैले अठोट गरेँ – मेरो मार्ग अब म आफै सृजना गर्दछु । गोरेटो खन्दै हिँड्दा अलिक पर पुगेपछि अर्को शिविर देखियो । 

मैले थकाइ मार्दै त्यस शिविरका सन्तले भनेका केही कुराहरु सुन्दै गएँ । ती सन्त महात्माले गरेका धेरै कुराहरु मैले पहिले पनि सुनिसकेको थिएँ । तर उनका केही कुराले मेरो ध्यान गहिरोसँग खिच्यो । 

म तानिदै गएँ । सत्संग गर्दै जाँदा मसँग शंकाका प्रश्नहरु थुप्रिँदै गए । एकदिन सन्त आत्माबाट मलाई नजिक आउने आदेश भयो । उहाँबाट आज्ञा भयो, ‘तिमी ज्ञान मार्गमा छौ जसको यात्रा प्रश्न–उत्तर हुँदै अगाडि जान्छ । त्यसको प्रकृया एकदमै लामो हुन्छ । प्रश्नहरुले धेरै लामो समयसम्म अल्झाउँछन् । भक्ति मार्ग भन्दा सजिलो र आनन्ददायी यात्रा अरु के होला र ?

भक्ति मार्गले प्रश्न राख्ने ठाउँ दिँदैन नि त ? भन्दा उहाँले भन्नु भयो, ‘तिम्रा प्रश्नको जवाफ तिमी आफैँले आफ्नो जीवन र अनुभवबाट खोज्ने हो । अरुले मार्गले दिएको जवाफले न तिम्रो जीवन न प्रश्न नै उत्तरित हुन्छ ।’

उहाँसँग सत्संग गरेपछि मलाई लाग्यो जीवन स्वयंमा एक प्रश्नरहीत उत्तर हो । जीवनमा प्रश्नहरुको कुनै औचित्य छैन । हामीले असान्दर्भिक प्रश्नहरु जम्मा पारेर अरुबाट तिनीहरुको जवाफ खोज्नु भनेको बगैँचाभित्र बसेर बगैँचा खोज्नु हो ।

जीवनको स्वचालित सौन्दर्यतालाई गिजोल्नु हो । बगैँचाको कोपिला टिपेर कोठामा ल्याई फूल फुलाउने असफल प्रयत्न गर्नु हो । 

मान्नुस् वा नमान्नुस् सत्य यही हो कि जीवन हामीले सोचेभन्दा करोडौँ गुणा साधारण छ । प्रश्न बिना उपस्थित भएको पहिलो दिनमा नै मैले धेरै पछाडि छोडेको ‘म’ लाई भेटेँ । 

‘जसरी म मेरो अस्तित्व उपर प्रश्न नगरी अगाडि बढ्छु त्यसरी जीवन र यसका अवयवहरुमाथि प्रश्नरहीत अगाडि बढेको दिन म मानिस भएर साधारण तर पूर्ण जीवन बाँच्न सक्छु’ भनी सिकाउने गुरू भेषराज वन्तप्रति म अनुग्रहित छु ।

नेपाली सेनाबाट सेवा निवृत्त गुरूले सिद्धार्थ वनस्थली विद्यालयमा विज्ञान विषय पढाउनु भयो । अध्यात्मलाई जोड दिइरहेका गुरू चित्रकलामा त्यत्तिकै निपूर्ण हुनुहुन्छ । उहाँका चित्रकला विदेशीहरुले एउटै चित्र हजारौँमा किनेर लैजाने गरेका छन् । 
 



नयाँ