arrow

रामायणमा नअटाएको कथा

logo
शीतल गिरी,
प्रकाशित २०८० असार २३ शनिबार
article-sheetal-giri-ramayan-2080-03-23.jpg

विभाण्डकऋषिका छोरा ऋष्यशृङ्गले यौवन अवस्थालाई छुँदासम्म कुनै पनि बाह्य संसारको अनुभूति गरेका थिएनन् । उनी अत्यन्त पितृभक्त थिए । अनवरत यज्ञयाग, अध्ययन र तपश्चर्याले गर्दा उसले युवा अवस्था टेक्दा नटेक्दै प्रसिद्धि पाएका थिए । पिता विभाण्डकऋषिले पनि छोराको तपश्चर्या र स्वाध्यायमा व्यवधान नपुगोस् भनेर बाहिरी संसारदेखि उनलाई पृथक राखेका थिए । 

विभाण्डककी पत्नीको ऋष्यश्रृङ्गलाई जन्माउने क्रममा प्रसववेदनाका कारण मृत्यु भएको थियो । यसैले ऋष्यश्रृङ्ग बालककालदेखि नै आश्रमका मृगशावकहरूसँग खेल्दै हुर्केका थिए । उनी ऋष्यश्रृङ्गको नामले चिनिन थाले । उनले पुरुषको नाममा आफ्ना पिताबाहेक अरुलाई देखेका थिएनन् र नारीको स्वरूपको त उनलाई अत्तोपत्तो नै थिएन । शिरदेखि गोडासम्म छपक्कै बाक्ला र लामा रौँले छोपिएका ब्रम्हविद्याका प्रकाण्ड विद्वान रहेका विभाण्डक मुनिको संसारसँग कुनै लेनदेन थिएन ।         

भर्खर भर्खरै बनेका ग्राम्य नगरहरूको सम्पर्कमा रहनाले आफ्नो योग, याग, तपश्चर्या र स्वाध्यायमा वाधा पुग्न जाने कुरामा विश्वस्त रहेको हुँदा विभाण्डकऋषिले आफ्नो एक मात्र छोरा ऋष्यश्रृङ्गलाई पनि आश्रमभन्दा बाहिरको संसारसँग परिचित नगराउने कुरामा बचनबद्ध गराएका थिए । एकातिर ऋष्यश्रृङ्गको तपोबल अझ बढ्दै गइरहेको थियो र उनी स्वाध्याय, एकान्तवास, यज्ञयाग र तपश्चर्याले तेजस्वी बन्दै गइरहेका थिए भने अयोध्याका राजा दशरथ आफ्नी छोरी शान्ताको वरका निम्ति तिनै विभाण्डकपुत्र ऋष्यश्रृङ्गलाई उपयुक्त हुने ठानिरहेका थिए । 

यस्तैमा अयोध्याभरि खडेरी पर्यो र अन्नको अभावले गर्दा जनताले दुःख पाउने स्थिति आइपर्यो । राजा दशरथले यस अवसरलाई छोपेर ऋष्यश्रृङ्गद्वारा यज्ञ गराएमा राज्यमा वर्षा हुने चर्चा जताततै चलाए । राजाको आज्ञालाई शिरोपर गरेर विभाण्डकले छोरो ऋष्यश्रृङ्गलाई उक्त यज्ञ गराउन जान अह्राए तर ऋष्यश्रृङ्गले आफ्नो व्रह्मचर्यको व्रतोद्यापन पूरा नभएको हुँदा उक्त यज्ञका लागि आफू अयोग्य भएको भनेर जान अस्वीकार गरे ।     

एक दिन राजा दशरथले आफ्ना नगरका केही यौनकर्मीहरूसँग गोप्य मन्त्रणा गरे । त्यो गोप्य मन्त्रणा ऋषिकुमार ऋष्यश्रृङ्गलाई भौतिक भोग र विशेषगरी शारीरिक भोगमा आकर्षित गरी दरबारमा ल्याउने योजनासँग सम्बन्धित थियो । जङ्गलभन्दा बाहिरको संसारमा पाइला नटेकेको र पशुसंसर्गमा हुर्किएको तपस्वी ऋषिकुमारलाई वशमा ल्याउनु असम्भवप्रायः थियो । 

एउटी प्रौढ उमेरकी यौनकर्मीले त्यस काममा आफ्नो प्रयास रहने कुरा राजासँग प्रकट गरिन् । राजाले उक्त यौनकर्मीलाई ऋष्यश्रृङ्ग दरबारमा ल्याउने उपायहरूका निम्ति चाहिने मात्रामा सम्पत्ति खर्च गर्ने आश्वासन दिए । प्रौढा यौनकर्मीले विभाण्डकऋषिको आश्रमतिर जाने बाटोमा पर्ने नदीको किनारमा सर्वसुविधासम्पन्न एउटा सुन्दर उपवन बनाउने योजना तयार पारेकी हुँदा राजाले त्यहाँ एउटा सुन्दर विश्रामगृह सहितको उपवन बनाइदिए । बगैचाको शीघ्रम् (चाँडो) तयारीका निम्ति कतिपय बिरुवाहरूको कृत्रिम रोपण पनि गरियो ।         

ती प्रौढा यौनकर्मीले नदीमा चलाउन एउटा डुङ्गालाई रङ्गीचङ्गी आकर्षक सामग्रीहरूले सजाई खानपिन र आमोद–प्रमोदको सामग्रीहरू राख्न लगाइन् । त्यसपछि त्यस डुङ्गा आफ्नी छोरीको साथमा जानको लागि विभाण्डकऋषिको आश्रमतिर जाने बाटोको मुखमा लगेर बाँधियो । अनि प्रौढा यौनकर्मीले आफ्नी रूपसी छोरी कञ्चनमालालाई भनिन्,  ‘कञ्चनमाला ! तिमी रूपवती छ्यौं र जवानीले धपक्क बलेकी छ्यौं । अनि कामकलामा कुशल पनि भइसकेकी छ्यौ । हामीले राजालाई खुशी तुल्याउन ती जङ्गली ऋषिकुमार ऋष्यश्रृङ्गलाई कुनै पनि उपायले दरबारसम्म पुर्याउनै पर्छ । तिमी जाऊ र आफ्ना कामकलाले ऋष्यश्रृङ्गलाई फकाएर ल्याऊ ।’ 

यौनकर्मीपुत्री कञ्चनमालाले आफूलाई दिइएको यस कार्यलाई आफ्नो जीवनको पहिलो प्रयोगात्मक अनुभवका रूपमा लिइन् । उनको मन केही शङ्का र केही त्रासले उद्देलित बनिरह्यो । उनको चञ्चल मनले सोध्यो— कतै ती ऋषिपुत्रबाट उनले श्राप पाउने त होइनिन् ? उनले तपोवलले दीप्त भएका भगवान् शिवका आँखाबाट निस्केको ज्योतिले भष्म भएका कामदेव र पतिबाट वियुक्त भएकी रूपसी रतिको विलापको कथा सुनेकी थिइन् । उनले त्यो सम्झिन् । अर्कोतिर जिम्मामा लिएको काम पूरा गर्न नसकेको स्थितिमा राजा दशरथबाट आफ्नी आमाले पाउने सम्भावित दण्डका विषयमा सोचिन् ।     

ऋष्यश्रृङ्ग वेदको अध्ययनमा एकाग्र चित्तले लागिरहेका थिए । भरखर–भरखरै पलाएका मसिना दाह्री जुँघा, भष्मलेपनले ढाकिएको शरीर, घाँटी, पाखुरा र नाडीमा रुद्राक्षका माला र भुजापातको कौपीन मात्र लगाएको अत्यन्तै तेजिलो अनुहार भएको न त दुब्लो न त मोटो भन्न मिल्ने शारीरिक बनोट भएको ऋष्यश्रृङ्गले आफ्नो अगाडि जीवनमा पहिलो पटक नितान्त नौलो मानिस देखे । को होला त्यो अनौठो ब्रम्हचारी ? अवश्य नै यी कुनै ऋषि–महर्षि हुनुपर्छ— ऋष्यश्रृङ्गले सोचे । चिल्लो र सललल बगेको जटा र चिटिक्क मिलेको शरीर । शरीरमा लगाएको भष्म पनि कुनै बास्नादार फूलको लहराबाट झैँ मीठो सुगन्ध छरिइरहेको थियो । उनका छातीमा र नाडीमा सुनौला माला र बाला चम्चमाइरहेका थिए । अहो ! यी कुनै देवदूत हुन् कि कुनै ठूला ब्रह्मचारी ? जे होस्, यिनलाई अघ्र्य र जल आदिले सम्मान गर्नैपर्छ । ऋष्यश्रृङ्गले उठेर सादर अभिवादन गर्दै कञ्चनमालालाई बस्न मृगचर्मको आसन टक्र्याए ।     

माटाको अँखोरामा पानी ल्याएर राखेपछि फलस्वरूप च्यूरी, तिँदू, काफल र पीपलका दानाहरू माटाको थालीमै प्रस्तुत गरे । ऋष्यश्रृङ्गले आफ्नो जीवनमा कञ्चनमालाको जस्तो मधुर र कर्णप्रिय स्वर सुनेका थिएनन् । ऋष्यश्रृङ्गको जिज्ञासा शान्त पार्दै कञ्चनमालाले भनिन्, “ऋषिकुमार ! मेरो मनोहर आश्रम यहाँबाट तीन कोसजति टाढा पर्दछ ।”         
एक छिन रोकिएर कञ्चनमालाले चारैतिर हेर्दै भन्न थालिन्, “मेरो धर्मअनुसार तपाईजस्तो तपस्वीले मलाई अभिवादन गर्न सुहाउँदैन । तपाई मभन्दा महान् हुनुहुन्छ । बरु हाम्रो धर्म अनुसार ऋषिकुमार, तपाई मलाई आलिङ्गन दिन सक्नुहुन्छ ।” ऋष्यश्रृङ्गले नवागन्तुकको मगमगाउँदो, सलक्क परेको अनि सुन्दर आभूषण र वस्त्रले वेष्ठित शरीरलाई नियाले र खरानीले धुस्रो फुस्रो बनेको र रुखको बोक्राको कौपीनले बाँधिएको आफ्नो शरीर— कहीँ यी दुई शरीर पनि कहियै परस्पर जोडिन सक्छन् ? कतै यिनले मलाई अपमान गर्न त खोजेका होइनन् ?

उनी हच्किए ।   कञ्चनमालाले आफ्ना दुवै हातलाई फैल्याउँदै भनिन्, “तपाईको कुटीमा आएर म तपाईबाट यति अभिवादन पनि पाउँदिन भने म जाउँ त ऋषिकुमार ?” ऋष्यश्रृङ्गले हडबडाउँदै, “होइन, होइन, मेरो आशय त्यो होइन । तपाईजस्ता दिब्य व्यक्तिलाई स्वागत र अभिवादन गर्न पाउनु त मेरो र यस कुटीकोसमेत अहोभाग्य हो !” भन्दै कञ्चनमालाको अँगालोमा बाँधिए । 

कञ्चनमालाले आफ्नो कोमल हातले ऋष्यश्रृङ्गका अङ्गहरूलाई विस्तारै विस्तारै अँठ्याइन् । अनि एक छिनपछि उनले ऋष्यश्रृङ्गलाई अँगालोबाट छुटाइन् र भनिन्, “ऋषिपुत्र, हेर्नोस् त मैले तपाईका निम्ति ल्याइदिएका यी नरम वस्त्रहरू, यी फलफूलहरू र यो पेय जल !” उनले अनुभव गरे । उनलाई प्रस्तुत गरिएका ती प्रत्येक भोज्य वस्तुहरू अत्यन्त रुचिकर र स्वादिष्ट थिए । त्यो काठको कलात्मक सुराहीबाट खन्याइएको पेयजल त उनलाई अझ उत्तम कोटीको लाग्यो । त्यो पिएपछि उनले आलिङ्गनको निम्ति बोलाएको कञ्चनमाला भने कहिले कम्मर मर्काएर अर्कोपट्टी फर्किदिन्थिन् त कहिले टाँसिए झैँ ऋष्यश्रृङ्गसँग यसरी टाँस्सिइरहन्थिन् जसले उनको शरीरमा अनौठो कम्पन उत्पन्न गर्दथ्यो ।     

फूल र लहराका कुञ्जहरूमा कञ्चनमाला ओझेल पर्ने र पछ्याउने खेल खेलेको केही क्षणमा ऋष्यश्रृङ्गको अनुहारमा विकृति देखिन थाल्यो र बोली लर्बराउन थाल्यो । यसै अवसर पारेर कञ्चनमालाले उनको शरीरलाई बलियोसँग अँगालेर बिस्तारै बिस्तारै अँठ्याइन् र जोडसँग चुम्बन गरिन् । उनी कञ्चनमालालाई कुटीभित्र जान आग्रह गर्दै हात समातेर तान्दै थिए । कञ्चनमालाले केही परको वन्यप्रान्तमा मानिसको सर्सराहट सुनिन् । 

सन्ध्यावन्दन र अग्निहोत्रको लागि आफ्नो आश्रम जान्छु भन्दै हात फुत्काएर अदृश्य भएकी कञ्चनमालासँगको मोहले लठ्ठिएका ऋषिपुत्र ऋष्यश्रृङ्ग उनको अनुपस्थितिमा अचेत झैँ बने । उनी सुध हराएको बेला कञ्चनमालालाई सम्झेर लामो सास तान्थे र कञ्चनमाला फेरि आउने आशाले बाटोतिर आँखा विछ्याउँथे । उनी सोच्दथे— कहाँ गए ती रोमाञ्चक व्यक्ति ? ऊ फेरि आउलान् ? यस्तै सोच्दै सोच्दै उनलाई कञ्चनमालाको शारीरिक स्पर्शसुख सपना झैँ लाग्न थाल्यो । अहो ! त्यो आलिङ्गनमा बाँधिएको क्षण फेरि आउला ? उनी त्यसै विभ्रान्त मनस्थितिमा टोलाइरहेका बेला विभाण्डकऋषि दाउराको बिटो कुटीको एक कुनामा राखेर ऋष्यश्रृङ्गसामु आइपुगे ।     

ऋष्यश्रृङ्ग टोलाइरहेका थिए । आज छोरा बाटोसम्म सघाउन पनि नपुग्दा, जल र फलफूल टक्राएर कुशलक्षेम पनि नसोध्दा— आज छोरालाई अर्कै अवस्थामा देखेर विभाण्डक तीन छक्क परे । ‘बाबु ऋष्यश्रृङ्ग, अब त सन्ध्याको समय पनि भयो, खै अग्निकुण्डमा समिधा पनि राखेका छैनौ । कि तिमीले अग्निहोत्र कार्य पनि पूरा गरिसक्यौ ? यज्ञपात्रहरू र सुरो आदि सबै माझेर सफा गरेर राख्यौ ? कि यज्ञमा चाहिने गाईको दूधसमेत बाच्छाले सबै खाइदियो ? कतै बाच्छाको दाम्लो त फुकाइदिएनौ ? म तिमीलाई अघिपछिको जस्तो पनि देख्दिन !’ भनेर विभाण्डकले सोधे । 

राम्ररी नियालेर पुनः भने, ‘यसरी चिन्तामा परि होश नै हराउने स्थिति के आइपर्यो ? तिम्रो अनुहार मलिन छ र बराबर लामो सास फेरिरहेका छौ । अनि तिम्रा आँखा नदी किनार जाने बाटोतिर मात्र तानिएका छन्, के भयो नढाँटी भन त ।’ विभाण्डक ऋषि शिरदेखि पाउसम्म छपक्कै रौँले ढाकिएका थिए । तपोबलले दीप्त बनेका र सधै व्रह्मचिन्तनमा लीन आफ्ना सदाचारी पितासँग ऋष्यश्रृङ्गले अहिलेसम्म कुनै पनि कुरा लुकाएका थिएनन् । आजको यो घटनालाई पनि उनले लुकाएनन् ।     

‘पिताजी, आज हाम्रो कुटीमा लामा जटा पालेका न होचा, न अग्ला ठिक्क कदका एक जना ब्रह्मचारी आएका थिए । उनी अत्यन्त उदारमना थिए । उनको अनुहार सुन झैँ चम्किलो र धपक्क बलेको थियो र उनका आँखा कमलपत्र जस्ता थिए । अतिसुन्दर रूप, आँखामा स्निग्धता र डिलडिलमा गाजल लगाएका, गोरो हात पाउ, हेरिरहूँ जस्ता । उफ् ! के भनूँ ? ब्रह्मचारी त्यस्ता पनि हुन्छन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’ 

ऋष्यश्रृङ्गको अनुहार हेर्दै एकटक लगातार उनका कुरा सुनिरहेका विभाण्डकका जिज्ञासु र रहस्यमय आँखातिर हेर्दैनहेरी ऋष्यश्रृङ्गले भन्दै गए, ‘ती ब्रह्मचारीका जटा हाम्राजस्ता कहिल्यै नकोरेर लट्टा परेका थिएनन् । उनको लामो कपाल जो सलललाउँदो, सफा, चिल्लो र मीठो सुवास आउने थियो । दुई ठाउँमा सोहोरेर बाँधिएको थियो र त्यसमाथि सिउरिएको बास्नादार पुष्पगुच्छाले उनका कपाललाई मात्र नभई सम्पूर्ण शरीरको सौन्दर्यलाई नै बढाइरहेको थियो ।’     

एकछिन अडिएर उनले पुनः भन्न शुरु गरे, ‘उनको घाँटीमा रहेको सुन्दर कण्ठहारको तल दायाँ बायाँ दुईवटा मासपिण्डहरू थिए र तिनमा रौँ नभएको हुँदा र ती समान गोलाइका हुँदा अत्यन्त आकर्षक देखिन्थे । अनि ती ब्रम्हचारी मेरा दुई हातलाई बारम्बार तिनै मांसपिण्डतिर तान्दथे । छुँदा ती अत्यन्त नरम र कोमल थिए । हामीले यो कौपीनलाई बाँध्न लगाएको कन्धनीजस्तै कम्मर पातलो र नितम्ब ठूलो भएका ब्रह्मचारीको अधोवस्त्रलाई अड्याउन बाँधिएको मेखला चाहिँ सुनको थियो र त्यो चम्किरहन्थ्यो । तिनको गोडामा लगाएको पाउजेबको छमछम ध्वनि र हातका सुनका बाला परस्परमा ठोकिँदा निस्कने आवाजले मेरो हृदयभित्र एउटा अनौठो सुखमय कम्पन उत्पन्न गर्दथ्यो । ती ब्रह्मचारी यताउता चलफिर गर्दा यस्तो ध्वनि आउथ्यो मानौँ तलाउको निर्मल पानीमा हाँसको कलरव जस्तै । अहा ! उनको त्यो शृङ्गार र दाह्रीजुँघा नभएका त्यो कोमल मुखमण्डल ! उनका हरेक कुरा मनलाई मोहित तुल्याउने खालका थिए । उनको गलाबाट निस्केको कोइलीको जस्तो सुनुँसुनुँ लाग्ने बोली अब म कहिले सुन्न पाउँला पिताजी ? उनले शरीरमा लगाएको हातले छुँदा हातमै हराउने जस्ता नरम चमकदार कपडा बाँधिएको सलसलाउँदो जटाबाट त मीठो बास्ना चलिरहेको थियो । उनले कानमा लगाएको सुनको कुण्डलले गर्दा उनको मुहार दिब्य देखिन्थ्यो ।’     

ऋष्यश्रृङ्गले आफ्ना पिता विभाण्डकलाई भने, ‘पिताजी उनको हातमा फलजस्तो एउटा डल्लो थियो जसलाई बराबर उफार्दै उनी मेरा वरिपरि घुम्दथे । उनी जताततै घुम्थे म चुम्बक झैँ त्यतै तानिन्थेँ । अनि उनी बीचबीचमा मेरो शरीरलाई अँगालो मारेर मेरो जटा समात्दै मेरा ओठमाथि आफ्नो ओठ जोड्दै मीठो चित्कार ध्वनि निकाल्दथे । त्यो ओठको स्पर्श र चित्कार ध्वनिले मलाई यस्तो आनन्द दियो जुन आनन्द यसभन्दा अघि मैले पाएको थिइन ।’ 

आफ्नो छोराले गरेको तथाकथित ब्रह्मचारीको वर्णन र हाउभाउको अनुकरण सुने–देखेर विभाण्डकलाई एकातिर मनमनै हाँसो उठ्दै थियो भने अर्कातिर ब्रह्मचर्य ब्रतको उद्यापन पनि नगरेको र यौवनावस्थाको खुड्किलोमा भरखर हिँडिरहेको ऋष्यश्रृङ्गको ब्रत भङ्ग हुने शंकाले पितालाई बढी पिरोलेको थियो । 

ऋष्यश्रृङ्गले पुनः भन्न थाले, ‘उनी मैले दिएको पाद्ध्य, अध्र्य र फलफूल त छुँदै नछुने रे ! हो त, त्यस्ता देवदूतजस्ता ब्रह्मचारीले हाम्रा यी माटाका भाँडामा दिएको पाद्ध्य र अध्र्य अनि तिँदू, च्यूरी, पीपलका दानाजस्ता जङ्गली फलफूलहरू कहाँ छुन्थे त ? बरु उनले पो आफ्नै साथमा ल्याएका निकै रसिला र बोक्राबाटै रस चुहिएलान् जस्ता अचम्मका फलफूलहरू मलाई दिए । ती ब्रह्मचारीले ऋषिकुमार, हामीले तपाई जस्ता महर्षिले दिएको पानी र फल लिनु हुँदैन, हाम्रो नियम नै यस्तै छ” भन्दै आफूले ल्याएको अनौठा स्वाद र गन्ध भएको पानी पो पिउन दिए । त्यो पानी पिएपछि त मलाई सर्वोच्च आनन्दको अनुभव भयो । यी सुगन्धित फूलका मालाहरू तिनै ब्रह्मचारीले रेशमको धागोबाट उनेर बनाएका हुन् । ती ब्रह्मचारीसँग नाच्दा र खेल्दा मालाबाट छुट्टिएर भुइँमा छरिएका यी फूलहरू हेर्नोस् त !’     

 अझै पनि ऋष्यश्रृङ्गमा त्यो तथाकथित ब्रह्मचारीले पियाएको सर्वोच्च आनन्ददायी स्वादिलो जलबाट उत्पन्न मातको धङधङी बाँकी नै रहेको विभाण्डकले चाल पाए । ऋष्यश्रृङ्ग भने ती ब्रह्मचारीसँग जान नपाएकोमा ब्याकुल बनेका थिए । उनले भने, ‘ती ब्रह्मचारी यहाँबाट गएपछि मेरो सुद्धी नै हराएको छ पिताजी ! उनी सपना झैँ आए र मेरो संसारमा मादकता र मोहकता छरेर गए । मलाई लाग्दैछ कि म उनी कहाँ जाउँ कि उनी सधै हाम्रो कुटीमा रहुन् । यहाँ उनले उपभोग गर्ने त्यस्ता सुखदायी वस्तु नै के पो छन् र तिनी यहाँ बसुन् । बरु म ती ब्रह्मचारीकै आश्रममा गएर उनको तपस्या र साधनाको अभ्यास र अध्ययन गर्छु, हुन्न पिताजी ? यस्तो सुख पाउने उनको तपोबल कति ठूलो होला ? मलाई त अब यहाँ बस्ने चाहना नै छैन पिताजी ! म उनकै जस्तो तपस्या गर्न चाहन्छु । मलाई जाने अनुमति दिनुहोस् !’ 

ऋष्यश्रृङ्गका कुरा सुनिसकेपछि विभाण्डकले लामो निश्वास लिए । उसले छोराको उदासीन अनुहार एक पटक गहिरोसँग हेरे । सन्ध्याको समय रुखमा रहेका गुँडमा बस्ने क्रममा चराहरू चिर्बिराउँदै यताउता उडिरहेका थिए । गाई बाँ ..... बाँ ..... कराएर बाँच्छाको खोजीमा थियो । अग्निहोत्रशालामा आगोको अवशेष मात्र बाँकी थियो र त्यहाँ समिधा नराखिएको हुँदा धुँवा थिएन । उक्त सबै परिस्थितिले विभाण्डकको कुटी एकातिर सुनसान थियो भने अर्कोतिर ऋष्यश्रृङ्गको मौन आकृतिमा उदासीनता व्याप्त थियो । 

छोरामा देखापरेको बेचैनी देखेर विभाण्डकले छोरालाई उचित मार्गमा ल्याउनु आफ्नो पहिलो कर्तब्य सम्झिए । उनले टोलाइरहेको ऋष्यश्रृङ्गको ध्यान भङ्ग गर्दै भने— ‘बाबु ! त्यसरी अनौठो सुन्दर रूप लिएर मुनिजनका कुटी र आश्रम चाहर्ने त राक्षस–राक्षसी हुन सक्छन् । यस्तैयस्तै रूप परिवर्तन गर्दै तिनीहरू साधना र तपस्यामा लीन बनेका ऋषिजनको तपस्यालाई भङ्ग गर्ने उपायहरू रच्छन् ।’     

केहीबेर रोकिएर उनले पुनः भन्न थाले, ‘वास्तवमै हामीले तपस्याद्वारा प्राप्त गर्ने आनन्दमय ब्रह्मजगत तिनीहरूको भौतिक भोगविलासको संसारभन्दा धेरै उच्च छ । यसैले साधुजनहरूलाई उनले साधना–तपस्याद्वारा पाउने पूण्यमय धाममा पुग्न नदिन उनीहरू यस्तै यस्तै उपाय गर्दछन् । थाहा छ तिमीलाई ? तिमीले स्वादिलो मानेर पिएको त्यसले त मनमा पापी भावना उत्पन्न गर्छ । त्यस्तो पानी हामीजस्ता तपस्वीहरूले कहिल्यै पनि पिउनुहुन्न र दुष्ट राक्षसी प्रवृत्तिका मानिसहरूले यस्ता बस्तुहरू ल्याएर हामीलाई लोभ्याउन र बिगार्न खोज्ने गर्छन् । होश पुर्याउन सकिएन भने उनले हामीलाई पतनको बाटोमा पुर्याउन सक्छन् ।’ 

जति सम्झाए पनि ऋष्यश्रृङ्गले मनमनै ती ब्रह्मचारीको प्रतीक्षा गर्न भने छोडेन । उनको शरीर कञ्चनमालासँगको आलिङ्गनको स्पर्शसुख संझेर तडपिरह्यो । विभाण्डक भने छोराको समस्याको उपचार गर्ने स्थायी समाधानको उपाय सोच्नतिर लागे । त्यसका लागि ऋष्यश्रृङ्गलाई प्रेमी–पागल बनाउँने वेश्याको खोजी गरे । यस्तै दुई–तीन दिनपछि एक साँझ विभाण्डकऋषि टाउकामाथि दाउराको बिटो र पोल्टामा केही जङ्गली फलफूल लिएर आश्रममा आए र उसले ती सबै सामग्री कुटीको डिलमा राखे । कुटी सुनसान थियो । कुटीभित्र छोरालाई नदेखेपछि उसले बारम्वार बोलाइरहे र केही परसम्म खोजी पनि गरे ।     

तर ऋष्यश्रृङ्ग भेटिएनन् । उनी त्यहाँ थिएनन् । दिउँसोको कुरा— विभाण्डकऋषि घरमा नभएको मौका छोपेर कञ्चनमाला आउने बाटो हेरिरहेका थिए । कञ्चनमालालाई टाढैबाट देखेर उनी स्वागतको निम्ति बाटोको परसम्म पुगे र भने, ‘ब्रह्मचारी ! म तपाईको अभावमा एक क्षण पनि बस्न सक्दिनँ । तपाईले मलाई छाडेर हिँडेदेखि मेरो भोक, निद्रासमेत तपाईसँगै गयो । बरु मेरा पिताजी आइनपुग्दै हामी दुबै यहाँबाट भागौं ।’ 

कञ्चनमालाले ऋष्यश्रृङ्गलाई भगाउने यो उपयुक्त अवसर हो भन्ने बुझिन् । उनले ऋष्यश्रृङ्गलाई नदीको किनारमा पुर्याइन् । राजा दशरथको आज्ञाले बनेको सुन्दर डुङ्गामा अरु कतिपय सुन्दरीहरू सहित स्वादिष्ट खाद्य र पेय बस्तुहरू राखिएका थिए । ऋष्यश्रृङ्गलाई लिएर नौका पानीमा तैरिदै गयो । 

दशरथको अयोध्यामा पुगेपछि नौका रोकियो । डुङ्गादेखि किनारमा बनाइएको उत्तम उपवनको ‘नाव्याश्रम’ सम्मको जलमार्गमा ऋष्यश्रृङ्गको सेवाका निम्ति कञ्चमालासँग लगभग तुल्यता राख्ने अरु पनि थुप्रै रुपसीहरू थिए र त्यहाँ मखमली बिछ्यौनाका साथै एकभन्दा एक स्वादिष्ट खाद्य र पेय परिकारहरू थिए ।     

ती सबैको भोग गर्दागर्दै ऋष्यश्रृङ्ग राजा दशरथको दरबारमा पुगे र उनी त्यस दिनदेखि राजकुमारी शान्तासँगै एकान्तवासको वन्दी हुन पुगे । केही दिनभित्रै राजकुमारी शान्ताको विवाह ऋष्यश्रृङ्गसँग सम्पन्न भयो ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ