विमानस्थलमा सुन नदेखिने एक्सरे मेसिन, रेडी ट्रेडबाट २८ पटक सामान भित्रियो
दुई वर्षअघि शक्तिशाली मेसिन ल्याउने प्रस्ताव गर्दा प्रमुखकै सरुवा
हाम्रा कुरा
प्रकाशित २०८० साउन ५ शुक्रबार
1.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । विमानस्थल भन्सार कार्यालयमा रहेको सुन हेर्ने एक्सरे मेसिनले सुन नै देखाउँदैन । वर्षौँ पुरानो मेसिन र त्यो पनि बिग्रेको अवस्थामा सञ्चालन गरी डिटेक्टर मेसिन रहेको देखाउनका लागि मात्रै राखिएको छ । तर सुनलाई देखाउँदैन । ‘विमानस्थलको डिटेक्टर मेसिन नै बिगारेको अवस्थामा पाइएको छ’, स्रोतले भन्यो ।
सोही मेसिन बिग्रेको अवस्थामा रेडी ट्रेडको नाममा ब्रेक सु र दारी काट्ने मेसिन मात्रै आयात भएको पाइएको छ । दिलीप भुजेलको स्वामित्व रहेको कम्पनीको नाममा २८ पटक सामान आयात भएको पाइएको भन्सार विभागको रेकर्डमा देखिएको छ ।
रेडी ट्रेडको कम्पनीबाट आयात भएको सामानको लिष्ट हेर्दा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर मेसिन र एकपटक मेकानिकल मोटर आयात देखिएको छ । राजश्व अनुसन्धान विभागले भने यो सबै समयमा सुन नै आयत गरिएको दाबी गरेको छ ।
त्यतिबेला सामान आयात गर्दा दाह्री काट्ने मेसिन अर्थात् सेभर आयात भएको देखिन्छ । कुल २ सय थान दाह्री काट्ने मेसिनको तौल ६६ किलोग्राम र त्यसको भन्सारमा घोषित मूल्य ४०० डलर राखिएको छ ।
ब्रेक प्याड र दाह्री काट्ने सेभर दुवै चीनबाट आयात भएको छ । २०२३ को मे २६ अर्थात् २०८० जेठ १२ गते ताइवानबाट मेकानिकल मोटरसमेत आयात भएको देखिएको छ ।
ताइवानको तलमुड कम्पनी लिमिटेडबाट ५२ किलोग्राम तौल भएको ४८० अमेरिकी डलर भन्सार मूल्य घोषित भएको सामान आएको देखिन्छ ।
यसरी हेर्दा राजश्व अनुसन्धान विभागका कर्मचारीका अनुसार एक्सरे मेसिन बिगारेको अवस्थामा सुन तस्करी भएको हुनसक्छ ।
दुई वर्षअघि सुन तस्करी बढेको र त्यसलाई नियन्त्रणमा लिनका लागि एउटा शक्तिशाली मेसिन किन्ने प्रस्ताव गरिएको थियो ।
विमानस्थलका तत्कालीन प्रमुख सहसचिव लक्ष्मी निरौलाले दुई वर्ष अघि सो प्रस्ताव गर्दा उनलाई ७ महिनामै त्यहाँबाट सरुवा गरिएको थियो ।
उनले गरेको कम्युटर टोमोग्राफी एक्सपोसिभ डिटेक्टिभ सिष्टम (सीटी ईडीएस) नामको मेसिन किन्ने प्रस्तावलाई बेवास्ता गर्दै अहिले चालु हालतमा रहेकै मेसिनबाट काम चलाइएको थियो ।
अहिले त्यो मेसिनबाटै चेक भएर करिब १ सय किलो सुन बाहिरिएको थियो । विमानस्थलको सो मेसिनले बिहीबार पनि सुन नदेखाएको स्रोतको दाबी छ । ‘परीक्षणका लागि केही सुनसहित मानिस प्रवेश गरिएको थियो सुन देखिएन’, स्रोतले भन्यो ।