arrow

नक्कली भुटानी शरणार्थी प्रकरण

राज्यले फसाएको भन्दै थुनामा रहेका टोपबहादुर र बालकृष्ण पुगे उच्च अदालत

साधारण तारेखमा राख्न र जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालतमा निवेदन, दोस्रो चरणको अनुसन्धान गर्न प्रहरीको ढिलासुस्ती

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १६ मंगलबार
topbahadur-rayamajhi-balkrishna-khand.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँडले आफूहरुलाई अन्याय भएको भन्दै  जिल्ला अदालत काठमाडौँको आदेश उल्टाउन माग गरेका छन् । 

उनीहरुले आफूहरुलाई साधारण तारेखमा राख्न र जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका छन् । आफूहरुलाई राज्य सत्ताले नै फसाएको उनीहरुको आरोप छ । 

पूर्वउपप्रधानमन्त्री तथा एमाले सांसद रायमाझी, पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य खाँड र भुटानी शरणार्थी नेता टेकनाथ रिजालले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा मंगलबार पुनरावेदन गर्दैै आफूहरुलाई थुनामा राख्ने जिल्लाको आदेश बदर गरी सामान्य तारिखमा छोड्न माग गरेका छन् ।

 ‘कति समय थुनेर राख्ने हो, निर्दोष हुँदा पनि जबरजस्ती फसाइएको छ’, उच्च अदालतमा अपील गर्ने क्रममा खाँडले आफन्तहरुसँग भनेका थिए । 

उच्चले उनीहरुलाई थुनामा राख्ने जिल्लाको आदेश पेश गर्न निर्देश गरिसकेको छ । उक्त प्रकरणमा रायमाझी, खाँड र रिजालसहित १६ जनालाई थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले आदेश दिएको थियो । 

सोहीबमोजिम उनीहरुलाई केन्द्रीय कारागार र नक्खु जेलमा राखिएको छ । नक्कली शरणार्थी प्रकरणमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उच्च अदालत पाटनमा रिट पनि परिसकेको छ । 

उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले थुनामा पुगेका प्रतिवादीहरुले जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन परेको बताउँदै केही दिनमा पेशी तोकिने बताए ।

 ‘एक साता जति लाग्छ होला पेशी तोकिन त्यसपछि मुद्धामा बहस हुनेछ’, रजिष्टार कट्टेलले भने । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत असार १ गते थुनामा पठाउने आदेश दिएपछि उनीहरु थुनामा रहेका छन् । 

विगत दुई महिनादेखि उनीहरु थुनामा रहेका छन् । यो मुद्दामा त्यसबेला ललितपुरकी लक्ष्मी महर्जन ५ लाख र होटल व्यवसायी टंक गुरुङ १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । 

सो प्रकरणमा पक्राउ परेका अभियुक्त केशव तुलाधर असार ३१ गते १५ लाख रुपैयाँ धरौटीमा छुटेका भए पनि उनलाई सीआईबीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । 

तुलाधर न्युरोडको देगा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेको र प्रमुख अभियुक्तमध्ये एक सन्देश शर्मालाई उनले आर्थिक कारोबारमा सघाएकाले उनलाई पक्राउ गरी अनुसन्धान गरिएको थियो । 

यो प्रकरणमा मुद्दा दायर गरेकामध्ये ११ जना अझै फरार भएका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, थापाकै सुरक्षा सल्लाहकार इन्द्रजीत राईका छोरा निरज राईलगायत फरार रहेका छन् । 

प्रतीक थापा र राई कहाँ छन भन्ने बारेमा प्रहरीले अहिलेसम्म पत्ता लगाएको छैन । शरणार्थी प्रकरणमा अनुसन्धान शुरु भएपछि नै उनीहरु फरार भएका थिए । 

२०७९ चैत १२ मा मोरङका केशव दुलाल, पाँचथरका टंक गुरुङ र ललितपुर घर भएका सानु भण्डारीलाई पक्राउ गरेर प्रहरीले पहिलो चरणको अनुसन्धान पूरा गरेर संगठित ठगी मुद्दामा ६० दिन अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न निर्देशन दिएको भए पनि अहिलेसम्म दोस्रो चरणको अनुसन्धान भने शुरु भएको छैन । 

भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने आवरणमा गिरोहले पीडितसँग करोडौँ रकम उठाएको खुलेको थियो । बैशाख १९ मा पूर्व गृहमन्त्री ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई  र बैशाख २० मा तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि शरणार्थी प्रकरणको मुद्दा सडकदेखि सदनसम्म चर्किएको थियो । 

त्यसपछि प्रहरीले पहिलो चरणको अनुसन्धानबाट दोषी देखिएका व्यक्तिलाई मुद्धा चलाएको थियो । अहिले प्रहरीलाई दोस्रो चरणको अनुसन्धान गर्न दिएको निर्देशनबाट प्रहरीले अनुसन्धानलाई तदारुकता दिएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ