arrow

कम्युनिस्ट नेताहरु रुपान्तरित होलान् भन्नु कोराकल्पना मात्र – बाबुराम भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन १८ बिहिबार
baburam-bhattarai-maobadi-jhupadi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पार्टी एकताको प्रस्ताव गर्दै पठाएको प्रतिवेदनमा कम्युनिष्ट पार्टीहरु कहिल्यै रुपान्तरित नहुने उल्लेख गरेका छन् । 

उनले ढुंगो पग्लेर नौनी बन्ला तर स्टालिनवादी केन्द्रीकृत नोकरशाही ढाँचामा बनेका कम्युनिस्ट पार्टीहरु सोलोडोलो कहिल्यै रुपान्तरित नहुने उल्लेख गरेका छन् । 

‘नेपालमा अर्को तलैसम्म जनआधार भएको बलियो शक्ति कम्युनिस्ट धार हो । यो धारका प्रगतिशील, वामपन्थी, कम्युनिस्ट घटकहरु संयुक्त वा एक्लाएक्लै रुपान्तरित भएर अग्रगामी विकल्प बन्ने सम्भावना सैद्धान्तिक रुपमा भए पनि व्यवहारिक रुपमा उत्तिकै कठीन छ । स्वयं म आफैँले ‘समाजवादी केन्द्र’को अवधारणा अघि सारेर केही समय प्रयत्न गरेको कटुअनुभवका आधारमा भन्न सकिन्छ– ढुंगो पग्लेर नौनी बन्ला तर स्टालिनवादी केन्द्रीकृत नोकरशाही ढाँचामा बनेका कम्युनिस्ट पार्टीहरु सोलोडालो कहिल्यै रुपान्तरित हुने छैनन्’, उनले सो प्रतिवेदनमा उल्लेख गरेका छन् ।   

डा. भट्टराईले यसको वैचारिक र ऐतिहासिक कारण रहेको उल्लेख गर्दै स्टालिनले जसरी द्वन्द्ववादको नियमलाई निषेधको निषेधको रुपमा परिभाषित गरेर प्रतिपक्षीहरुलाई भौतिक रुपमै सफाया गर्ने नीति लिए । 

त्यही चिन्तन र विरासत बोकेका नेपालका कम्युनिस्ट नेताहरु आफ्नो जीवनकालमा रुपान्तरित होलान् भन्नु कोराकल्पना मात्र हुने बताउँदै प्रचण्ड र कम्युनिष्ट पार्टीप्रति आफ्नो मोह भंग भएको उल्लेख गरेका छन् । 

‘तैपनि नयाँ पुस्ताका नेताहरुले माओको सांस्कृतिक क्रान्तिबाट प्रेरणा लिएर ‘हेडक्वार्टरमा बम बर्साउने’ दुर्लभ साहस गरे भने त्यो नयाँ इतिहास बन्नेछ । 

देशको संकटग्रस्त अर्थतन्त्र, छिमेकबाट सांस्कृतिक–धार्मिक आडमा भइरहेको सामरिक अतिक्रमण, समग्र कम्युनिष्ट आन्दोलनको भ्रष्टीकरण र तीव्र गतिको ओरालो यात्रालाई बेलैमा पर्गेलेर नयाँ पुस्ताका नेताहरुले आवश्यक पहल लिनु चाहिँ ऐतिहासिक आवश्यकता बनिसकेको छ । 

असम्भवलाई सम्भव बनाउनु नै क्रान्तिकारिता हो भन्ने तथ्यलाई सम्झेर वाम खेमाका युवाहरुले साहसिलो पहल लिए भनेचाहिँ त्यो मध्य–वाम (लेफ्ट अफ सेन्टर) कोणबाट वैकल्पिक शक्ति निर्माणको नयाँ मोडेल हुनसक्छ ’, उनले भनेका छन् । 

उनले यसमा ठूलो तगारो तलसम्म पैmलिएको ‘कम्युनिस्ट’ ब्राण्डमोह हुनसक्छ भन्दै त्यसको ब्राण्ड परिवर्तन गर्न लागिपरेको पनि संकेत गरेका छन् । 

‘कम्युनिष्ट’ नभनौँ हिजो जनवादी केन्द्रीयताको नाउँमा माथिदेखि तलसम्म आफ्नै जीवनकालमा ‘साम्यवाद’को सपना बाँडिएको छ, ती कार्यकर्ता र समर्थकलाई कसरी सम्झाउने ? ‘कम्युनिस्ट’ मन्त्र जपिराखौँ विश्व, क्षेत्रीय र राष्ट्रिय अर्थ– राजनीतिक परिस्थिति बदलिएको छ, छिट्टै पश्चिम बंगालको नियति भोग्नुपर्ने खतराले सुरसाको भैmँ मुख बाइरहेछ ! तर भौतिकवादी द्वन्द्वात्मक चिन्तन पद्धति भनेकै हिजोलाई आजसँग र आजलाई भोलिसँग जोडेर हेर्न सिकाउने वैज्ञानिक पद्धति हो । त्यो विज्ञानलाई विज्ञानकै रुपमा थप विकास गर्नुसट्टा नयाँ ‘धर्मशास्त्र’मा बदलेकाले विश्वबाट ‘कम्युनिस्ट’हरु हराउँदै गएका हुन्’, उनले भनेका छन् । 

उनले चीनको अपवाद अर्कै हो भन्दै त्यसबारे अहिले यहाँ थप चर्चा सम्भव र आवश्यक नभएको पनि बताएका छन् । उनले अहिलेको विश्वको नयाँ चेतनाको जगमा उभिएर र आगामी दिनको परिवर्तनको दिशा र देशको आवश्यकतालाई बुझेर नयाँ ढंगले अघि बढ्ने साहस गर्ने हो भने तलैसम्म फैलिएको प्रगतिशील–वामपन्थी जनमतलाई नयाँ समाजवादी बाटोमा डोहोर्याउन र मध्य–वाम (लेफ्ट अफ सेन्टर) वैकल्पिक शक्ति निर्माण गर्न संभव रहेको र त्यसले अत्यन्तै दूरदर्शी, साहसी नेतृत्व र गम्भीर पहलको माग गरेको पनि दावी गरेका छन् । उनले माओवादी जनक्रान्ति र २०६२–०६३ को आन्दोलनपछि जन्मेको–हुर्केको र पछिल्लो डिजिटल प्रविधिले विश्वसँग जोडिएको नयाँ पुस्ताका अपेक्षा र आकांक्षा अहिलेको बूढो पुस्ताका भन्दा धेरै उच्च भइसकेको पनि जनाएका छन् । 

‘छिमेकमा भइरहेको तीव्र परिवर्तनले पनि हाम्रा जनता र विशेषतः युवाहरुलाई अधैर्य बनाउनु स्वाभाविक छ । लाखौँको संख्यामा वैदेशिक रोजगारीमा गएको र त्यहाँको समृद्धिको दृश्य नजिकबाट हेरेर फर्केको युवा जमातले असन्तुष्टि पोख्नु र आ–आफनै पाराले विद्रोहको शुरुवात गर्नुलाई अन्यथा भन्न मिल्दैन’, उनले भनेका छन् ।

गत स्थानीय निर्वाचनदेखि संघ र प्रदेशको निर्वाचन हुँदै पछिल्लो संसदीय उपनिर्वाचनसम्म आउँदा जनताले त्यसको स्पष्ट संकेत गरिसकेको उल्लेख गर्दै पुराना दल–नेता र गठबन्धन सरकारको अहिलेसम्मको (संघ र प्रदेश दुवैको) कार्यसम्पादन हेर्दा देशको आवश्यकता र जनताको अपेक्षाको तुलनामा पटक्कै सन्तोष मान्न सक्ने अवस्था नभएको र यही स्थिति रहेमा आगामी निर्वाचनसम्म देशको राजनीतिक परिदृश्य कसैले अहिले कल्पना गरेको भन्दा विल्कुलै भिन्न नहोला भन्न सकिन्न भन्दै माओवादीले नाम परिवर्तन गरी कम्युनिष्ट पार्टीभन्दा बाहिर रहेमा पार्टी एकीकरण अघि बढ्ने संकेत गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ