arrow

प्रक्रिया नै पूरा नगरी काठमाडौँ महानगरले गर्‍यो पिउने पानी बिक्री वितरण 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १७ बुधबार
kathmandu-metro-final-final.jpeg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष सरोकार राख्ने पिउने पानी वितरण प्रणालीमा प्रक्रिया नै पूरा नगरी बिक्री वितरण गर्ने गरेको पाइएको जनाएको छ । 

गत साउन पहिलो सातादेखि महानगरपालिकाले खानेपानीको नियमित रुपमा गरेको अनुगमनका क्रममा यस्ता किसिमका त्रुटि फेला परेको जनाएको हो । महानगरको कृषि तथा पशुपक्षी विभागका प्रमुख डा अवधेश झाका अनुसार अहिले पिउने पानीमा नै ठूलो समस्या रहेको छ, जहाँ  मिसावट र अखाद्य कम भेटिए पनि प्रक्रिया नै पूरा नगरी बिक्री वितरण हुनु समस्या हो ।  

पानी वितरण प्रक्रिया अव्यावहारिक र कानुन विपरीत रहेको जनाउँदै डा झाले नियमित अनुगमन गरेर कारबाहीको दायरामा ल्याउने बताए । उनले भने, “यसमा उपभोक्ताले पनि ध्यान दिन आवश्यक छ, कस्तो जारको पानी खाँदैछौँ त्यस विषयमा ध्यान दिनुपर्छ, बाहिरीरुपमा कुच्चिएको, पुरानो र बिल बिनाका जारको पानी किन्नु हुँदैन ।”

त्यसैगरी जारको बिर्कोमा भएको संस्थाको नाम र लेबलमा भएको संस्थाको नाम एकै हुनुपर्छ, लेबल नराखिएको जारको पानी प्रयोग नै नगर्न उनले उपभोक्तालाई आग्रह गरेका छन् । 

माथि उल्लिखितभन्दा फरक जार बिक्री वितरण गरेको पाइए महानगरको कृषि विभागमा जानकारी दिन पनि प्रमुख झाले आग्रह गरेका छन् । हाल काठमाडौँ महानगरपालिकाभित्र पानी वितरण गर्ने एक सय ८० संस्था रहेका छन् ।   

विभागले अहिले महानगरका ३२ वटै वडामा पानीको अनुगमन गरिरहेको छ । महानगरले चालु आर्थिक वर्षमा पानीसँगै दूध र तेलको पनि गहिरिएर अनुगमन गर्ने जनाएको छ । कार्यालय, होटल, रेष्टुरेन्ट एवं घरमा प्रयोग हुने पिउने पानीको जारबारे अनुमगन नियमित रुपमा भइरहेको महानगरले जनाएको छ । 

महानगरले पिउने पानीका लागि प्रयोग हुने जारमा उत्पादन मिति, उपभोग्य मिति, सिलप्याकको अवस्था, पानी राख्ने भाँडो टुटफुट, सफासुग्घर लगायतका बारेमा अनुगमन गरिरहेको छ । 

अनुगमनका क्रममा कामपाले नियम विपरीत सञ्चालन भएको माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीका जार नष्ट गरेको छ । माता वैष्णवदेवी फुड एन्ड वेभरेज कम्पनीले महानगरको कार्यालयसहित अन्य स्थानमा पानी सप्लाइ गर्दै आएको थियो ।

महानगरले पानीको गुणस्तरसँगै पानी राख्ने जारको बाहिरी अवस्थाको बारेमा जानकारी लिएर नियम विपरीतलाई कारबाही र जार नष्टसमेत गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ