arrow

मौलिकता छाडेर देउसीभैलोमा डीजे र स्पिकरमा फिल्मी गीत

logo
नारायण वली,
प्रकाशित २०८० कार्तिक २९ बुधबार
modern-deusi-bhailo-2080.jpg

रुपन्देही । तिहार नेपालीहरुको दोस्रो महान् चाड हो । तिहार मनाउनका लागि घरभन्दा बाहिर रहेका दिदीभाइ घरमा फर्किन्छन् । तिहारलाई सप्तरंगी, फूलको माला र झिलिमिली दियोको पर्वको रुपमा लिइन्छ । तिहारमा काग, कुकुर, लक्ष्मी पूजा, गाईगोरु र पाँचौँ दिन भाइको पूजा गरी मनाइन्छ । जसलाई यमपञ्चकसमेत भन्ने गरिन्छ । 

मौलिक संस्कृतिभित्र रहेका वेशभूषा, भाषा, नाचगान र देउसीभैलोमा आधुनिकताले कुरुप बनाउँदै गएको बुढापाकाको भनाइ छ । देउसी भैलोमा नयाँ पुस्ताले मौलिकतालाई बिर्सिएर हिन्दी गीत र र्यापमा  देउसी खेलेको पाइन्छ । तिहारको मुख्य रौनक नै देउसीभैलो मानिए पनि हिजोआज उक्त भैलो हेर्न लायक नभएको बुटवल योगीकुटीका ६५ वर्षीय गोपाल भण्डारीले बताए ।

उनी भन्छन्, ‘पाँच दिनसम्म तिहारको अवधि हुने भएकाले घरघरमा गएर देउसीभैलो खेल्ने गर्दछन् । पहिले देउसीभैलो भाकामा तिहारको महत्त्व झल्किने भट्याउने,  दाजुभाइ गोलो घेरामा घरको आँगनमा गएर भैलो खेल्ने, पैँसुरी र सोरढी नाचेर देउसी खेलिन्थ्यो । अहिले धेरै परिवर्तन भएको छ । शहरतिर चोकचोकमा गएर साउण्ड स्पिकरमा हिन्दी गीत लगाएर नाच्ने, मौलिक पोशाकसमेत लगाइएको हुँदैन । विगत र वर्तमान परम्परामा भिन्नता छ । मौलिकता हराउँदै गएको छ । आधुनिकता हावी हुँदै जाँदा लोप हुने खतरा बढ्दै गएको छ ।’

लक्ष्मीपूजाको दिन घरघरमा लक्ष्मी पूजा गरेपछि रातभर गाइने गाथालाई भैलो भनिन्छ । लक्ष्मी पूजाको भोलिपल्ट गोवर्धनपूजा सकेपछि मादल, झ्याली, बाँसुरीलगायत बाजा बजाएर खेलिने देउसी हो । सोही प्रकारले हिजोआजका नयाँ पुस्ताले परम्परागत देउसीभैलोलाई नअँगालेर पैसा कमाउमुखी (डीजे) भएकाले मौलिकताको महत्त्व घट्न थालेको सनातन धर्मका संरक्षकहरुको भनाइ छ  । 

देउसी भैलोको बारेमा पुराना पुस्ताले नयाँ पिँढीलाई नबुझाउँदा मौलिक र सिर्जनशील तरिकाले खेल्न छाडिनुको साथै स्पिकरमा हिन्दी गीतमा झुमेको देखिन्छ ।

देउसीभैलोको रोचकता भट्याउने कथा भन्दै सुनाउँछन् । गाउँघरका केही स्थानमा पुरानो शैलीको देउसीभैलोलाई समेटेर खेलेको पाइन्छ । तर बुटवलको परिवशमा खेलेको भैलो बिल्कुलै आधुनिकतामा ढल्केको भेटियो । 

मंगलबार बुटवलका होराइजन चोक, देवीनगर र योगिकुटी लगायतका ठाउँमा खेलिएको भैलो मौलिकताविहीन थियो । पहिले देउसीभैलीमा महिलाहरुले गुन्युचोली, पुरुषले दौरा सुरुवाल लगाउँथे, साथमा मादल, झ्याली, झ्याम्टा, बाँसुरी आदि हुन्थ्यो । 

अहिले युग परिवर्तनसँगै पोशाक पनि परिवर्तन हुँदै गएको छ । गुन्यु चोली, दौरासुरुवाल त हिजोआज तिहारका बेला सार्वजनिक हुने गीतमा मात्रै देख्न पाइन्छ । देशभरको संस्कृतिलाई जोगाउन  समाजमा रहेका पुराना पुस्ताहरुले नयाँ पुस्तालाई सिकाउनु जरुरी रहेको बुटवलका पुराना तथा समाजसेवी यज्ञेश्वर थैबले बताए । 

उनले भने, ‘देउसीभैलोको मौलिकता हराउँदै जाँदा राज्यबाट प्रभावकारी नीति बनाउन नसक्नु विडम्बना हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ