arrow

एकदिनमै कोरोला नाका [फोटोफिचरसहित]

logo
मनिष अर्याल, 
प्रकाशित २०८० मंसिर २ शनिबार
korola-naka-2080-08-02-(17).jpg

पाल्पा । कोरोना भाइरसको महामारी शुरू भएसँगै बन्द भएको नेपाल–चीन जोड्ने कोरोला नाका साताअघि मात्र खुलेको छ । जसले गर्दा मुस्ताङका बासिन्दाले फाइदा लिन शुरू भइसकेको छ । 

तर अब भने सम्भवतः आगामी दुई वर्षभित्रै भारतको सोनौली नाकाबाट एक दिनमै चीन सीमाना कोरोला नाका पुग्न सकिनेछ । किनभने कालीगण्डकी कोरिडोर राजमार्गको अधिकांश खण्ड कालोपत्र भइसकेको छ भने बाँकी भागमा पनि धमाधम काम अघि बढेको छ । 

चीन–नेपाल सीमाना कोरोला नाकादेखि शुरू भएर महेन्द्र राजमार्गको पूर्व नवलपरासीको गैँडाकोटसम्म जोडने गरी कालीगण्डकी कोरिडोर आयोजना सम्पन्न हुने क्रममा छ । 

२०६४ सालमा ४ सय ४७ किलोमिटर दूरीको कालीगण्डकी करिडोर निर्माण शुरू भएको आयोजनाले जनाएको छ । करिडोरको सिद्धार्थ राजमार्ग राम्दीबाट १७ किलोमिटर टाढाको रानीमहल खण्डबाहेक सबै खण्डमा स्तरोन्न्नतिको ठेक्का लागिसकेको गैडाकोट–राम्दी–मालढुंगा आयोजना कार्यालय बर्तुङका प्रमुख शंकर पौडेलले जानकारी दिएका छन् । 

कालीगण्डकी कोरिडोर राष्ट्रिय गौरवका आयोजनामध्येको एक हो । २०६४ सालमा शुरू भएका उत्तर–दक्षिण कालीगण्डकी कोरिडोर राजमार्ग आयोजना ५ वर्षमा बनाइसक्ने लक्ष्य थियो । 

कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुङ्गा (दक्षिण) आयोजना खण्डको दुई सय ४५ किलोमिटरका लागि पाल्पामा आयोजना कार्यालय रहेको छ । यहाँबाट बाग्लुङ, गुल्मी, पाल्पा र पूर्व नवलपरासी क्षेत्रको कामको अनुगमन हुन्छ । 

बेनी–जोमसोम–कोरला (उत्तर) खण्डको दुई सय दुई किलोमिटर खण्डका लागि मुस्ताङको जोमसोम कार्यालयबाट काम भइरहेको मालढुंगा–जोमसोम–कोरोला सडक आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिएका छन् । 

कागबेनी–कोरोला १ सय २ किलोमिटर बाहेक अन्यत्रको कालोपत्रका लागि ठेक्का भइसकेको छ । 

माथिल्लो खण्ड अन्तर्गत बाग्लुङ र पर्वतको सीमाना मालढुंगादेखि कोरला नाकासम्म (बेनी–जोमसोम–कोरोला) २ सय २ किलोमिटर छ । तल्लो खण्ड मालढुंगादेखि पूर्वी नवलपुरको गैँडाकोटसम्म (गैँडाकोट–राम्दी–मालढुंगा) २ सय ४५ किलोमिटर छ । 

कालीगण्डकी कोरिडोरको पूर्व नवलपरासीमा ८७ किलोमिटर पाल्पामा ७८ किलोमिटर, गुल्मीमा ४२ किलोमिटर र बाग्लुङमा ३८ किलोमिटर, पर्वतमा १३ किलोमिटर, म्याग्दीमा ४२ किलोमिटर र मुस्ताङमा १४७ किलोमिटर पर्ने आयोजना कार्यालयले जनाएका छन् ।   
पूर्व नवलपरासीको गैँडाकोटबाट सुरु भएर पाल्पा, गुल्मी, बाग्लुङ, म्याग्दी हुँदै मुस्ताङ चीन नाका कोरलासम्मका बासिन्दाले यो सडकबाट लाभ लिनेछन् ।  चीन र भारत जोड्ने सबैभन्दा छोटो दूरीको सडक भएकाले यस भेगका बासिन्दामा खुशीयाली छाएको छ । 

पूर्व नवलपरासीको गैँडाकोट–राम्दी–मालढुंगा सडकखण्डको २ सय ४५ किलोमिटरमध्ये पाल्पा र पूर्व नवलपरासी खण्डको पिपलडाँडा–रामपुर–गैँडाकोट १३१.७ किलोमिटर सडक कालोपत्र भइसकेको छ । 

यस सडकमा पर्ने ५० पुलमध्ये २७ ओटा मात्रै निर्माण भएको छ । १० ओटा निर्माणको चरणमा छ । सडक विभागका अनुसार १०२ किलोमिटर कागबेनी–कोरोला खण्डका लागि भौतिक पूर्वाधार मन्त्रालयबाट अर्थ मन्त्रालयसँग बजेट माग गरे पनि स्वीकृत नभएको आयोजना प्रमुख प्रजापतीले बताए । 

कालीगण्डकी कोरिडोर सडकको वरपरका १० लाख ३० हजार ग्रामीण जनतालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास आयोजनाको छ ।

यस क्षेत्रमा पाइने जडिबुटीदेखि कालीगण्डकी बगरमा पाइने शालिग्रामसम्मको व्यापारमा यो राजमार्गले टेवा पुर्याउन सक्ने देखिन्छ । कालीगण्डकी करिडोरले हिमाल, पहाड हुँदै तराई जोडेकामा स्थानीय बासिन्दा औधी खुशी छन् । 

पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीका कृष्णप्रसाद रेग्मीका अनुसार गाईवस्तुलाई कुँडो पकाएर खुवाउने बन्दा, आलु, गोभी, साग अहिले रामपुर हुँदै नारायणगढका बजारमा पठाउन सक्ने भएका छन् । 

‘कोरिडोरले कालीगण्डकी बेँसीमा उत्पादन भएका अन्न, फलफूल, तरकारी तराईको बजारमा लैजानलाई नै सहज बनाएको छ,’ उनले भने, ‘कालीगण्डकी बेँसी, खोँच, उपत्यकालाई तराईमात्र नभएर भारत र चीन जोडेकाले पनि सबैलाई खुसी तुल्याएको छ ।’ 

यसले कालीगण्डकी करिडोर क्षेत्रका मात्र नभएर बीचबीचमा जोडिने राजमार्गले गर्दा पनि धेरैलाई दूरी छोटिनेछ । पूर्वको चितवन नजिक, पश्चिममा सोनौली नाकाबाट सिद्धार्थ राजमार्ग भएर आउनेलाई पनि मुस्ताङ पुग्न दूरी छोटिनेछ । 

कालीगण्डकी करिडोरमा निर्माण गरिएको सडक परापूर्वकालदेखि चलनमा रहेको बाटो हो । तिब्बत–लोमान्थाङ–मुक्तिनाथ–बेनी–रिडी हँुदै लुम्बिनीसम्म जाने रेशम मार्गको खण्ड यही सडक अन्तर्गत पर्छ । (नेपाल फोटो लाइब्रेरी)

korola-naka-2080-08-02 (1).jpg
korola-naka-2080-08-02 (2).jpg
korola-naka-2080-08-02 (3).jpg
korola-naka-2080-08-02 (4).jpg
korola-naka-2080-08-02 (5).jpg
korola-naka-2080-08-02 (6).jpg
korola-naka-2080-08-02 (7).jpg
korola-naka-2080-08-02 (8).jpg
korola-naka-2080-08-02 (9).jpg
korola-naka-2080-08-02 (10).jpg
korola-naka-2080-08-02 (11).jpg
korola-naka-2080-08-02 (12).jpg
korola-naka-2080-08-02 (13).jpg
korola-naka-2080-08-02 (14).jpg
korola-naka-2080-08-02 (15).jpg
korola-naka-2080-08-02 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ