arrow

ओलीको भ्रमण सम्भाव्यता

चीनले बीआरआई अन्तर्गत नेपाललाई अनुदान दिने सम्भावना छैन 

ऋण नै लिने हो भने विश्व बैंक, एडीबीजस्तो सस्तो दिनेबाट लिनुपर्छ, महँगो चीनबाट लिए ऋण पासोमा परिन्छ 

logo
प्राडा विजयकान्त कर्ण, 
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
vijaykant-karna-81-7-23.jpg

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदै गर्दा चिनियाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को परियोजनामा सम्झौता गरेर फर्किने चर्चा चलिरहेको छ । यो सम्झौता ऋणमा हो कि अनुदानमा भन्नेमा अहिले चर्चा चलिरहेको हो । स्पष्ट छ चीनले बीआरआई अन्तर्गत अनुदानमा कतै दिएकै छैन । तर ओली सरकार भने अनुदानमा नै सम्झौता गरेर आउने भनिरहेको छ । 

सबैभन्दा पहिले त सत्ता साझेदार दल नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसमिति बैठकले एउटा निर्णय गरेको छ कि बीआरआई योजनामा हामी ऋणमा जानु हुँदैन । हामी अनुदानमा मात्र जाने हो । त्यो बाहेक हामी ऋण लिदैनौँ भनेर भनेको छ ।
 
अहिलेको सरकार भनेको कांग्रेस र नेकपा एमालेको संयुक्त सरकार हो । चीनले अहिले बीआरआईमा हामीलाई अनुदानमा दिन्छ भन्ने कुरा मलाई विश्वास छैन । श्रीलंकालाई समय थप गर्न नसक्ने, माल्दिभ्सलाई समय थप्न नसक्ने चीनले नेपाललाई कुन आधारमा अनुदानमा बीआरआई योजना दिन्छ भनेर विश्वास गर्नु ? चीनले अनुदानमा बीआरआई सहयोग दिने अवस्था नै देखिँदैन । अहिलेसम्म कसैलाई नदिएको कुरा नेपाललाई के आधारमा दिन्छ त ? 

चीनले अहिलेसम्म दिइरहेको ऋण हो त्यो अन्त्यन्तै महँगो छ । त्यो ऋण ३ प्रतिशत भन्दा माथि ब्याजमा लिएका छौँ । हामीले विश्व बैंक, एसियाली विकास बैंक (एडीबी) बाट लिइरहेको ऋण निकै कम दरमा छ । विश्व बैंकसँग हामीले ०.५ प्रतिशत ब्याजमा ऋण लिएका छौँ । एडीबीबाट १ देखि १.५ प्रतिशतमा लिएका छौँ । चीनको साढे ३ देखि ४ प्रतिशत रहेको छ । त्योभन्दा कममा आजसम्म कसैलाई ऋण दिएकै छैन । 

अर्को अवस्था के छ भने चीनले दिने ऋण १० देखि १५ वर्षलाई हो । हामीले विश्व बैंकदेखि एडीबीबाट लिएको ऋण ३० देखि ३५ वर्षलाई हो । त्यो बेलामा पनि हामीले तिर्न सकेनौँ वा समय माग्यौँ भने विश्व बैंक, एडीबी, जापानले ५–१० वर्ष थपिदिन्छ । चीनले समय थप्ने व्यवस्था नै छैन । 

चिनियाँ ऋणमा श्रीलंकामा त्यही भएको हो । चीनले समय थप्न नमानेपछि श्रीलंकाले एम्बेनटोटा समर्पण गरिदियो । यी अवस्थाहरु त छँदैछन् त्यसका अलावा अर्को अवस्था के छ भने नेपालले ऋण लिएर बनाउने हो भने वा कुनै काम गर्ने हो भने सस्तो जहाँबाट पाइन्छ त्यहाँबाट पो लिने हो त । महँगोमा ऋण लिएर त काम छैन । जब तपाईलाई जापानले, भारतले १ प्रतिशत भन्दा कममा ऋण दिएको छ भने चीनबाट किन लिने ? 

ऋणको प्रतिशत सम्बन्धमा अर्को महत्वपूर्ण कुरा ‘इयर अफ पेमेन्ट’ को कुरा हो । तेस्रो महत्वपूर्ण कुरा के छ भने चीनले दुनियाँमा बनाउने सबै परियोजनामा चीनकै अधिनमा रहन्छ । जस्तो कि बनाउने परियोजनामा चिनियाँ कम्पनी, चिनियाँ सामग्री र चिनियाँ जनशक्ति सबै रहने गर्छ । 

त्यो अवस्थामा चीनबाट ऋण लिएर काम गर्नु सरासर गलत हो । किनकि विश्व बैंकले त आफ्नो मान्छे खोजेर ल्याउँदैन । कन्सल्टेन्ट पो ल्याउँछ त एक जना दुई जना । निर्माण कम्पनी त हामीले छान्न पाउँछौँ । त्यो चीनले दिँदैन । चीनको चिनियाँ कम्पनी नै हुन्छ । 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको त्यही भएको हो । चिनियाँ कम्पनीबीच मात्र प्रतिस्पर्धा भएको हो । त्यसले यी जुन शर्तहरु पेमेन्टका छन् यो नेपालसँग मेल खाँदैन । 

अर्को महत्वपूर्ण कुरा अहिले नेपाललाई प्रोजेक्टहरु कत्तिको जरुरी छ भन्ने पनि हो । कुन कुन क्षेत्रमा हाम्रो आवश्यकता अनुसारको काम हुन्छ कि हुँदैन ? 

यी सबै कुराहरु गरेर यदि प्रधानमन्त्री ओलीले गर्न सक्ने हो भने त गज्जब भैहाल्छ । तर यसमा मलाई भने विश्वास छैन कि चीनले यी सबै शर्तहरु नेपालका लागि परिवर्तन गर्छ भन्ने । 

एमालेका नेताहरुले यसमा सात वर्षदेखि बोलिरहेको अवस्था छ । सन् २०१६ देखि नै एमालेका नेताहरुले बीआरआईको आवश्यकताबारे बोलेका छन् । उनीहरु बीआरआई आउनासाथ नेपाल स्वर्ग भैहाल्छ पनि भनिरहेको सुनिन्छ । 

सन् २०१८ मा प्रधानमन्त्री ओली चीन भ्रमण गरेर फर्केपछि भ्रमणको उपलब्धिबारे सरकारले भनेका कुरा ताजै छन् । ओली चीनबाट फर्केपछि तत्कालीन परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले पाँच वर्षभित्र केरुङबाट रेल यहाँ आइपुग्ने बताए । सात वर्षसम्म सिगात्सेबाट केरुङ नै आएन रेल । अनि कसरी आउँछ नेपालमा ? 

एमालेका नेताहरुले जेसुकै भने पनि यथार्थ फरक छ । तीन चार वर्षदेखि निरन्तर वार्ता भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार हुँदा पनि भयो । चिनियाँ उपविदेशमन्त्री आउँदा पनि भयो । तर कुरो मिलेन । योभन्दा अगाडि पनि भयो । केपी ओली आफैँले पनि २०१८ मा वार्ता गर्न खोजेकै हो । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आउँदा पनि खोजिएकै हो । त्यो बेलामा पनि भएन । चिनियाँ राजदूतसँग यहाँ लगातार वार्ताहरु भइरहेका छन् । तर चीनले वास्ता गरेको त देखिँदैन । 

त्यसैले बीआरआई ‘फ्रेमवर्क एग्रिमेन्ट’मा हस्ताक्षर अहिले हुने सम्भावना छैन । एउटा त गठबन्धन सरकारमा कांग्रेस तयार हुन्छ कि हुँदैन भन्ने महत्वपूर्ण कुरा छ । अर्को यी शर्तहरु चीनले मान्दिन्छ भन्ने त विश्वासै लाग्दैन । 

बीआरआई विश्वको अभ्यास हेर्दा पनि ऋणको पासो भनिएकै छ । हाम्रो अहिले झण्डै झण्डै आन्तरिक र बाह्य गरेर जीडीपीको ४५ प्रतिशत ऋण पुग्न लागेको छ । हाम्रो धेरै ऋण होइन । तर प्रश्न के आयो भने ऋणै लिएर विकास गर्ने हो भने त्यस्तो कुराहरुमा लगानी गर्नुपर्यो जहाँबाट उत्पादन गरेर ऋण तिर्न सकियोस् । 

महँगो ऋणमा पोखरा एयरपोर्ट बनाइयो अहिले के छ त त्यसको नाफा ? दुई वर्ष भैसक्यो निर्माण सम्पन्न भएको पनि । गौतम बुद्ध विमानस्थल पनि बनाइयो । यस्तै यस्तै गरियो भने ऋणको पासोमा परिन्छ । 

तसर्थ चीनको कार्यक्रम हो भनेर हामीले लिनैपर्छ भन्ने छैन । जहिले पनि यस्ता ऋणहरु, सहयोगहरु, सम्बन्धहरु आफ्नो देशको राष्ट्रिय हितभन्दा बाहिर गएर गर्नु हुँदैन । (पूर्वराजदूत एवं त्रिविविका राजनीतिशास्त्रका प्राडा कर्णसँगको कुराकानीमा आधारित) 
 



नयाँ