arrow

देशमा बिग्रिएको परिस्थिति कांग्रेसले सम्हाल्छ – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर ६ बुधबार
gagan-thapa-2080-08-06k.jpg

नवलपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बाहिरको माहोल देखेर नआत्तिन आग्रह गरेका छन् । बाहिर देखिएको माहोलका कारण कांग्रेसका केही नेता कार्यकर्तामा उतारचढावको भावना देखिएको भन्दै महामन्त्री थापाले बाहिरको माहोल देखेर आत्तिने र बरालिने नभइ सम्हालिनु पर्नेमा जोड दिएका हुन् । 

नवलपुर २ मा आयोजित क्षेत्रीय सम्मेलनमा बोल्दै महामन्त्री थापाले सबै बरालिए देश कसले बनाउँछ ? भन्दै कांग्रेस सम्हालिएमात्र देश बन्ने भन्दै आत्तिनु भन्दा एकपटक भित्रदेखि कांग्रेसको भावना जगाउन पनि आग्रह गरे । 

उनले बीपी कोइरालाले हालेको कांग्रेसको घरको जग ठीक रहेको भन्दै बलियो घरको जगमा टेकेर अन्तको फुसको घरमा नहेर्न आग्रह गर्दै घरमा समस्या भए झ्याल ढोका, धुरी फेरेर पनि घर बलियो बनाउन सकिने उल्लेख गरे । 

उनले नवलपुर २ मा पहिलो पटक भएको क्षेत्रीय सम्मेलनप्रति लक्षित गर्दैै सबै क्षेत्रमा सबै तहमा सम्मेलन गर्ने १४ औँ महाधिवेशनमा भएको निर्णय ढिला गरी लागू भएकाले अलमल भएको उल्लेख गर्दै अब महासमिति बैठकबाट व्यवस्थित गर्ने बताए । 

उनले महासमिति बैठक हुनुभन्दा अगाडि नै तल्लो तहदेखि नै अधिवेशन गरेर वडादेखि तहगत हुँदै केन्द्रको हुने स्पष्ट पारे । उनले आगामी वर्षदेखि क्यालेन्डर पनि तोक्ने आश्वासन दिए ।
 
हरेक सम्मेलनलाई सशक्त बनाएमात्र पार्टी संगठित हुने भन्दै नेता थापाले सम्मेलनको उद्घाटन सत्र एकघण्टाभित्र सकेर कोषाध्यक्षदेखि माथिका सबैले प्रतिवेदन पेश गरी एक वर्षको कार्यक्रमको प्रस्तावमा छलफल गर्नुपर्नेमा जोड दिए ।

उनले कमिटीमा बस्नेले एक वर्षको कार्यक्रम लेख्ने र तल बस्नेले बोल्न पाएमात्र पार्टी सशक्त हुने बताए । तबमात्र प्रस्ताव गरिएको कार्यक्रम सुझाव लिएर त्यसको वार्षिक कार्यक्रम सम्मेलनले पारित गरेपछि एक जुट भएर अगाडि बढ्न सकिने सूत्र पनि सिकाए । 

नागरिकको असन्तुष्टि सम्बोधन गर्नुपर्छ    
उनले बाहिर नागरिकको बीचमा असन्तुष्टि देखिएको भन्दै यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘बाहिर नागरिकको बीचमा तीव्र असन्तुष्ट देख्छौँ । अलमल देख्छौँ । किसानलाई हेर्यो भने मल पाइन भनेर रिसाएको छ । उत्पादन बिक्री भएन भनेर रिसाएको छ । सानो व्यवसाय गर्नेहरुका सटर बन्द छन् । आधा मान्छे सटर छाडेर भागेका छन् । कतिले सहकारी र बैंकको ऋण तिर्न नसकेको अवस्था छ । नेपाल छाड्ने युवाहरुको तँछाडमछाड भइरहेको छ । छट्पटाहट देखिन्छ । यो लुकाएर हुन्न ।’

उनले यसबारे चिन्ता र चिन्तन दुवै गर्नुपर्नेमा जोडसमेत दिएका छन् । उनले रिसाएका मानिसको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने भन्दै केही मानिस भने कांग्रेसलाई गलत देखाउन लागिपरेकाले त्यस्तालाई निस्तेज पार्नुपर्ने बताए । 

उनले पछिल्लो केही दिनको माहोलप्रति केन्द्रित गर्दै अगाडि भने, ‘मानिस रिसाएका छन् । असन्तुष्टि छ । जायज कारण छन् । केही समूह र पात्रको असन्तुष्टिलाई समेटेर जसका निम्ति बनेको पार्टी नेपाली कांग्रेस गलत हो भनेर लागेका छन् । आम मानिस र पीडामा परेका मानिस ती होइनन् । जसको बारेमा चिन्ता गर्नुपर्नेछ त्यसको बारेमा चिन्तन गर्नुपर्नेछ ।’

उनले अगाडि उदाहरण दिँदै कांग्रेसले यस विषयमा गम्भीर चिन्तन गर्नुपर्ने भन्दै भने, ‘२०५९ असोज १८ गते तत्कालीन राजाले सत्ता हातमा लिनुभयो । त्यतिबेला ठीक गर्नुभो महाराज भनेर काठमाडौँमा दीपावली गरियो । तर त्यही भन्ने मान्छे २०६२ चैतमा गणतन्त्र जिन्दावाद भन्दै सडकमा उत्रियो । यस्तो किन भएको होला भनेर चिन्तन गर्नुपर्नेछ कांग्रेसले ।’

कांग्रेसले गरेका काम युवालाई सुनाउनु पर्छ

महामन्त्री थापाले कांग्रेसले गरेका कामहरु युवालाई सुनाउन जरुरी रहेको बताएका छन् । उनले अगाडि भने, ‘किताबमा बाईसे र चौबीसे राज्यको कुरा पढ्यौँ । पृथ्वीनारायण शाहले एकैठाउँमा समेट्नु भयो । १३४ वर्ष राजाले राणाले सत्ता सम्हालेपछि केही गर्नुपर्ने थियो । तर केही गरेन । जब २०१५ सालमा बीपीले सत्ता सम्हाल्नुभयोतबदेखि मात्र नेपालीले विकासकोबाटो देख्न पाएका थिए । तर १८ महिनामात्रै बीपीले सम्हाल्नुभयो । त्यसपछिको ३० वर्षको पञ्चायतमा राजालाई भगवान् भनेर मानियो । ३० वर्षमा कसैले पञ्चायतको विरोध गर्न पाएन । निर्वासित भएर विदेशमा जानु पर्यो । ३० वर्ष एउटै परिवारले चलाउन पायो । कोरियाजस्ता देश विकसित भएका उदाहरण दिन्छौँ । तर ३० वर्षमा नेपाललाई स्वर्ग बनाउँछु भनेर भन्नेको विरोध गर्न पाइएन । मौखिक हुकुम दिए पुग्ने थियो । ३० वर्षमा के भयो ? कम्तीमा कांग्रेसले छलफल गर्नुपर्छ ।’

उनले विकासको दृष्टान्त दिँदै भने, ‘पञ्चायत शुरु हुने बेलामा एउटा नेपालीको सरदर आय ५० डलर थियो । पञ्चायत सकिने बेलामा १८५ डलर पुग्यो । पञ्चायतपछिको माओवादीको युद्ध, राजाको शासनपछि १८५ डलरबाट बढेर अहिले १४०० डलर पुगेको छ । पहिले पूरा सम्पत्ति ५० करोड डलर, पञ्चायत सकिँदा ३ अर्ब डलर र अहिले ४२ अर्ब डलर पुगेको छ । पञ्चायत सकिँदा कर्मचारीको तलब दिन नसक्ने अवस्था थियो । अहिले ज्येष्ठ नागरिक, एकल महिला भनेर १ खर्ब बढी बाँड्छ ।’ 

पञ्चायतका कारखाना किन बन्द गर्नुपर्यो भन्ने बारेमा युवाले थाहा पाउनु पर्नेतर्फ केन्द्रित हुँदै महामन्त्री थापाले भने, ‘गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएको बेलामा र महेश आचार्य अर्थमन्त्री हुँदा १ अर्ब त वार्षिक ती चुरोट कारखाना लगायतका उद्योगलाई दिनुपर्दथ्यो । अहिले पनि के भ्रम थियो भने त्यो बेलामा कति ठूला उद्योग थिए बेचिदियो भन्छन् । बाँसबारी छाला जुत्ता कारखाना थियो बेचेर खायो भन्छन् ।’

वास्तविकता खोल्दै गगनले भने, ‘त्योबेला वर्षमा जम्मा ५ हजार जोर जुत्ता बनाउँथ्यो । अहिले नेपालीले खोलेको निजीबाट १७ करोड जोर जुत्ता नेपालीले उत्पादन गर्छन् । यति गर्दा पनि पुगेको छैन । कम्तीमा मेरो आग्रह कांग्रेसका नेताहरुले आजभन्दा पहिला राम्रो थियो नभनुन् । हामीलाई गाली गर्नुस् । तर त्यतिबेला ठीक थिएन भनेर बुझाउनुस् ।’

राणाकाल र पञ्चायत गलत नै भएको दाबीसहित उनले अगाडि भने, ‘त्यसो हुँदो हो त हुनेखानेका सन्तान बीपी, धनवानका सन्तान सुवर्णशमशेर र काजीका सन्तान गणेशमान सिंहले आन्दोलन गर्नुपर्ने थिएन । उनीहरुले त सारा पीडित जनताका लागि लडेको हो नि । देश कहाँबाट कहाँ पुग्यो भनेर हेर्नुपर्छ ।’
 
उनले निजी क्षेत्रलाई दरबारले काम नै गर्न नदिएका कारण विकास नभएको भन्दै अगाडि भने, ‘दरबारले कहिले पनि निजी क्षेत्रलाई प्रश्रय दिएन । हाम्रो राजनीतिले जति बढी व्यक्तिलाई स्वतन्त्रता दियो त्यति नै उसले धेरै काम गर्न सक्छ भन्ने हो ।’

तर उनले कांग्रेसले काम गर्न नसकेकोप्रति भने गम्भीर भएर समीक्षा गर्नुपर्ने बताए । उनले भने, ‘हामीले पनि गल्ती गर्यौँ । ४८ सालमा बहुमत पायौँ । ५६ मा पनि बहुमत पायौँ । हामीले थेग्न सकेनौँ । ५१ सालमा मध्यावधि नभएको भए माओवादी युद्ध हुँदै हुने थिएन । हामीले गरेको गल्तीको हजार पटक माफी माग्नुपर्छ जनतासामु । गल्ती व्यक्ति र पात्रले गरिरहेको छ । गल्ती चरित्रमा छ । दाग लगाउन खोजिएको छ व्यवस्थालाई । माओवादीको द्धन्द्धका बेलामा जयनेपाल भन्न छाड् बाँच्छस् भन्दा पनि गाउँको कांग्रेसले जयनेपाल नै भन्यो ।’

उनले नागरिक स्वतन्त्र भएकै कारणले अहिले प्रगति भएको भन्दै नागरिकलाई कुन्ठित हुन दिन नहुनेमा जोड दिए । उनले भने, ‘ दुई कुरामा ध्यान दिऔँ । एउटा कुरा आम नागरिकलाई कांग्रेसले बुझाउनु पर्नेछ । प्रधानमन्त्री आफैँ सडकबाट आफ्नो पार्टीले आन्दोलन गर्नुपर्छ भनेको सुन्छु । एमाले अध्यक्षले पनि देशभरि आन्दोलनको आँधिबेहरी ल्याउनु पर्छ भनेको सुनेँ । राप्रपालाई राजा चाहिएको छ । यो देश बनाउने कसले हो ? कांग्रेसले । अर्कालाई गाली गरेर र उत्तेजनामा आएर काम हुँदैन । उत्तेजनामा आउन सजिलो छ । उत्तेजनाको राजनीति सजिलो हुन्छ । चेतना र विवेकको राजनीति गाह्रो हुन्छ । नेपाललाई सम्हाल्ने शक्ति चाहिएको छ । सडकमा उफार्न सजिलो छ । सबैलाई सडक प्यारो लाग्न थालेको छ । सम्हाल्ने कांग्रेसले हो ।’

नेता थापाले निर्वाचन प्रणालीले पनि पार्टीमा समस्या भएको बताउँदै भने, ‘हामीले मिश्रित निर्वाचन प्रणाली लागू गर्यौँ । किनकि हामीलाई सबै जात जाति चाहिएको छ । यो देशमा सबै बस्छन् । महिला, दलित सबै बस्छन् । तल बस्नेले सबैको अनुहार देख्यो भने म पनि छु भन्ने महसुस गर्छ । हामीले समानुपातिक प्रणाली ल्यायौँ । तर चरम दुरुपयोग भयो । हाम्रो निर्वाचन प्रणालीलाई समावेशी बनाउनु छ । तर सँगसँगै अहिलेको जस्तो टिकट बेच्ने, नातागोता छोड्नु पनि पर्नेछ । छलफल चलाउने हो । उपाय खोज्ने हो । भाग्ने होइन ।’
 
उनले केन्द्रले प्रदेशलाई काम गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै भने, ‘अहिले प्रदेशले काम गर्न नसक्ने कसले बनाएको हो ? ४० ओटा कानून बनउानु पर्नेछ । मुख्यमन्त्री भन्दा त सीडीओ शक्तिशाली । त्यो कसले बनाएको ? हामीले बनाएको । काठमाडौँले बनाएको हो । गण्डकीले पाउनु पर्ने अधिकार काठमाडौँले नदिएको हो । हामी सबैले प्रदेश महँगो भयो भनेका छौँ । तर कर्मचारी प्रदेशले राख्न पाएको छ ? प्रदेशमा जति पनि कार्यालय छन् नयाँ खोल्न पाएको छ ? छैन । समस्या हाम्रो सोचमा हो । संघको मन्त्री वडाध्यक्ष भएको छ १० लाखको तोक लगाएर बसेको छ । ९० प्रतिशत बढी योजना ५० लाख मुनिका छन् ।’

उनले अगाडि भने, ‘हामीले खोजेको संघको मन्त्रीले बुटबल नारायणगढको सडक हेरोस् । गण्डकीको आयोजना जति दिएकै छैन । दुई लाखे र पाँच लाखे योजना केन्द्रले सम्हालेर बसेको छ । हामीले प्रदेश राख्न खोज्यौँ पहिले, अहिले फाल्न खोज्दैछौँ । के प्रदेश आउनुअघि सबै ठीक थियो ? हैन । संघमा २५ मन्त्रालय छन् । १० ओटा भन्दा बढी मन्त्रालय चाहिँदैन । प्रदेशमा ४ ओटाभन्दा बढी मन्त्रालय चाहिँदैन । कम्तीमा पनि एक चौथाई खर्च घटाउन सकिन्छ ।’

चुनावअघि गठबन्धन हुनै सक्दैन, व्यवस्था नै बनाउने हो कांग्रेसले 
उनले कुनै पनि चुनावअघि सरकारका लागि गठबन्धन हुँदै नहुने बताएका छन् । त्यस्तो विधानमै लेखेर भए पनि व्यवस्था गर्नुपर्नेमा महामन्त्री थापाको जोड छ । उनले भने, ‘चुनावअघि गठबन्धन गर्यौँ । अब भने कांग्रेस हार्छ भने पनि चुनावअघि गठबन्धन नगरौँ । चुनाव हारे के हुन्छ ? कम्युनिष्टहरु एक भएर चुनाव लडे पनि गठबन्धन हुँदैन । ८४ मा हारिन्छ भन्छन् । हारे हारिन्छ । नेपाली कांग्रेसले वैधानिक व्यवस्था नै गर्न प्रयास गर्छ र कसैलाई चुनावभन्दा अगाडि गठबन्धन गर्न दिँदैन । गठबन्धन भनेको त सरकार मात्र भयो । पार्टी त विचार हो । निर्वाचन प्रणालीबाट जनताले छान्ने नेताहरु बदल्न सकिन्छ ।’

उनले अगाडि भने, ‘हामी सरकारमा छौँ । हामीले अहिले त काम गर्ने हो । जताततै कांग्रेस छ । ७९ सालमा धेरै ठाउँमा कांग्रेसले जित्ने अनि जसलाई भेट्यो भन्छ ८४ त गयो । अहिले हेर्यो जता पनि मन्त्री, सांसद तर चार वर्ष नागरिकको मन जित्न नखोजेर अहिले हामीले किन ८४ सोच्ने ?’

उनले उत्कृष्ट उदाहरण दिँदै भने, ‘१८ महिना सरकार चलाउने कांग्रेसको सरकार बीपीको वाहीवाही, गिरिजाप्रसादले ३ वर्षमा पञ्चायतको ३० वर्षमा नभएको काम हुने, एक वर्षमै किसुनजीले संविधान लेखेको कांग्रेसको सरकार हो । सुशील कोइरालाले दुई वर्षमा जनताको संविधान जारी गरेको हो ।’

उनले कांग्रसले नै काम गर्नुपर्नेमा जोड दिँदै भने, ‘हामी प्रत्येक मान्छे जसले रुख चिन्ह लिएर जिम्मेवारी पाएका छौँ मेरो कारणले यति काम भयो भनेर ८४ मा भन्न सक्नुपर्छ ।’

सरकारले पीडितलाई हेर्नुपर्छ 
उनले विभिन्न कारणले पीडितहरु बढेको भन्दै दोषीलाई कारबाही र पीडितलाई राहत दिने काम सरकारले गर्नुपर्नेमा महामन्त्री थापाले जोड दिए । उनले भने, ‘मेरो घर छेउँमा सपना लज छ । १८–२० अगाडि उनीहरुले लजमा छोराछोरी पढाएर बसेका छन् । तर अहिले दिनानुदिन रोएको देख्छु । उनीहरुको जिन्दगीभर कमाएर राखेको ६० लाख रुपैयाँ सहकारीले खाइदियो । मेरो सहकर्मीको छोरी अष्ट्रेलिया जान खोजेकी तर फेसबुक स्टाटसमा लेखेको देखेर उसले छोरीले केही गलत गर्ला कि भनेर डोहोर्याएर हिँड्छे । सरकारले गल तलत गर्नेलाई कारबाही गर्ने हो । जो डुबेका छन् तिनीहरुलाई सरकारले राहत दिने हो ।’

उनले अगाडि भने, ‘सरकारलाई हामीले हिजो भनेका छौँ । प्रधानमन्त्रीलाई मैले भनेको छु । सरकारले सहयोग गर्छु भनेको छ । जम्मा ५०–६० हजार पाउने भनेको त २० हजार जनाले मात्र हो । ’

सरकारमा बसेर काम गर्ने हो, आस्थालाई दोष नलगाऔँ  
उनले सरकारमा बसेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै कांग्रेसले नै अग्रसरता दिनुपर्ने बताए । उनले भने, ‘हामीले गर्ने कामहरुबारे छलफल गर्नैपर्छ । तर यसको दोष व्यवस्था र आस्थालाई लगायौँ भने फेरि दुर्घटना हुन्छ ।’

थापाले भने, ‘१७ सालमा राजा महेन्द्रले बीपीलाई रोक नलगाएको भए अहिले पनि संवैधानिक राजा रहने थिए । हामीले काम किन गर्न सकेनौँ भनेर लाग्नुको सट्टा व्यवस्था परिवर्तन गर्न खोजिरहेका छौँ । हाम्रो जग मजबुद छ । घरमा समस्या छ भने झ्याल वा धुरी फेर्न सकिन्छ ।’ 

पार्टीको प्रणाली बदल्नु पर्छ 
उनले पार्टीको सदस्यता प्रणाली बदल्नु पर्नेमा जोड दिएका छन् । उनले भने, ‘८ लाख ६६ हजार क्रियाशील छौँ । सबैलाई उम्मेदवार हुने रहर छ । वडाध्यक्ष क्षेत्रीय सभापतिले छान्नुहुन्छ । गाउँपालिकाको अध्यक्ष जिल्ला सभापतिले छान्नहुन्छ । आफूभन्दा माथि हेरेको प्रवृत्ति छ । यसलाई उल्टाउनु पर्छ । सबै क्रियाशील सदस्यले सभापति बनाउन पाउनु पर्छ ।’

उनले अगाडि भने, ‘वडा सम्मेलन गर्ने । सबै जम्मा हुने । वडा पार्टीको तर्फबाट ८४ मा वडाध्यक्ष बन्न मन भएकाले भोट हालेर जिताउनु पर्छ । टिकट लिनको लागि शेरबहादुर दाइ पनि चिन्नु पर्दैैन, शेखर दाइ पनि चिन्नु पर्दैन । दाइलाई जिम्मा दिए त भाउजुलाई दिन्छ नै । यो विधान र व्यवस्था उल्टाइदिउँ । यसलाई बदलौँ ।’

उनले एक व्यक्ति एक पद हुनुपर्नेमा जोड दिँदै भने, ‘एउटा व्यक्ति जिल्ला सभापति हुन्छ भने ४ वर्ष जिल्ला सभापति नै हुनुपर्छ । सांसदमा लड्न पाउँदैन । एक पदमात्र लिएर बस्नुपर्छ । ९० प्रतिशत समय त कसलाई कहाँ काम लगाउने भनेर खर्च भइरहेको छ । जता पनि गुट नै छ । गुटमा नभएको मानिस कहीँ केही हुन्छ ? हामीले बनाएको पार्टीको संरचना यस्तो छ । अब गुट नबनाइ तलदेखि नै ८ लाख ६६ हजार क्रियाशील सदस्यले नै केन्द्रीय सभापति रोज्न पाउने बताउनु पर्छ । तब गुट खारेज हुन्छ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ