arrow

प्रशासनमाथि प्रश्न

चोरको बिगबिगी निरुत्साहित गर्न आन्दोलन गर्नुपर्ने हो ?

logo
नारायण वली,
प्रकाशित २०८० मंसिर ९ शनिबार
banke baike chori4.jpg

लुम्बिनी । लुम्बिनी प्रदेशको बाँकेमा केहीदिन यता दिनहुँ चोरीका घटना बढ्दै गएका छन् । जसले गर्दा दिनभर आआफ्नो पेशा व्यवसाय गरेर थकित भएका स्थानीय रातमा राम्रोसँग सुत्न पाएका छैनन् । घरमा राखेका मोटरसाइकलहरु लगातार चोरिन थालेपछि स्थानीय त्रसित बन्दै गएका हुन् ।

मंसिर २ गते राति नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरका दुर्गा शाहीको घरमा राखिएको भे १२ प ४६२० नम्बरको पल्सर मोटरसाइकल चोरी भयो ।

अर्काेदिन वडा नं १७ परसपुरका जिवराज धोबीको बिहान ३ बजे साइन मोटरसाइकल पनि चोरले चोरिदियो । यसरी दैनिकजसो चोरको बिगबिगी हुन थालेपछि स्थानीयले प्रहरी प्रशासनको सुरक्षामाथि आक्रोश पोख्न थालेका छन् ।

चोरीका घटनाहरु बढ्दै जान थालेपछि नागरिकलाई प्रशासनले शान्ति सुरक्षा प्रदान गर्न असफल भएको हो कि ध्यान नदिएको हो भन्दै सुरक्षाका लागि सम्बन्धित निकाय र बाँके प्रहरीको कार्यप्रति सामाजिक सञ्जालमा आक्रोश पोख्न थालेका हुन् । 

स्थानीय माधव कार्की लेख्छन्, 'आज बिहान ५ बजे भृकुटीनगरबाट घरमा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको खबर छ । नेपालगञ्जमा चोरको बिगबिगी ।'

नेपाल पत्रकार महासंघ बर्दियाका पूर्वअध्यक्ष श्रीराम सिग्देल पनि बाँके प्रहरीलाई व्यङ्ग्य गर्दै लेख्छन्, 'चोरहरुले एभरेज मिलाएका छन् । पछिल्लो १५ दिनमा दिनको एउटा मोटरसाइकल चोरी भएको छ । बधाई छ चोरज्यूहरु अनुपात तलमाथि हुन नदिएकोमा ।'

 उनी भन्छन्, चोरले दैनिकरुपमा चोर्दासमेत प्रहरी बेखबर बन्नु लजास्पद हो । प्रहरीसँग कारिन्दादेखि साहुसम्म, चोरदेखि गुण्डासम्मको विवरण अभिलेख हुन्छ । प्रहरीले चाह्यो भने २४ घण्टा नबित्दै पक्राउ गर्न सक्छ । चोरीका बारेमा मैले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई पनि जानकारी गराएको छु, प्रजिअबाट सकारात्मक आश्वासन पाएका छौँ । पर्खाैं ।'

यतिमात्रै होइन स्थानीय मिन मल्ल लेख्छन्, 'नेपालगञ्ज शहरमा दिनहुँ बाइक चोरी । कुनै न कुनै चोरीको शहरको पहिचान बनाउन उन्मुख हो ? राति फेरि बाइक चोरी भएछ । निरुत्साहित गर्न आन्दोलन नै गर्नुपर्ने हो ? सडकमा टायर बाल्नै पर्ने हो ? सुरक्षा कडा यस्तै हो ?'

उनले सामाजिक संजालमा स्टाटस मार्फत् बाँकेको प्रहरी प्रशासनलाई जिज्ञासा मात्रै राखेका छैनन् चेतावनीसमेत दिएका छन् ।

प्रेस युनियन लुम्बिनीका सदस्य गौरव गिरीले 'नेपालगञ्जबाट दैनिक बाइक चोरी हुँदा नेपाल पुलिस आन्तरिक बन्दोबस्तीमा मात्र सीमित हो ? एसपी साब जनता जवाफको प्रतिक्षामा छन्', भन्दै लेखेका छन् ।

सोही ठाउँका ओमप्रकाश शर्माले 'भे १० प ६५३६ नम्वरको होन्डा साइन मोटरसाइकल साँझ ६ः४५ मा घर अगाडिबाट चोरी भयो । तुरुन्तै वडा प्रहरीमा खबर गरेँ' भन्दै हालसम्म प्रहरीले कुनै प्रतिक्रिया नजनाएको गुनासो गरेका छन् । 

बेलाबेलामा सामाजिक सद्भावमाथि आउने विषयले तनावग्रस्त बन्ने बाँकेमा शान्ति सुरक्षा कायम गर्न नसकेको आरोपमा अधिकांश अब्बल प्रहरी प्रमुख तानिएका उदाहरण छन् ।

जहाँ प्रशासनले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गर्नुपर्ने स्थिति आएको हुन्छ । त्यस्तो जिल्लामा सुरक्षाका लागि प्रहरीले जिल्लाको कमान्ड गर्नुपर्ने भए पनि विगतभन्दा थप असुरक्षा, चोरी तस्करी, जुवातास, यौनधन्दा मौलाउँदै गएको स्थानीय समाजसेवीहरुको गुनासो छ ।

उनीहरु भन्छ्न्, 'बाँकेमा प्रहरी प्रशासन छ कि छैन भनेर एकपटक सोच्नुपर्ने बेला आयो । प्रशासन भए त यस्तो नाङ्गो बेथिति हुने थिएन ।'

हुन त प्रहरी प्रशासन नै काज निर्देशिका विपरीत काजविहीन प्रहरी अधिकृतको इशारामा चलेपछि कस्तो सुरक्षा संरचना होला ? यदि यस्तै नैतिकपतन भएका प्रहरी अधिकृतको भरमा जिल्लाको प्रहरी प्रशासान चलाउन खोज्ने र असुरक्षा बढ्दै जाने हो भने एकदिन यहाँको प्रहरीले थाम्न नसक्नेगरी बाँकेबासी सडकमा उत्रिनुपर्ने बाध्यता नआउला भन्न नसकिने भन्दै युवाहरुले आक्रोशसमेत पोख्न थालेका छन् ।  

जिल्लामा शान्ति, सुव्यवस्था कायम, चोरी तस्करी, अपराध, जुवातास लगायतका क्रियाकलाप कहिले मुक्ति पाइएला भन्ने आशा बाँकेबासीको छ । यसअघि बाँकेमा उत्पन्न धार्मिक द्धन्द्धको घटनापछि तानिएका तत्कालीन बाँके प्रहरी प्रमुख गएपछि थप असुरक्षा, चोरीतस्करी, जुवातास जस्ता अवैधानिक समस्या मौलाउँदै गएको स्थानीयहरुको गुनासो छ । स्थानीय भन्छन्, 'दैनिक चोरीले कहिले घरभित्र पसेर लुटपाट एवं हत्यासिंसा समेत हुने होकी भन्ने डर लाग्न थालेको छ ।' 

चोरीको बाइकसहित चोर नियन्त्रण लिन प्रहरी सफल
शुक्रबार भने प्रहरीले एउटा चोरीको मोटरसाइकल र चोर आरोपमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार मंसिर ५ गते मंगलबार करिब राति १०ः१५ बजे जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका ५ जडिबुटी कार्यालय नजिकबाट भे ६ प २४७७ नं को मोटरसाइकल चोरी भएको भन्ने सूचना प्राप्त हुनासाथ यस कार्यालयबाट परिचालन भएको विशेष प्रहरी टोलीले उक्त मोटरसाइकलको खोजतलास गर्ने क्रममा चोरी भएको भे ६ प २४७७ नं को मोटरसाइकलसहित बाँके राप्तीसोनारी गाउँपालिका ६ बस्ने ३० वर्षे सागर भन्ने रामबहादुर सुनारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ