arrow

भुटानी शरणार्थी प्रकरणमा नेताहरुको अपीलमा सुनुवाइ, कता बेपत्ता भए फरार १५ जना ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर १० आइतबार
nakkali-bhutani-sharanarthi-16-aaropi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा निरन्तर सुनुवाइ चलिरहेको छ । उच्च अदालत पाटनमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँण तथा भूटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायतले दिएको अपीलमा सुनुवाइ चलिरहेको हो । आज पनि निरन्तर चल्ने पाटन उच्च अदालतले जनाएको छ । 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगिने भन्दै करोडौँ असुल्ने क्रममा उनीहरुविरुद्ध प्रहरीले अनुसन्धान गरेपछि थुनछेक बहसपछि उनीहरुलाई थुनामा पठाइएको थियो । 

शुुक्रबारसम्म रिजालको सुनुवाइ सकिएको छ । नेता रिजालले यो राज्यबाट पाउँदै आएको सुविधा भनेको जीविकोपार्जनका लागि मासिक १ लाख रुपैयाँ र एउटा गाडी तथा सुरक्षा निकायकै चालक दिइएको थियो । भुटानमा लोकतन्त्र र मानवअधिकारको पक्षधर भएर १० वर्ष लामो जेल सजाय बेहोरेपछि आफ्नै भाषाभाषीको मुलुक सम्झँदै २०६० सालमा (पछिल्लोपटक) नेपाल छिरेका रिजाललाई तत्कालीन कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको प्रस्तावमा सर्वदलीय सहमतिमा यो सुविधा दिइएको थियो । 

अहिले यही गिरोहको संग्लग्नतामा मुछिएर गत जेठ ४ असारमा रिजाल पक्राउ परेका थिए । यसअघि सानु भण्डारी, सन्देश शर्मा, टेकनारायण पाण्डे लगायतको बहस सकिएको छ । 

संभवतः आज बालकृष्ण खाँणको पालो आउने सम्भावना रहेको छ । शुक्रबार रिजालको बहसअघि रिजालअघि अर्का प्रतिवादी सन्दीप रायमाझीको पनि सकिएको थियो ।  

कानून व्यवसायी डा. अवतार न्यौपाने, वरिष्ठ अधिवक्ता र्इश्वरी भट्टराई र बाबुराम दाहालले बहस गरेका थिए । पूर्व उपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीका छोरासमेत रहेका सन्दीपले नक्कली शरणार्थी गिरोहका नाइके सानु भण्डारीसँग मिलेर एउटै कम्पनी (लियोन ट्रेडर्स) मा गरेको व्यापारिक कारवाहीबारे इजलासमा न्यायधीशले जिज्ञासा राखेका थिए । 

साझा कम्पनीमा लगानी गर्दैमा त्यो नक्कली शरणार्थी गिरोहको रकम हुन नसक्ने जिकिर कानून व्यवसायीको थियो । निरन्तर सुनुवाइमा रहेको शरणार्थी मुद्दामा यो गिरोहका नाइके केशव दुलाल, टंक गुरुङ, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडसहितका पक्षमा कानून व्यवसायीले आज बहस गर्ने पालो रहेको छ । 

नेकपा एमालेका निलम्बित सांसदसमेत रहेका पूर्व उपप्रधानमन्त्री रायमाझी, नेपाली कांग्रेस नेता तथा पूर्व गृहमन्त्री खाँड, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, थापाका निजी सहायक नरेन्द्र केसी, रामशरण केसी, पूर्व सांसद आङटावा शेर्पा, टोपबहादुर रायमाझीका छोरा सन्दीप, मोरङका केशवप्रसाद दुलाल, ललितपुरका सानु भण्डारी, मोरङका सागर राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, शरणार्थी नेता टेकनाथ रिजाल लगायत पक्राउ परेका थिए । 

यो प्रकरणका अभियुक्तहरू रामबहादुर थापाका छोरा प्रतीक थापा र इन्द्रजित राईका छोरा नीरज राई लगायत १५ जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

प्रहरी अनुसन्धान जारी रहेको बताए पनि अहिलेसम्म पक्राउ गर्न नसक्नुमा चासो कम गएको हो कि भन्ने आशंकासमेत बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ