- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । विसं २०५३ सालमा काँडा बिझेर खुट्टा नै काट्न परेर सपोर्टिभ अर्थात् कृत्रिम खुट्टा लगाउँदै आएकी ६४ वर्षीया बिजुली गमाल अहिले पनि बेला बेलामा कृत्रिम खुट्टाको चेकजाँच र बिग्रिदा भृकुटीमण्डपस्थित अपाङ्ग पुनर्स्थापना केन्द्रमा धाइरहन्छिन् ।
गमालले निरन्तर २८ वर्षसम्म सपोर्टिभ खुट्टा लगाउँदै आएकी छिन् । सपोर्टिभ खुट्टा लगाउन पाएसँगै उनलाई खुट्टा काटेकोमा त्यति पश्चताप छैन ।
‘अहिले सजिलैसँग घाँस दाउरा घरको सबै काम गर्छु’, उनले भनिन्, ‘खुट्टा नभएको अनुभव पाएकी छैन अहिलेसम्म ।’
हो, बिजुली जस्तै शारीरिक अपाङ्गता भएकाको लागि अपाङ्ग पुनर्स्थापना केन्द्रबाट बन्ने कृत्रिम खुट्टा र अन्य कार्यक्रमबाट धेरैले लाभ लिएका छन ।
विशेष गरी शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा अपाङ्गता भएका व्यक्ति भन्ने गरिन्छ ।
व्यक्तिको समस्याको आधारमा अपाङ्गता भएकालाई यी प्रकारमा छुुट्टाइएको छ । जस्तो कि शारीरिक अपाङ्गता, दृष्टि सम्बन्धी अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, स्वर र बोलाइ सम्बन्धी अपाङ्गता, मानसिक वा मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, अटिज्म सम्बन्धी अपाङ्गता र अन्य ।
विसं २०३९ सालमा स्थापना भएको हो, अपाङ्गता पुनर्स्थापना केन्द्र । जसको मुख्य उद्देश्य अपाङ्गता भएका व्यक्तिहरुलाई व्यावसायिक र सीपमूलक तालिम दिई गुणस्तरीय सेवा प्रदान गर्नु हो ।
समाज कल्याण परिषद्बाट सञ्चालित पुनर्स्थापना केन्द्रले शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरुका लागि फिजियो थेरापी सेवा, अकुपेशन सेवा र परामर्श सेवा दिँदै आइरहेको छ ।
साथै स्पाइनल कर्ड, खुट्टा काटिएका, कुहिनाभन्दामाथि हात काटिएका, एक साइड पारालाइसिस हड्डीको समस्या भएका सबै बिरामीहरुका लागि सेवा प्रदान गर्ने गरेको छ ।
आर्थिक रूपमा कमजोर भएकालाई निःशुुल्क र अन्यलाई सहुुलियतमा सेवा दिँदै आइरहेको छ पुुुनर्स्थापना केन्द्र ।
गमाल जस्तै अन्य धेरैले पुनर्स्थापना केन्द्रबाट लाभ लिएका छन् । अपाङ्गता भएका व्यक्तिले पनि सामान्य मानिसले झैँ काम गर्न सक्छन् भन्ने उदाहरण बनेकी धादिङकी सुनिता इटानी पेशाले नर्स हुन् ।
तर विगत १० वर्षदेखि उनले कृत्रिम खुट्टाको प्रयोगबाट हस्पिटल जाने र बिरामीको हेरचाह गर्ने गरेकी छिन् ।
सरकारबाट अपाङ्गता भएका व्यक्तिहरुका लागि आवश्यक पर्ने सहायता सामग्रीको व्यवस्थापनमा चासो नदिइएकोमा पुनर्स्थापना केन्द्रको सधै चिन्ताको विषय बन्ने गर्दछ । (नेपाल फोटो लाइब्रेरी)