arrow

मादीमा ‘आर्क डिजाइन’ को पुल

logo
हाम्रा कुरा
प्रकाशित २०८० मंसिर २० बुधबार
Damauli madi bridge.jpg
तस्बिर-फाइल

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको मादी नदीमाथि ‘आर्क डिजाइन’ को पुल निर्माण सुरु गरिएको छ । 

मुग्लिन-पोखरा सडकखण्डको व्यास नगरपालिका-३ र ५ जोड्ने मादी नदी माथि उक्त पुल निर्माण थालिएकोे हो ।

अनप जेडआइसि जेभी चाइनिज निर्माण कम्पनीले पुल निर्माणको लागि ठेक्का गरेको मुग्लिन-पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 

तीन सय पन्ध्र मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले २०२२ अगष्ट ११ सम्झौता गरेको हो । उक्त पूर्वी खण्डमा हालसम्म ३८ प्रतिशत कार्य प्रगति भएको उनले बताए । 

हालको मादीपुलबाट करिब ५० मिटर दुरीमा नयाँ पुल निर्माण भइरहेको छ, उनले भने, “पुल निर्माणका लागि रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता छ ।” 

ढाँचाअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजना कार्यालयले जनाएको छ ।

पूर्वीखण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी कम्युनिकेसन कन्स्ट्रक्सनले लिएको छ । उक्त खण्ड रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो ।

यस खण्डको काम २०७८ वैशाख २ मा गरिएको  हो । ४१.४५ किलोमिटर दूरीको यो खण्डको काम २०८१ वैशाखसम्म सक्नुपर्ने सम्झौता भएको छ ।

त्यसैगरी पृथ्वीराजमार्गको पूर्वी खण्ड अन्तर्गत डुम्रे बजार क्षेत्रका एक सय साठी वटा भौतिक संरचनाको रु १५ करोड १३ लाख मुआव्जा निर्धाररण गरिएको छ । 

त्यसैगरी सदरमुकाम दमौली बजारका ७५ भौतिक संरचनाको रु ६ करोड बराबरको मुआब्जा निर्धारण गरिएको इञ्जिनीयर पाण्डेले जानकारी दिए ।

डुम्रे बजारका तीन/चारजना बाहेक अन्य सबैले मुआब्जाको पहिलो किस्ता लिएका छन् भने दमौलीमा करिब ४० जनाले मुआब्जाको पहिलो किस्ता लिएका छन् । 

यसैगरी पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी दुई खण्डमा सडक विस्तारका कार्य भइरहेको छ । 

राजमार्गको पश्चिम खण्ड अन्तर्गत जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दुरी सडक पर्दछ । 

उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले गरिरहेको भएको मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड)का इञ्जिनीयर नारायण पौड्यालले जानकारी दिए । 

२०७८ भदौबाट काम सुरु भएको यो खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने गरी सम्झौता भएको हो । 

पश्चिम खण्डका लागि रु सात अर्ब ४० करोड ४६ लाख ८१ हजार मा ठेक्का सम्झौता भएको छ । उक्त खण्डमा हालसम्म १२ प्रतिशत मात्र भौतिक प्रगति भएको बताइएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ