arrow

यौनिक तथा लैङ्गिक यौनकर्मीको गुनासो

‘हामी पलपल मरिरहेका छौँ’

logo
युवराज गौतम, 
प्रकाशित २०८० मंसिर २६ मंगलबार
yubraj-gautam-2080-08-25.jpg

काठमाडौँ । दुई वर्ष पहिले बुटवलबाट काठमाडौँ आएकी २२ वर्षीया रोनिशा राई (नाम परिवर्तन) को दैनिकी सामान्य मान्छेहरुको भन्दा भिन्न छ । करिब ६ महिना एक निजी संस्थामा जागिर गर्दागर्दै निकालिएकी उनी हिजोआज काठमाडौँको रत्नपार्क धाउँछिन् । 

अनुहारमा लाली पाउडर चम्काएर कसिलो पोशाकमा रत्नपार्क पुग्ने गरेकी उनको काम सडक किनारामा उभिएर ग्राहक कुर्नु हो । ‘साँझपख वा बेलुकी म कोठाबाट निस्कन्न । मेरो समय दिउँसो हो । बिहान खाना खाएर १२ बजेतिर रत्नपार्क पुग्छु, ग्राहक नभेटेसम्म सडक किनारातिर यताउती गर्छु’, लाजिम्पाटस्थित भित्री गल्लीको एक पुरानो घरको डेरामा भेटिएकी उनले भनिन्, ‘घर परिवारलाई एउटा एनजीओमा काम गर्दैछु भनेको छु । मैले यस्तो काम (यौन व्यवसाय) रोज्नुपर्ला भन्ने कहिल्यै कल्पना गरेको थिइन । तर गरिबीले सडकमा पुर्यायो । पढ्न नसकेपछि घर छाडेर हिँडेकी हुँ । अहिले हजार–पन्ध्र सय रुपैयाँमा शरीर बेच्नु परेको छ । कुन बेला प्रहरीको आक्रमणमा परिन्छ टुंगो छैन ।’

अग्लो कद, आकर्षक जीउडाल र गहुँ गोरो रूपकी रोनिशाको डेरामा पुग्दा शुरुमा बोल्न धकाइन् । यौनिक पहिचान र अधिकारका कुरा गर्दै गएपछि उनले आफ्नो विगत र दैनिकी खोल्दै गइन । ‘म कसरी अरु सामान्य महिला भन्दा फरक भएँ भन्ने आफैँ बुझ्दिन । मेरो भावना र मानसिक सोचाइ किन यस्तो भयो होला । अनि किन यही पेसा रोज्नुपर्यो होला । मसँग जवाफ छैन’, रसिला आँखा पार्दै मलिन स्वरमा उनले भनिन्, ‘मेरो मन मात्र होइन शरीर पनि छियाछिया भएको छ । प्रहरीको लाठी मात्र होइन ग्राहकको आक्रमण सहनुपरेको छ ।’

दिउँसोको समयमा रत्नपार्क क्षेत्रमा आफूजस्ता अर्थात् तेस्रोलिङ्गी महिला २० जना जति सक्रिय हुने गरेको उनले सुनाइन् । सडकमै रहेका घुमुवा प्रहरीबाट भन्दा पनि राउन्ड अप्रेसनमा आएका प्रहरीले लखेटीलखेटी आक्रमण गर्ने गरेको उनले सुनाइन् । कोही ग्राहकले तेस्रोलिङ्गी महिला भएको पत्तो पाए भने स्वार्थ पूरा गरेर पैसा नदिने गरेको उनले बताइन् । 

‘हामी समाजमा त सुरक्षित छैनौँ । अपहेलित छौँ । गरिखाँदा पनि सुरक्षित हुन सकेनौँ । हामीलाई सुरक्षित ठाउँ चाहिएको छ,’ रोनिशाले आफ्नो माग सुनाउँदै भनिन्, ‘देशभर हामीजस्ता हजारौँ साथीहरु सुरक्षित र निश्चित ठाउँको अभावमा ज्यान जोखिम मोलिरहेका छन् । कसैको हत्या गरेर वा चोरी डकैती गरेर अपराध गरेको गरेका छैनौँ । स्वतस्फूर्त रुपमा शरीर उपयोग गराएर जीवन यापन गर्न चाहन्छौँ ।’

मकवानपुर हुँदै काठमाडौँमा बसेर डेढ दशक यौन व्यवसायमा बिताएकी सुनिता लामा (नाम परिवर्तन) का झन् कहालीलाग्दो र अत्यासलाग्दो कथा छ । छोरा भएर जन्मिएका उनको हाउभाउ छोरीको छ । लिपिस्टिक, गाजल, नङ पोलिस लगाउँछिन् । लामो कपाल छ, चुल्ठो बाट्छिन्, सिन्दुर लगाउँछिन् ।

‘मलाई परिवारले छोराका रुपमा चिन्यो, बिहे गरिदियो, दुई सन्तान जन्मिए तर मेरो झुकाव, मेरो मनोभावना र इच्छा आकांक्षाहरु कसैले बुझ्न सकेन,’ लाजिम्पाटको साँघुरो डेरामा उनले आफ्नो विगत सुनाउँदै भनिन्, ‘छोरो ठानेर बिहे गरिदिए तर छोरी जस्तै भएर हिँड्न थालेपछि श्रीमतीले छाडिन् । वर्षौँसम्म मनका भावनाहरु गुम्सिएरै बिते । विस्तारै मेरो जीवनले नयाँ मोड लियो ।’

परिवार र समाजले नबुझेपछि उनी विदेशिइन् । मलेसियामा काम गरिरहेको कम्पनीले पहिचान थाहा पाएपछि जागिरबाट निकालिदियो । नेपाल नै फर्किएर विकल्पका रुपमा यौन पेसा रोजेको उनी बताउँछिन् ।

‘त्यतिबेला फरक यौनिकता भएकाहरु यौन व्यवसाय गर्थे । मैले पनि त्यही बाटो रोजेँ । महिलाको पोशाकमा चिरिच्चाट्ट परेर रत्नपार्क, ठमेल, लाजिम्पाट क्षेत्र पुग्न थालेँ,’ उनले भनिन्, ‘कमाइ राम्रै थियो । घर परिवार चलाउन जेनतेन पुग्थ्यो । तर प्रहरी प्रशासनको सास्ती सहिनसक्नु थियो । लखेटी लखेटी प्रहरीले पक्राउ गर्दथ्यो । भाग्दा भाग्दै चप्पल चुटिन्थ्यो । खुट्टा चोटले रक्ताम्य हुन्थ्यो । सोह्रखुट्टे, दरबारमार्गको प्रहरी कस्टडीमा कयौँ रात बिताइयो, प्रहरीको लात र लाठीका डाम शरीरमा अझै ताजै होलान्,’ उनले कहालीलाग्दो आफ्नो विगत सुनाइन् ।

हुनत सुनिताले यौन व्यवसाय छोड्न थुप्रै पटक प्रयास गरिन् । होटल चलाइन्, मेकअप आर्टिस्टका रुपमा काम गरिन् । तर यी कामले जीवन चलेन, पेशा चलेन । ‘त्यसपछि मनमा आक्रोश पैदा भयो । संस्था खोलेर आफूजस्तै यौनकर्मीका लागि काम गर्छु भन्ने सोचिन् । तर मेसो मिलेन । 

‘त्यो भन्दा पहिले आफूजस्तै काम गर्दै आएको नीलहिरा समाजमा आबद्ध भएर काम सिकेँ । हामीजस्ता समुदायका अधिकारका बारेमा बोल्न सक्ने भएँ । अहिले ‘मायाको संसार’ नामको संस्था स्थापना गरेको छु । यौनकर्मी अधिकारका लागि लड्न थालेको छु,’ उनले भनिन्, ‘मेरो शरीर मेरो अधिकार भन्ने सोचका साथ यौनकर्मीलाई सम्मान, माया र निश्चित क्षेत्रमा काम गर्न दिनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएको छु,’ उनले बताइन् ।

रोनिशा र सुनिताको जस्तै कथा नेपालमा करिब २० हजार यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको छ । काठमाडौँ उपत्यकासहित पोखरा, धरान, हेटौंडा, इटहरी, नेपालगञ्ज लगायतका व्यस्त र पर्यटकीय क्षेत्रमा यौनकर्मीको व्यवसाय फस्टाएको पाइन्छ । 

फरक लैङ्गिक पहिचान भएकाहरुमध्ये सन्ध्या लामा, लेक्मी लामा, करिष्मा सिंहको कथा सुन्ने हो भने नेपाली समाजको अत्यासलाग्दो यौन बजारको भित्री पाटो झल्किन्छ । ‘वास्तवमा हामी पलपल मरिरहेका छौँ । समाजको तिरस्कार, कानूनी बन्देज र ग्राहकबाटै भइरहेको हिंसा सुनाउन थाल्ने हो भने एउटा मार्मिक फिल्म तयार हुन्छ,’ सन्ध्याले भनिन्, ‘कहाँ सुनाउँ हाम्रो पीडा, कहाँ पोखौँ व्यथा अनि कहिलेसम्म आतंककारी र हत्याका अपराधी जस्तो भएर सडकमा ग्राहक पर्खेर बसौँ ।’

यौनकर्मीको लामो कथा व्यथा सुन्ने हो भने वास्तवमा नेपाली समाजको चित्रण प्रष्ट हुन्छ । फरक यौनिक पहिचान भएका कारण सास्ती भोग्नेहरुको वास्तविक घटनाले मानव अधिकारको दर्दनाक अवस्था छर्लङ्ग हुन्छ । उक्त समुदायको क्षेत्रमा कार्यरत संस्था मितिनी नेपालकी कार्यकारी निर्देशक सरिता केसीले आइएलओको श्रमिक परिभाषामा यौन श्रमिकहरुलाई पनि समेटेकाले यौन श्रमिकहरुले उचित सम्मान पाउनुपर्ने बताउँछिन् । उनले सरकारी निकायले नेपालका यौन श्रमिकहरुको अध्ययन गरी अधिकार रक्षाका लागि गम्भीर बन्नुपर्ने बताउँछिन् ।

हुनत यौनकर्ममा लाग्नेमा महिला र पुरुष दुवै छन् । तर फरक यौनिक पहिचान भएकाहरुलाई हेर्ने दृष्टिकोण फरक रहेकाले यौन व्यवसाय सुरक्षित नभएको यौनिक तथा लैङ्गिक अल्पसंख्यक महासंघकी उपाध्यक्ष भूमिका श्रेष्ठको भनाइ छ । 

‘यो सम्मानित पेशा अवश्य होइन तर जोकोही व्यक्तिलाई अपमान गर्ने अधिकार कसैलाई छैन । झन हाम्रो समुदायका व्यक्तिहरुलाई देह व्यापारमा लगाउन राज्यले नै उत्प्रेरित गर्छ । शिक्षा, स्वास्थ्य, रोजगारी छैन । स्वालम्बी बनाउने सरकारसँग योजना छैन । पारिवारिक अपहेलना, सामाजिक तिरस्कार भोगेका हाम्रा साथीहरु यौन व्यवसायमा लाग्नुभएको छ । उहाँहरुको पनि बाँच्न पाउने अधिकार छ । विकल्पका बाटाहरु समाज र राष्ट्रले कोरिदिने हो, हिंसा मच्चाउने होइन नि’, भूमिकाले भनिन् । 

कानून प्रष्ट छैन
नेपालको संविधानले मुलुकका जोकोही नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्त अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको बताउँछन । मुलुकी फौजदारी सहिता ऐनको दफा २१३ ले जबर्जस्ती यौन कार्यमा लगाउनु गैरकानूनी भने तापनि स्वतःस्फूर्त गरिने यौन व्यवहार र व्यवसाय अवैधानिक हो भनी बुझ्न नमिल्ने अधिवक्ता पन्तले बताए ।

हुनत नेपालमा यौन व्यवसायलाई वैध बनाउने र नबनाउने दुई खाले बहस भइरहेको छ । यौन व्यवसायले विकृति भित्र्याउने भएकाले रोक्नुपर्छ भन्नेहरु पनि छन र खुला छाडिदिँदा हिंसाका घटनामा कमी आउँछ भन्नेहरु पनि छन् । 

मुलुकी ऐन २०२० मा जिउ मास्ने बेच्नेको महल अन्तर्गत जबर्जस्ती यौन व्यवसायमा लगाउन र बेचबिखन गर्न रोक लागेको तथा २०४३ को मानव बेचबिखन ऐनले पनि वेश्यावृत्तिबारे उल्लेख नगरेको र महिलालाई वेश्यावृत्ति गर्ने उद्देश्यले बेचबिखन गरेमा भन्ने सोहि आशयको व्यवस्थासमेत हेर्दा स्वतः स्फूर्त यौन व्यवसायमा लाग्ने कार्य कानूनतः अपराध नभएको बुझिन्छ ।

अधिवक्ता पन्तले उमेर पुगेका दुई व्यक्तिबीचको सहमतिमा हुने कुनै पनि कार्यमा राज्यले नियन्त्रण गर्न नमिल्ने बताउँदै भने, ‘यौनलाई वैधानिक गर्दा धेरै प्रकारका हिंसा रोक्न सकिन्छ । जबसम्म यौनलाई कुण्ठाको विषय बनाएर राखिन्छ, समाजमा यौनसम्बन्धी घटना र दुर्घटना भइरहन्छन् ।’

नेपालको कानूनमा यौन व्यवसाय वैध वा अवैध भन्ने कुनै पनि खालको स्पष्ट धारणा नभएकाले यसलाई अपराधीकरण गरेर जोकोही यौनकर्मीमाथि राज्यले दमन गर्न नहुने अधिवक्ता पन्तको भनाइ छ । उमेर पुगेका दुई व्यक्तिबीचको सहमतिमा हुने कुनै पनि कार्य राज्यले नियन्त्रण गर्न नमिल्ने भएकाले व्यवस्थित बनाउन लाग्नुपर्ने उनको तर्क छ । 

‘आफ्नो शरीर, आफ्नो अधिकार’को बहस विश्वव्यापी रुपमा चर्किदै गएकाले यौन श्रमिकहरुको पक्षमा लड्न, मौलिक हक सुरक्षित गर्न साथै आर्थिक, शैक्षिक, कानूनी, भौतिक, सामाजिक एवम बैचारिक सहयोग गर्न राज्य तत्पर हुँदा राम्रो हुने उनको भनाइ छ । महिला र पुरुष भन्दा भिन्न पहिचान भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको सवाल राज्य थुप्रै ठाउँमा संकुचित भएकाले समस्या आएको अधिवक्ता पन्त बताउँछन् ।

सीप सिकाउ वा व्यवस्थित गर
नेपालमा करिब ६० हजार सक्रिय यौनकर्मी रहेको अनुमान गरिन्छ । त्यसमा २० हजारको हाराहारीमा पुरुष यौनकर्मी रहेको विभिन्न तथ्यांकहरुले देखाएको छ । प्रत्यक्ष रुपमा सडकमै उत्रिएर ग्राहक कुर्ने, व्यक्तिगत सम्पर्कबाट वा होटल, रेष्टुरेन्ट, डान्सबार, दोहोरी, पबलगायतका माध्यम बनाएर ग्राहकको यौन ब्यास मेटाइदिने यौनकर्मीहरुको संख्या लाखौँ छ ।

नेपालमा यौन व्यवसाय खुल्ला बन्दै गएको केही दृष्टान्तहरुले पनि देखाउन थालेको छ । यसलाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने आवाज उठिरहेको छ । कानूनी अधिकार दिलाउनुपर्छ भन्नेहरु पनि छन् । 

तर कानूनले आफूलाई यौनकर्मी भन्न नरुचाउनेहरुको संख्या धेरै छ । त्यस कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरु कानुनी अधिकार भन्दा पनि व्यवस्थित र सम्मानजनक पेसाका रुपमा अंगाल्नुपर्ने बताउँदै आएका छन् ।

मायाको संसार नामक संस्थाको अध्यक्ष सुनिता लामा यौन व्यवसायीले कानुन चाहेका होइनन व्यवस्थित र समान्न खोजेको बताउँछिन् । ‘राज्यले यौनकर्मीको पहिचान गरोस्, सम्मान गरोस् । पेशा बदल्न उत्प्रेरित गर्छ भने सिप सिकाएर रोजगारी दिलाओस्,’ उनले भनिन् । यौन सम्बन्धी रोगको जोखिम र शारीरिक वा मानसिक हिंसा सहेर यो पेशा अंगाल्न कसैलाई रुची नभएको यौनिक अल्पसंख्यकको भनाइ छ । 

यौनकर्मी भनेपछि समाजले नकारात्मक हिसाबले हेर्ने भएकाले यसले कानूनी मान्यता पाउनेबित्तिकै उनीहरुप्रति झनै विभेद बढ्दै जाने उनको ठहर छ । वैधानिक मान्यताले मात्र समाजको मानसिकता नबदलिने भएकाले व्यवस्थित गर्नुपर्ने आवाज उठेको छ । यौन पेशामा संलग्न केही यौनिक अल्पसंख्यकहरुले आफूले सीपमूलक तालिम भन्दा पनि जिवन निर्वाह गर्नेकाम पाए आफ्नो पेशालाई बदल्ने बताउने गरेका छन् । 


 


 



नयाँ