arrow

संविधानको सम्मान र पार्टीको निर्णयको रक्षा गर्दै गगनले लेखे उम्मेदवार चयनमा ‘नोट अफ डिसेन्ट'

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष २३ सोमबार
gagan-thapa-2080-07-02.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । आगामी माघ ११ गते १९ सिटका लागि हुने निर्वाचनका लागि आज दलहरुका तर्फबाट उम्मेदवारले उम्मेदवारी दर्ता गराइरहेका हुन् । 

सत्ताधारी गठबन्धनबाट १९ र प्रमुख प्रतिपक्षबाट नेकपा एमालेका १९ उम्मेदवारले उम्मेदवारी दिन लागेका हुन् । गठबन्धनबाट नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, नेकपा एसले २ तथा जसपाले १ सिटमा उम्मेदवारी दिँदैछ । 

अन्य दलमा सहजै उम्मेदवार चयन गरिएको भए पनि कांग्रेसभित्र भने विवादबीच उम्मेदवारी चयन भएको हो । कांग्रेस महामन्त्री गगनकुमार थापाले भने विशेषगरी दुई ओटा विषयमा उम्मेदवार चयन नभएको भन्दै आपत्ति जनाउँदै नोट अफ डिसेन्ट लेखेका छन् । 

उनले उम्मेदवारी छनोटप्रति फरक मत राख्ने क्रममा जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरिए पनि त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । यसलाई उनले संविधान विपरीत गएर छनोट गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् । 

उनले नोट अफ डिसेन्टमा लेखेका छन्, ‘हाम्रो संविधानले राष्ट्रिय सभामा खास गरी प्रतिनिधि सभामा प्रतिनिधित्व हुन नसकेका जाति, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ ।’

उनले दोस्रो विषयका रुपमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्णय विपरीत गएर उम्मेदवार चयन गरेको भन्दै आपत्ति जनाएका हुन् । 

उनले असहमतिमा भनेका छन्, ‘यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पुस १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने लगायतको मापदण्ड तय गरेको थियो । तर संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्‍याउन सकेन ।’

उनले अहमतिमा लेखेका छन्, ‘यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाईसमेत थप कमजोर बनाउँछ ।’

नेता थापाले पार्टीको निर्णयप्रति असहमति रहे पनि बहुमतले गरेको निर्णय कार्यान्वयनमा आफ्नो पूर्ण संलग्नता रहने पनि उनले स्पष्ट पारेका छन् ।

कांग्रेसले १० जना उम्मेदवार पाएकामा ४ जना भने गगन–शेखर समूहकै हुन् । ती चार जनामा पनि महिला, अपांगता भएका र दलित समुदायको प्रतिनिधित्व हुने गरी उम्मेदवार यो पक्षले दिलाएर समानुपातिकमा ध्यान दिएको छ । 

यद्यपि कांग्रेसले विज्ञ व्यक्तिहरु भने कोही पनि भेट्टाएन । त्यस्तै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरु पनि कांग्रेसले पाउन सकेन । 

कांग्रेसले मात्र होइन कुनै पनि दलले यस्ता विशिष्ट योगदान पुर्याएका उम्मेदवार पाउन सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ