arrow

कित्ताकाट

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८० पुष २८ शनिबार
krishna-sharma-2080-09-28.jpg

किन कतिपय बिर्सनयोग्य घटना वा सम्बन्धहरुले मनको कुना खोज्छन् ? किन त्यस्ता सम्बन्धहरु चोलीको तुनामा परेका अप्ठेरा गाँठा जस्तै बल्झिएर बस्छन् ?

कतिपय सम्झदा पनि तीता महसुस हुने सम्बन्धहरु किन डस्टरले जस्तै सजिलै मेट्न सकिँदैन ? जसरी नचिनेका ब्यक्तिलाई नचिन्ने सुविधा हुन्छ किन हामीलाई नमीठा सम्बन्धलाई नचिन्ने सुविधा हुँदैन ?

हामी भित्र के छ त्यस्तो जसको कारण सम्बन्धहरुको विष्मरण सहज हुँदैन ? हामीभित्र को छ त्यस्तो जसले बिर्सनयोग्य विगतलाई सम्झन बाध्य पार्छ ?

हामीले बिर्से पनि फरक नपर्ने कुरा किन सम्झन्छौँ र सम्झनु पर्ने कुरा किन बिर्सन्छौँ ?

हामीले सम्झन नचाहँदा नचाहँंदै पनि सम्बन्ध सम्बन्धी विचारहरु किन भेँडाको बथान जस्तै मनको शिखर चढ्छन् अनि खस्छन् तर कहिल्यै सकिँदैनन् ?

हामी भित्रको वैचारिक मानिसले हामीलाई किन केही अभ्यास बिना, कुनै कथानक बिना मञ्चमा पठाउँछ अनि हठात् हामीलाई दुबिधामा छोडेर हराउँछ ?

कसो कसो हामी संकटबाट उम्किएका मात्रै हुन्छौँ । अनि फेरि कुन अधिकार लिएर त्यो वैचारिक मानिस हामीमाथि शासन गर्न आउँछ ?

के हामी भित्रको त्यो वैचारिक मानिस पनि हामीले नै जन्माएको सरकार हो जसले हामीमाथि वैधानिक रुपमा बेरोकटोक शासन गर्छ अनि हामी बाध्य भएर शासित हुँदै जान्छौँ ?

सुधारको हजार प्रयासबीच विगतको मेरो एउटा सम्बन्ध तितेपाती जस्तै रहन पुग्यो ।

करिब २३ वर्ष पहिलेको कुरा हो । उनले प्रस्ताव गरेकी युवतीलाई मैले बिहे गर्न नसक्ने कुरा गरेपछि मेरा एक मित्रले हामीबीचको करिब एक दशक लामो मित्रताबीच कित्ताकाट गरे । 

घर छिर्ने गेटमा तगारो लगाए । विवाह जस्तो नितान्त व्यक्तिगत कुरामा अरुका जस्तै मेरा पनि आफ्नै मान्यता, बाध्यता र अन्यथाहरु थिए । तर उनले नजिकको मित्र भएको गलत फाइदा लिँदै छिट्टै रिसाए । 

उनको स्वभावअनुसार सायद त्यो स्वभाविक थियो । तर उनको सुन्दर प्रस्तावलाई मैले स्वीकार गर्न नसक्ने कारण खुलाउनु मेरो व्यक्तिगत दायित्व भएकाले म चार पाँच पटक सीमामा लगाइएको तघारो नाघेरै मित्रताको ढोका ढक्ढकाउन पुगेँ ।

उनले ढोका नखोलेपछि पटक–पटक ढोका ढक्ढकाइरहनु पर्ने औचित्य समाप्त भयो । मित्रताले विश्राम लियो । उनी आफ्नो बाटो लागे । म आफ्नो बाटो लागेँ । 

जीवनका कतिपय अवस्थाहरु बाध्यतावश विकल्परहीत हुन्छन् । २१ वर्षपछि उनले मित्रताको बन्द ढोका खोले । म माइतीघर पुगेकी चेली जस्तै हुर्रिंदै भित्र पसेँ । 

पुरानो मित्र भएकाले हुनुपर्छ, मैले सायद पुराना कुरा बिर्सेर अँगालो मार्न चाहन्थेँ । तर उनले हात अघि बढाए । सायद म पुरानो मित्रताबाट कुरा शुरु गर्न चाहन्थेँ । तर उनी ती कुराहरूमा जान चाहेनन् । 

उनले २३ वर्षमा आफूले फड्को मारेको आर्थिक उन्नतिको राम कहानी सुनाए । राजधानी शहरको मुख्य भागमा बनेको घर, जोडेका फर्निचर, गाडी इत्यादि देखाए । 

घरको छतबाट उत्तरतिर फैलिएका हिमश्रृंखला देखाए । विदेशी पेय पदार्थ पस्किए । मैले उनको प्रगति देखेर आफू बेहद खुशी भएको कुरा गरेँ । उनले आफ्नो नाकका पोरा फुलाए ।

उनले दुई चार पटकको भेटपछि म भएको ठाउँमा आउन चाहेको कुरा गरे । मेरो इमानदार कोसिस रह्यो तर उनको प्रयास सफल हुन सकेन । 

कारण मलाई थाहा नहोस् भनेर उनले म सँगको मित्रताको ढोका मैले चाल नपाउने गरी विस्तारै फेरि आफैँ बन्द गरे । 

यसपटक भने म तघारो नाघेर एक पटक पनि ढोका ढक्ढकाउन गइन । जानु पर्ने कारण पनि थिएन । मलाई तेस्रो पटक बेवकुफ हुनु थिएन । 

मलाई थाहा छ सबैजसो सम्बन्धहरु स्वार्थप्रेरित हुन्छन् तर आजकल म विस्तारै बुझ्दै छु एकतर्फी स्वार्थबाट प्रेरित मित्रताको आयु लामो हुँदैन ।

कृष्ण र सुदामाबीचको मित्रताका कथा सुनेर हुर्केकाले हुन सक्छ मैले मेरा सम्बन्धहरुमा निश्चल एवम् आवरणरहित स्नेहको आशा राखेँ । मैले बिर्सेँ कि म द्वापर अनि कलियुगमा होइन बरु वैश्य युगमा छु जसले द्रब्य बाहेक केही देख्दैन, केही सम्झन्न ।

साँच्ची हामी किन सम्झन्छौँ ?

किन कतिपय सम्झनाहरु संस्कार बन्छन् ? बानी बन्छन् ? परम्परा बन्छन् ?

मैले उक्त मित्रसँगको तीतो सम्बन्ध किन भुल्न सक्दिन ? 

किन सम्झनाले मनको घाउ कोट्याइरहन्छ ? 

किन घटनाका घाउहरु निको हुन पाउँदैनन् ? 

किन मानिस नमरुन्जेल घटना र सम्बन्धहरुले बनाउने घाउको पीडामा बाँच्न अभिशप्त छ ?

किन उसले जीवन र जीवनले दिने घाउबीच कित्ताकाट गर्न सक्दैन ?

किन ऽऽऽ ? 
 



नयाँ