arrow

अँ साँच्ची त्यो लमहीको आगो बजार

logo
नारायण वली,
प्रकाशित २०८० माघ १८ बिहिबार
lamahi aago- bazar7.jpg

लुम्बिनी । हिजोआज दिनप्रतिदिन बजारमा व्यवसाय सुनसान बन्दै जान थालेका छन् । जताजतै पर्चा टाँसिएको देखिन्छन् यहाँ वहाल खाली छ । एकातिर व्यवसायीहरु पलायन हुँदै गएका छन् भने अर्कोतिर बजारका सटरहरु बन्द हुँदै गएका छन् ।

ओरालोतिर लागेको बजारलाई चलायमान बनाउन पछिल्लो समय उद्योगी व्यवसायीहरु चिन्तित देखिन थालेका छन् । व्यवसायीहरु बजारको स्थितिलाई गुल्जार बनाउनका निम्ति उपायहरुको खोजीमा लागेका छन् ।

नेपालको मध्यभागमा पर्ने रुपन्देहीको बुटवल शहर व्यापारिक केन्द्रको रुपमा परिचित मानिन्छ । महेन्द्र राजमार्गमा पर्ने उक्त शहर पहाडी जिल्लाहरुको प्रमुख व्यापारिक क्षेत्रमा स्थापित भए पनि हालको अवस्था नाजुक बन्दै गएको देखिन्छ । जसलाई पुरानै शैलीमा ल्याएर बुटवललाई आर्थिक राजधानी बनाउने संकल्पका साथ रात्रीकालीन व्यवसाय सञ्चालन गरेर पर्यटक भित्र्याउने योजना बनाइएको छ । तर बिडम्वना जहाँ एउटा यस्तो रात्रीकालीन बजार छ, त्यो नेपालकै पहिलो र सदावहार मानिन्छ । यात्रुहरुको भरपर्दो, सुविधायुक्त र सुरक्षाको हिसाबले सवल मानिने बजारलाई हटाउने केही निकायहरुले सीमित बहाना रच्दै गरेको पाइएको छ । 

त्यो बजार हो, दाङको लमही बजार । पूर्वपश्चिम महेन्द्र राजमार्गसँगै रहेको लमहीको बसपार्क क्षेत्रमा रहेको स्टलवाला रात्री तथा दिवा बजारले आन्तरिक एवं बाह्य मानिसहरुको विश्राम स्थल रुपमा परिचित छ । दिनमा जस्तै रातमा मेला लागे जस्तो मानिसहरुको भीडभाड देखिन्छ । रात्री बसहरुको बिसौनी बनेको उक्त बजार लामो दूरीका बसहरु प्रायः आगो ताप्ने र चिया पिउने उद्गम प्वाइन्ट ड्राइभरहरुका लागि (रिफ्रेस सेन्टर) बन्दै आएको छ ।

विशेषगरी जाडो मौसममा चिसोले प्रभावित भएर सवार गरिरहेका यात्रुहरुले आगो ताप्न पाउने शहर हो लमही । माघ १० गते राति कैलालीको अत्तरियाका रमेश थारु बसबाट हतारहतार झर्दै आगोतिर आएर भने, 'बसमा चिसो भएर मुटु नै कापिरहेको थियो, लमहीको आगो बजार कतिबेला आउला र आगो तापेर ज्यान तातिएला भन्ने सोचेको थिएँ ।'

काठमाडौँदेखि घर जान हिँडेका थारुले शरीर तताउँदै चिया पिए । 

चियादेखी चटपट, चाटसमेत पाउने बजारमा यात्रुहरु झरेपछि गाडिमा चढ्न समेत मन लगाउँदैनन् । कारण हो जाडोमा दाउराको आगोले दिएको तातो ताप लिन पाउनु, गर्मीमा नजिकै चुरे पहाड भएका कारण चिसो हावाले अक्सर मानिसहरुको जमघट सदावहार हुन्छ । लमही नगर विकास समितिको जग्गामा रहेको बसपार्कलाई पहिलेभन्दा व्यवस्थित बनाइँदैछ, टिकट काउण्टरको पुरानो भवनलाई भत्काएर व्यवसायिक चार तले भवन बनाइँदैछ । नजिक देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान छ । जसको प्याराफिट निर्माण गर्दा सटरहरु निकालिएको छ । ती दुई व्यवससायिक सटरहरुका कारण वर्षौदेखि आफैँ स्टल निर्माण गरेर मासिक वहाल दिँदै आएका स्थानीयहरुको व्यवसायलाई हटाउन माघ समान्तभित्र अन्तिम अल्टिमेटम दिइएको छ लमही नगर विकासबाट । 

झण्डै ३० वटा स्टल र ५ देखि १० वटा ठेलाहरुले आफ्नो दैनिकी चलाउन व्यवसाय गर्दै आएका छन् । उनीहरुको कार्यले लमही बजारको एउटा पहिचान बनेको छ । केही स्थानीयहरुले परिश्रम गरेर घर चलाउने थलो बनाएका छन् । त्यही आर्थिक चलाएमान र बजारलाई रात्रीकालीन समयमा गुल्जार बनाएहरुको बजारलाई हटाउन बजारको शोभनीय माथि असर पुर्याएको भन्दै हटाउन दिएको समयावधि सकिन अब ११ दिन बाँकी छ । वैकल्पिक व्यवस्था गरेर चलाउनुपर्ने उक्त व्यवसायीहरुको माग सुन्ने फुर्सदमा न नगरपालिका न नगर विकास छ ।

नेपालका झापाको दमक, धरान, इटहरी, बुटवल, नेपालगञ्ज, सुर्खेत लगायत दर्जनवढि शहरहरु रात्रीकालिन बजारको संघर्षमा लागि रहँदा लमही नगरपालिका र नगर विकासलाई भने उक्त बजार घाँडो बन्न पुगेको स्थानीय एक होटल व्यवसायीले बताए । उनी भन्छन्, त्यहाँ झरेर मानिसहरु होटलमा बासका लागि आउने गर्छन् । 

लमही-कोइलाबास सडकको स्तरोन्नति गर्ने भनेर सडक मिचेर बनाइएका घर हटाउन नसकेको लमही नगरपालिकाले बसपार्कमा रहेका बजारलाई हटाउन खोज्नु आफैमा लज्जास्पदको विषय बनेको छ । लमही नगरपालिका उपप्रमुख लक्ष्मी योगीले भनिन्, 'ती टहराले बजारको शोभनीय बिगारेकाले हटाउन खोजिएको हो ।'

नयाँ सोचका साथ रात्रीकालीन व्यवसाय सञ्चालनको माग यतिबेला बहसको विषय बनेको छ । आर्थिक चलायमान बनाउन रात्रीकालीन बजारले विशेष भूमिका खेल्ने बारेमा सरोकारवालाहरुले विश्वास लिँदै अब नयाँ सोँच र अवधारणाबाट व्यवसाय सञ्चालन नगरे आर्थिक गतिविधि, पर्यटन क्षेत्र र बढ्दो व्यवसाय बन्दले बेरोजगारी समस्या झन जटिल बन्दै जाने ठम्याइ गर्छन् ।

विभिन्न कला संस्कृति प्रदर्शनसहित आन्तरिक एवं बाह्य पर्यटकहरुलाई लोभ्याउने र भुलाउने गरी बजार सञ्चालन गर्ने योजनालाई अघि बढाउनुपर्ने बेला स्थापित बजारलाई हटाएर सुनसान बनाउन खोज्नु र वैकल्पिकता नदिई सानो व्यवसाय गरी घर व्यवहार चलाएकाहरुको रोजीरोटी खोस्नु उचित नभएको स्थानीय जानकारहरुको भनाइ छ । 

जानकारहर भन्छन्, 'आर्थिक उन्नति र पर्यटन प्रर्वद्धनका लागि रात्रीकालीन बजार सञ्चालन गर्न आवश्यक छ । रात्रीकालीन बजार विस्तारका क्रममा त्यहीँ भएका पसललाई व्यवस्थित गर्ने र थप सबैखाले सेवालाई विस्तार गर्नुपर्छ । लमही बसपार्कको विगतदेखिको रात्री बजारले सौन्दर्य बढाउनुको साथै महेन्द्र राजमार्ग अन्तर्गत देशकै नमुना यात्रु तथा सवारी विश्राम स्थललाई बचाएर आगन्तुकहरुको रोजाई बनाउनतर्फ ध्यान दिनु यस क्षेत्रको उत्थान हुन्छ । 

त्रिसिद्धेश्वरी राप्ती बस व्यवसाय प्राली दाङका अध्यक्ष सुरेश हमालले उक्त बजारलाई विस्थापित गराएमा यातायात क्षेत्रमा पनि ठूलो असर पुग्ने बताउँछन् । लमही राजमार्गमा पर्ने संगम ठाउँ हो । जहाँ आन्तरिक तथा बाह्य मानिसहरुको जाउजाउ हुन्छ । छोटो एवं लामो दूरीका सवारीलाई यात्रुहरु पाइने एउटा उद्गम स्थल हो । विस्थापित नगरी व्यवस्थित गरेर वैकल्पिकता दिँदा राम्रो हुने सुझाए । 

यता लमही उद्योग वाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरी भन्छन्, 'हिजो विकल्प थिएन, आज आमूल परिवर्तन आएको छ, बसपार्कमा धुँवाधुलो उड्ने र त्यहाँ पाइने खाने कुरा प्रदूषित हुने भएकाले त्यसलाई र नगर विकास समितिले बनाएको व्यावसायिक भवन सुविधायुक्त भएकाले त्यसमा व्यवस्थित गरेर चलाउनुपर्छ भन्ने कुरा उद्योग वाणिज्य संघको पनि  धारणा हो । नगर विकासले ठूलो लगानीमा व्यवसायिक भवन बनाएको छ ।' उनले भने, 'तर हामी साना व्यवसायीहरुलाई विस्थापित गर्ने मनसायमा छैनौँ । हामीसँग कुनै निकायले समन्वय गरेको अवस्था छैन ।' 

लमहीको चाट ब्राडिङ छ, यहाँ आउनेहरुले चाट नखाई जाँदैनन्, बरु त्यसलाई कसरी हाइजिङ गरेर लैजानुपर्छ भन्ने विषयलाई सोचौँ । चौबीसै घण्टा खुल्ने लमहीको रात्रीबजारले एउटा कुनै परिवारको जीवन चलेको छ । नगरपालिकाले रातो डाँडामा बनाएको रिफ्रेस सेन्टर नामको मात्रै छ । रिफ्रेस सेन्टरमा हुनुपर्ने भौतिक संरचना छैन । रिफ्रेस सेन्टर लेखिएको नामको बोर्ड राखिएको छ, जहाँ ट्रकहरुको पार्किङ गर्ने स्थान बनेको छ । बसहरु जाँदैनन्, बजारदेखि अपाइतिर पर्छ ।

लुम्बिनी प्रदेश सरकारले लमहीमा बनाउने भनेको सुविधायुक्त रिफ्रेस सेन्टर अझै कार्यान्वयनमा आएको छैन । यी कुराहरुलाई गम्भीररुपमा सम्बन्धित निकायहरुले बुझ्न जरुरी छ । भोलिका दिनमा उक्त बजार हटाएमा लमही सुनसान बन्नेछ लमहीको बसपार्कमा रहेको सदावहार रात्रीबजारमा भेटिएका बसका यात्रु तुलसीपुरका बिनोद खड्काले भने । 

यसो भन्छन्, पत्रकार तथा घोराही बनाउ अभियन्ता 
रात्रीकालीन बजार सञ्चालनको लागि मापदण्डको मस्यौदा बनाएर रात्रीकालीन व्यवसाय सञ्चालन गरियो भने यसको माध्यमबाट आन्तरिक तथा वाह्य पर्यटकलाई भित्र्याउन सकिने र त्यसका माध्यमबाट बजार पनि चलायमान हुने र व्यापार व्यवसाय पनि प्रर्वद्धन हुने पत्रकार तथा घोराही बनाउ अभियन्ता सविन प्रियासनले  बताए ।

उनले भने, 'रात्रीकालिन बजार सञ्चालन गर्दा पर्यटक आउने माध्यम बन्छ। दिनभर कामले फुर्सद नपाएका, दिउँसो लत्ताकपडा, खाद्यान्न किन्न नपाएका, दिनभरिको कामले लखतरान भएकाहरुका लागि रात्री बजार मनोरञ्जनको केन्द्र बन्न जान्छ। जसले आर्थिक गतिविधिको चलाएमान बनाउनका लागि पनि महत्वपूर्ण कार्य गर्नेछ । यसको लागि स्थानीय पालिका, यहाँका सरोकारवाला निकाय सबैले हातेमालो गर्न जरुरी देखिन्छ ।'

यस्तो छ सूचनामा 
लमही नगर विकास समिति लमही दाङले जारी गरेको प्रथम पटकको २०८० पुस २५ गते जारी गरेको सूचनामा लेखिएको छः, यस समितिले निर्माण गरेको लमहीस्थित बसपार्कमा ठेला, घुम्ती, टहरा राखी अव्यवस्थित तरिकाले व्यापार गर्ने व्यापारीहरुको हकमा ती व्यापारीहरुबाट लमही नगरपालिकामा २०७९ असार १ गते भएको लिखित सहमति बमोजिम ०७९ कार्तिक समान्तभित्र ठेला, घुम्ती, टहरा हटाई सक्ने भन्ने भएकोमा हालसम्म उक्त क्षेत्र खाली नगरेको पाइएकोले यस समितिको ०८० पुस १८ गते बसेको बैठकबाट २०८० माघ मसान्तसम्म अन्यत्र व्यवस्थित भई स्थान खाली गर्न समय दिने र सो अवधिभित्र पनि बसपार्कमा रहेका ठेला, घुम्ती, टहरा नहटाएमा यस समितिबाट आफैं हटाइने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । साथै समितिले हटाउँदा कुनै प्रकारको हानी नोक्सानी भएमा समिति जवाफदेही नहुने व्यहोरा समेत सुचित गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ