arrow

मनाङको विकास निर्माणमा प्रदेशको चासो

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत २ शुक्रबार
Manangi-hamrakura.jpg.jpeg
फाइल तस्बिर

मनाङ । हिमाली जिल्ला मनाङको विकास निर्माणमा गण्डकी प्रदेशले चासो दिएको छ । मनाङको विकास निर्माणका लागि विभिन्न योजनालाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गतका योजना निर्माणलाई बजेट विनियोजन गरिएको छ ।

प्रदेश सरकारबाट ‘तालदेखि कार्ते, धारापानीसम्मको पदमार्ग चामे गाउँपालिका-२ मनाङ’ आयोजनालाई बजेट प्राप्त भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले जानकारी दिए ।

‘ताल, खोत्रो हुँदै धारापानी पर्यटकीय वैकल्पिक पदमार्ग निर्माणका लागि बजेट विनियोजन भएको उनले बताए । मन्त्रिपरिषद् बैठकबाट संशोधनसहित समायोजन गरी उक्त पदमार्ग निर्माणलाई अगाडि बढाइएको सांसद गुरुङले बताए ।

उनका अनुसार वैकल्पिक पदमार्ग नासों गाउँपालिका-१, २ र ३ नम्बरमा पर्दछन् । पदमार्गका लागि रु ३० लाख विनियोजन भएको छ । उनले भने, “बजेट विनियोजन भएसँगै मनाङको विकास निर्माणको काम हुने समय भएकाले कामको सुरुआत गर्न निर्देशन भइसकेको छ । मन्त्रालयमा प्रक्रिया अघि बढ्छ । यता कामको सुरुआत पनि हुन्छ ।”

विसं २०७८ जेठ १४ र असार १ मा बाढीले हिमाली जिल्ला मनाङको तातोपानी कुण्ड बगायो । चामे गाउँपालिका-५ चामे तातोपानी कुण्ड बाढीले बगाएपछि संरचना नै भत्किएको छ । विनाशकारी बाढीले भत्किएका संरचना निर्माणका लागि गण्डकी प्रदेश सरकारले चासो दिएको छ ।

गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट कुण्डको मर्मतसम्भारका लागि आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरिएको हो ।

प्रदेश सरकारबाट चामे तातोपानी कुण्ड मर्मतसम्भारका लागि रु १५ लाख विनियोजन भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ गुरुङले जानकारी दिए । कुण्ड नहुँदा यहाँका स्थानीय तातोपानीकै खोजीमा जानुपर्ने बाध्यता हटाउन कुण्डका लागि बजेट विनियोजन गरिएको उनले  बताए।

उनले भने, “मनाङ आएर चिसो लागेको खण्डमा यही तातोपानी कुण्डमा नुहाउँदा निको हुने गरेको पाइन्थ्यो । यसको संरक्षण गर्नुपर्छ भनेर प्रदेश सरकारबाट बजेट प्राप्त भएको छ । तातोपानी प्राकृतिक चिकित्सा क्षेत्र हो ।” कतिपय मानिस यहाँको तातोपानीमा नुहाउनकै लागि मात्रै पनि मनाङ आउने गरेका थिए । तर, पानीको कुण्ड मस्र्याङ्दी नदीमा आएको बाढीले बगाएपछि तातोपानीमा नुहाउन आउने सेवाग्राही तथा पर्यटक आगमन कम भएको स्थानीयको भनाइ छ ।

उक्त कुण्डको संरक्षण गर्नुपर्ने स्थानीयवासीको माग रहँदै आएको छ । हिमाली क्षेत्रको चिसोमा तातोपानी उपयोग गरेमा स्वस्थ हुने सेवाग्राही बताउँछन् । तातोपानीले नुहाउँदा शरीरमा हुने विभिन्न किसिमका रोगको नियन्त्रण तथा निको हुने विश्वास गरिन्छ ।

त्यस्तै नासों गाउँपालिका-८ ताचै गाउँ घट्टेखोला र मर्स्याङ्दी नदीको कटानले बस्ती जोखिममा छ । जोखिम बस्ती संरक्षणको माग ताचैका स्थानीयवासीको छ । स्थानीयवासीको माग प्रदेश सरकारले सुनुवाइ गर्दै ताचै बस्ती संरक्षणका लागि रु १५ लाख विनियोजन गरेको छ । ताचैको बस्ती संरक्षणमा प्रदेश सरकारले चासो दिएकामा स्थानीय हर्षित भएका यज्ञ घलेले बताए ।

यहाँको बस्ती बाढी र पहिराले जोखिम रहेको छ । पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले प्रदेशमार्फत बजेटको व्यवस्थापन भएअनुसार नै मनाङको विकासको काम गर्ने समय भएकाले काम थालिने बताए ।

मनाङमा चिसो कम हुँदै गएकाले विकास निर्माणको कामले गति लिने उनले बताए । हिउँदको समयमा यहाँ बढी चिसो र हिउँ पर्ने हुँदा सिमेन्टजन्य विकास निर्माणको काम रोकिन्छ । चैत लागेसँगै चिसो छल्न बेँसी झरेका यहाँका स्थानीय गाउँ फर्किने र विकासका काम पनि अघि बढ्छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ