arrow

चिसा पीडाका पग्लँदा कथा

logo
कृष्ण शर्मा, 
प्रकाशित २०८१ वैशाख १ शनिबार
krishna-sharma-81-01-01.jpg

जान सकिने सम्भावना रहेका सयौँ ठाउँ र भेट्न सकिने उत्तिकै संख्याका मानिसमध्ये हामीले त्यो शुक्रबार साँझका लागि ‘पलिटिक्स एन्ड प्रोज’ नामक डीसीको पुस्तक डबली अनि ‘अमेरिकी आमा’ कि मुख्य पात्र एवं त्यस पुस्तकका लेखकलाई रोज्यौँ । त्यो रोजाइ धेरै दिन अघिदेखि तय गरिएको भने थिएन । 

उपलब्ध सम्भावनाहरूमध्ये क्षणभरमै रोजिएको निर्णय थियो त्यो । मलाई थाहा छैन हाम्रो कुन चित्तले भेट्न सकिने र कुरा गर्न सकिने सयौँ मानिसहरूमध्ये कोही एक वा दुईको चुनाव कसरी र के को आधारमा गर्छ ।

अचम्म के छ भने यसरी क्षणभरमै रोजिएका वैचारिक सम्भावनाहरू हाम्रा निर्णय बन्छन् । अनि ती निर्णयका आधारमा तय भएका भेटले जीवनमा अमिट छाप छोड्छन् तर ठीक अर्कोतिर धेरैजसो सम्भावना त हाम्रो विचारको दायरामा पर्न पनि नपाउँदै तुहिन्छन् । अनि हाम्रो मस्तिष्कबाट सदाका लागि हराउँछन् । 

एक नागरिक युद्धकालमा गाउँबाट अचानक हराएर फेरि कहिल्यै नफर्के जस्तै, बन्दुकबाट निस्केको गोली फेरि नफर्के जस्तै, मुखबाट निस्केको वचन फेरि नफर्के जस्तै । प्रत्येक दिन हाम्रो दिमागमा आउने करिब ८४ हजार विचारहरूमध्ये केही एकदमै थोरै औँलामा गन्न सकिने मात्र विचारहरू हाम्रो दिमागमा अडिन आउँछन् । तीमध्ये एकाध मात्रै यथार्थमा परिणत भई इतिहास निर्माणमा सहायक सिद्ध हुन्छन् ।

अब घटनाको प्रसङ्गमै फर्कौँ । गत मार्च १५ को दिन सायद प्रशान्त र उनको साथीलाई हिमालयन हेरिटेज रेस्टुराँमा नभेटी डिनर गर्न घरमा बोलाएको भए मैले परिवारलाई ‘पलिटिक्स एन्ड प्रोज’मा लैजान सक्दिनथेँ होला । के त्यो मैले चाहेर मात्रै सम्भव भएको थियो ? त्यो दिन सोनुको काममा इमर्जेन्सी नभएको भए उनी अलिक छिटै घर आउँथिन् र सायद घरमै डिनर बन्थ्यो । 

प्रशान्त घरमै आउँथे । अनि हामीले सायद संयुक्त रुपमा ‘पलिटिक्स एन्ड प्रोज’ मा जाने सम्भावनाको हत्या गर्दथ्यौँ । सुकृति वा साइमनले ‘शुक्रबार हो आज त’ भनी अलिक अल्छि मात्र गरेको भए पनि हाम्रो त्यहाँ जाने सम्भावनाको फेरि हत्या हुन्थ्यो । म स्वयं त्यो दिन कामबाट अलिक ढिलो मात्रै घर आएको भए पनि किताब बहसमा जाने इच्छा सायद आफैँ मर्दथ्यो ।

त्यो साँझ उक्त पुस्तक पसलमा ‘अमेरिकन मदर’ अर्थात् ‘अमेरिकी आमा’ नामक दुःखान्त कथानक भएको किताबको मुख्य पात्र डायन फोली  र त्यसका विश्व विख्यात लेखक कोलम म्याक–केन उपस्थित हुँदै थिए । 

सिरियामा मारिएका पत्रकार जेम्स फोलीकी आमा र उनको कथा संसार सामु ल्याउन सघाउने लेखकले किताबको कष्टपूर्ण सृजना यात्राको बारेमा कुरा गर्दै थिए । जो सायद म बाहेक अरुलाई त्यति गहन चासोको विषय थिएन । 

शुक्रबारको साँझ कसलाई दुःखका कुरा सुन्न मन लाग्छ ? तर मलाई थाहा छैन मैले किन मेरो समग्र परिवारलाई त्यतातिर लतारिरहेको थिएँ । के म उनीहरूलाई युद्ध क्षेत्रमा हुँदाको मेरो आफ्नो छोटो समयको पीडा अरुले लेखेको पुस्तक र त्यो पुस्तकका लेखकमार्फत बताउन चाहन्थेँ ? त्यो उद्देश्य निश्चय पनि थिएन । 

सायद म सुकृति र साइमनलाई अमेरिकी आमा र उनको कथा लेख्ने लेखकलाई चिनाउन चाहन्थेँ; र सायद लेखकको लेखकीय अनुभवहरू उनीहरू सुनुन् भन्ने चाहन्थेँ ! 

मेरा छोरा छोरीहरूले पढिसकेका र पछि पढ्ने पुस्तकका पछाडिका ज्युँदा पात्रहरू कस्ता हुन्छन र तिनीहरू कस्तो दशाबाट गुज्रन्छन् भनेर थाहा पाउन् र बकम्फुसे होइन बरु एक शिक्षित अनुमान गर्न सकुन् भन्ने चाहन्थेँ सायद ।

दुर्घटना वा घटनाको प्रत्यक्ष अनि अप्रत्यक्ष पात्रहरूले भोग्नु परेको दुःख, पीडा सुनेपछि मलाई मेरो दुःख त केही पनि होइन रहेछ भन्ने लाग्छ । आफू स्वयं पनि केही लेख्न चाहने मानिस भएकाले यस्ता बहसहरूमा म ती कुराहरू ज्यादा सुन्न चाहन्छु जसमा लेखकले घटना र घटनालाई भोग्ने पात्रको मनोदशालाई कुन आधारमा पुस्तकमा समावेश गर्छन् भन्ने कुराको नालीबेली उतार्छन् ।

इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध कट्टरपन्थी मुस्लिम युवा एलजाड कोटेले पत्रकार जेम्स फोलीलाई सन् २०१४ मा सिरियामा मारेको थियो । भर्जिनियाको एक अदालतमा सन २०२१ मा उसले अपराध स्वीकार गरेपछि मृतककी आमाको हृदयमा सात वर्षदेखि जमेको हिउँको पीडा बल्ल पग्लन थालेको रहेछ । 

उनले कोटेलाई माफ दिइन् अनि बताउन थालिन् लेखक कोलम म्याक्केनलाई हृदयमा जमेर बस्ने हिउँ जस्ता चिसा पीडाका पग्लँदा कथा । ‘अमेरिकन मदर’ अर्थात् अमेरिकी आमा त्यही पीडा पग्लेको कथा हो ।

आमा डायन फोलीले सात वर्षसम्म सिरियामा मारिएका छोरा जिमको बारेमा एक शब्द पनि लेख्न नसकेको कुरा स्वीकार्दा लेखक म्याक केनले डायनलाई लेख्न सहयोग गर्ने तीव्र इच्छा हुँदाहुँदै पनि उनको निरीहतालाई कदर गरेर सात वर्षसम्म कुर्दा लेखन प्रक्रिया आफैँमा एक अर्को पुस्तकको पटकथा बन्न पुग्छ ।

बहसको क्रममा एक वृद्ध दर्शक दीर्घामा उभिन्छन् र थर्थराउँदो आवाजमा डायनलाई सोध्छन्, ‘हाउ डिड यु मेल्ट ? इट हेज बिन ट्वेन्टी–टु इयर्स आइ एम स्टिल फ्रोजन बिनिथ द माउन्टेन अफ द डेथ अफ माइ ओन्लि सन (तिमी कसरी पग्लन सक्यौ ? मैले मेरो एक मात्र छोरो गुमाएको बाईस वर्ष भैसक्यो तर म पीडाले जमेको पहाडले आजपर्यन्त थिँचिइरहेको छु ।)’

डायन केही समयसम्म बोल्नै सकिनन् । ती वृद्धलाई हेरिरहिन् । स्वभाविकै थियो मलगायत अरु सबैले ती वृद्धतिर आफ्ना टाउका घुमाए । ती वृद्धको पग्लन नसकेको कथा कति पीडादायी होला ? एउटा कथा सुन्न जाँदा अर्को झनै दर्दनाक कथा ...।

मैले पत्रकारको रूपमा युद्धग्रस्त क्षेत्रमा गएर ‘वार रिपोर्टिङ’ गरेको छैन । तर युद्धग्रस्त क्षेत्रमा गएर शान्तिका प्रस्ताव एवं कूटनीतिक प्रयासहरूमा सहायकको भूमिका निभाएको छु । 

त्यसरी काम गर्ने सिलसिलामा मैले योद्धाहरूमात्र होइन पत्रकारहरूकोसमेत दुर्भाग्यपूर्ण हताहत भएको देखेको छु । त्यस्ता त्रासदीपूर्ण घटनाहरू देख्नु पर्दा मन कहालिनु एउटा कुरा हो तर त्यसको असरले बाँकी जीवनलाई प्रभावित पारेर बस्नु पर्ने बाध्यताबाट गुज्रनु पर्ने अवस्था झनै उदेकलाग्दो यथार्थ हो । 

सामान्यतया यस प्रकारको पीटीएसडी सामना गर्ने मानिस आम रुपमा सामान्य मानिस जस्तै देखिन्छन् । तर जब आफूले भोगेका जस्ता अनुभवबाट गुज्रिएर अगाडि बढेका पात्र र सन्दर्भहरू देखा पर्छन् तब त्यस्ता प्रकारका मानिसहरूमा जीवन र जगत्प्रति बेग्लै प्रकारको छट्पटी भरिएर आउँछ । म अनुमान पनि गर्न सक्दिन डायनले पत्रकार पुत्र जेम्स फोलीलाई सिरियामा आतंककारीहरूले मारेको खबर सुन्दा कस्तो पीडा महसुस गरिन् होला भनेर । 

म काबुलमा हुँदा मारिएका ती नौ पत्रकारहरूको परिवारमा पनि त त्यस्तै बज्रपात परेको हुँदो हो ।

यो लेखको डिल मार्दै गर्दा म सम्झदै छु डायनलाई, ती वृद्धलाई, काबुलमा मारिएका ती पत्रकारहरूका परिवारलाई, माओवादी द्वन्द्वका क्रममा मारिएका ती निर्दोष मानिसहरूका परिवारलाई, बेपत्ता पारिएकाहरूको परिवारलाई, अनि हजारौँ निर्दोष मानिसहरू र तिनका परिवारहरूलाई जसका हृदयहरू सामाजिक संघर्षका क्रममा, दुई देशका युद्धका क्रममा, अनि अनेकौँ बहानामा हुने हिंसात्मक घटनाका क्रममा क्षत विक्षत पारिन्छन् । 

मैले सधैको लागि भुल्न चाहने जोन एफ केनेडीले सम्झाएको पुरानो भनाइ फेरि मनको सतहमा आएर पोखिन्छः ‘युद्धको जितले हजारौँ पिताहरू बनाउँछ तर हारले टुहुराहरू छोड्छ ।’

अरु कसैको लाभको लागि छेँडिएको युद्धमा २२ वर्षअघि छोरो गुमाएपछि ती वृद्धले थर्थराउँदो प्रश्न पनि त्यहीँ छोडेर हिँडे । 

म चाहन्छु कुनै लेखकले उनको कथा भुइँमा खसेर बिलाउनुअघि नै टप्प टिपोस् र मसीको मालामा उनेर ‘पोलिटिक्स एन्ड प्रोज’मा छोडेर जाओस् । 

निर्दयी बन्ने क्रममा रहेको निरोले पढोस् अनि रोममा आगो सल्कनुअघि नै बाँसुरी बजाउने जोहो गर्न छोडोस् ।
 



नयाँ