arrow

माता सम्मान दिवस

सम्झनामा आमा

logo
कृतिजया,
प्रकाशित २०८१ वैशाख २६ बुधबार
kritijaya-81-01-26.jpg

‘आमा’ संसारकै प्यारो नाता । यो नातासँग भौतिक रुपमा सम्बन्ध टुटेको पनि एक दशक बितिसकेछ । ‘ल गुडबाइ’ मैले सुनेको अन्तिम वाक्य मेरी आमाको । 

फागुनको मध्य, एकाबिहानै । सूर्यको किरणसँगै अरुको उज्यालो शुरु हुँदैथियो तर मेरो त संसार अँध्यारो बनाएर उनले जाने तरखर गरिसकेकी रहिछिन् । दमको बिरामी, घरमै अक्सिजन सिलिण्डर, बेलाबेला अस्पताल आउजाउ भैरहने । 

१३ वर्षअघि बुबा गुमाएकी, अनि जीवनकै कठिन निर्णय लिएर संघर्ष गरिरहेकी मेरा लागि मेरो सबैथोक भन्नु आमा नै थिइन् । थोरै बादल लाग्दा पनि अहो, चिसो बढ्यो, आमालाई दम बढ्ने हो कि भन्ने चिन्ता लाग्ने । रात बिरात अक्सिजन सकिँदा स्कुटरमा बालाजु पुग्दा पनि रत्ति डर नलाग्ने । 

रेडियोमा काम, राति अबेर फर्किंदा पनि आमा ननिदाइ, अझ खाना सँगै खाने भनेर बसिरहने । आमालाई छोरीको पीर, छोरीलाई आमाको.... तर पनि मेरो संसार त्यही थियो । रातभरि निद्रा नपरे पनि आमासँग अँगालो हालेर सुत्न पाउँदा, संसारमा अरु के नै चाहिन्थ्यो र ? 

तर २०६९ फागुन १७ गते मेरो त्यो हिम्मत खोसिएको दिन । आमाले अन्तिम शब्द, ‘ल गुडबाइ’ भनेको सुनाउँदा त्यतिबेला दुःख बाँड्न आएकामध्ये केहीले भन्नुभएको अझै याद छ – ‘त्यो आमाको अन्तिम आशीर्वाद हो तिमी जस्ती छोरीको लागि । तिमीले सकेको गरेऊ । थाहा छैन उहाँहरूले किन त्यसरी भन्नुभयो त्यो बेला तर आफ्नी आमा भौतिक रुपमा आफूसँग नभएपछि, अरु जुनसुकै खुशी र सुख पनि फिक्का लाग्दा रहेछन् । दुःखमा मात्र कहाँ हो र खुशीमा आमा साथ नहुँदा मन सम्हाल्न अझै गाह्रो हुने रहेछ । 

भनिन्छ घाउहरू समय अन्तरालमा पुरिंदै जान्छन् । तर मातृवियोग पुरिएर होइन झन् समयसँगै गहिरिएर जाने रहेछ । मेरी आमा २००७ साल असारमा जन्मिनुभएकी । स्वभाव साह्रै हक्कि अनि निडर, स्वाभीमानी । कहिलेकाहिँ भन्ने गर्नुहुन्थ्यो, म त क्रान्ति बोकेर आएकी छोरी, नचाहिने कुरामा कसैले दबाउन खोज्दैमा दबिनु किन ? 

स्वर पनि उहाँको बाक्लो थियो, अहिले पनि उहाँलाई भेटेका मेरा साथीभाइ उहाँको आवाज सुन्दै डर लाग्थ्यो भन्ने गर्छन् । हो साँच्चै उहाँको आवाजमै एउटा ओज थियो । उमेरमा उहाँ असाध्यै राम्री । यसै प्रसङ्गमा म एउटा घटना कहिल्यै बिर्सिन सक्दिन । १५–१६ वर्षको उमेरमा म चलचित्र क्षेत्रमा आएकी ।

एकदिन सहकर्मी साथीको विवाह पार्टीमा पुगेँ । त्यतिबेला त्यहाँ चलचित्र क्षेत्रका दिग्गज, हस्तीदेखि चलेका सबै प्रायः कलाकारको राम्रो जमघट थियो । मलाई कसैले वरिष्ठ कलाकार, निर्देशक तथा निर्माता नीर शाहसँग उहाँ नेपाली चलचित्रकी नवनायिका भन्दै परिचय गराउनुभयो । म उहाँको फ्यान त्यसमाथि नीर शाह मेरी आमाको सहपाठी भएका कारण उहाँको बाल्यवस्था, युवावस्थाका धेरै कुरा सुनेकी थिएँ आमाबाट ।

तर पहिलो पटक उहाँछेउँ उभिन पाउँदा यो मन खुशी कम्ता थिएन । त्यसमाथि उहाँले मलाई हेर्दै राम्री रहिछौ, कुन कुन चलचित्रमा काम गरेउ भनेर सोध्नुभयो । मलाई उहाँले तारिफ गर्नुभएकोमा झन् खुशीको सीमा थिएन । 

गद्गद् हुँदै मैले आफ्नो थप परिचय दिन चाहेँ र आमाको नाम लिएर सोधेँ, – हजुरले कोपुण्डोलको जया कार्की चिनिसिन्छ ? (उहाँको अनुहारमा आश्चर्य भाव म पढ्न सक्थेँ ) । उहाँले सोध्नुभयो, ‘चिन्छु नि किन ?’

मैले प्रफुल्लित हुँदै भनँे, ‘म उहाँकी छोरी ।’ त्यसपछि उहाँ थप आश्चर्यमा पर्नुभयो र भन्नुभयो – ‘अहोे, तिमी जयाकी छोरी ! त्यसो भए तिमीभन्दा त जया कति राम्री राम्री ।’ अनि हाँस्नुभयो । 

एकछिन अघिसम्म फुरुक्क परिरहेकी म स्वभावतः खिस्रिक्क भएँ । उमेर पनि त्यस्तै थियो । तर आज गर्व लाग्छ, मेरी आमा सुन्दरमात्र होइन, केही गर्ने साहस बोकेकी छोरी हुनुहुन्थ्यो । मध्यम परिवारमा जन्मिएर पनि बुबाको प्रेरणाले त्यो समय आधुनिक इतिहासमा स्नातकोत्तर गर्नुभएको थियो । ‘नेपालमा सती प्रथा एक ऐतिहासिक अध्ययन’ शीर्षकमा स्नातकोत्तरको शोध प्रबन्ध गर्नुभएकी उहाँले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सिनासमा सहायक अनुसन्धानकर्ताको रुपमा काम गर्दै ‘रेभिन्यु एडमिनिस्ट्रेसन इन नेपाल १८००–१९२३’ शीर्षकमा विद्यावारिधीको तयारी पनि गरिसक्नुभएकोे थियो । त्यसका लागि आवश्यक विभिन्न पूर्व लेखनमा त उहाँ सक्रिय हुनुहुन्थ्यो नै, लेखहरू पनि प्रकाशित भैसकेका थिए भने प्रारम्भिक प्रस्तावसमेत लगभग तयार भैसकेको थियो ।

राणाकालीन नेपालको ऐतिहासिक घटनावली (एचआरडी, काठमाडौँ, १९७९) शीर्षकमा किताब, ए स्टडि इन रेभिन्यु कलेक्सन सिस्टम इन नेपाल, १९४६–१९२३ कन्ट्रिब्युसन्स टु नेपलिज स्टडिज, भोल्युम ९, नम्बर १, २, कीर्तिपुर, सीएनएएस १९८१–१९८२ जनवरी लगायत उहाँका प्रकाशन भैसकेका थिए । 

यस्तै डा. एलएफ स्टिलरले लेख्नुभएको ‘द साइलेन्ट क्राइ’ (सहयोगी प्रकाशन, १९७६) र डा. रामप्रकाश यादवले लेख्नुभएको ‘द प्लानिङ फर पिपुल’ (सहयोगी प्रकाशन, १९७९) मा समेत मेरी आमाले अनुसन्धान सहायकको रुपमा त्यतिबेला काम गर्नुभएको थियो । उहाँको विद्यावारिधि गर्ने ठूलो सपना थियो । तर त्यति नै बेला म उहाँको गर्भमा रहेपछि निरन्तरता दिन नसक्दा आफ्नो सपना अधुरो रहेकोमा बेलाबेला पश्चाताप गर्नुहुन्थ्यो । 

विवाह गर्ने उहाँको बिल्कुलै इच्छा थिएन । तर छोरी भएपछि कहाँ त्यो निर्णय आफ्नो मनखुशी लिन पाइन्थ्यो र ? त्यो पनि आजभन्दा ४० वर्ष पहिलेको समाजमा । पढाइका लागि त बुवाको समेत साथ रह्यो तर विवाह नगर्ने निर्णयमा उहाँको साथ कोही हुन सकेन र नचाहेर पनि बुवाआमाको खुशीका लागि २०४० सालमा ३३ वर्षको उमेरमा उहाँले विवाह गर्न स्वीकृति जनाएपछि मागी विवाह भएको थियो । 

विवाह पश्चात पनि केही समय त उहाँले कामलाई निरन्तरता दिनुभएको थियो, सायद आफ्नो लक्ष्य पुरा गर्ने आश बाँकी नै थियो । तर जब म गर्भमा आएँ अनि विस्तारै विभिन्न परिबन्दले उहाँको अध्ययनका बाटोहरू मात्र बन्द गरेन त्यतिबेला डा. रीता थापा, दुर्गा घिमिरे लगायतसँग ंसंगत अनि काम गरेरसमेत आफूलाई सक्षम बनाउँदै अघि बढ्दै गरेकी मेरी आमाका सारा रहरहरू बन्धक बने । यी सबै भावना बेलाबेला उहाँले पोख्ने पनि गर्नुहुन्थ्यो । 

तर त्यतिबेला मैले उहाँभित्रको त्यो पीडा महशुस गर्न सकेको थिइन, जति अहिले आफै आमा बनेर उही बाटोमा हिँड्ने कोसिस गरिरहँदा बुझ्न सक्छु । अहिले सायद आमा भैदिएको भए, मैले कति साथ पाउने थिएँ होला, कति खुशी हुनु हुने थियो होला कहिलेकाहिँ सोच्दा पनि मन भक्कानिन्छ । 

मेरो स्नातकोत्तरको थेसिस अल्झिरहँदा, एकदिन मैले उहाँसँग फिउडालिज्म भनेको के हो आमा भनेर सोधेकी थिएँ । उहाँलाई थाहा थियो मेरो थेसिसको शीर्षक ‘अ रोल अफ नेपाली मिडिया इन फेडेरालिज्म’ थियो । अनि मैले ‘यो कति धेरै इज्म हो जे मा पनि, सोसियालिज्म, फिउडालिज्म...अनि के के इज्म हो, डिक्सनेरीमा खाली अर्थमात्र दिन्छ, व्याख्या नै बुझ्दिन हो आमा । अनि कसरी सक्नु मैले । विषय नै अर्कै छान्न पर्ने रैछ कि ?’ भनेकी थिएँ । 

आमाले के के बुझिनस् भन् न त, अहिले सक्काउने बेला के को पछि फर्केर हेर्छे भन्नुभयो । मैले केही शब्दहरू टिपेर दिएकी थिएँ अनि म काममा निस्किँए । बेलुकी फर्केर आउँदा आमाले इज्म पछाडि आउने लगभग सबैजस्तो शब्दको अर्थ अनि व्याख्यासमेत टिपेर राखिदिनुभएको थियो । अघिपछि सँधै सेल्फ हेल्प इज दि बेष्ट हेल्प भनेर आफैँ खोज्न भन्ने आमाले त्यसरी आफैँ शब्द अनि व्याख्या टिपेर राखिदिँदा पहिले त अचम्म लाग्यो । तर मलाई के थाहा कि त्यसको नतिजा नआउँदै अर्थात मेरो थेसिस पनि नसकाउँदै उहाँले मलाई छोडेर जानुहुन्छ । 

आज कसैगरी त्यस्तो साथ पाइन्न, न हौसला । कति नजिकका साथीभाइले त अहिले किन फेरि अध्ययनतिर लागेको, आरामले छोरी हेरेर नबसेर, कतितिर भ्याउनु परेको पनि भन्न भ्याएका छन् बरु । यतिबेला मेरी आमाले दिने साथ खुबै खट्किन्छ अनि उहाँ हुँदै किन मलाई यस्तो बुद्धि आएन र थेसिस गर्न पनि महाभारत झैँ मानेकी थिएँ होला भन्ने पनि लाग्छ ।

आमालाई जस्तो अरुलाई कहाँ भन्न सकिनेरहेछ र ? आमाले त भन्ने बित्तिकै केही कुरा नसिकाइदिए कति सजिलै हामी (म अनि भाइ) दुवैले भन्ने गथ्र्यौं, ‘यस्तो नि मास्टर गरेको हुन्छ ? जाबो यति हिसाब सिकाइदिस्यो भन्दा नि आउँदैन भन्न पर्ने ।’ आमाको जवाफ हुन्थ्यो, “के गर्छौ त, तिमीहरूको भान्छामा नुन तेलको, स्कुलमा फिको हिसाब गर्दागर्दै अरु सबै हिसाब बिर्सिसकियो ।” 

त्यतिबेला उहाँको त्यो भनाइको अर्थ बुझ्ने म कहाँ थिएँ र ? आज जब बुझ्ने र केही गर्न सक्ने भएकी छु, उहाँ आफ्नो अनन्त यात्रामा हुनुहुन्छ । तर पनि आश लाग्छ, जहाँ हुनुहुन्छ, सायद त्यहीबाट मलाई हेरिरहनुभएको छ । मलाई अनन्त आशीर्वाद प्राप्त छ । अनि म पनि त्यही आमाको अदम्य साहस, व्यवहारिकता अनि वुद्दिमतायुक्त गुण एकै निमेष पनि आफूभित्र जीवित राख्न सकूँ ।

कहिलेकाहिँ सोच्छु, कति धेरै सपनाहरू थिए होलान् मेरी आमाका । केही गर्ने, केही बन्ने । पढाइमा उहाँ दोस्रो–तेस्रो श्रेणीमै उत्तीर्ण हुनुभएको हो । उहाँ एसएलसीदेखि स्नातकसम्म तेस्रो तथा स्नातकोत्तरमा दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । श्रेणी भन्दा त्यो बेला निरन्तरताले महत्व राख्दथ्यो । फेरि मलाई अझै याद छ, मलाई पढाउने बेला उहाँको नेपाली होस् वा अंग्रेजी फरर, व्याकरणमा पनि कति सम्झिन सकेको ! सरकारी विद्यालय पढेर पनि हामी बोर्डिङ्ग पढेकाभन्दा धेरै छुरा त्यो बेलाको पढाइ अनि सिकाइ । 

आमा भन्ने गर्नुहुन्थ्यो, ‘सेल्फ हेल्प इज दि बेष्ट हेल्प ।’ पढ्ने होमवर्क गर्ने बेला अंग्रेजी कुनै शब्दको अर्थ सोध्यो भने अजन्ताको एउटा मोटो डिक्सनेरी थियो त्यो देखाउँदै, पहिला त्यसमा खोज, भेटिएन भने म भनौँला भन्ने । 

मैले स्नातकोत्तर गर्ने बेला मेरो थेसिस समयमा नसकाएको सबैभन्दा बढी तनाव आमालाई नै थियो । सायद अध्ययनको महत्व बुझेकैले होला । हुन पनि म आफैँ त्यतिबेला यतिधेरै व्यक्तिगत तनावमा थिएँ कि, एक मनले भन्थ्यो यो थेसिस सकेर के नै हुने हो र ? होस् भैगो । तर आमाले हरेक हप्ता कहाँ पुग्यो तेरो थेसिस ? त्यति सका त भनेपछि यसै जोश आउने, सकाउनु पर्छ, पढ्नुपर्छ भन्ने लाग्ने । 

हुन पनि २०५६ सालमा बुबाले हामीलाई अल्पायुमा नै छोडेर जाँदा मेरो हिम्मत उही आमामात्र त हुनुहुन्थ्यो । श्रीमान् गुमाएपछि, दुई नाबालक छोराछोरीको जिम्मेवारी उहाँको काँधमा थियो । अनि उहाँ चाहनुहुन्नथ्यो कि यो समाजले कुनै पनि तरिकाले एकल महिलाको लालनपालनप्रति प्रश्न उठाओस् । त्यसैले उहाँले म र भाइ दुवैको अध्ययनमा कुनै कमी छोड्नु भएन । आफ्नो भएभरको गहना बेचेर हाम्रो स्कूल फी तिर्ने गर्नुभएको धेरै पछि थाहा पाएँ । 

घरपरिवारकै लागि कुनैबेला सिनासको जागिर अनि प्राइभेट जागिर पनि छोडेर बस्नुभएको थियो । केही गरौँला भन्ने आँट गर्दागर्दै आधी बाटो पनि नहिँड्दै श्रीमान्ले साथ छोडेपछि घरभाडा बाहेक आम्दानीको अरु कुनै स्रोत थिएन । थियो त दुई नाबालक छोराछोरीको जिम्मेवारी अनि आफ्नै चुनौतीले भरिएको एक्लो जीवन । 

यति हुँदा कतिले त अब छोरीको विवाह गरिदिए जिम्मेवारी कम हुन्छ भन्ने सल्लाह नदिएका पनि होइनन् । तर मेरी आमा मेरो लागि दरिलो साथ, भरोसा भएर उभिनुभयो । भाइ र ममा उहाँले कत्ति पनि फरक गर्नुभएन । भन्नुहुन्थ्यो, ‘तिमीहरूकी आमा जीउँदै छ, अबदेखि बुवाआमा दुवै मै हो, तिमीहरू केहीको पीर नगर, मात्र खुरुखुरु पढ । बीएसम्म म मज्जाले पढाउन सक्छु ।’ जतिसुकै अप्ठेरो पर्दा पनि अरुको अघि हात थाप्न जानुभएन । बरु भन्नुहुन्थ्यो, ‘आफ्नो हात माथि होस् तल नपरोस्, आज गलाभरी सुन लगाएर भोलि रित्तो हात अरुको दैलो चहार्न नपरोस् ।’

यति धेरै दुःख गरेर पनि आफ्नो सन्तानमाथि आँच नआओस् भनेर सँधै सत्कर्म गरिरहने कर्मशील मेरी आमा । उहाँका अझ कति धेरै स्मरणहरू छन्, सिकाइहरू छन् जसलाई आत्मसाथ गरेर म पनि दरिलो बन्ने कोसिस गरिरहेछु । 

शारदा शर्माको कम्पनमा झैँ मृत्युपछि कुनै दिन कहीँ फेरि भेट पो भैहाल्छ कि जस्तो पनि लाग्दोरहेछ कहिलेकाहिँ । तर यतिबेलाको सत्य त यही हो कि अब उहाँको साथ भौतिक रुपमा मसँग छैन । एक दशक बित्यो त्यो साथ गुमाएको अनि म रित्तो भएको । 

यद्यपि मनले कामना गरिरहन्छ, यस धर्तीमा सशरीर रहनुभएका कोही आमाले सन्तानबाट दुःख नपाउन्, अपहेलित हुन नपरोस् । सन्तानको खुशीका लागि आफ्ना अनेकन सपना तिलाञ्जली दिएका आमाहरूको ओठमा मुस्कान नखोसियोस् । कुनै छोरीले कसैको श्रीमती अनि आमा बन्दै गर्दा आफू छोरी पनि हो र आफ्ना पनि रहरहरू हुन्छन्, जीवनको लक्ष्य हुन्छ, भन्ने बिर्सन नपरोस् । आज आमाको मुख हेर्ने दिनको उपलक्ष्यमा सम्पूर्ण आमाहरूमा सुस्वास्थ्य अनि दीर्घायुका लागि हृदयभरको शुभकामना !! 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ