arrow

रिलायन्सको आईपीओ मिति तय, अहिलेसम्मकै बढी लगानी गर्नुपर्ने, कस्तो छ कम्पनीको अवस्था ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार १९ बुधबार
reliance-spinning-mills-ltd.jpg

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अनुमतिपछि रिलायन्स स्पिनिङ मिलले आईपीओ निष्कासनको मिति तय गरेको छ । उक्त कम्पनीले पहिलो चरणमा विदेशमा बस्ने नेपालीका लागि तोकिएको कोटा बापतको शेयर असार २७ गतेदेखि बिक्री गर्ने जनाएको छ । 

त्यसरी आवेदन दिनको लागि साउन १० गतेसम्मको म्याद तोकिएको छ । उक्त अवधिमा न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मको लागि आवेदन दिन सकिने उल्लेख गरिएको छ । विदेशमा बस्ने नेपालीहरुले आवेदन दिने म्याद सकिएपछि पूर्ण आवेदन नपरेमा त्यो शेयरसमेत थपेर देशभित्रका सर्वसाधारणलाई आईपीओ बिक्री गरिनेछ । 

उक्त शेयरको लागि सर्वसाधारणले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा तिर्नुपर्नेछ । यसअघि बुक विल्डिङ प्रक्रियामा सहभागी संस्थागत लगानीकर्ताहरुले दिएको आवेदनका आधारमा ९१२ रुपैयाँ कटअफ मूल्य निर्धारण भएकोमा त्यसमा १० प्रतिशत छुट दिएर सर्वसाधारणलाई शेयर बिक्री गर्न लागिएको हो । 

कम्पनीले सार्वजनिक निष्कासनमार्फत कुल ११ लाख ५५ हजार ९६० कित्ता शेयर बिक्री गर्न लागेको थियो । यसमध्ये ७ लाख ७० हजार ६४० कित्ता शेयर यसअघि संस्थागत लगानीकर्तालाई बिक्री गरिसकेको छ । अब बाँकी रहेको शेयरमध्ये विदेशमा रहेका नेपालीका लागि १ लाख १५ हजार ५९६ कित्ता शेयर बिक्री गर्न लागिएको छ । अब सर्वसाधारणलाई २ लाख ६९ हजार ७४० कित्ता शेयर बिक्री हुनेछ । 

वैदेशिक रोजगारीमा जानेहरुका लागि छुट्याइएको शेयर २ हजार ३ सय ११ जनाले मात्रै पाउनेछन् । त्यस्तै उक्त कोटामा पूर्ण आवेदन परेमा बाँकी शेयरका लागि ५ हजार ३ सय ९४ जनाले मात्रै योग्य हुनेछन् । 

अहिलेसम्मकै महँगो शेयर

रिलायन्सले निष्कासन गरेको उक्त शेयर लगानीको आधारमा अहिलेसम्मकै महँगो हो । उक्त शेयरमा कम्तीमा पनि ५० कित्ता आवेदन दिनुपर्ने र यसका लागि सर्वसाधारणले ४१ हजार ४० रुपैयाँ खर्चिनु पर्नेछ । 

मूल्यका आधारमा भने यसअघि नेपाल लाइफ इन्स्योरेन्सको एफपीओ १४२५ रुपैयाँसम्ममा बिक्री भइसकेको छ । तर उक्त शेयरमा न्यूनतम १० कित्ता मात्रै आवेदन दिनुपर्ने भएकोले १४ हजार २५० रुपैयाँ मात्रै लगानी गर्दा पुग्ने अवस्था थियो । 

यद्यपि आईपीओ बिक्रीको आधारमा भने यो अहिलेसम्मकै महँगो शेयर हो । यसअघि आईपीओ बिक्री गर्दा नेपाल टेलिकमले ६०१ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । 

कस्तो छ कम्पनीको अवस्था ? 

आईपीओ निष्कासनका लागि प्रकाशन गरेको विवरणपत्रमा कम्पनीले चालु आर्थिक वर्षमा २.४२ रुपैयाँ प्रतिकित्ता आम्दानी हुने तथा २१२ रुपैयाँ ११ पैसा बराबरको प्रतिशेयर नेटवर्थ रहने प्रक्षेपण गरेको छ । यो नेपाल विद्युत् प्राधिकरणले तिर्न बाँकी भनेर पठाएको बिल बराबरको रकम कट्टा गरेपछिको आम्दानी हो । 

आगामी आर्थिक वर्षमा ३३.२ रुपैयाँ र त्यसपछिको वर्षमा ५४.०३ रुपैयाँ आम्दानी हुने उल्लेख गरिएको छ । कम्पनीले ६.७५ वर्षमा लगानी फिर्ता गरिसक्ने र १०.६१ व्याजसहित लगानी फिर्ता गर्ने कम्पनीको दाबी छ । 

८२० रुपैयाँ ८० पैसा तिरेर किन्नुपर्ने भए पनि उक्त कम्पनीको शेयरको पहिलो कारोबार भने अधिकतम ६३६ रुपैयाँसम्म मात्रै हुन सक्नेछ । पहिलो दिन अधिकतम मूल्यमा कारोबार भयो र त्यसपछिको समयमा ३ दिन सकारात्मक सकिएट लागेपछि मात्रै सर्वसाधारणलेले किनेको मूल्य बराबरमा पुग्न सक्नेछन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ