arrow

रास्वपा केन्द्रीय समिति बैठक

महामन्त्रीलाई कारबाही गरेर स्वतन्त्रताको पक्षलाई निरंकुशतातर्फ धकेल्दै रवि लामिछाने 

खहरेजस्तो उर्लेर आएको अवस्थामा रास्वपाभित्र खतराको घण्टी, मुकुलको प्रतिवेदनलाई गलत भन्ने आँट गरेन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार २५ मंगलबार
rsp-office-rastriya-swatant.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नयाँ भनिएको राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथि अन्ततः कारबाही गर्ने निचोडमा पुगेको छ । 

पार्टीको अनुशासन आयोगले कारबाहीको तयारी गरेर मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गरेपछि उनीमाथिको कारबाही अघि बढ्नेछ । 

ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ । उक्त प्रतिवेदन अनुशासन आयोगका प्रमुख डा. भरत देवकोटाले सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । 

प्रतिवेदनबारे लामिछानेले आफू निकट रहेका डोलप्रसाद अर्याल लगायतसँग छलफल गरिसकेका छन् । सचिवालयको बैठकमा पनि औपचारिक छलफल गरिसकेका छन् ।  

रास्वपाका एक केन्द्रीय सदस्यका अनुसार उनलाई मंगलबार कारबाही गरेर नयाँ महामन्त्री चयन गरिनेछ । 

पार्टीको विधानले कारबाही सम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेका कारण मंगलबारलाई बैठक राखिएको हो । 

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिन निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो । 

केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ । बैठकले नयाँ महामन्त्रीको जिम्मेवारी र केन्द्रीय  प्रवक्ता पनि तोक्ने भएको छ । 

रास्वपाले ०७९ को चुनावमा प्रत्यक्षतर्फ ७ वटा र समानुपातिकतर्फ १३ गरी कुल २० सिटमा ऐतिहासिक जित हासिल गर्यो । पछि राष्ट्रपति रामचन्द्र पौडेलले छाडेको तनहुँको उपचुनावमा डा. स्वर्णिम वाग्लेले जितेपछि अहिले प्रतिनिधि सभामा रास्वपाका उपसभामुखसहित २१ सांसद छन् । खहरेजस्तो उर्लेर आएको अवस्थामा रास्वपाभित्र खतराको घण्टी बजेको छ ।

रास्वपाको केन्द्रीय समिति बैठकमा महामन्त्री डा. ढकालले तयार गरेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्ने भनिएको थियो । तर उक्त बैठकमा केन्द्रीय सदस्यहरू मूल विषयबाट टाढा पुगेर महामन्त्रीमाथि प्रहार गर्न थाले । 

महामन्त्री ढकाल टेप लगाएर बसेपछि केही केन्द्रीय सदस्यहरूले आपत्ति जनाएका थिए । होहल्ला भएपछि सभापति लामिछानेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

त्यसपछि फेरि सभापतिले महामन्त्रीका गतिविधिलाई पार्टी अनुशासनको विषय बनाउने र अनुशासन आयोगले हेर्ने बताएपछि बैठक चालु गरी उनीमाथि नै केन्द्रीत गरेर ह्यारेसमेण्ट गरिएको थियो ।
 
महामन्त्रीले नबोलेपछि सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले डेढ घण्टा लगाएर समीक्षा प्रतिवेदन वाचन गरेका थिए । सरकारबाट बाहिरिएपछिको रणनीति के हुने, समीक्षा प्रतिवेदनका सन्दर्भमा आफ्नो बुझाइ के हो भनेर राख्ने भन्दा बढी महामन्त्रीको कार्यसम्पादन र कार्यशैलीलाई लिएर टिप्पणीमा उत्रिएका थिए । 

केही केन्द्रीय सदस्यले महामन्त्री पार्टीको विधि र अनुशासन विपरीत कामकारबाहीमा संलग्न रहेको भन्दै कारबाहीको माग राखेका थिए । 

महामन्त्रीले आफ्नो प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि मिडियाबाजी गरेको भन्दै आलोचना भएको थियो । ढकाल दुई वर्षदेखि महामन्त्रीको रूपमा कार्यरत छन् । 

इलाम–२ मा सम्पन्न उपचुनावमा अपेक्षित नतिजा हासिल गर्न नसकेपछि रास्वपाले महामन्त्री ढकाललाई देशभर पुगेर जनमत लिन जिम्मेवारी दिएको थियो । 

देश दौडाहापछि पार्टीका बारेमा जनधारणा समेट्दै उनले प्रतिवेदन तयार पारे । जहाँ सभापतिको कार्यशैलीमाथि असन्तुष्टि रहेको र अहिलेको अवस्था कायम रहे २०८४ मा राष्ट्रिय पार्टी बन्न नसक्ने उल्लेख छ । 

पार्टी सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई महामन्त्री ढकालले जेठ ६ गतेबाट झन्डै एक महिना स्थलगत अध्ययन गरी दलभित्र र बाहिरका तीन हजार जनाभन्दा बढीसँग अन्तरक्रिया गरेर तयार पारेको प्रतिवेदन बुझाएका थिए । 

महामन्त्री ढकालले बुझाएको उक्त प्रतिवेदनमाथि छलफल हुने र पार्टीले आफ्नो धारणा बनाउने भनिएको केन्द्रीय समितिको बैठक मूल उद्देश्यबाट अर्कैतिर मोडिएर आन्तरिक कलहमा फसेको थियो । 

स्थलगत भ्रमणपछि तयार पारेको समीक्षा प्रतिवेदनको निष्कर्ष सुनाउने क्रममा महामन्त्री ढकालले घण्टीमा ‘कालो बादल मडारिएको’ उल्लेख गरेका थिए । 

उनले तल्लो स्तरबाट आफूले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीभन्दा पनि काठमाडौँ महानगरका प्रमुख वालेन्द्र साह (बालेन) सहितका स्वतन्त्र मेयरसँग मिल्नका लागि सबैभन्दा उपयुक्त हुने सुझाव दिएका थिए । 

समीक्षा बैठकका सहभागीमध्ये लगभग दुईतिहाईले प्रदेश संरचना खारेज हुनुपर्छ भनी मत राखेका थिए । 

बाँकीले प्रदेश संरचना सुधारको मुद्दा उठाउनुपर्छ भनेका थिए । एकदमै नगन्य रुपमा संविधानमा उल्लेखित संरचनामै अघि बढ्नुपर्छ भनेका थिए । 

‘मेरो विचारमा पार्टीले इन्तु, किन्तु परन्तु केही नलगाई प्रदेश संरचना खारेजको मुद्दा उठाउनुपर्छ । पार्टीका सबै नेता प्रदेश खारेजका लागि मुखरित हुनुपर्छ र आगामी २०८४ वा हुन सक्ने मध्यावधि चुनाव (प्रदेशको चुनाव) मा भाग नलिने निर्णय गर्नुपर्छ । प्रदेश संरचनामा मात्र होइन, स्थानीय तहको संरचनामाथि पनि प्रश्नहरु उठ्न थालेका छन् । स्थानीय तहमा बेथितिहरु मौलाएका छन्’, मुकुलले दिएको सुझावमा उल्लेख छ । तर स्वतन्त्र भनिएको पार्टीमा महामन्त्रीलाई नै बोल्न नदिई कारबाही गरेर स्वतन्त्रताको पक्षलाई निरंकुशतातर्फ धकेलेको छ । 

पार्टीभित्र महामन्त्री ढकालले देखेका समस्याहरु यथार्थ र सही हुन सक्छन् भन्नेतर्फ रास्वपाले देखेन । उनले फिल्डमा गएर ल्याएका सुझाव र प्रतिक्रियाहरु गलत हुन् भन्न पनि सकेको छैन । तर पार्टीले उनको प्रतिवेदनउपर गम्भीर छलफल गर्नुको साटो उनीमाथि अनुशासनको डण्डा चलायो र औपचारिक रुपमै मंगलबारबाट कारबाही गरेर पार्टीबाटै बिदा गर्दैछ । 

प्रतिवेदन केन्द्रीय सदस्यहरुले पढ्न नपाउँदै महामन्त्री ढकालले मिडियामा छताछुल्ल पारेको र आन्तरिक समस्याहरुलाई सार्वजनिक गरेको, पार्टी बैठकमा मुखमा टेप टाँसेर बसेको, अनुशासनहीन र अराजक व्यवहार प्रदर्शन गरेको जस्ता आरोपहरु महामन्त्री ढकालमाथि लगाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ