arrow

स्वर्णिमका ‘बीपी’ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असार ३० आइतबार
ravi-swarnim-81-3-30.jpg
तस्बिर– स्वर्णिम वाग्ले (बायाँ) र रवि लामिछाने (दायाँ) ।

काठमाडौँ । २०७४ सालको साउन १९ गते बिहान बसेको मन्त्रिपरिषद् बैठकले स्वर्णिम वाग्ले (हालका राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद) लाई नेपाली कांग्रेसले आफ्नो कोटाबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त गर्यो । 

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ रहेका देखेर २०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले उनलाई योजना आयोगको सदस्यमा नियुक्ति गरेका थिए । 

अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गरेका वाग्लेले अमेरिकाको हार्भर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कूल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गरेकै देखेर कांग्रेसले ‘थिङक ट्याङ’ को रुपमा लियो । 

विश्व बैंकको मुख्यालय, वासिङ्टन डीसीमा वरिष्ठ अर्थशास्त्रीको रुपमासमेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसँग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव थियो । 

यही अनुभवलाई कांग्रेसका सयाैँ इमानदार र कर्मशील कार्यकर्ता र विद्वानलाई पन्छाएर वाग्लेलाई बिना लगानी अवसर दियो । 

कुनै दिन कांग्रेसका तर्फबाट राष्ट्र निर्माणको योजना बनाउने अवसर पाएका पात्र वाग्लले अचानक मूलबाटो छाडेर मूलबाटो खन्नेलाई गाली गर्दै सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको छत्रछायाँमा पुगेपछि जननायक बीपी कोइरालाकै मान मर्दन गरिदिए ।

स्वर्णिमलाई शुरुमै राष्ट्रिय योजना आयोगको उपाध्यक्ष जस्तो अत्यन्त गरिमामय पद दिनु गल्ती पो थियो कि ? यो पद दिनुअघि कम्तीमा बीपी कोइराला भनेको को हो ? भनेर एक पेज निबन्ध लेख्न लगाउनु पर्ने थियो कि ? 

विदेश बसेर आएको एक महिनाभित्रै यति ठूलो अवसर प्राप्त गर्ने व्यक्ति नेपालमा दुई जना रहेछन् । एक जना २००७ सालको प्रजातन्त्रपछिका अर्थात् नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान । अर्का एक जना शेरबहादुर देउवा प्रधानमन्त्री हुँदाको बेलामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्ले ।

उनी देउवाकै सिफारिसमा पहिले दुई पटक योजना आयोगको सदस्य भएका थिए । त्यसपछि उपाध्यक्ष भए तर त्यसपछि फेरि कांग्रेसले निरन्तर अवसर नदिएसँगै देउवाले आफ्नो अपमान गरेको भन्दै वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीतिर लागे ।  

यहाँ बीपीले अवसर नदिएर न त डा. तुलसी गिरी महेन्द्रतिर लागेका हुन् न त देउवाले अवसर नदिएर वाग्ले रवि लामिछानेतिर लागेका हुन् । 

उनीहरु निश्चित स्वार्थ बोकेका पात्र हुन् । जसले बीपी भनेका रवि र रवि जस्तै चटके हुन् भन्ने बुझेका छन् ।

गिरी त कांग्रेसमा लामै समय बिताएका पात्र हुन् । तर वाग्लेको हकमा भन्नु पर्दा एक दुई महिना परीक्षण पनि नगरी टपक्क टिपेर राष्ट्रिय योजना आयोग जस्तो अत्यन्त गरिमामय पद दिइयो । जसको भारी थेग्न सकेनन् । जसका कारण कांग्रेस र कांग्रेसका नेता कार्यकर्तालाई गाली गर्न थाले ।

त्यहाँ बसेर कांग्रेसलाई सहयोग पुग्ने दीर्घकालीन कामचाहिँ के गरे त्यसको कांग्रेसजनहरुले बताउन सक्ने अवस्था छैन  । पदीय हिसाबले सहायक मन्त्री सरह भए पनि अर्थमन्त्री सरह योगदान गर्न सकिने पद थियो ।  

तर त्यही पदमा रहेर कांग्रेसलाई गाली गर्दै भागेका वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएको भोलिपल्ट चितवन पुगेर बीपी कोइरालाको अपमान गर्न भ्याए । 

‘बीपी कोइरालाको जत्तिकै ऊर्जा रवि लामिछानेमा मैले पाएँ’, उनले भने । एउटा टेलिभिजन प्रस्तोताको रुपमा रहेका लामिछाने राजनीतिमा हाम्फालेका थिए । टेलिभिजन कर्ममा रहँदा आफैँ अप्रेशन गर्ने र आफैँ न्यायाधीशको भूमिकामा रहेका लामिछानेको विगत र वर्तमान दुवै विवादित रहेको छ । 

जीवनमा एक पटक पनि विवादमा नआएका राजनीति र साहित्यमा उच्च छवि भएका बीपीसँग रविको तुलना गर्नु नै अपमान थियो । तर स्वर्णिमको बौद्धिक चेतना त्यहाँभन्दा माथि जान सकेन ।

‘बीपी कोइरालाको कांग्रेस अब रहेन, त्यसैले अबको नयाँ वास्तवमा तुलनै गर्ने हो भने रविजी, १५ सालको बीपी कोइरालाले नेतृत्व गरेको त्यस्तो भिजन भएको, ऊर्जा भएको, आदर्श बोकेको, देशलाई निश्चित समयसीमाभित्र यहाँ पुर्याउँछु भन्ने हुट्हुटीका साथ तपाईंको नेतृत्वमा त्यो ऊर्जा र भिजन देखिराख्या छ नि तुलना गर्न मिल्छ । मैले उर्जा र स्पिरिटमा त्यो हुटहुटी, एम्बिसनको हिसाबले देश बनाउने भिजन ऊर्जा र महत्वाकांक्षा देशलाई यहाँ पुर्याउँछु भन्ने मिशनमा केही तुलना गरेको हो’, स्वर्णिमले रविबारे २०७९ चैत २० गते यसरी शब्द खर्च गरेका थिए ।  

रविको वर्तमान मात्र होइन विगतलाई एकैछिन फर्केर हेर्ने हो उनलाई हेरेर नेपाल र नेपालीले आशा गर्ने ठाउँ छैन । विगतमा नेपाली नागरिकता त्यागेर अमेरिका पलायन भएका र त्यहाँ पनि विभिन्न मुद्धा लागेर नेपाल आएका रवि नेपालमा म्यानपावर व्यवसायी, क्रसर व्यवसायी र नेटवर्किङ व्यवसायीसँग राम्रो उठबस भएका व्यक्ति हुन् । 

त्यतिमात्र होइन नेटवर्किङ व्यवसाय र सहकारी सञ्चालक रही हाल फरार रहेका जीबी राई र उनी व्यवसायीक साझेदारसमेत रहेका छन् । 

राजनीतिक दलका नेताहरुप्रति चरम वितृष्णा फैलाएर राजनीतिक रोटी  सेक्न माहिर रहेका रवि आफैँ सहकारीको करोडौँ रुपैयाँ अपचलन गरेको मुद्धामा छानबिनमा रहेका छन् ।

कुनै सिद्धान्त न कुनै विचार र कुनै संगठित धरातल रहेका रविलाई बीपी देख्ने स्वार्णिमको दृष्टि नेपाली कांग्रेसका आम कार्यकर्तामाथिको हेपाहा भनाइ हो भन्न कठिन छैन । 

वाग्लेले २०७९ मंसिर ४ मा भएको आमचुनावमा नै कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा टिकटको आशा गरेका थिए । 

माओवादी, एस लगायतका दलसँगको गठबन्न्धनका कारण १६५ प्रत्यक्ष तर्फको सिटमध्ये कांग्रेसले ९० स्थानमा मात्र उम्मेदवार उठाउन पाउने भएपछि सिट संख्या घटेकाले वाग्लेको सपना पूरा हुन पाएन । 

वाग्लेलाई कांग्रेसले टिकट दिएर अन्य पार्टीमा जानबाट रोक्नु पर्दथ्यो भन्ने मत पनि काँग्रेसवृत्तभित्र रहेको छ । टिकट नपाउँदैमा अर्को पार्टीमा जानेलाई नदिएकै ठीक, आफ्नो स्वार्थ अनुकूल नहुनासाथ पार्टीलाई धोका दिन सक्नेले जिम्मेवारी पाएको अवस्थामा झन् ‘बार्गेनिङ’ गर्ने थिए भन्ने मत अझ बलियो रहेको छ । 

पार्टीले वाग्लेलाई जिम्मेवारीबाट वञ्चित गरेको पनि हैन । उनलाई राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, घोषणा पत्र लेखन समितिको सदस्य र आर्थिक फाँटमा जिम्मेवारी दिएकै हो । 

राज्य मन्त्री सरहको सेवा सुविधासहित राष्ट्रपतिको आर्थिक विज्ञका रुपमा पनि नियुक्ति दिने तयारी थियो । वाग्लेले नै मन्त्री सरहको पोर्टफोलियो भए मात्र सल्लाहकार हुन्छु, नत्र हुँदिन भनेर निहुँ खोजेका थिए । 

पार्टी, देश र जनताका लागि सर्वश्वहरण भएका, जेल, नेल, यातना र निर्वाशन भोगेका लाखौँलाख नेता कार्यकर्ता भएको कांग्रेसमा उनी मात्रै यस्ता व्यक्ति थिए जसले हातहातै पद लिए । 

लामो राजनैतिक इतिहास भएको पार्टी, हजारौँ शहीदहरुको बलिदानीले निर्माण भएको पार्टी स्वर्णिमलाई अपच भयो । सहकारी ठगी, दोहोरो नागरिकता, दोहोरो राहदानी प्रयोगकर्ताले तयार पारेको पार्टीमा उनी लागे । 

त्यतिमात्र होइन कांग्रेसबाहेक नेपालको सन्दर्भमा दुनियाँले पत्याएको भरपर्दो अन्तर्राष्ट्रिय समुदायले पत्याएको जनतामा आधारित लोकतान्त्रिक पार्टी नै छैन, नेपाली । जसको लामो र गौरवमय इतिहास होस् । 

इतिहासका अनेक कालखण्डमा नेपाली कांग्रेसले गरेको क्रान्ति, देशका सबै परिवर्तनहरुमा गरेको नेतृत्वदायी भूमिका, क्रान्ति र शान्तिमा अहम् भूमिका निभाउने अहिंसावादी पार्टीको आत्म गौरब त वाग्लेले रविको पार्टीमा गर्न पाउने छैनन् नै । 

अहिलेलाई पार्टी नै छोडेर त्यसमाथि रवि लामिछानेलाई बीपीसँग तुलना गर्दै पार्टी छोड्ने जुन काम गरे त्यो अपरिपक्व राजनीतिको उपज हो । 

वाग्लेलाई कांग्रेसका कुनै पनि जिम्मेवार नेताहरुले अपशब्दको जवाफ फर्काएका छैनन् । वाग्ले लाभको पद पाइन्जेल दुई चार वर्ष कांग्रेसको साधारण सदस्य बने, तर कांग्रेसी हुन भने सकेनन् । 

उनले आफ्ना पार्टी सभापति रवि लामिछाने बीपी कोइराला सरह दूरदर्शी रहेको प्रतिक्रिया व्यक्त गरे । यस्तो प्रतिक्रिया नेपालको राजनीतिक रंगमञ्चमा कुनै पार्टीको उम्मेदवारले प्रकट गरेको सायद पहिलो पटक हुनुपर्छ । 

कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले पनि आफ्ना आदर्श पुरुष पुष्पलाल र मदन भण्डारीलाई बीपी कोइराला सरह भनेर तुलना गरेको कहीँ कतै सुनिएको छैन । 

राजतन्त्रलाई आदर्श मान्ने तप्काले पनि राजा महेन्द्र बीपी सरह थिए भनेर कहीँ कतै टिप्पणी गरेको सुनिएको छैन । यस्तो विषयमा रविलाई बीपी समान भन्दै टिप्पणी गरेर प्रशंसा गरेर उनी थाकेनन् । 

बीपी मार्गमा हिँडेका कयौँ कोही कांग्रेसी नेतालाई पनि कसैले बीपीजस्तै भनेनन् । यो निश्चित हो कि बीपीजस्तो जन्मन सयौँ वर्ष लाग्न सक्छ । एक राजनेता र एक उच्चस्तरीय साहित्यकार हुन् बीपी । राजनीतिका संयमी र साहित्यका विद्रोही हुन् बीपी । राजनीति र साहित्यको सोच एउटै छँदै थिएन । यो प्रतिभा विश्व राजनीतिमा पनि भेटिँदैन ।  

तर रविमा त्यस्तो कुन छवि स्वर्णिमले देखे जसको तुलना बीपीसँग गरे ? रवि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेपछि पनि प्रशंसाका शब्दहरु रोकिएनन् ।

२०८० चैत १० गते काठमाडौँमा भएको एक कार्यक्रममा विशेष सम्बोधनका लागि स्टेजमा पुगेका स्वर्णिमले शुरुमै सभापति रविको प्रशंसा गरेका थिए । सम्बोधन शुरु गर्दै गर्दा उनले लामिछानेलाई उपप्रधानमन्त्री भन्दा पनि स्वाद आएको टिप्पणी गरेका थिए । 

‘हाम्रो पार्टीका आदरणीय सभापतिज्यू, मेरा मित्र एवं नेपाल राष्ट्रकै माननीय उपप्रधानमन्त्रीज्यू । यो भन्दा पनि कस्तो स्वाद आइरहेको छ,’ उनले सम्बोधनको क्रममा भनेका थिए । सरकारमा सहभागी हुन पर्नुका कारण उल्लेख गर्दै कामको शुरूआत पार्टीले गरेको उनले बताएका थिए ।  

सरकारबाट बाहिरिएपछि पनि रविको गुणगान गाउन स्वर्णिमले छाडेका छैनन् । किनकि कांग्रेसका भ्रष्टाचारका ठूला फाइल खोल्न खोजेकै कारण सरकारबाट बाहिरिनु परेको भनेर बताइरहेका छन् । 

त्यसो त रास्वपा खोक्रो भइसकेको भनेर उनकै पार्टीका निष्काशित महामन्त्री डा. मुकुल ढकालले भनिसकेका छन् । जनताका कुरा जस्ताका त्यस्तै राख्दा पनि उनले उल्टै मुकुललाई जिम्मेवारीबाट निकाल्नुपर्ने बताएका थिए । 

र, रविको बचाउ गर्दै, ‘सभापतिज्यूले त हटाउनु हुँदैन भनेर भन्नु भएको छ । यसबारेमा बोल्नु भएको छैन । केन्द्रीय सदस्यहरुले नै हटाउनु पर्छ भनेर आलोचना गर्नुभएको छ’ भनेका थिए । स्वर्णिम मुकुललाई हटाउँदा रविलाई कहीँ कतैबाट पनि क्षति नहोस् भनेर खुवै सम्वेदनशील भएको पाइन्छ । आखिर रवि स्वर्णिमका बीपी न परे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ