- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले अहिलेका मन्त्रीहरूलाई स्टन्ट गर्न जरुरी नरहेको बताएकी छन् । उनले बुधवार दिउँसो काठमाडौंको त्रिपुरेश्वरिस्थित राहदानी विभाग र कन्सुलर विभागको निरीक्षण एवं अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले अहिले सरकारमा दुई पुराना राजनीतिक दलहरू रहेको उल्लेख गर्दै आफूहरूले काम गरेर प्रमाणित गरिसकेकाले स्टन्ट देखाउनुपर्ने जरुरी नरहेको जिकिर गरिन् । उनले अहिले सरकारमा रहेका मन्त्रीहरूलाई र राजनीतिक दललाई हामी नै राम्रो हौँ भने प्रमाणित गरिरहनुपर्ने अवस्था नरहेको बताइन् ।
उनले अहिलेको सरकारले अर्थ कूटनीति र प्रत्यक्ष वैदेशिक लगानी ल्याउने गरी काम गर्ने पनि बताइन् । उनले वर्तमान सरकार कहिले ढल्ला भन्ने भय नरहेकाले ढुक्क भएर काम गर्न समस्या नरहेको बताइन् । उनले दुवै राजनीतिक दलहरूको लक्ष्य देश र जनताको विकास, अर्थतन्त्रमा सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण रहेकाले देश परिवर्तन गरेर देखाउने प्रतिबद्धता जनाइन् ।
उनले भनिन्, ‘सरकारमा रहेका दुई पार्टीहरू धेरै नै पुराना पार्टीहरू छन् । हामीले काम गर्न सक्छौँ । हामीले देशको लागि केही गर्न सक्छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । किनभने हामीले गरेर देखाइसकेका छौँ । हामी भन्दा अगाडिको पुस्ताले धेरै गाह्रो समयमा नेपाललाई अघि सारेको पार्टी हो । हामी युनिक छौँ, सबैभन्दा बेस्ट छौँ भनेर स्टन्ट गर्नुपर्ने जरुरी छैन । अहिले जुन सरकार बनेको छ, हेर्दा हामी सबै योङ, भर्खर नयाँ नयाँ छौँ । हुन तः म त्यति होइन, अरुअरु हुनुहुन्छ । इकोनोमिक डिप्लोमेसी, फरेन डाइरेक्ट इन्भेष्टमेण्टहरु यहाँ ल्याउने, पासपोर्टकै पनि नेपाली डेस्पोरा धेरै छ । अहिलेको सरकार स्टन्ट गर्न होइन, गम्भीर भएर काम गर्ने हो । हामीलाई भोलि जाला की पर्सी जाला की भन्ने चिन्ता छैन, निर्धक्कका साथ काम गर्नेछौँ । दुई पार्टी भए पनि एउटै लक्ष्य भएकाले हामीले परिवर्तन गरेर देखाउनेछौँ ।’
मन्त्री राणाले राजनीतिमा दुई अनुभवी व्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा रहेकाले देशलाई गन्तव्यमा पुर्याउने दाबी गरिन् ।