arrow

क्लब हाउसका चार वर्षः दुई पटक ‘क्यारेक्टर असासिनेसन’

logo
डा बद्रीप्रकाश ओझा, 
प्रकाशित २०८१ साउन १९ शनिबार
badri-ojha-81-4-19.jpg

कोभिडले आक्रान्त नेपालमा सामाजिक सञ्जाल क्लब हाउसको चर्चा निकै चुलियो । हुन त ५–७ महिनाअघिदेखि नै यसको प्रचलन रहेछ तर जब क्लब हाउसले आफूलाई एन्ड्रोइड सिस्टममा पनि चल्ने बनायो, त्यसपछि भने नेपालमा यसका प्रयोगकर्ता बढे । सामान्यतया हाम्रोतिर एउटाले कुनै नयाँ चिज देखायो भने सबै त्यसैको पछि लाग्ने चलन छ । हुन त सिक्ने विषय पनि त्यसरी नै हो । 

आफैँ पनि यसको प्रयोगकर्ता बन्न पुगेँ । एकजना साथीले मलाई सदस्य बनाइदिए । उनी शेयर कारोबारी थिए । म शेयरको उति भाषा नबुझ्ने हुनाले अरु हाउसतिर लागेँ । 

एक साँझ एउटा अप्ठ्यारो नाम गरेको हाउसमा पुगेँ । म क्लबहाउसमा छिरेको त्यस्तै पाँच दिन भएको हुँदो हो । त्यो हाउसमा गीत फर्माइस गर्ने कार्यक्रम रहेछ । 

मैले पनि एउटा हिन्दी गजल फर्माइस गरेँ । उहिले रेडियो नेपालमा यसरी गीत फर्माइस गरेर सुन्ने प्रचलन थियो, सायद यस कार्यक्रमले पनि मलाई त्यसैको झल्को दियो । मलाई मन पर्यो ।

फर्माइस त गरेँ तर गीत बजेन । म्यासेज गर्नुपर्ने, मोबाइलमा रोमनमा टाइप गर्दा बेग्लै शब्द बन्ने, बल्लबल्ल टाइप गरेँ तैपनि प्रस्ट भए जस्तो लागेन । 

गजल थियो, पंकज उदासको । सबको मालूम है मै शराबी नही...। उल्टो अर्थ लाग्ला कि भनेर सानो अंग्रेजी लाइन पनि लेखेँ , आएम नट ड्रंकार्ड बट इफ समवन गेट्स मि ड्रिंक ह्वाट क्यान आइ डु ? 

मैले लेखेको थिएँ गजलको एक अंशको अंग्रेजी अनुवाद, बुझ्नेले के बुझे जानकारी त भएन । यसकै आसपासमा फेरि अर्को म्यासेज पठाएँ । नम्बर पाए त अरु बेला पनि गफ हान्न पाइन्थ्यो होला । 

यत्तिकै भो सकियो । दुई चार दिनपछि त क्लब हाउसमा मेरो फोटो राखेर खुब कुराकानी भएको देखेँ । एक दिन एउटा हाउसमा के पसेको थिएँ, लु यही हो मान्छे यसलाई माथि बोलाऔँ भने । 

कुरो के रहेछ त भनेर माथि छिरेको मात्र के थिएँ, गाली शुरु भयो । एकछिन सुनेर एक दुई शब्द बोल्ने प्रयास गरेँ । कोही भन्छन्, बुढो भएर केटीको फोन माग्ने ? कोही भन्छन् तु माफी माग । एउटा भाइले त जिब्रो थुतेर निकाल्नुपर्ने पनि भन्न भ्यायो । 

हैट यो के हैरानी आइलाग्यो भन्ने लाग्यो । उनीहरुले लगातार माफी माग्न दबाब दिए । मैले भनेँ, ‘केही गल्ती नै छैन किन माफी माग्ने ? तर उनीहरु एकोहोरो दबाब दिन छोडेनन् । 

अन्तिममा मैले लौ न त मेरो भनाइले तपाइैंहरुलाई चित्त दुःखेको भए माफी पाउँ भनेँ । माफी मागिदिए कमसेकम गाली त नगर्लान् भन्ने लागेको थियो । गाली जारी नै राखेपछि त्यो हाउसमा जान छोडेँ । 

त्यति बेलासम्म मलाई पनि क्लब हाउसको चस्का पसिसकेको थियो । यहाँ छद्म नामले आएर बस्सरी कुण्ठा पोख्ने प्रचलन छ भन्ने पनि जानकारी भयो । 

कुण्ठै नपोखे पनि यहाँ बोलेका शब्दले आफ्नो व्यावसायिक जीवनमा प्रभाव नपारोस् भनेर पनि मानिसहरु उपनामले आउँदा रहेछन् । मजस्तै अरु मानिस पनि पीडित भइसकेका रहेछन् । 

त्यसपछि भने म सक्कली नाम राखेर चलाउनेहरुकै मात्र हाउसमा छिर्न थालेँ । त्यतिबेला अस्ट्रेलियाबाट एउटा र नेपालबाट एउटा निकै प्रभावशाली हाउस चल्थे, नेपाली समयअनुसार बिहान । 

फेरि ती अस्ति माफी मगाउनेमध्ये कुनै सदस्य अस्ट्रेलियाको हाउसमा पुगेछन् । उनले एक स्टेप अघि बढेर फेरि गाली ठोके । त्यहाँ केहीले मेरो बचाउ गरे, केहीले गाली गरे । विस्तारै गालीकर्ता थाके । 

यता नेपालबाट चल्दै आएको हाउसमा फेरि अर्की अभियन्ताले मेरा विरुद्ध आवाज उठाइन् । यो मान्छे किन यहाँ ? भनेर । सञ्चालकहरु समाजका स्थापित व्यक्तित्व भएकाले उनीहरुले छद्म नामबाट उठेको आवाजलाई खास महत्व दिएनन् । 

तपाईं कुरा गर्न चाहने भए आफ्नो परिचय खुलाएर आउनुहोस् भनेपछि ती अभियन्ता हराइन् । यत्तिकैमा समय बित्दै गयो । त्यसको तीन–चार महिनापछि फेरि एउटीले गाली गरिन् । के विषय रहेछ भनेको उही अस्तिकै विषय रहेछ । यत्तिकैमा समय बित्यो । 

चौथो वर्ष एकैचोटी दुई वटा आक्रमण गरिए । पहिला एक जना बहिनीले मलाई त्यही मान्छेले फोन मागेको, यस्तालाई यहाँ बोल्न दिने भनेर बबाल गरिछिन् । 

म अफिसमा भएकाले क्लबहाउस सुन्न पाइन । मोबाइल साइलेन्समा थियो, हाउस भने चलिनै रहेको थियो । दिउँसोतिर एकजना साथीले फोन गरे, कुरा के हो, तपाईमाथि यस्तो आरोप लाग्यो भने । मैले चार वर्षअघिको कुरो बताइदिएँ । 

त्यसको एक दुई महिनापछि एउटा लोकप्रिय हाउस साझा चौतारीमा प्रभावशाली व्यक्तित्व चयनका लागि चुनाव हुने भयो । 

त्यस दिन स्पिकर प्यानलमा रहेकाहरुले जनही १० जनालाई मनोनयन गर्नुपर्ने र ती १० जनाका मनोनयनमा जो जो अग्रपंक्तिमा आउँछन्, उनीहरुबीच मतदानका आधारमा प्रभावशाक्ति व्यक्ति छान्ने भन्ने छलफल भयो । 

म त्यति नियमित हुन नसक्ने भएकाले शुरुमै मनोनयन गरिहालेँ । त्यपछि अरुका मनोनयनहरु अघि बढे । दुई तीन दिनसम्म मनोनयन जारी रहे । 

एक दिन अर्कै एउटा हाउसमा उही अघिल्लो हाउसको मनोनयनबारे चर्चा भयो । एकजनाले भने म चाहिँ फलानो पात्रलाई दिन्छु । मैले प्रश्न गरेँ हैन ती पात्रलाई भोट दिनुपर्ने आधार के के हुन् ? 

बाइ द वे उल्लेखित पात्र  महिला थिइन् । उनी जवाफ दिँदै थिए मैले बीचमै उनलाई क्रस गरेँ । अंगकै हिसाबले त के भोट हाल्नु र हौ भाइ । 

उनी आफ्नो आधारलाई बलियो पार्ने प्रयासमा थिए । उनले भने महिला भएकै हिसाबले मात्र भोट दिएको होइन । यसरी नबुझ्नु होस् । 

यसै बीचमा प्रसंग बदलियो । म पनि आफ्नै काममा लागेँ ।

त्यस हाउसमा पनि कोही उही पहिलेकै जस्तो अल्ट्रा राइटिस्ट रहेछ । उसले ठिक्क आफूलाई चाहिने वाक्यांश अंगका हिसाबले भोट भन्ने भागमात्र कपी गरेर दिनभर र रातभर सकेजति सबैलाई पठाउन भ्याएछ । भोलिपल्ट बिहान हाउसका मालिक ममाथि खनिए । 

के हो बुढा अंगका कुरा गर्ने ? मैले स्वभाविक जवाफ दिएँ, अनि के का आधारमा महिला र पुरुष छुट्टिन्छ त ? 

उनले फेरि पेले तपाईं खुब जान्ने, हामी त केही नजान्ने । खुरुक्क माफी माग्नुहोस् । मैले भने यहाँ माफी नै माग्नु पर्ने विषय के हो र ? यतिबेलासम्म उनले हाउसमा मलाई ब्लक गरिसकेर हाउस नै डिलिट हानिसकेका सकेका रहेछन् ।

फेरि उही मनोनयन वाला हाउसमा पुगियो । त्यहाँका सञ्चालकले पनि एक पटक होइन, दुई दुई पटक तपाईंको बोलीले हाउसमा महिला साथीहरु बस्न नसक्ने भयौँ भन्नेकुरो आयोे, तपाईं के भन्नुहुन्छ भन्ने प्रश्न गरे । 

अघिकै हाउसवालासँगको छलफलमा वाक्कै लाग्या थियो । यहाँ मैले कुनै भद्रा हेर्नुपरेन । मैले स्वभाविक जवाफ दिएँ, बहुमतको कदर गर्दै मलाई कारबाही गर्नुहोस् । उनले कारबाही गरे । मतलब हाउसबाट हटाए । 

म त्यसैदिन पूर्वी नेपालतिर लागेँ । राति सुतेका बेला अर्का एकजना साथीले अर्को हाउसबाट फोन गरेर विवरण मागे । मैले जे हो त्यही भनिदिएँ । 

त्यसबीचमा मलाई गाली गर्ने र पक्ष लिनेबीच लामो बहस भएछ । म ब्लक भएकाले सुन्न पाइन । तीन चार दिनपछि अर्को हाउसमा केही रिप्लेका अंशहरु सुन्न पाएँ । 

म ब्लक भएकाले भोट हाल्ने अवसर पनि गुमाएँ । हुन त मसँग त्यतिबेला इन्टनरनेटको उति सुविधा पनि थिएन । कामको शिलशिलामा म कर्णाली पुगेकाले चाहिएका बेला इन्टनरनेट सुविधा पाइँदैनथ्यो । 

पाइएका बेला फुर्सद नहुने फुर्सद र इन्टनरनेट दुवै पाइएका बेला हाउस नचल्ने । एक दुई दिनपछि थाहा पाएँ, मेरो पक्षमा बोल्नेहरु हाउसबाट हटाइएछन् । ती अघि माफीको निर्देशन जारी गर्ने पात्रले त माफीको ढाँचा नै प्रस्तुत गरेछन्ः मबाट ठूलो गल्ती भयो, सक्नुहुन्छ र मिल्छ भने मलाई माफ दिनुहोस् । मैले उहाँलाई हाउसबाट रिमुभ गरिसकेँ । यति भएपछि अरुका लागि लिस्नु लागिगो । 

जमेर गाली गरेका क्लिपहरु पनि सुनिए । अघि चर्चा गरिएकी पात्रले त पशु उपनाम नै दिन पनि पछि परिनछिन् । मानौँ म उनको क्लासको निरिह बच्चो जसका बाबुआमाले पैसा तिरेर गाली खान पठाएका छन् ।

यतिले नपुगेर ती अभियन्ताहरुले मेरा आफन्तहरुसम्म ममाथि दबाब दिन आह्वान गरेको जानकारी भयो । ज–जसले मलाई मलाई सोधे, उनीहरुलाई मैले जवाफ दिएँ । इरिटेट भएर कसैकसैलाई त तिमीलाई के चासो भन्ने जवाफ पनि दिएँ । 
क्रमशः



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ