- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पश्चिमी जगतमा आफू पीडित भएको जिकिर गरेर समाजमा स्थापित बन्न सजिलो बनाउने संस्कृित विकास भएको छ । यसलाई ‘भिक्टिमहुड कल्चर’ अथवा पीडितजन्य संस्कृति भनिन्छ । यस संस्कृतिलाई अपनाउने पात्रहरूले अरुले गरेका स–साना भाषिक त्रुटि वा अपमानजन्य शब्दलाई ठूलो विषयका रुपमा प्रस्तुत गर्दछन् । यसको उपयोग गरेर उनीहरू आफ्नो गुनासो समाधानका लागि सामाजिक सञ्जाल, सरकार तथा नागरिक समाजको ध्यान आकर्षण गर्दछन् ।
यस संस्कृतिका माध्यमबाट अभिव्यक्ति स्वतन्त्रतामाथि धावा बोलिन्छ । यसैगरी तोकिएको विशेष प्रकारको भाषा वा स्थानीय वा क्षेत्रीय भाषाको प्रयोगबाट उत्पन्न द्धिविधालाई पनि आधार मानेर अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरिन्छ । त्यसैले यस संस्कृतिलाई व्यक्ति वा कुनै विशेष समूहको स्वार्थ पूर्ति गर्ने हतियारका रुपमा लिइन्छ ।
‘यदि हामी व्यक्तिगत स्वतन्त्रताका पक्षमा वकालत गर्न चाहन्छौँ, पहिचानलाई स्थान दिन चाहन्छौँ र वास्तविक पीडितहरूलाई सही रुपमा सहयोग गर्न चाहन्छौँ भने भिक्टिमहुट कल्चर त्याग्नुपर्दछ’, ‘ग्याब्रियल सियोजाबा’ भन्छन् ।
उनी लेखक तथा पत्रकार हुन् । भिक्टिमहुडले व्यक्तिगत अधिकार, स्वतन्त्रता, खुशीको खोजलाई थाँती राखेर सरकारी सहयोग र क्षतिपूर्तिलाई प्रश्रय दिन्छ । भिक्टिमहुड कल्चरले यस्तो समाजको निर्माण पनि गर्दछ जसमा मानिसहरू आफैँमात्र सबैभन्दा बढी पीडित हो भन्ने प्रमाणित गर्ने प्रयास गर्दछन् ।
भिक्टिमहुडका प्रयोगकर्ताले समाजमा व्याप्त विभेद, अन्याय, पीडालाई खोजीखोजी आफ्नो विषयवस्तु बनाउँछन् । यस्ता मानिसहरू समाजमा आर्थिक हिसाबले पनि कमजोर हुँदैनन् । उनीहरू मीठो–मसिनो खान सक्ने र आफ्ना मुद्दालाई कहाँ र कसरी राखियो भने बढी चर्चा पाइन्छ र समाजमा स्थापित हुन सजिलो पर्दछ भनेर हिसाब गर्दछन् । उनीहरूले आफ्ना मुद्दालाई राजनीतिकरण गरी आमसञ्चार र न्यायालयलाई समेत प्रभाव पार्दछन् ।
अमेरिकी समाजशास्त्रीद्धय ब्राडली क्यामबेल र ज्यासन मेनिङले भिक्टिमहुड कल्चर सम्बन्धी विभिन्न अध्ययन गरी पुस्तक पनि प्रकाशित गरेका छन् । उनीहरूको अध्ययनले पछिल्लो पटक केही अमेरिकी विश्व विद्यालयहरूमा भएका भिक्टिमहुड कल्चरका अभियान पनि समेटेको थियो ।
यस्ता अभियन्ताहरूको सरदर वार्षिक आय दुई लाख ४० हजार अमेरिकी डलर थियो । सन् २०१८ जुन साल लेखकहरूले पुस्तक सार्वजनिक गरे, त्यस सालको औसत आयलाई मूल्यांकन गर्दा भिक्टिमहुड कल्चरका अभियन्ताहरू सामान्य कमाइ गर्ने अमेरिकी परिवारका तुलनामा पाँच गुणा बढी कमाइ गर्नेहरू भेटिएका थिए ।
इजरायलस्थित तेल अबिब विश्व विद्यालयका प्राध्यापक राहाब ग्याबेले गरेको अनुसन्धान अनुसार भिक्टिमहुडका अभियन्ताहरू आफ्नो पीडित पहिचान सिद्ध गर्न अन्य व्यक्तिमाथि दोष थोपर्ने तथा आफ्नो निजी सम्बन्धमासमेत आफू पीडित भएको जिकिर गर्ने गरेको पाइएको छ ।
‘यस प्रवृत्तिले समग्र मानव जातिलाई नै पीडित पात्रका रुपमा स्थापित गर्ने संभावना रहन्छ’, प्राध्यापक ग्याबेले भने ।
अमेरिकी अध्ययन अनुसार भिक्टिमहुड कल्चरलाई माध्यम बनाएर अभियान सञ्चालन गर्नेहरूले गज्जबको सामाजिक भाष्य निर्माण गरेका छन् । जस्तो कि उनीहरू भन्छन्ः अल्पसंख्यकहरू सत्तामा पुगकै छैनन्, त्यसैले उनीहरू रेसिस्ट हुँदैनन्, केवल गोरो जातका मानिसहरू मात्र रेसिस्ट हुन्छन् । त्यस्तै, महिलाहरू पुरुषजन्य सामाजिक विभेद विरुद्ध लड्दैछन्, त्यसैले उनीहरू सेक्सिस्ट बन्न सक्दैनन्, पुरुषहरू मात्र सेक्सिस्ट हुन्छन् । पिछडिएका भनिने वर्गका मानिसहरूले सुरक्षा र संरक्षण पाएका छैनन्, त्यसैले उनीहरू गैरकानूनी कार्य गर्दैनन् ।
लेखकद्धयका अनुसार यदि भिक्टिमहुड कल्चर बढ्दै जाने हो भने यसले अमेरिकी समाजमा गोरा जाति र पुरुषहरूलाई अलग्गै पहिचानका लागि लड्न दबाब सिर्जना गर्दछ । यसबाट समाजलाई हानि पुग्दछ ।
यसैगरी लेखकहरूले यस्ता भिक्टिमहुड कल्चरका अभियन्ताहरूले येल, हार्भार्ड जस्ता लोकिप्रय इभि लिग विश्वविद्यालहरूमा स्थान पाउने हुनाले उनीहरू नै भोलि आमसञ्चार, राजनीति, न्याय तथा चिकित्सा क्षेत्रमा अग्रणी भूमिका रहन्छन् । यसबाट समाजमा छुट्टै किसिमको असर पर्दछ । समाज खण्डित बन्ने त्रास रहन्छ ।
यो त भयो पश्चिमको अध्ययन । हाम्रोतिर यस्तो अध्ययन भएको खास जानकारीमा छैन तर समाजमा भने यो प्रवृत्ति देखिन्छ ।
एकजना राजनीतिक अभियन्ताले सार्वजनिक समारोहमा भनिन्, ‘आफू कसैकी प्यारी भएर बस्ने, जब कुरो सतहमा आउँछ, आफ्नो कर्तुत छोप्न महिला अधिकारको मुद्दा उठाउने, जेठीको अधिकार खोई ?’
यहाँ कान्छीको आवाजलाई राजनीतिक व्यक्तित्व, उसको नेताहरूसँगको उठबस आदिसँग जोडेर हेरिन्छ । यो आफैंमा भष्टाचार हो । यहाँ असल पीडितमाथि नक्कली पीडितको दबदबा रह्यो । यहाँ भिक्टम कार्डको प्रयोग गरियो, त्यसमा पनि आर्थिक हैसियतको आधारमा ।
अर्को विषय, समाजमा यस्ता अनगिन्ती पात्रहरू भेटिन्छन् जो दशकौँदेखि अन्याय सहेर बस्न वाध्य छन् । उनका परिवारका सदस्यहरू मारिएका छन् । कतिका बेपत्ता छन् । कतिको सम्पत्ति हरण गरिएको छ ।
हरण गर्ने वा त्यसमा सहयोग गर्नेहरूकै देशमा बोलबाला छ । पीडितको कुरा कतै सुनिँदैन । सुन्ने कानूनी व्यवस्था पनि गर्न चाहेको वा सकिएको छैन । यस्ता पीडितलाई पनि कतिपय अभियन्ताहरूले अर्ति दिएको सुनिन्छः हामीले सामाजिक न्यायका लागि काम गरेको देखेनौँ ? तिम्रो आफन्त मारियो त मारियो, क्रान्तिमा यस्तो हुन्छ भन्ने थाहा छैन ? कसले कसलाई छुट्याउँछ, त्यस्तो बेलामा ? समाजमा यतिका परिवर्तन आएको देखेनौ । यी गणतन्त्र, यी संघीयता, तिमीलाई बोल्ने अधिकार...यस्तैयस्तै ।
दैनिक हातमुख जोर्न समस्या पर्नेहरूलाई यस्ता व्यवस्थाले के दियो भन्ने कसैले पनि मतलब राख्दैन । आखिर परिवर्तनले तिनै हुनेखानेको जीवनमा परिवर्तन ल्यायो । पीडित जस्ताको त्यस्तै अवस्थामा छन् । अझ सत्ताको आडमा तिनै पीडितलाई धम्क्याएर समाजमा दबदबा कायम गरेका छन् ।
यिनै क्रान्तिवालाका आफन्तहरू तथा कार्यकर्ताहरू अहिले देशका सबैभन्दा पीडित भएर प्रस्तुत हुनछन् । चाहे महिला, बालबालिका, पिछडिएको भनिएका समूह, अशक्त, लैंगिक तथा अन्य अल्पसंख्यक सबै उनीहरू नै छन् । समाजमा उनीहरूकै भाषा बिक्छ । सामाजिक सञ्जाल र सरकारी राहत पनि उनीहरूकै हातमा छ ।
वास्तविक पीडित अझै पीडामै छन् । अब यत्रा ठूला अभियन्ताहरूले उनीहरू आफैँ पीडित दाबी गरेपिछि वास्तविक पीडितहरू चुइँक्क गर्न सक्दैनन् । अझ बोल्न थाल्यो भने विचार गर है ....भनेर घुमाउरो भाषामा आक्रमणकै धम्की दिइन्छ ।
टिप्पणीकारहरू यस संस्कृतिले हामीलाई पछाडि धकेल्ने तर्क गर्छन् । अमेरिकी राजनीतिक टिप्पणीकार क्यान्डेस ओबेन्सले भिक्टिमहुड कल्चरलाई प्रश्रय दिनु भनेको स्वतन्त्रतामाथि भिटो प्रयोग गर्नुजस्तै हो भनेकी छिन् । ‘विभेद कुनै विशेष लिंग,नाम वा सर्वनाममा आधारित हुँदैन,’ उनी भन्छिन् ।
यस्तो प्रवृत्तिले हामीलाई कता लैजाँदैछ ?
केहीले यसलाई सामाजिक न्यायको आधारका रुपमा लिएका छन् । यसले अल्पसंख्यकको अधिकारबारे छलफल गर्ने मञ्चका रुपमा पनि परिभाषित पनि गरेका छन् ।
यसको विपक्षमा कुरा गर्नेहरू अनावश्यक रुपमा पीडितजन्य संस्कृतिलाई प्रश्रय दिनाले व्यक्तिलाई सामाजिक मूल्य मान्यतामाथि जिम्मेवार बन्ने अवसरबाट पनि विचलित पार्दछ भन्ने तर्क दिन्छन् । सानो निहुँ पाए होहल्ला गर्ने प्रवृत्तिले सेन्सरशिपमा जोड दिने हुनाले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुन्छ ।
यसबाट समाजमा द्वन्द्व सिर्जना हुन्छ भने समाजमा रचनात्मक कार्य गर्नुको साटो सधैँ गुनासो सुन्ने कार्यमात्र अघि बढ्दछ ।