- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) भित्र आन्तरिक किचलो बढिरहेको छ । समयमै महाधिवेशनको माग गर्दासमेत विद्यार्थी नेताहरु संस्थापन पक्षको आडमा मरणासन्न हुने गरी कुटपिटमै उत्रिएर तर्साउने काम गरिरहेका छन् ।
विशेषगरी यो समाचारमा नेविसंघबाटै नेविसंघका संस्थापन इतरका विद्यार्थीमाथि आक्रमण भएका तीन घटनालाई प्रस्तुत गरिएको छ ।
पहिलो घटनाः
गत असार २३ गते नेविसंघका केन्द्रीय सदस्य निराजन नेपालमाथि माउ पार्टी नेपाली कांग्रेसको पार्टी मुख्यालय बीपीनगर सानेपामा अभद्र व्यवहारसहित सांघातिक आक्रमणमा परेका थिए ।
उनको नाक भाँचिएको थियो । अहिलेसम्म पनि उनको नाकको शल्यक्रिया हुन सकेको छैन । उनी उपचारकै क्रममा छन् ।
नेविसंघ भक्तपुरले तत्काल प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्सर्ना गर्दै नेविसंघका नेताहरु पार्टीकै केन्द्रीय कार्यालयमा सुरक्षित छैनन् भने कहाँ हुन्छन् त भनी गम्भीर प्रश्न उठाएको थियो ।
त्यो घटनाको चौतर्फी विरोध भएको थियो । तर पार्टीले नै यस्तो गतिविधिमा संलग्नहरुलाई तत्काल गम्भीर कारबाही गरेर आइन्दादेखि नेविसंघभित्र कुनै पनि किसिमका यस्ता आवान्छित गतिविधि गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने उर्दी जारी गर्नुपर्दथ्यो । नेपालमाथि कुटपिट गर्ने अहिलेको स्ववियू परिषदको अध्यक्ष भनिएका कोटेश्वर क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकीलाई नेविसंघको साधारण सदस्यसमेत नरहने गरी नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले कारबाही गरेका थिए ।
कारबाही गरिएको भनिए पनि बुढाथोकीलाई अझै कोटेश्वर क्याम्पस स्ववियु सभापतिबाट हटाइएको छैन । यस्तो गुन्डागर्दी प्रवृत्ति नरोकिनुको परिणाम फेरि पनि नेविसंघका विद्यार्थी नेताहरु कुटिइरहेको संस्थापन इतरका विद्यार्थीहरुले गुनासो गरिरहेका छन् ।
उनीहरुको सामूहिक आवाज छ, ‘संगठनलाई चलायमान बनाउनका लागि माग राख्दा पनि हामीले ज्यान जोखिममा पार्नुपर्ने हो ? होटलमा खाजा खाइरहेका बेलामा कतिबेला खुँडा प्रहार हुन्छ भन्ने त्रासमै रहनु पर्न हो ?’
दोस्रो घटनाः
त्यस्तै असार २८ गते फेरि अर्को गम्भीर आक्रमण भयो । नेपाल ल क्याम्पसका नेविसंघका विद्यार्थी मन्दीप साह तेलीमाथि शंखमूलपार्कको विपरीत दिशामा रहेको होटल रियान्स अगाडि खाजा खाइरहेको अवस्थामा मरणासन्न हुने गरी कुटपिट भयो । उनी ल क्याम्पसका संस्थापन इतर समूहको इकाइ समितिका सचिव हुन् ।
नेपाल कमर्श क्याम्पसमा नेविसंघको कार्यक्रमका लागि भनेर गएका थिए । उक्त कार्यक्रम सकिएर खाजा खान गएकै बेलामा होटलमा आक्रमण भएको थियो ।
उनी भन्छन्, ‘एनसीसी क्याम्पसको कार्यक्रम सकाएर त्यो होटलमा पुगेका थियौँ खाजा खान । त्यही बेलामा आक्रमण भएको थियो । म त बेहोश भएँ अनि केही नै थाहा नै पाइन । १३–१४ घण्टापछि मात्र आँखा खुल्यो । दुई दिनपछि मात्र होशमा आएर मान्छे चिन्न थालेको थिएँ ।’
उनी अगाडि भन्छन्, ‘अहिले पनि शरीरमा पेन भइरहन्छ । एनसीसीमा एकाई नै खाली थियो । भेलाबाट भए पनि एकाइ बनाउनु पर्यो भनेर गएका थियौँ । अनि आक्रमण भयो ।’
उनले यो घटनाका आक्रमणकारीलाई त्यसै छाड्नु हुन्न भनेर होशमा आएपछि प्रहरी कार्यालयमा जाहेरीसमेत दिएका छन् । उनले असार ३१ गते तीनकुने प्रहरी वृत्तमा जाहेरी दिएका हुन् ।
उनी अगाडि भन्छन्, ‘मैले तीनकुनेमा जाहेरी पनि दिएको छु । जाहेरी दिएपछि मलाई ज्यान लिने थप चेतावनी आयो । पढाइ अगाडि बढ्न नदिने धम्की पनि दिइयो । तर मैले मुद्दा फिर्ता लिइन ।’
पोलिटिकल सेटलमेन्ट गर्ने धम्की आए पनि आफू पछाडि नहटेको उनले बताए । र जाहेरी दर्ता भयो । तर अभियुक्तहरुलाई प्रकाउ गर्न भने प्रहरीले आनाकानी गरिराख्यो ।
प्रहरीले पीडितलाई मद्धत पुग्ने गरी अभियुक्त पक्राउ गर्नुको सट्टा प्रहरीकै संरक्षणमा अभियुक्तहरु खुलेआम हिँडडुल गरिरहेको पीडितले बताए ।
घटनाका मुख्य योजनाकार मानिएका सञ्जय बुढाथोकीलाई प्रहरीले साउन २६ गतेमात्र पक्राउ गरेको छ । पीडितलाईसमेत पक्राउ पुर्जी नदिइ अभियुक्तबाट नै पक्राउ पुर्जी फेला पारी भक्तपुर प्रहरी परिसरले पक्राउ गरेको हो ।
पक्राउ परेपछि भने उनलाई तीनकुनेमै राखिएको छ । यद्यपि पीडितका अनुसार बुढाथोकीलाई विभिन्न सेवा सुविधा दिएर प्रहरी परिसरमा राखिएको छ ।
उनलाई हिरासतमा नराखी बयान लिने कक्षमा राखी ज्वाइँपाराको मेजमानीसहित सेवा सुविधा दिएर प्रहरी संरक्षणमै राखिएको पीडितको आरोप छ ।
उनीमाथि सञ्जय बुढाथोकी र सरोज तिमिल्सिनासहित ६ जना मिलेर कुटपिट गरेको पीडितले बताएका छन् । सरोज तिमल्सिना र राजेश भण्डारी र राजु श्रेष्ठ फरार रहेको उनले बताए ।
उक्त समयमा अभियुक्तहरुकै टिममध्येका ट्याक्सी चालक बुद्ध लामालाई पिटेको भनी कृत्रिम घटना खडा गरी रियान्स होटलका सञ्चालक मनोज कटुवालसँगै नेविसंघका केन्द्रीय सदस्य विष्णुहरि खड्का र अर्का केन्द्रीय सदस्य एवं कानूनका विद्यार्थी मुकेश सेञ्चुरी, एनसीसी कलेजका निवर्तमान नेविसंघ इकाइ अध्यक्ष रविन्द्र रोकाया र इकाइ सचिव सन्तोष चौधरीलाई ज्यान मार्ने उद्योगको जाहेरी हुलाकमार्फत दर्ता गरियो ।
बुद्ध लामामाथि भएको घटना कृत्रिम गरी बनाइएको मुख्य अभियुक्त बनाइएका मनोज कटुवाल बताउँछन् । बुद्ध लामामाथि साउन ५ गते आक्रमण भएको भन्दै ७ गते उजुरी हुलाकमार्फत पठाइएको थियो ।
बुद्धमाथिको कुटपिट नै कृत्रिम बनाइएकोले उनको नक्कली कागजात बनाउनसमेत स्वास्थ्य संस्थाले नमानेकोसमेत देखिन्छ । उनी आफूमाथि कुटपिट भएको भए उपचार सँगसँगै प्रहरीलाई पनि खबर गर्दथे । कानूनका विद्यार्थीसमेत रहेका सेञ्चुरी भन्छन्, ‘कसैले पिट्यो भने उपचारसँगसँगै प्रहरीलाई पनि खबर गर्नुपर्छ । तर लामाले त प्रहरीलाई खबर नै गरेका रहेनछन् । त्यो घटनाबारे कहीँ कसैलाई जानकारी नै छैन ।’
कृत्रिम घटना गराउँदा पनि बुद्ध लामाले भाँती नपुर्याएको पनि यसले स्पष्ट हुने सेञ्चुरीको दाबी छ ।
बुद्धले आफूलाई कुटपिट भएको भन्दै उपचारका लागि प्रहरीलाई खबर नगरिकनै जडिबुटीको एपेक्स पोलिक्लिनकमा देखाउँदा सामान्य भनेर पठाइदिएर थप कुनै कागजात नबनाइदिएपछि त्यसले कुनै प्रमाण नपुग्ने देखेर भक्तपुर अस्पतालमा लगिएको स्रोत बताउँछ । तर भक्तपुरमा भने जबरजस्ती एक दिन चेकजाँच गर्न राखेर मात्र उनी डिस्चार्ज भएका थिए ।
तब साउन ७ गते प्रहरीलाई जानकारी नै नगराई साउन ५ गते भएको घटना भन्दै हुलाकमार्फत तीनकुनेमा जाहेरी दिइयो ।
उनीमाथि केही भएको जानकारी नहुँदा पनि तीनकुनेमै किन उजुरी पर्यो त भन्ने प्रश्नबाटै यो कृत्रिम घटना केबल यसअघि तेली साहले दिएको उजुरीलाई फिर्ता गर्न दबाब दिने गरी रचिएको प्रचञ्च भएकोसमेत स्पष्ट हुन्छ ।
किनकि अभियुक्तहरुमध्येकै केहीले मुद्दा मिले बुद्धको रिट पनि फिर्ता लिने भनेर पीडित साहलाई भनेबाटै स्पष्ट भएको हो । यो केबल बार्गेनिङका लागि मात्रै भएको साहको दाबी छ ।
जाहेरी दिनेले यतिसम्म ख्याल गरेको रहेनछ कि अभियुक्त बनाइएका सेञ्चुरी त काठमाडौँमै थिएनन् । उनी भन्छन्, ‘मलाई पो अभियुक्त बनाइएको रहेछ । बारदात भएको भनिएको समयमा त म काठमाडौँमै थिइन । मेरी हजुरआमाको साउन १ गते निधन भएकाले साउन १ देखि नै सिन्धुपाल्चोकको खाडीचौरमा रहेको थिएँ ।’
उनी अचम्भित हुँदै थुनामा रहेका सञ्जय बुढाथोकीलाई तीनकुनेमा भेट्न जाँदामात्रै आफूमाथि जाहेरी परेको थाहा पाएको बताए ।
उनले भने, ‘ममाथि जाहेरी परेको भन्ने त मलाई थाहा नै थिएन । जब सञ्जय बुढाथोकीले फोन गरेर मलाई छुटाउन आउनु पर्यो भनेर भनेपछि भेट्न गएँ तब पो म झस्याङ्ग भएँ । यो त पूरै षड्यन्त्र पो रहेछ ।’
सेञ्चुरीले अनिमात्र प्रहरीसँग सोधपुछ गरे । प्रहरीले समेत यो घटनामा अनभिज्ञता जनायो । यो जाहेरीको अनुसन्धान गरिरहेका प्रहरी निरीक्षक सन्तोष बस्यालले यो जाहेरी कमजोर रहेकाले आफूलाई कुनै असर नपर्ने बताएको सेञ्चुरीले भने ।
उनी भन्छन्, ‘प्रहरी निरीक्षकज्यूलाई सोधेँ तब उहाँले नै घटनाबारे हामीसँग केही जानकारी छैन भन्नुभयो । पीडितलाई बोलाउँदा पनि पीडित आउनु हुन्न भनेर जवाफ दिनुभयो । अब यो मुद्दा यत्तिकैमा मिल्छ चिन्ता लिनु पर्दैन भनेर हामीलाई आश्वासन दिनु भएको छ ।’
मनोज कटुवाललाई चाहिँ किन जाहेरीमा पारियो त ? भन्ने प्रश्न पनि उठ्छ । खासमा तिनै बुढाथोकीको समूहले मन्दीप साह तेलीमाथि आक्रामण गरेको रात मनोजको होटल रियान्समा तोडफोड भएको थियो ।
मनोज क्षतिपूर्ति खोजिरहेका थिए । तब त्यो क्षतिपूर्ति मिलाउनका लागि बुद्ध लामालाई प्रयोग गरी मनोजविरुद्ध पनि जाहेरी दिएको मनोजले बताए ।
साहले बुढाथोकीसहित छ जनामाथि दिएको जाहरीको प्रक्रिया कहाँ पुग्यो त भन्ने प्रश्न पनि अहम् रहन्छ । बुढाथोकीमात्र पक्राउ परेका छन् । अन्य अभियुक्तहरु बाहिरै छन् । स्रोतका अनुसार प्रहरीले उनीहरुमाथि निगरानी गरिरहेको भए पनि पक्राउ भने गरेको छैन ।
तर उनीहरु पक्राउ नपर्दै बुढाथोकीलाई छुटाउने प्रयास भने तीव्र भएको छ । प्रहरीले सामान्य अभद्र व्यवहारमा पनि मुद्दा चलाउँछ । १७–१८ दिन भन्दा अगाडि सरकारी वलिकको कार्यालयमा फाइल पेश हुँदैन । तर सञ्जय बुढाथोकीविरुद्ध ज्यान मार्ने मुद्दामा प्रहरीले तीन दिनभित्रै अनुसन्धान सकेर सरकारी वलिकको कार्यालयमा फाइल पेश गरेपछि त्यहाँबाटसमेत फाइल सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा अभियोग पेश गरेको छ ।
उनको पेशी भदौ ५ गते बुधबार हुँदैछ ।
तेस्रो घटनाः
सञ्जय बुढाथोकीको मुद्दा अदालतमा प्रवेश नगर्दै उनी क्याम्पसको स्ववियु सभापति रहेको कोटेश्वर क्याम्पसभित्रै अर्को घटना गराइयो ।
नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सञ्जयलाई गत असार २३ गते कांग्रेस पार्टी मुख्यालयमा गराइएको घटनापछि कारबाही गरी साधारण सदस्य समेतबाट हटाइसकेको अवस्थामा कोटेश्वर क्याम्पसमा नेविसंघको गतिविधि शून्यजस्तै भयो ।
यसलाई चिर्नका लागि उक्त क्याम्पसका पूर्व इकाइ सभापति दिनेश कार्कीको नेतृत्वमा त्यसै कलेजका विद्यार्थी मनिष चौहानलाई भेलामार्फत नेविसंघको इकाइ सभापति बनाइयो । साउन ३२ गतेको भेलाले चौहानलाई सभापति बनाएको हो ।
त्यही झ्वाँकमा भदौ १ गते शनिबार कार्कीमाथि सांघातिक हमला भयो । जडिबुटीको होटल आभारभित्र बिलको रकम बुझाउने क्रममा नियोजित ढंगले उनीमाथि गम्भीर प्रहार भयो ।
उनी भन्छन्, ‘सानेपामा कुटपिट भएपछि बुढाथोकीलाई पार्टीले कारबाही गर्यो । कोटेश्वर क्याम्पसको इकाइ सभापति पनि दुजाङले बुढाथोकीलाई बनाएकाले खाली भएपछि मैले अर्को कमिटी बनाइदिएँ । त्यसै रिसमा टाउको फुटाउनेलाई एक जनालाई एक लाख रुपैयाँ दिन्छु भनेर जेलबाटै भनेको रहेछ । सुकुमबासी केटाहरुलाई पठाएको रहेछ । भोलिपल्ट मलाई खोजिराख्या रहेछन् । होटलमा अघिल्लो दिन खाना खाजा खाएको रकम तिर्न भनेर सुनियोजित गरेर बोलाइयो । पैसा तिर्न लागिरहेको थिएँ सिधै पछाडिबाट आएर हेलमेटले हान्यो पहिले त्यसपछि बोतलले अनि रडहरुले झ्यामका झ्याम हाने । छुट्टाउन कोही पनि खासै आएनन् अरु । म लडिहालेँ । अचेत अवस्थामा रहेछु । अलिअलि थाहा पाउँदा पुलिस आएको रहेछ । मलाई हस्पिटल लगिदिनु भनेँ । त्यसपछि बीएनबी हस्पिटललाई ल्याइयो ।’
उनले आफ्नो शरीरभर नै चोट रहेको बताउँछन् । अहिले बीएनबीको हाइ केयरमा उपचार भइरहेको छ ।
भन्छन्, ‘शरीरभर नै चोट रहेको छ । टाउको फुटेको छ । हात दुखेको छ । खुट्टा भाँचिएको छ । नाकको हड्डी भाँचिएको छ । ढाडमा समस्या रहेको छ ।’
उनले टाउकोको शल्यक्रिया सफल भएको बताए । भन्छन्, ‘टाउकोको अप्रेशन सफल भएको छ । अब खुट्टाको अप्रेशन गर्नुपर्नेछ । नाकको पनि अप्रेशन गर्नुपर्छ भनेर डाक्टरले भन्या छन् ।’
उनले आफूमाथि सञ्जय बुढाथोकीले नै कुटपिट गरेको आरोप लगाए । कार्कीले बीएनबीको आईसीयूबाटै भने, ‘मलाई सञ्जय बुढाथोकीले पिट्न पठाएका हुन् ।’
सञ्जय प्रहरीको नियन्त्रणमा भए पनि प्रहरीबाटै उनलाई सघाउ पुगेकाले फोन गरेर आफूलाई पिट्न पठाएको दाबी गरे । भने, ‘प्रहरीको डीएसपी आफन्त भएकाले सबै कुरा फ्री दिने, भिडियो गर्ने फोन गर्ने सबैलाई थर्काउने अह्राउने काम गर्दो रहेछ ।’
कार्कीले डीएसपी शिवराज बुढाथोकीले मिलापत्रका लागि राजनीतिक दबाबसमेत दिँदै आएकोसमेत आरोप लगाए ।
उनी सञ्जयले नै आफूलाई कुट्न पठाएको दाबी गर्दै भन्छन्, ‘कुट्ने राजनीतिकै लागि हो । उसलाई क्याम्पसमा टक्कर दिने मै भएँ जसले गर्दा उसले पहिलेदेखिनै रिसईबी राखेर धम्क्याउँदै आएको छ ।’
कार्कीका अनुसार बुढाथोकीका थुप्रै ज्यान सम्बन्धी छन् । रामेछापकै मात्र दुई ओटा मुद्दा छन् । त्यस्तै काठमाडौँमा नै ५–७ वटा मुद्दा रहेका छन् ।
राजनीतिक रुपले संरक्षण पाएको र पार्टीलेसमेत कारबाही नगरेका कारण बुढाथोकीको आपराधिक गतिविधि बढेको कार्कीको भनाइ छ ।
के गुन्डागर्दी गरेर विद्यार्थी संगठन बलियो बन्ला त ?
यी यावत् घटनापछि नेविसंघको भविष्यबारे चिन्तित हुँदै केन्द्रीय सदस्य सेञ्चुरी भन्छन्, ‘यसरी पिटेर, तर्साएर र धम्क्याएर नेविसंघ बलियो हुँदैन । नेविसंघ त संगठनलाई चलायमान बनाएमात्र बलियो हुने हो । आपसमा लडेर नेविसंघ टुक्रिने मात्र हो । यसले अन्य विद्यार्थी संगठनलाई फाइदामात्र पुर्याउँछ ।’
सेञ्चुरीले नेविसंघलाई विद्यार्थीमाझ लोकप्रिय बनाउने हो भने शिक्षामार्फत नै राजनीतिलाई सशक्त बनाउनु पर्ने बताउँछन् । तर त्यसको सट्टामा विद्यार्थी नेताहरुकै आडमा टोलेगुन्डाहरुको प्रयोग गरेर नेविसंघकै विद्यार्थी कुटिँदा संगठन कमजोर र विद्यार्थीप्रति नकारात्मक सोच पैदा भएको उनको जिकिर छ ।
उनी यसले नयाँ आगन्तुक विद्यार्थीहरुलाई उर्जा दिनुको सट्टा मानसिक रुपले नेविसंघ त गुन्डाहरुको समूह पो रहेछ कि भन्ने बुझाइ हुने गुनासो गर्छन् ।
उनले भने, ‘नेविसंघको चिन्ह कलम र मसालले विद्यार्थी र क्रान्तिलाई जसरी जनाएर हामी यहाँसम्म आयौँ अब नयाँ पुस्तालाई पनि चक्कु र खुँडा हैन कलमले नै सशक्त बनाउनु पर्छ भन्ने हाम्रो माग हो ।’
उनले आपराधिक गतिविधिले नेविसंघका कतिपय नेताहरु राजनीतिबाट पलायन भएर ज्यान जोगाउन वैदेशिक रोजगारीतिर भासिन बाध्य बनाएकोसमेत बताए । यसलाई रोक्न नेतृत्वले गम्भीर भएर सोच्नुपर्नेसमेत उनको माग रहेको छ ।