arrow

रास्वपा राष्ट्रिय भेला 

पार्टीको राष्ट्रिय भेलामा नेताहरू सही मुद्दामा लाग्लान् कि गैरमुद्दामा ? 

सभापति लामिछाने नै सहकारी प्रकरणका दोषी पाइएपछि इमानदारलाई कार्यबाहक चुनेर अगाडि बढ्ने हैसियत राख्ला त ?  

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १ मंगलबार
rsp-office-rastriya-swatant.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि शुरु हुँदैछ । राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने दुई दिने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबर लिडरशिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुने कार्यतालिका छ ।

रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिँदै छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् । कार्यबाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख कबिन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ ।

भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । 

भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक, उपसंयोजक, प्रदेशको समिति–विभाग, केन्द्रीय समिति–विभाग–आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।

सही मुद्दामा कि गैरमुद्दामा ?
रास्वपाका सभापति रवि लामिछाने पूर्व उपप्रधान तथा गृहमन्त्री हुन् । उनीविरुद्ध सहकारी प्रकरणमा दोष लागेको छ । 

सहकारी संस्थाको बचत दुरुपयोग सम्बन्धमा छानबिन गर्न सांसद सूर्य थापाको संयोजकत्वमा गठित संसदीय छानबिन विशेष समितिले रविमाथि कारबाहीका लागि सिफारिस गरिसकेको छ । 

सोमबारको संसद बैठकमा प्रतिवेदन पेश गर्दै समितिले रविमाथि कारबाहीका लागि सिफारिस गरेको हो । 

उक्त प्रतिवेदनलाई हुबहू कार्यान्वयनमा ल्याउन सभामुख देवराज घिमिरेले सरकारका नाममा रुलिङ गरिसकेका छन् । 

रवि सहकारी प्रकरणमा फसेपछि उनीसहित रास्वपाका नेताहरुले ‘रविले क्लिन चिट पाएको’ भनेर भ्रम छर्ने काम गरे । 

त्यही भ्रमलाई यथार्थ सम्झेर रास्वपाका कार्यकर्ताहरु एवं समर्थकहरुले पनि समाजिक संजालमा कांग्रेस–एमालेलाई ब्यापक गालीसहित सूचना छर्ने काम गरे । 

यथार्थ नबुझी माथिको आदेश शिरोपर गर्नेहरुलाई गुनासो गरेर फाइदा भएन । तर रास्वपाले किन त्यस्तो गलत प्रचार गर्यो भन्ने विषय महत्वपूर्ण हो । 

पार्टी गठन गरेको पाँच महिनामै भएको आम निर्वाचनमा राष्ट्रिय दलका रुपमा दर्ता हुनु चानचुने होइन । जनताले विश्वास भएरै मतदान गरेका थिए । 

तर तिनै जनताले दुःखजिलो गरेर कमाइ गरी बचत गरेको रकम सहकारीमार्फत खानु रविका लागि पक्कै खुशीको क्षण नहुनु पर्ने हो । 

उनले आफूले गल्ती नगरेको र जिम्मेवार पदमा रहेर पनि खै मलाई थाहा छैन भनेर टारिरहेका छन् । 

सरकारमा उपप्रधान तथा गृहमन्त्री भइसकेको जिम्मेवारी व्यक्तिको यो अभिव्यक्तिले अब विश्वास गर्ने आधार कतै रहेन । 

यो अवस्थामा जनताको मन जितेको पार्टी रविकै गतिमा अन्धकारमा धकेलिन्छ वा कार्यबाहक चुनेर इमानदार पार्टीका रुपमा अगाडि बढ्छ त ? यो अहम् प्रश्न हो । 

प्रज्ञा प्रतिष्ठानको भेलाले पार्टीलाई थप सशक्त बनाउने वा रविमार्गमा लाग्ने काम गर्छ त्यो बुधबारसम्म थाहा भइहाल्छ । 

गल्ती ढापछोप गरेर सही मुद्दालाई ओझेलमा पारेर गलत मुद्दालाई समातेर अन्य नेताहरु पनि रविको पछि लागे भने त्यो नेपाली राजनीतिका लागि अर्को दुर्भाग्य हुनेछ । 

रास्वपामा इमानदार नेताको कमी छैन । तर के ती इमानदार नेता पनि रविको भजन गाएर आफूलाई सुरक्षित गर्नतिर लाग्छन् वा ठूलो दुर्घटनाबाट मुलुकलाई जोगाउन डा. मुकुल ढकाल भएर निस्कन्छन् भन्ने प्रश्न पनि टड्कारो बनेको छ । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ