arrow

कस्तो कांग्रेस, कसको कांग्रेस ?

logo
पासाङ शेर्पा,
प्रकाशित २०८१ असोज १५ मंगलबार
pasang-sherpa-81-6-15.jpg

वर्तमान राजनीति 
वर्तमान राजनीति हेर्दा ठीकठाक जस्तो र संवैधानिक नै देखिए पनि दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले दुवै सरकारमा जानुमा कारण र परिणाम अनेक देखिए पनि लोकतन्त्रको मर्म र भावना अनुरूप यस्तो अभ्यासलाई खासै रुचाइन्न । 

पहिलो या दोस्रो दल सरकार या विपक्षमा हुनु बढी लोकतान्त्रिक मानिन्छ । यद्यपि नेपालको अभ्यासमा २०४६ सालपछि यस्तो गरिँदै आएको छ । २०४७ को बहुदलीय व्यवस्थाको संविधान जारी २०६४ को अन्तरिम संविधान घोषणा र २०७२ को संविधान जारी गर्दा कांग्रेस एमालेले संयुक्त सरकार बनाएर सहकार्य गरेका थिए ।

अहिले पनि संविधान संशोधन र स्थिर सरकार र सुशासनको नारा तय गरेर कांग्रेस एमाले सरकारमा छन् । यस्तो विशेष परिस्थिति लोकतन्त्रलाई कुण्ठित बनाउन आदि जनजाति महिला र दलितको अधिकारलाई संकुचनमा पार्न नभएर संविधानमा भएका कमीकमजोरीलाई सच्याउन र शासकीय अभ्यासमा आएका व्यवधान हटाउन संविधान संसोधन गर्ने सर्तमा शंकाको सुविधासहित समर्थन गर्नु पर्ने र सजग गराउनु पर्ने दायित्व हरेक कांग्रेस कार्यकर्तामा रहेको छ ।

सरकार आफ्नो प्रक्रियामा चल्छ । पार्टी आफ्नो प्रकृयामा चल्छ । अब कांग्रेसजनको चिन्ता र चासो आफ्नो पार्टीको १५ औँ महाधिवेशनको रहेको छ । आज सरकारमासँगै भए पनि भोलिको दिनमा मुख्य राजनीतिक प्रतिष्पर्धा कांग्रेस एमालेबीच नै हो त्यसैले कांग्रेसले पार्टी बनाउनु पर्ने सङ्गठन गर्नुपर्ने आफ्नो नीति तथा कार्यक्रमको सामयिक सुधार गर्नुपर्ने, क्रियाशील सदस्य नवीकरण थप र भ्रातृ संगठनहरूको अधिवेशन सम्पन्न गराई कांग्रेसको महाधिवेशनको लागि सहज वातावरण निर्माण गर्ने गुरुत्तर जिम्मेवारी छ ।

नेपाली कांग्रेस महासमिति बैठकमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित चुनावमा कसैसँग गठबन्धन नगरी चुनाव लड्ने निर्णय हालै केन्द्रीय समिति बैठकले पारित गरेर कांग्रेसले कांग्रेसमा सङ्गठन गरेर पार्टी निर्माण गर्ने पार्टीलाई चुस्त दुरुस्त गतिशील र रुखमा भोट हाल्ने वातावरण निर्माणको एउटा पहल भएको छ । 

चुनावी अघि गठबन्धन गर्ने अपसंस्कृति सच्याएर कांग्रेसले भावी नेतृत्वको लागि कांग्रेसको आफ्नो विरासत फर्काउने जुन निर्णयमा मतैक्य प्रकट गरेको छ यसले निःसन्देह कांग्रेस नेता कार्यकर्तामा उत्साह र संगठन गर्ने अभिभारा थपिएको छ । 

यस निर्णयलाई कांग्रेसको शाख उठाउने निर्णयको रूपमा राजनीतिक विश्लेषकहरूले चर्चा गर्ने गरेका छन् । चुनावपछि सरकार गठन गर्न कसैको बहुमत नपुग्ने स्थितिमा कसैसँग एलाइन्स गर्नु संवैधानिक बाध्यता र समानुपातिक निर्वाचन प्रणालीको एउटा दुर्वल पक्ष हो । 

यसमा संवैधानिक सैद्धान्तिक बाध्यता रहन्छ तर चुनाव जित्नकै लागि कुनै पार्टीसँग चुनावी गठबन्धन तालमेल र मिलेमतो नितान्त असैद्धान्तिक विषय हो । यो दलदल र गलत निर्णयबाट कांग्रेस निसक्नु पर्दथ्यो निस्कियो । सिद्धान्तको राजनीति अबको मूल बाटो र संवैधानिक गन्तव्य हुनुपर्छ । 

कांग्रेसको गिरेको शाख उठाउन हरेक कांग्रेस जनले एकपटक कसम खाएर आम मान्छेको गाउँ बस्ती टोल र घर घरमा पुग्नु पर्छ । विगतको कमजोरीमा लज्जाबोध गर्दै माफी माग्नु पर्छ । रूखमा भोट हाल्ने वातावरण बिगार्ने र अर्कै पार्टीको चुनाव चिन्हमा भोट हाल्ने फरमान उर्दी जारी नगर्ने प्रतिवद्धता जाहेर गर्नु पर्दछ । कुनै गठबन्धन र मिलिभगतको असैद्धान्तिक काम नगर्ने अठोट व्यक्त गर्नु पर्दछ । 

बीपीको समाजवादलाई आजको युगसँग प्रतिनिधित्व गराउने कांग्रेसको समाजवादी नीति बन्नु पर्दछ । जनताको आधारभूत आवश्यकता स्वास्थ्य, शिक्षा र मानव मर्यादा कांग्रेसको पहिलो सर्त र सरकार मार्फत गरिने कार्यक्रम बन्नु पर्दछ । आज पनि जातीय छुवाछुत र भेदभावको गहिरो खाडल समाजमा छ ।

झन्डै ६० लाख दलित पानी नचल्ने जातको रूपमा परिभाषित छन् र सामाजिक व्यवहारमा अपमानित छन् त्यस्तै अन्य जातजातिको पनि जातको हाइर्याकी कायम छ र जन्मदै यो ठूलो यो सानोको भेद कायम छ । जनजाति मधेसी र पिछडिएको अनि अल्पसंख्यकलाई हेर्ने सामाजिक, राजनीतिक, धार्मिक र संवैधानिक दृष्टिकोणमा खोट छ । यसलाई पनि सच्याउनु जरुरी देखिन्छ ।

नेपाली कांग्रेससँग दलित, महिला र आदिवासीलाई हेर्ने फराकिलो बीपीकालीन दृष्टिकोण र दृष्टान्त छ । बीपीकालीन केही महत्वपूर्ण घटना र प्रसङ्ग साथै नेपाली कांग्रेसका मूर्धन्य नेताहरूमा जनजाति र मधेसी समुदायका व्यक्तिहरू यहाँ स्मरणीय छन् । २०३७ सालको जनमत सङ्ग्रहको बेला परशुनारायण चौधरीलाई भावी प्रधानमन्त्री भन्ने बीपीको घोषणा पनि इतिहासको पानामा पढन पाइन्छ ।

नेपाली कांग्रेस बन्नुअघि नेपाली राष्ट्रिय कांग्रेसको प्रथम अधिवेशनबाट २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको गठन हुँदा प्रचार र सङ्गठन निमित्त सदस्य देवव्रत परियार सदस्यमा डीएन प्रधान र लाक्पा छिरिङ्ग शेर्पा (नेपाली कांग्रेसको इतिहासको प्रारूप बस्नेत, पृ.६६)  संस्थापक नेताहरूमा एक जना दलित र दुई जना जनजाति समुदायका व्यक्तिहरू थिए । त्यस्तै गरी २००५ मा नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना हुँदा प्रेमबहादुर कंसाकार, बाबुलाल मोक्तान जनजाति समुदायबाट थिए भने आरबी गहतराज दलित समुदायबाट प्रतिनिधित्व गर्दै नेतृत्वमा थिए । 

२००९ को पाँचौ महाधिवेशनमा कांग्रेसको महामन्त्रीमा धनमान सिंह परियार मूल नेतृत्वमा नै रहेहको गौरवपूर्ण इतिहास छ । गणेशमान सिंह जनजाति समुदायबाट कांग्रेसको नेतृत्वमा रहेको र सर्वमान्य नेताको रूपमा चिनिए । 
 

समावेशी बीपी सरकार
द्वारिकादेवी ठकुरानीलाई नेपाली कांग्रेसले २०१५ को संसदीय निर्वाचनमा उमेद्वार बनाएर डडेल्धुरा क्षेत्र न. ६९ बाट जिताएको थियो । २०१६ को बीपीमन्त्रीमण्डलमा ठकुरानी समावेश गराइनु पनि भयो । जतिबेला स्वीट्जरल्याण्डमा महिलालाई मताधिकारसमेत थिएन । नेपालमा महिला चुनाव जितेर मन्त्री भएको १२ वर्षपछि मात्र स्वीट्जरल्याण्डमा सन् १९७१ मा पहिलो पटक भोट हाल्ने अधिकार दिइएको थियो । 

नेपाली कांग्रेसको नेतृत्वमा गणेशमान सिंह, महेन्द्रनारयण निधि, रामनारायण मिश्र, जमानसिह गुरुङ, शेख इद्रिस, प्रेमराज आङ्देम्बे, बलबहादुर राई, मंगलादेवी सिंह, भीमबहादुर तामाङ जस्ता जनजाति र मधेसी समुदायका व्यक्तिहरू थिए । बीपीको प्रधानमन्त्रीत्वमा ५२ प्रतिशत जनजातिको स्थान थियो ।

महिलाको प्रतिनिधित्व २०१६ कै मन्त्रीमण्डलमा थियो भने दलित चेतना आदिवासी जनजाति, मुस्लिम, महिला र पछाडि पारिएको समुदायबारे सामुदायिक चेतना प्रखर रूपमा पनि थिएन । तर बीपीको चेत उत्कृष्ट थियो, दूरदर्शिता थियो । बीपीले सिद्धान्तलाई भन्दा दृष्टान्तलाई जोड दिन्थे । 

फलस्वरूप देशको विविधता सरकार र पार्टीमा बेजोडसँग प्रतिबिम्बित हुन्थ्यो । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो २१ सदस्सीय मन्त्रीमण्डलामा ११ जना आदिवासी र तराईवासीलाई समावेश गरेका थिए । यसरी बीपीले समावेशी बनाएको कांग्रेस आफ्नै विरासत र इतिहासबाट सिकेर आफ्नो मार्ग प्रसस्त गर्न सक्छ । 

कांग्रेसलाई बीपीले देखाएको बाटो हिँडेमा कहिल्यै र कुनै सङ्कट आउन सक्दैन । पार्टी जीवनमा एक दुई चुनाव हार्नु जित्नु ठुलो कुरा भएन तर ठूलो कुरा सिद्धान्तको राजनीति हो । मूल्य र मान्यताको राजनीति हो । आम मान्छेको सरोकार, अधिकार र सुसंगत प्रतिनिधित्व र व्यवस्थापनको लागि गरिने सुयत्न मुख्य कुरा हो । 

जीवन्त पार्टीमा हुने विवाद, बहस फरक मत अनि यसभित्र आउने विकृति असङ्गत पक्षलाई व्यवस्थापन गर्दै नैतिक मूल्यका आधारमा पार्टी गतिविधि गर्नु राजनीति हो । भ्रष्टाचार र राज्य दोहन गर्नेप्रति पार्टीको कठोर दृष्टिकोण रहने कुरामा दुई मत छैन । तर यसको कार्यान्वयन पक्षमा जोड दिएर पार्टी शुद्धीकरण र निर्मलीकरण पनि अहिलेको खाँचो हो । पार्टीमा व्यक्ति खराब हुन सक्छन् तर खराव व्यक्तिलाई संरक्षण गर्ने नीति कांग्रेसको हुनुहुँदैन ।

महाधिवेशन अगाडि सम्पन्न गर्नुपर्ने कामहरू
नेपाली कांग्रेसले अधिवेशन गर्न दिएको समय सीमालाई १३ वटा कांग्रेसका भ्रातृ सङगठनहरूमध्ये २०८१ असार १५ लाई मुश्लिम संघ र आदिवासी जनजाति संघले मात्र कार्यान्वयन गर्न सके भने अन्य ११ वटा संघहरू आफ्नो कर्तव्यमा चुकेका छन् । 

समयमा अधिवेशन गर्न नसकेर भ्रातृ सङ्गठनहरू असरल्ल र अस्तव्यस्त छन् । तिनीहरूको अधिवेशन गर्न लगाउनु र नेतृत्व चुन्न लगाउनु कांग्रेसको लागि आफ्नो अधिवेशन सफल पार्न सक्ने अङ्गहरू हुन् ।

क्रियाशील सदस्यहरू
पुराना क्रियाशील सदस्यको नवीकरण र नयाँ थप गरी क्रियाशील सदस्यहरू बढाउने काम अनिवार्य गर्नुपर्छ । अन्यथा अन्य पार्टीले दिने नारा युवालाई दिने आकर्षणले कांग्रेस नयाँ पुस्तामा जानलाई असहज स्थिति बन्छ । कांग्रेसप्रतिको विकर्षण रोकेर नयाँलाई आकर्षण गर्न कांग्रेसले युवा पुस्तामा नेतृत्व हस्तान्तरण सहज र सरल बनाउनु पर्छ ।

देशमा थुप्रै पार्टी खोलिएका छन् । नयाँ भन्नेहरूले अनेक सफेद झुटको प्रचार गरेर पुराना पार्टी र विशेषगरी कांग्रेसलाई डाम्ने गरेका छन् । तिनीहरूको त्यो गलत प्रचार र गलत भाष्य चिर्नको लागि कांग्रेसले गुणात्मक कार्यकर्ता र संख्यात्मक कार्यकर्ता दुवै अवधारणामा काम गर्नु आवश्यक छ । 

नयाँ र पुराना पार्टी सदस्यहरूलाई समय र सन्दर्भ अनुसार पार्टीको नीति तथा कार्यक्रम बुझाउने, सैद्धान्तिक रूपले धारिलो बनाउने गर्न देशव्यापी रूपमा आफ्ना भ्रातृ सङ्गठनहरू समेतलाई प्रशिक्षण गर्नुपर्छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले महासंघमा आवद्ध देशैभरिका पाँच लाख सदस्यहरुलाई नेपाली कांग्रेसको साधारण सदस्यता वितरण गर्ने निर्णय आफ्नो केन्द्रीय समितिको भदौ २८ र २९ को बैठक मार्फत गरेको छ । यस्तो निर्णय कांग्रेसका १३ भ्रातृ संस्था र २६ शुभेच्छुक संस्था सबैले गर्नु सान्दर्भिक देखिन्छ ।

पार्टी प्रशिक्षण
गत महासमिति बैठकमा कांग्रेस महामन्त्री गगनकुमार थापाको प्रस्तावमा भनिएको छः ‘हरेक हातलाई काम र हरेक काँधलाई जिम्मेवारी’ र कामको आधारमा मूल्याङ्कन र कार्यक्षमताको आधारमा जिम्मेवारी (साङ्गठनिक सुधार कार्ययोजना बुँदा नं. ३ उल्लेख ) । यो मान्यता कांग्रेसले राम्रोसँग अवलम्बन गर्दै पार्टी प्रशिक्षण गर्न सक्यो भने कांग्रेसलाई पछाडि फर्केर हेर्नुपर्ने स्थिति बन्दैन । 

नेता कार्यकर्तालाई व्यावसायिक बन्न, आधुनिक ढङ्गले उत्पादनसँग आफू जोडिन र पार्टीका कार्यकर्तालाई जोड्न प्रविधिमैत्री खेतीको अवधारणा लिएर जानुपर्छ । उद्यमशीलतालाई प्राथमिकता दिएर सांगठनिक गतिविधिमार्फत काम अगाडि बढाउँदा पार्टी र कार्यकर्ता दुवैलाई फाइदा पुग्छ । 

गाउँघरमा तराईमा जमीनहरू बाँझा छन् । तिनमा सामूहिक खेती, पशुपालन, माछापालन, फलफूल, नगदेबाली र तरकारी उत्पादन आदिको काम गरी कृषकलाई बजारसँग जोड्ने, प्रविधिसँग जोड्ने, आवश्यक मल बीउ बिजन औजार र प्रविधिको लागि स्थानीय निकाय, प्रदेश र सङ्घीय सरकारसँग आवश्यक समन्यव नीति निर्माण आदि काम गरी पार्टी कार्यकर्ता र नेतालाई स्वावलम्बी, आत्मनिर्भर र उत्पादनमुखी बनाउन प्रशिक्षित गर्नुपर्छ । 

 काम गर्दा गर्दै प्रशिक्षण गर्ने कार्यप्रणालीको विकास गर्नुपर्छ । जनतासँग संवाद र प्रभावकारी संवादको उचित माध्यम नै कामसँग जोड्नु जोडाउनु हो । आदिवासी, जनजाति, मधेसी, मुस्लिम, दलित, मजदुर किसान र पिछडिएको क्षेत्रको कांग्रेस, सबैको कांग्रेस बनाउन कांग्रेसको मेहनत ऊर्जा र आवश्यकता झन् ठूलो छ ।

देशको कांग्रेस, मधेसको कांग्रेस, हिमाल र पहाडको कांग्रेस सबैको कांग्रेस बनाउन आवश्यक सांगठानिक पुनर्संरचना आवश्यक छ । त्यसको लागि नेताले टिकट दिने कांग्रेस होइन कार्यकर्ताले प्रतिनिधि रोजेर आन्तरिक प्रतिस्पर्धा गराएर आफ्नो नेता र प्रतिनिधि आफैँ रोज्ने विधिको विकासमार्फत नेतामुखी हुने अवधारणा बदलेर जनतामुखी कार्यकर्तामुखी नेता र नेतृत्व हुने कांग्रेस निर्माण गर्न सबै लाग्नु नै कांग्रेसको हितमा हुन्छ ।

आगामी १५ औँ महाधिवेशन समयमा र सरल तरिकाले सम्पन्न गर्न आजैबाट तलदेखि माथिसम्म वार्मअप नगरे सहज हुँदैन । पार्टीको महाधिवेशन भनेको विशेष उत्सव र पर्व हो ।

त्यसैले सो पर्वको सहज आयोजना सबैको दायित्व हो । बीपीको समाजवादलाई आजको युगसँग प्रतिनिधित्व गराउने कांग्रेस बनाउन आजैदेखि प्रयत्न गरौँ । नेपालको संविधानको धारा ३ मा राष्ट्रको परिभाषामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त देश भनेर परिभाषित गरिएको छ । त्यसैले धारा ३ मा समेटिएको परिभाषाले नेपालमा बसोबास गर्ने सबै जाति समुदायलाई गौरवपूर्वक मेरो राष्ट्र भन्ने अवसर छ यस्तै अवसर कांग्रेस भित्र पनि हुनु वान्छनीय छ । (लेखक शेर्पा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य हुन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ