arrow

सरकारले सहकारी छानबिन समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गरोस्- सभामुख [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १६ बुधबार
devraj-gjimire-06-16.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बुधबार समितिको अनुसन्धानको क्रममा सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरूलाई कदर पत्र वितरण गर्न आयोजित कार्यक्रममा बोल्दै सभामुख घिमिरेले समितिको प्रतिवेदन सरकारले अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राखेका हुन् । 

उनले प्रतिनिधि सभाले प्रतिवेदन सभामा पेश हुनासाथ सरकारलाई हस्तान्तरण गरेको भन्दै प्रतिवेदनको कार्यान्वयन गरी सहकारीहरूलाई ठिक ढङ्गले सञ्चालन गर्ने काम सरकारले गर्नुपर्ने बताए । उनले समितिले समझदारीका साथ प्रतिवेदन ल्याएर संसदीय समितिले दलीय दृष्टिकोण भन्दा माथि उठेर समस्या केन्द्रित भएर काम गर्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरेको पनि बताए । उनले प्रतिवेदन कार्यान्वयनमा सरकारले तत्परता देखाउनुपर्ने बताए । 

उनले भने – ‘यसले संसद्मा परिआइसकेपछि समझदारीपूर्ण ढङ्गबाट समग्रतामा समेटेर दलीय दृष्टिकोण र आधारमा होइन समस्यामा केन्द्रित भएर काम गर्न सक्छ र गर्दो रहेछ भन्ने कुराको उदाहरण दिएको छ । अविलम्ब सरकारले यसलाई कार्यान्वयन गर्ने कामहरू गरोस् । किनभने प्रतिनिधि सभाले सरकारलाई कार्यान्वयन गर्न प्रतिवेदन बुझाएकै दिन त्यहीँबाट हस्तान्तरण गरिसकेको स्थिति छ । त्यसैले अब यसलाई कार्यान्वयन गर्दै नेपालमा सहकारीलाई ठिक ढङ्गबाट सञ्चालन गर्ने कामको जिम्मेवारी सरकारले छिट्टै पूरा गर्न सकोस् । अबको हाम्रो दायित्व आगामी दिनमा संसद्को यो निष्कर्षलाई व्यवहारिक रूपबाट कार्यान्वयन गर्ने कुराले संसद्ले दिएको निर्णय र निष्कर्षहरुले व्यवहारिक रूप लिन सक्छ । समस्याको समाधान गर्न सक्छ र यसको एउटा यस्तो उदाहरण बन्ने छ कि कुनै पनि समस्याहरू आए भने प्रतिनिधि सभाले हल गर्न सक्छ भन्ने कुराको प्रमाणको रूपमा जान सकोस् । सरकारले त्यो तत्परता देखाउन सकोस् ।’



नयाँ