arrow

हामीलाई वितण्डाकारी भन्ने प्रचण्डको ‘गुरिल्ला ट्रेल’ खास वितण्डा : ओली

रिवन काट्ने कार्यक्रममा जान्न भन्ने उहाँ, अहिले एक झुण्ड मानिसका साथ गोजीमा सलाई र कैँची बोकेर हिँड्नुहुन्छ

logo
प्रकाशित २०७३ पुष १० आइतबार
oli-gurilla.jpeg

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्ति उत्तेजक र द्वन्द्व निम्त्याउने खालका भएको टिप्पणी गरेका छन् ।

काठमाडौँमा आयोजना हुने जनप्रदर्शनको तयारीबारे जानकारी दिन सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालका पछिल्ला अभिव्यक्तिहरु उत्तेजक र मुलुकलाई द्वन्द्व तर्फ लैजाने खालका भएको टिप्पणी गरेका हुन् ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल तानाशाही व्यवस्थाको प्रधानमन्त्री जस्तै भएको आरोप समेत लगाएका छन् ।

प्रधानमन्त्री दाहालले शान्तिपूर्ण आन्दोलन गरिरहेकालाई वितण्डाकारी भनिरहेको दोहोर्याउँदै ओलीले भने, ‘उहाँका यस प्रकारका भनाईले आन्दोलनलाई उत्तेजित बनाउने काम गरेको छ । यो अभिव्यक्ति तानाशाही व्यवस्थाका प्रधानमन्त्रीको जस्तो छ ।’ अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले गर्न खोजेको संविधान संशोधन औचित्यहिन हो भनेका छन् ।

ओलीले अगाडि भने, ‘यो संविधान संशोधन विधेयक राष्ट्रिको हित विपरीत छ । संशोधनका कतिपय बुँदा राष्ट्रहित विपरीत भएकाले हामीले संसदमा पेश गर्न नदिएका हौं । विधेयकबारे संसदमा छलफल नै हुन दिन्नौं । पास पनि हुँदैन ।’

यस्तै, अध्यक्ष ओलीले सरकार निर्वाचनको गीतमात्रै गाइरहेको भन्दै २०७४ माघ ७ भित्र निर्वाचन गरेर संविधान कार्यान्वयन गर्नुभन्दा पनि नचाहिने कुराको पछि लागेको आरोप लगाए ।

प्रधानमन्त्रीको दौडधुपलाई लक्षित गर्दैै ओलीले भने, ‘प्रधानमन्त्रीको सपथ ग्रहण गर्दा रिवन काट्ने कुनै कार्यक्रममा जान्न भन्ने उहाँ अहिले एक झुण्ड मानिस साथमा लिएर गोजीमा सलाई र कैँची बोकेर हिँड्नुहुन्छ । कहिले गुरिल्ला ट्रेल, कहिले द्वन्द्वकालमा दुई दिन बसेको घरको रिवन काट्ने गरिरहनु भएको छ । गुरिल्ला ट्रेल वितण्डाको खास इतिहास हो ।’ विकास–निर्माण, निर्वाचन लगायतमा ध्यान छैन–ओलीले आलोचना गर्दै भने । प्रधानमन्त्रीको सपथ लिएलगत्तै प्रधानमन्त्री दाहालले अपवाद बाहेक कुनै पनि औपचारिक कार्यक्रमको उद्घाटनमा नजाने घोषणा गरेका थिए ।

विपक्षी गठबन्धनमा एमालेसहित माले, नेमकिपा, राष्ट्रिय जनमोर्चा, परिवार दल, राष्ट्रिय जनमुक्ति लोकतान्त्रिक, बहु जनशक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी, मधेस समता पार्टी छन् । आइतबारै एमालेको केन्द्रीय कार्यालय, धुमबाराहीमा बसेको ९ दलीय  मोर्चाको बैठकले काठमाडौँको जनप्रदर्शन तयारीका लागि आफ्ना जनसङ्गठनलाई निर्देशन दिएको छ ।

विपक्षी मोर्चाले २२ पुसका दिन भृकुटीमण्डपमा सभा गरी संविधान कार्यान्वयनका पक्षमा राष्ट्रिय एकताको समर्थन र हाल संसको कार्यसूचीमा रहको  संशोधन विधेयकको विरोध गर्ने तयारी गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ