संसद् अधिवेशनको लागि सांसदहरू नै तयार देखिनुहुन्न - सभामुख घिमिरे [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १८ मंगलबार
658
Shares
काठमाडौँ। सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकतालाई हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिस्थितिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार ललितपुरमा भएको सभामुखसहित समिति सभापतिहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले संसद् कानून बनाउने थलो भए पनि वर्तमान संसद्ले कानून बनाउन नसकेको स्वीकार गरे । उनले संसद्मा कानून ल्याउँदा सरकारले आफ्नो आवश्यकता,अध्ययन,बुझाइबाट ल्याउने र त्यही आधारमा संसद्मा छलफल गर्ने स्थिति रहेको भन्दै त्यसलाई अन्त्य गर्न जरुरी रहेको उल्लेख गरे ।
उनले सरकारले कानून उत्पत्ति गर्दै सांसदहरूको सहभागिता बनाउने प्रबन्ध गर्न आवश्यक रहेको बताए । उनले आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषय संसदहरुको भूमिकामा निर्भर हुने बताए । उनले अहिले सांसदहरू नै संसद् अधिवेशनको लागि तयार नदेखिएको बताए । उनले समितिहरूले संसद्मा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद् अधिवेशन छिटो बोलाउन दबाब दिन सक्नुपर्ने बताए ।
उनले भने,‘ संसद् कानून बनाउने ठाउँ हो तर कानून बनाउन हामी ढिलै भएका छौँ । सरकारको तर्फबाट कानून मन्त्रीले धेरै महत्त्वपूर्ण कुराहरू राख्नुभएको छ । विभिन्न तथ्य तथ्याङ्क र अब गर्ने कुरा राख्नुभएको छ तर एउटा नमिलेको कुरा छ । संसद्मा कानून ल्याउँदा आफ्नो आवश्यकता,अध्ययन,बुझाइबाट ल्याउने र त्यही आधारमा संसद्मा छलफल गर्ने मात्रै स्थितिलाई अन्त्य गर्न जरुरी छ । कानून उत्पत्ति गर्दै सांसदहरूको संलग्नता कसरी गर्ने हाम्रोमा प्रबन्ध भएको छैन । कानून आयोग छ । कानून आयोगलाई कानूनी अध्ययन गर्ने,संशोधन र नयाँ कानून बनाउने जिम्मा दिएको छ । त्यहाँ बजेटको अभाव भन्ने कुरा छ । कानून आयोगले पनि संसदहरुसँग समन्वय गरेर काम गर्ने प्रबन्ध गरिनुपर्छ । आगामी संसद् अधिवेशन कहिले बोलाउने भन्ने विषयमा पनि संसदहरुको भूमिकामा निर्भर हुन्छ र हुनुपर्छ । तर सांसदहरू नै त्यो तयार छैनौँ । संसद्मा पेस भएका विधेयकहरूलाई फुल हाउसमा लैजाने गरी तयारी गरी संसद् अधिवेशन छिटो बोलाउन दबाब दिनसक्छौं । सरकारले बोलाउनु पनि हुन्छ ।’
उनले संसद्को गरिमा उच्च रहेको र सांसदको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सांसदहरूले संसद्लाई कम ठानेर नलाग्न संसद्हरूलाई आग्रह गरे । उनले सांसदहरूले आफ्नो उचाइबाट सरकारलाई हेर्न सक्नुपर्ने बताए ।