विदेशी कम्पनीहरू नेपालमा लगानी गर्न डराइरहेका छन्- गगन थापा [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २५ मंगलबार
764
Shares
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीहरूले नेपालमा लगानी गरेर कमाएको मुनाफा बाहिर लैजान नदिँदा विदेशी कम्पनीहरू नेपालमा लगानी गर्न डराइरहेको बताएका छन् । मंगलबार मानवअधिकार तथा शान्ति समाजले काठमाडौँमा आयोजना गरेको नागरिक संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले नेपालले विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी गरिदियोस् भन्ने चाहेर मात्र उनीहरू लगानी गर्न नआउने बताए ।
सरकारले विदेशी लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्ने वातावरण अझै बनाउन नसकेको उनको तर्क थियो । रोजगारी दिने काम सरकारको नभई निजी क्षेत्र भएको उल्लेख गर्दै उनले त्यसको लागि सरकारले सहज वातावरण सिर्जना गरिदनुपर्ने बताए । नेपालमा एक आर्थिक वर्षमा पाँच लाख मानिसलाई रोजगारी दिन सक्ने गरी निजी क्षेत्रलाई चलायमान बनाउनुपर्ने बताए ।
उनले भने, ‘हामी सबैले हाम्रा छोराछोरी यही नेपालमै बसुन् भनेर चाहिरहेका छौँ । तर त्यसका लागि हामीले के गरेका छौँ ? यसका लागि के गर्ने त अब ? हामीले पाँच लाख मानिसलाई एक आर्थिक वर्षमा रोजगारी दिनुपर्छ । सिर्जना गर्नुपर्छ । हामी रोजगारीलाई वर्षमा नाप्दैनौँ । राजश्व र विकास निर्माणमा जोड्छौँ । यसरी हुँदैन । रोजगारी सिर्जना सरकारले गर्न सक्दैन । रोजगारी सिर्जना गर्ने काम निजी क्षेत्रको हो । तर सरकारले त्यसको लागि वातावरण बनाइदिनुपर्छ । रोजगारी सिर्जनाका गर्नको निजी क्षेत्रमा लगानी चाहिन्छ । कसैले दया गरेर त लगानी आउँदैन । निजी क्षेत्रले मुनाफा गर्नुलाई समाजले जहिलेसम्म स्विकार्दैन तबसम्म रोजगारी सिर्जना हुन सक्दैन । नेपालमा अहिले लगानी गरेर मुनाफा कमाएर बाहिर लग्न खोज्ने तीन कम्पनीहरूलाई सरकारले अवरोध सिर्जना गर्दा उनीहरू र अन्य कम्पनीहरुपनि नेपालमा लगानी गर्न डराइरहेका छन् । ती कम्पनीहरूको नाम लिन म पनि डराइरहेका छु । हामीलाई फाइदा चाहिएको छ । तर हामीले वातावरण बनाउन सकिरहेका छैनौँ ।’