संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ - गगन थापा [भिडियो]
०८४ को निर्वाचनमा जाँदै गर्दा जिम्मेवारीबाट भाग्न नहुने
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
726
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् । आइतबार काठमाडौँमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाडौँ महानगर पालिका वडा नम्बर ३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा सहभागी दुई ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम शुरु गर्ने बताए ।
उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताए । उनले सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताए । उनले संयन्त्रले शुरुमा कांग्रेस र एमालेबीच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने उल्लेख गरे ।
उनले एमाले र कांग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधेसवादी राजनीतिक दलहरूसँगको समझदारीबाट संशोधन गर्ने बताए । सांसदलाई अझै समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्न सक्ने गरीकन संविधान संशोधन गर्ने बताए ।
उनले भने, ‘अहिले संविधान संशोधनको बहस प्रारम्भ भएको छ । केही दिनभित्रमा नेपाली कांग्रेस र नेकपा एमालेले एउटा संयन्त्र बनाउँछ । यसलाई पनि सम्हाल्छौँ । धेरै एड्भेन्चर गर्ने ठाउँ छैन । यसलाई सम्हालेर कांग्रेस र एमालेले अहिले आफ्नो बीचमा न्यूनतम संविधानमा चलाउनुपर्ने, चलाउनसक्ने विषयमा समझदारी कायम गर्छौँ, त्यसपछि अरू राजनीतिक दलहरूसँग संवाद गर्छौँ । किनभने यो संविधान भनेको कांग्रेस एमालेले चाहेर मात्रै संशोधन हुने कुरा होइन । माओवादी, मधेसका अरू दलहरूसँग संवाद गर्छौँ । दलहरूको बीचमा समझदारी बनाउँछौँ । न्यूनतम कुराहरू संशोधन गर्छौँ । संसद् समावेशी छ, अझै यो भन्दा बढी समावेशी बनाउने हो । क्याबिनेट समावेशी छैन, समावेशी बनाउने हो । सँगै एउटा राजनीतिक दलले एउटा निर्वाचनमा जाँदै गर्दा एकदमै लोकप्रिय समर्थन गरेको बेलामा पनि अर्को एउटा सानो दलसँग टाँसिनै पर्ने जुन अहिलेको बाध्यता छ, त्यो बाध्यताबाट हाम्रो संविधानलाई बाहिर निकाल्नुपर्नेछ । एउटा अवधि एउटा राजनीतिक दलले सरकार चलाउन पाउने अवस्था बनाउनुपर्नेछ । यस्ता केही विषयहरू छन्, जुन कुरामा हामी संविधान संशोधन गर्नेकुरामा प्रवेश गर्दछौँ । छलफल गर्छौँ तर सम्हालेर गर्छौँ ।’
महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१-०८२-०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जान सक्ने हैसियत बनाउनुपर्ने बताए । उनले अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिने गरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताए । नेपाली कांग्रेस र नेकपा एमालेको अहिलेको सरकारलाई अवसरका रूपमा लिएर आगामी निर्वाचनमा कांग्रेसले आफूले गरेका कामहरूबाट जनतालाई प्रभावित बनाइ निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने बताए ।
उनले भने, ‘२०८४ को चुनाव छ । सबै राजनीतिक पार्टीहरूले ०८४ को चुनाव गरिरहेका छन् । ०८४ को कुरा गर्नु नै पर्छ । सोच्नु पनि पर्छ, पार्टी सङ्गठनको हिसाबले । तर २०८४ को कुरा गर्दै गर्दा के कुरा गर्न पाइन्न भने ०८१-०८२-०८३ को जिम्मेवारीबाट भाग्न पाइँदैन । सरकारमा बसेको मानिसले सरकारमा बसेर काम गर्छ । मैले यो यो गरेँ भनेर अर्को चुनावमा भन्न जान्छ । सरकार भन्दा बाहिर बसेको पार्टीले म भएको भए तिमी भन्दा राम्रो गर्थेँ भन्छ वा म आउँदै गर्दा अब विकल्पमा यो गर्छु भन्छ । नेपालमा त पछिल्ला तीन चार वटा चुनावमा हेर्यौँ भने प्रत्येक निर्वाचनमा जाँदै गर्दा त्यो निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनै पनि राजनीतिक दल, शक्ति व्यक्ति कोही पनि छैन । किनभने हामी सबै गठबन्धनमा छाँै । मिसमास छ । सरकार यति धेरै परिवर्तन भएको छ, भत्किएको छ । २०७९ सालको चुनावमा नेकपा एमाले पनि गयो, कांग्रेस पनि गयो, माओवादी गयो । मिलेर चुनाव लड्यो । यी सबै कुराको बीचमा हामी सबै चुनावमा जाँदै गर्दा कसैले पनि जिम्मा लिएनौँ । सबैले ५ वर्ष बरबाद भयो, अब म राम्रो गर्छु भन्यौँ, ५ वर्षको जिम्मा लिने कोही भएन । तर ०८४ को चुनावमा त्यस्तो गर्न पाइँदैन । जिम्मा लिनुपर्छ । कसले लिने भन्दा हाम्रो पार्टीले जिम्मा लिएर जानुपर्छ । यो तीन वर्षमा ०८४ मा यो यो गर्यौँ भन्ने हैसियत बनाएर जानुपर्छ । अब हामीले जिम्मा लिएर जानुपर्छ । यो सरकारको धेरै फेरबदल, यता उता एड्भेन्चर गर्ने, यो धेरै चकचक गर्ने, यो च्याप्टर बन्द गर्नुपर्छ । कांग्रेस एमाले मिलेर जाने कुरा त्यति युजियल कुरा होइन, एउटा परिस्थितिले सिर्जना गर्यो तर यसलाई हामीले अब अवसरको रूपमा लिनुपर्छ । २०८४ सालसम्म सरकार जम्मा एक पटक बदलिन्छ, त्यो सरकार बदलिँदै गर्दा प्रधानमन्त्री बदलिनुहुन्छ, अहिलेको समझदारीअनुसार । त्यसपछि यो ०८४ सालसम्म स्मोथली जान्छ । हामी सरकार चलाउँछौँ । २०८४ को चुनावमा नेपाली कांग्रेस पार्टी देश भरी १६५ निर्वाचन क्षेत्रमा, प्रदेशमा ३३० स्थानमा, सबै नगरपालिका, वडामा एक्लै चुनाव लड्छ, चुनावको परिणाम जेसुकै आउँछ ।’
महामन्त्री थापाले कांग्रेसले विधिको शासन स्थापित गर्नुपर्ने बताए । उनले सबै नागरिकसँग राज्यले बराबर व्यवहार गर्ने स्थिति सिर्जना गर्नुपर्ने बताए । सरकारले केही समयभित्रै परिवर्तनका केही सङ्केतहरू देखिने गरी काम गर्ने दाबी गरे ।