arrow

पार्टीको महाधिवेशनबारे गगन थापा स्पष्ट, प्रक्रिया अगाडि बढाउन पार्टीको तल्लो तहलाई निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
gagan-thapa-81-9-21.jpg

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन निर्धारित समयमै हुने बताएका छन् । उनले सोही अनुसार प्रक्रिया अगाडि बढाउन पार्टीको तल्लो तहलाई निर्देशनसमेत दिएका छन् । 

२०८२ सालमा महाधिवेशन हुने वा नहुने भन्ने अन्योल रहेका बेला थापाले यथाशिघ्र सदस्यता नवीकरण गरी विधान संशोधन प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएका छन् । 

अहिले देशैभर अभिमुखीकरण कार्यक्रम चलिरहँदा महामन्त्री थापा कास्कीमा छन् । पोखरामा गण्डकी प्रदेशभरका जनप्रतिनिधिका निम्ति नेपाली कांग्रेस गण्डकी प्रदेशले शनिबार आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै  थापाले चैतभित्र सदस्यता नवीकरण नगर्नेहरुको सदस्यता त्यसपछि कुनै हालतमा पनि नवीकरण हुन नसक्ने चेतावननीसमेत दिए । 

चैत मसान्तभित्र दुई सय रुपैयाँ तिरेर क्रियाशील सदस्यता नवीकरण गर्न पनि थापाले सबै क्रियाशील सदस्यहरुसँग आग्रह गरेका छन् । उनले भने, 'चैत्र महिनाभित्र नवीकरण नगर्ने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन । यो क्यालेन्डर हो ।’

थापाले सबै मिलेर नै महाधिवेश सफल हुने भन्दै महाधिवेशन समयमै गर्नु नै कांग्रेसको भविष्य उज्ज्वल बाटोमा रहेको छ भनेर भन्न सकिने बताए । उनले  जुन नेताले अधिवेशन निर्धारित समयमा हुँदैन भनेर प्रश्न उठाउँछ उसकै क्षेत्रमा के भइरहेको छ भनेर भण्डाफोर गरिदिने चेतावनीसमेत दिए । 

नेता थापाले आफ्नो निर्वाचन क्षेत्रमा कामै नगर्ने तर अधिवेशनको मात्र कुरा गर्नेहरुमाथि कडा प्रहार गरेका हुन् । 

उनले यदि कुनै जिल्लाले क्षेत्रलाई वा क्षेत्रले तल्लो तहलाई सदस्यता फारम दिएन भने केन्द्रले सिधै तल्लो तहलाई नयाँ फारम पठाउने र पहिले पठाएको फारम फ्रिज गरिदिने चेतावनी दिएका छन् । 

उनले पञ्चायतको प्रतिबन्धित कालमासमेत पार्टी सञ्चालन गरेर आएका नेताहरुले अहिले सहज अवस्थामा पनि अधिवेशन नहुने खतरा रहेको कुरा गरेको भन्दै आपत्ति जनाउँदै स्वार्थी बनेर पार्टीलाई बर्बाद नगर्न सचेतसमेत गराएका छन् । 

उनी भन्छन्, ‘पार्टीका नेताहरुले बेलाबेला भनेको सुन्छु, यहाँ अधिवेशनै नहुने खतरा छ । पार्टी नै डुब्ने खतरा छ । कसले डुबाउँछ पार्टी ? हामी छैनौं, तपाईंहरु हुनुहुन्नँ ?’

उनले पार्टी बाहिरबाट तर्साउने मान्छेहरूलाई सम्हाल्नुपर्ने बेलामा एकले अर्कालाई तर्साइरहेको आरोप लगाउँदै यस्ता क्रियाकलाप बन्द गर्नुपर्नेमा जोड दिए । 

२०८२ मै पार्टीको १५ औँ महाधिवेशन हुने सूत्र
महामन्त्री थापा २०८२ मै पार्टीको १५ औँ महाधिवेशन हुनेमा ढुक्क छन् । २०७८ मंसिरमा पार्टीको १४ औँ महाधिवेशन भएको थियो । कांग्रेसको विधानमै चार-चार वर्षमा चुनावी महाधिवेशन गर्ने भन्नेछ । 

गम्भीर परिस्थितिमा एक वर्ष समय थप गर्न सकिने व्यवस्था बाहेक त्यही समयलाई लम्बाउन सकिने कुनै प्रावधान छैन । तर प्रायः सभापतिहरुले समय लम्बाउँदै गएको विगत छ । 

थापाले समयमै महाधिवेशन गर्ने भनेको पार्टीलाई चलायमान बनाउन पनि हो । पार्टी चलायमान नभएसम्म त्यसको कुनै औचित्य रहँदैन । पार्टी पुरानो भनिए पनि शाख जोगाउन हरेक पटक कार्यकर्तालाई तरंगित पार्ने योजना नेताले बनाएकै हुनुपर्छ ।

उनले विधानको मस्यौदा बनाएर सुझाव लिनको लागि प्रदेश र जिल्ला जिल्लामा पठाइने जानकारी दिँदै विधान संशोधनको लागि ४/५ महिनाको समय लाग्ने र त्यसपछि विधान महाधिवेशन गरेर तत्काल विधान पारित गरी महाधिवेशनको प्रक्रिया प्रारम्भ हुने दाबी गरे ।

थापाले १५ औँ महाधिवेशनमा आफू कुन पदमा लड्ने भनेर बताएका छैनन् । तर उनी पार्टी जोगिन्छ भने कांग्रेसको सामान्य सदस्य भएर कार्यक्रममा आएर ताली बजाउने मात्रै जिम्मा लिनुपर्छ भने पनि तयार रहेको बताएका छन् । 

तर जसरी उनी चलायमान भएर अगाडि बढिरहेका छन् मुखैले फोडेर नभने पनि उनी सभापतिका प्रमुख दावेदार हुन् । जिम्मेवारी हस्तान्तरण गर्नै परेपछि युवा नेताले नेतृत्व सम्हाल्नुको विकल्प पनि छैन । 

बीपी कोइराला भन्दा पाका नेता कांग्रेसभित्र नभएका हैनन् । तर उनले नै नेतृत्व सम्हाल्ने हैसियत किन राखे भने उनीसँग भिजन थियो । यस अर्थमा पनि गगनले भिजन बोकेका छन् । उनको साथमा अर्का महामन्त्री विश्वप्रकाश शर्मा छँदैछन् । 

नेता थापाले पार्टी ठूलो कुरा भएको भन्दै यसको गरिमा जोगाउने जिम्मा कार्यकर्ताको भएकोसमेत बताएका छन् । उनले देशमा नयाँ–नयाँ पार्टीका नाममा स्टन्टबाजहरु आएको भन्दै यो बेला झनै बढी पार्टीका नेता कार्यकर्ताहरुको जिम्मेवारी बढेकोसमेत बताए । 

मुलुकमा हरेक परिवर्तनको नेतृत्व कांग्रेसले लिएको भन्दै थापाले यसलाई जोगाउने जिम्मा पनि कांग्रेसको भएको भन्दै जनतामा कांग्रेस भएपछि हाम्रो जीवन सुरक्षित हुन्छ भन्ने विश्वास स्थापित गर्नुपर्नेमासमेत जोड दिए । 

उनले ८२ सालमा महाधिवेशन गर्ने हो भने २०८४ सालको आम चुनावका लागि अग्रिम रुपमा रणनीति बनाएर गई विजयी हासिल गर्न सकिनेसमेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ