लुम्बिनी अस्पतालमा १५ करोडमा एमआरआई मेसिन किनेर कमिशन खाने खेल, पुनः टेन्डर तयारी
नारायण वली,
प्रकाशित २०८१ पुष २२ सोमबार
913
Shares
लुम्बिनी । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालले एमआरआई मेसिन किन्न यसअघि अगाडि बढाईएको टेन्डर प्रक्रियाका कागजातमा महंगो मूल्यमा खरिद गर्न लागिएको र मूल्य अत्यधिक बढी रहेकाले कमिशनको खेल भएको आशंका पैदा भएपछि विवादमा तानिएको खरिद प्रक्रिया पुनः टेन्डर गरिने भएको छ ।
करिब १४ करोड ९३ लाख ६० हजार मूल्यमा एमआरआई मेसिन किन्न अगाडि बढाइएको प्रक्रियामा मिलेमतोको सर्वत्र चर्चा भएपछि पुनः टेन्डर गर्न लागिएको हो ।
२०८१ कार्तिक १ गते अस्पतालले १.५ टेस्ला एमआरआई मेसिन खरिद टेन्डर आह्वान गरेको थियो । नाफासहित आयातकर्ताको सबै खर्च कटाएर करिब साढे नौ करोड मूल्यमा आउने एमआरआई मेसिनलाई १४ करोड ९३ लाख ६० हजारमा किन्ने तयारी गरिएको रहस्य बाहिरिएपछि अस्पताल प्रशासन र लुम्बिनी प्रदेश सरकारको नियतमाथि गम्भीर प्रश्न उठ्दै आएको थियो ।
यसले खरिद प्रक्रियामै सिधै साढे पाँच करोड बढी रकम हालेर मेसिन किन्ने तयारी गरेको अस्पताल प्रशासनले त्यो पनि नयाँ नभई पुरानो प्रविधिको भएको र अहिले प्रायः थ्री टेस्लाका मेसिन प्रयोगमा आइसकेका बेला लुम्बिनी प्रादेशिकले किन महंगोमा मेसिन किन्न लागेको छ, भन्ने कुरामा विभिन्न आशंका पैदा भएका थिए ।
गत कात्तिक २० गते टेन्डर आह्वान सम्बन्धि कुरा गर्नलाई दिउँसो २ बजे जुम मार्फत् प्रि–बिड मिटिङ बसेको र त्यो पनि अस्पतालका प्रमुख डा. इन्द्र ढकाल र दुई कम्पनीका प्रतिनिधिको जुम बैठक बसेको बस्नु र मुल्य आकाशिनुलाई निकै महत्वका साथ हेरिएको छ । जबकी टेण्डर खोल्दा तीन वा सो भन्दाबढि कम्पनीको टेण्डर आवेदन परेको हुनुपर्ने प्रावधान रहेको छ ।
अस्पतालले १.५ टेस्ला एमआरआई खरिदकालागि गरेको टेन्डरको आइएफबी नम्बर एलपीएच–एनसीबी–गुड्स–२२–२०८१–०८२ उल्लेख छ । सो टेन्डर कागजातमा सामाग्रीको बारेमा लेखिएको छ, दी प्रकुमेन्ट अफ सप्लाई, डेलिभरी एन्ड इन्स्टलेशन अफ म्याग्नेटिक रिसोनेन्स इमेजिङ (एमआरआई) १.५ टेस्ला ।
लुम्बिनी प्रादेशिक अस्पतालले करिब १४ करोडको एमआरआई मेसिनको टेन्डर आव्हान गर्दा अन्तर्राष्ट्रिय स्तरको बोलपत्र इन्टरनेशनल कम्पेटिटिभ बिडिङ (आइसिबी) को सट्टा राष्ट्रिय स्तरको बोलपत्र नेशनल कम्पिटेटिभ बिडिङ (एनसीबी) को प्रक्रिया अपनाएको थियो ।
अन्तर्राष्ट्रिय स्तरको बोलपत्र इन्टरनेश्नल कम्पेटिटिभ बिडिङ (आईसीबी) गरी एमआरआई खरिद गरेर मेसिन नेपालमा ल्याउँदा सरकारले भन्सारमा लाग्ने कर छुट दिने गरेको छ । तर राष्ट्रिय स्तरको बोलपत्र नेशनल कम्पिटेटिभ बिडिङ (एनसीबी) मा भन्सार छुट नहुने भैरहवा भन्सार कार्यालयका एक अधिकारीको भनाइ छ ।
सरकारी अस्पतालमा करमा छुट हुने भए पनि अस्पताल नेतृत्व भने पुरै कर तिरेर किन्ने प्रक्रियामा देखिदा केही रहस्य लुकेको छ कि भन्ने प्रष्ट थियो । अस्पतालमा मेसिन ल्याउँदा एक प्रतिशत मात्रै कर तिर्नुपर्छ । १३ प्रतिशत भ्याटसमेत छुट हुँदा करिब कुल मूल्यमा १५ प्रतिशत नै रकम कम हुने देखिन्छ ।
मेसिन खरिदका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँमा ल्याउन लागिएको हो । लुम्बिनी प्रादेशिक अस्पतालले खरिद गर्ने भनिएको करिब १४ करोड ९३ लाख ६० हजारको एमआरआई मेसिन ल्याउँदा करिब दुई करोड २४ लाख कर छुट पाइने बताइएको छ ।
एमआरआई मेसिन खरिद प्रक्रिया अगाडि बढाउँदा अस्पतालले लागत अनुमान र स्पेशिफिकेशनको स्वीकृति लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयबाट लिएको पाईएको छ, भने यसले यो खरिद प्रक्रियामा अस्पताल प्रमुखसँगै प्रदेशको स्वास्थ्य मन्त्रालय समेत शंकाको घेरामा देखिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री चिढिएको र सम्भवतः आज (सोमबार) पुनः दोस्रो पटक नयाँ टेण्डर निकालिने तयारी भएको स्रोतले बताएको छ ।
निश्चित कम्पनीको मेसिन महँगोमा किन्ने तयारी गरेको अस्पतालले नै तयार गरेको टेन्डर आह्वान डकुमेन्टले पुष्टि गरे पनि सबै प्रक्रिया अनुसार स्पेशिफिकेशन बनाइएको दाबी गर्दै प्रि–बिड मिटिङमा आएका सुझावहरुलाई समेत सम्बोधन गरेर खरिद प्रक्रिया अगाडि बढाईएको र बाहिरी केही तत्वहरुले सरकारी अस्पतालमा मेसिन चल्न नदिने खेलका कारण कमिसनको अफहवा फैलाएको अस्पतालका सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालको भनाई छ ।
कानुन व्यवसायी अधिवक्ता विमल गिरीले सुपरिटेन्डेन्ट नियुक्तिको मुद्धा सर्वोच्चसम्म पुगेको र अदालतले लुम्बिनी प्रदेश सरकारलाई निर्देशनात्मक आदेश जारी गर्दै ११ औं तह, जनरल हेल्थ सर्भिसेस अध्ययन गरेको र वरिष्ठतम् तीनवटा आधारमध्ये कुन आधार बनाउने हो तत्काल कानुन बनाएर मेसु नियुक्ति गर्न भनेपनि नगरेको अवस्थामा काम चलाउ मेसुले एमआरआई मेसिन खरिद प्रक्रियामा मेसिनको वास्तविक मुल्यभन्दा कैयौं गुणा महंगोमा किन्न खोज्नु कमिसनको खेल प्रष्ट देखिएको सामाजिक सञ्जाल फेसबुकमा स्टाटस समेत लेखेका छन् ।
हामीले अस्पतालले ल्याउने भनेको मेसिनको गुगलमा मुल्य हेर्दा १.५ टेस्ला र बोर साइज ६० सिन्टिमिटरकै मेसिनलाई भारतीय १ करोड ८० लाखदेखि ३ करोड भारतीय रुयैयाँ पर्ने भेट्यौं । यसलाई नेपाली रुपैयाँमा ट्रान्सलेट गरेपनि २ करोड ८८ लाखदेखि चार करोड ८० लाख नेपाली रुपैयाँ पर्ने देखिन्छ । तर टेण्डर प्रक्रियामा १४ करोड ९३ लाख ६० हजारमा खरिद गर्ने तयारी गर्दा एउटै प्रकृतिको वस्तुको मुल्यमा यति धेरै अन्तर कसरी आउँछ भन्ने कुरामा आशंका उत्पन्न भएको छ । अधिवक्ता गिरीले स्टाटसमा लेखेका छन् ।
पुस १० गते बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२ औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनमा बोल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेसिन ल्याउने बताउँदै मेसिन खरिदका लागि हाल प्रक्रियामा रहेको टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ प्रक्रियाबाट मेसिन खरिद गरीछाड्ने जिकिर गरेका थिए ।