विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह
तराईमा अझै केही दिन शीतलहर, हिमाली जिल्लाहरूमा अत्यधिक हिमपातबाट जोगिन आग्रह [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १२ शनिबार
755
Shares
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमपात र शितलहरबाट जोगिन सावधानी अपनाउन आग्रह गरेको छ । केही दिन यता तराईका जिल्लाहरूमा भइरहेको शितलहर र हिमाली जिल्लाहरूमा भइरहेको अत्यधिक हिमपातबाट जोगिन विशेष सावधानी अपनाउन आग्रह गरेको हो ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले विगत केही दिनदेखि तराईका जिल्लाहरूमा शितलहर र हिमाली जिल्लाहरूमा हिमपातका कारण जनजीवन प्रभावित भइरहेको बताए । उनले हिमपात र शितलहरका कारण चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रहेको बताए ।
उनले चिसोबाट नागरिकहरूलाई बचाउन प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको बताए । शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्व तयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गरिसकेको जानकारी दिए । उनले यसअघि नै प्राधिकरणले कार्ययोजना बनाएर सबै जिल्लाहरूमा परिपत्र गरिसकेको बताए । महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्याय कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कामहरू भइरहेको बताए ।
उनले भने, ‘विगत केही दिनदेखि तराईका जिल्लाहरूमा शितलहरका कारण जनजीवन प्रभावित भएको छ । तराईका जिल्लाहरू मात्रै नभएर हिमाली जिल्लाहरूमा भारी हिमपात पनि कतिपय ठाउँमा भएका कारणले गर्दा चिसोबाट प्रभावित हुने जनसङ्ख्या उल्लेख्य रूपमा छ । यस बारेमा प्राधिकरणले सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयहरूलाई प्रत्येक वर्ष गृह मन्त्रालयबाट जसरी निर्देशन जान्छ, त्यसरी नै यो शितलहर र हिमपातको लागि तयारी अवस्थामा रहन र पूर्व तयारीका क्रियाकलापहरू गर्नका लागि परिपत्र जारी गर्ने गरेको छ । यसको कार्ययोजना पनि जारी गर्ने गरेको छ । प्राधिकरणले पनि त्यसैगरी यस वर्ष शितलहरका कारण जनजीवन प्रभावित हुनसक्ने अवस्थालाई मध्यनजर गरेर कार्ययोजना सबै जसो जिल्ला प्रशासन कार्यालयहरूमा पठाइसकेको छ । जल तथा मौसम विज्ञान विभागले जुन बुलेटिनहरू जारी गर्दछ र शितलहरको सम्भावनाका कुराहरू गर्दछ, त्यससम्बन्धी जानकारीलाई जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय विपद् व्यवस्थापन समिति, पालिका लगायतले ध्यानमा राखेर आफ्नो समुदायका खास गरी शितलहरबाट अध्याधिक चिसोबाट प्रभावित हुनसक्ने जनसङ्ख्यालाई कसरी बचाउने, उनहरूलाई कसरी न्याय अवस्थामा राख्ने, शितलहरका कारण जुन बाक्लो हुस्सु फैलिएको हुन्छ, त्यसका कारण हुनसक्ने सडक दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने ? लगायतका कुराहरूमा स्थानीय स्तरमा उनहरूले आफ्नै कार्ययोजना तयार गरेर पूर्व तयारीको अवस्थामा बस्नुपर्ने हुन्छ । महिला, बालबालिका, सीमान्तकृत सङ्कटापन्न समुदायका लागि न्याय कपडा र दाउराको व्यवस्था गर्ने लगायतका कुराहरू विगतदेखि नै पालिकाहरूबाट पनि र जिल्ला विपद् व्यवस्थापन समितिबाट पनि हुँदै आएको छ । यस वर्ष पनि त्यस भन्दा अझ प्रभावकारी रूपले काम गर्न सकिन्छ । यसबाट पर्न सक्ने नकारात्मक असरलाई कसरी न्यूनीकरण गर्ने भनेर उनहरूले आफ्नो तयारी गरिरहनुभएको अवस्था छ । अस्पतालमा यस बेलामा निमोनिया, दम, खोकी लगायतका रोगहरू बढ्न सक्ने भएकाले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले पनि अस्पताललाई पूर्व तयारी अवस्थामा रहन निर्देशन गरेको हुन्छ । विभिन्न सञ्चारमाध्यमबाट हामीले सूचना पनि जारी गर्ने गरेका छौँ । जोखिमबाट अनपेक्षित घटना हुन नदिन चाहिने राहत सामग्री वा न्याय कपडा लगायतका कुराहरू जिल्ला विपद् व्यवस्थापन समितिले जिल्ला विपद् व्यवस्थापन कोषबाट पनि खरिद गरेर वितरण गर्न सक्ने अवस्था छ । प्रत्येक वर्ष जस्तो अत्यधिक हिमपात, शितलहर, आगलागीका घटना पनि प्रारम्भ भएको छ । परिवारले अपनाउनुपर्ने सावधानीका कुराहरू अपनाउन आग्रह गर्दछौँ । यात्रा गर्दा तीव्र गतिमा सवारी नचलाउन अनुरोध गर्दछौँ । जोखिम घटाउने काम व्यक्ति र परिवारको हो । जति सावधानी अपनाउन सकिन्छ, त्यति नै जोखिम कम हुन्छ ।’
विगत केही दिनदेखि कोशी, मधेस र बागमती प्रदेशका तराई क्षेत्रमा दिनभर हुस्सु-कुहिरो लागेको छ । मधेस प्रदेशको पूर्वी भूभाग (सप्तरी) र कोशी प्रदेशको तराई भूभाग (झापा, मोरङ र सुनसरी) मा मन्द शीतलहरूको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस प्रदेशको पूर्वी भूभाग र कोशी प्रदेशको तराई भूभागमा केही दिन अझै शीतलहर रहने बताएको छ । शीतलहरूका कारण स्वास्थ्य, यातायात, शिक्षा, कृषि तथा मानिसहरूको दैनिक जीवनमा असर पर्न सक्ने भन्दै आवश्यक शतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ ।