गगन थापाको पूर्वराजालक्षित टिप्पणीः मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय होइन [भिडियो]
अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै होइन त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरुले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउन सक्छौँ
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
914
Shares
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्र्दै विगतमा मिल्काइसकेको पात्रको बारेमा छलफल गर्ने समय नरहेको टिप्पणी गरेका छन् । शनिबार बाह्रखरी मिडियाले काठमाडौंमा आयोजना गरेको एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८०-०९० दशक विगतमा फालिसकेको पात्र र विषयमा छलफल गरेर बस्ने समय नरहेको जिकिर गरेका हुन् ।
उनले राजतन्त्रलाई नचाहिने, थोत्रो भएको टिप्पणी गर्दै गइसकेको कुरामा छलफल गर्न जरुरी नरहेको बताए । उनले अबको एक दशक आइटीको एक्सपर्टलाई पाँच गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नुपर्ने बताए । उनले अबको ८-१० वर्ष भित्रमा कीर्तिपुरको डाँडामात्रै नभइ अन्य ठाउँमा पनि दुई-चार लाख रुपैयाँ कमाएको स्थिति बनाउनसक्ने बताए ।
महामन्त्री थापाले भने, ‘हामी अबको ८-१० वर्ष भित्रमा मलाई फेरि पनि मेरो विश्वास छ । कीर्तिपुरको डाँडामात्रै होइन । त्यस्ता थुप्रै डाँडाहरुमा साथीहरुले दुई चार लाख रुपैयाँ कमाएको स्थिति हामी बनाउनसक्छौँ । त्यो पोर्टेन्सियल हामीसँग छ । तर त्यसका निम्ति सोच्नुपर्नेछ । त्यो डिरेक्शनमा काम गर्नुपर्नेछ । हाम्रो शुरुवात भइसक्यो । अलिकति गति बढाउनुपर्नेछ । हाम्रो गति पुगेको छैन । यो हाम्रो लागि एउटा अवसर हो । कानूनमा ल्याउनुपर्ने बदलाव पनि ल्याऔँ । अरु स्ट्रक्चरमा ल्याउनुपर्ने कुराहरु पनि ल्याऔँ । एकदम पोजेटिभ, ओपन माइण्डेट । सबै कोलाब्रेसनमा गर्ने, निजी, सरकारी भर्सेस केही पनि छैन । मिलेर गर्ने । हाम्रो भागमा परेको काम हामीले र तपाईंको भागमा परेको काम तपाईंले गर्ने हो । अबको ८-१० वर्ष भित्रमा यो २०८० देखि ०९० सालसम्मको यो १० वर्ष यो नचाहिने, थोत्रा, गइसकेको, हिजो लगेर एक ठाउँमा मिल्काइसकेको, थन्काइसकेको विषय र पात्रको बारेमा छलफल गरेर टाइम खेर फाल्ने होइन । हामीले अब गफ गर्नुपर्ने १० वर्षको विषय भनेको हाम्रो आइटीको एक्सपर्टलाई ५ गुणा कसरी बनाउने, तलव तीन गुणा कसरी बढाउने ? आइटीको एन्फास्ट्रक्चर कसरी बढाउने भन्ने कुरा बहसको विषय बन्नपर्छ ।’