arrow

गगन थापाको पूर्वराजालक्षित प्रश्न - निर्मल निवासमा बसेर यस्तो उत्पात, नारायणहिटीमा भएको भए के गर्थे ? [भिडियो]

नेपालको राजालाई धोएर जति सफा गर्‍यौँ भने पनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन, सरकारले अपेक्षित गतिमा काम गर्न सकिरहेको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २८ बिहिबार
gagan-thapa-12-27.jpg

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्व राजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापले शाहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको बताए । 

नेपाली कांग्रेसले लामो सङ्घर्ष र अनुभव संवैधानिक राजा राख्न नसक्ने निर्णयमा पुगेको उनको जिकिर छ । उनले पूर्व राजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गरे । उनले पूर्व राजा शाहले व्यवसायी दुर्गा प्रसाईँ र पूर्व पञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए । 

उनले भने, ‘नेपालको राजालाई धोएर जति सफा गर्‍यौँ भने पनि उसलाई कसैले पनि संवैधानिक बनाउन सक्दैन । नेपाली कांग्रेस पार्टी लामो अनुभव गरेर त्यो निर्णयमा पुगेको हो । निर्मल निवासमा बस्दाखेरि त यस्तो उत्पात मच्चायो, कहाँ भएको दुर्गा प्रसाईँलाई खोजेर ल्याएर, हाम्रै क्षेत्रमा बस्ने नवराज सुवेदी, जसले अस्तिसम्म किताब लेखेर राजालाई गाली गर्थे उसलाई खोजेर ल्याएर निर्मल निवासमा बसेर यस्तो उत्पात मच्चाएको छ । नारायणहिटीमा भएको भए के गर्थे होलान् ?’

जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेकाले समेत उनको दाबी छ । फरक प्रसङ्गमा बोल्दै महामन्त्री थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे । २०८३ सालको मङ्सिर भित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ । उनले पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर भएको बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै सङ्गठन निर्माणमा जुट्न समेत पार्टी कार्यकताहरुलाई आह्वान गरे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत रूपमा काम गर्न नसकेको आरोप समेत लगाए । 

उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको भनेको कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरे । संयन्त्रले सरकारले गर्ने काममा टेवा पुर्‍याउन आवश्यक सुझाव दिने गरेको भए पनि उपलब्धिमूलक काम हुन नसकेको बताए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताए ।

उनले भने, ‘जुन गतिमा सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो त्यो गतिमा काम हुन सकिरहेको छैन । म पनि संयन्त्रको जिम्मेवारीमा छु । कहिले काहीँ साथीहरूलाई के लाग्छ भनेपछि संयन्त्रले सबै कुरा गर्छ । यसबारे कम्तीमा मेरो क्षेत्रका साथीहरू क्लियर हुनुपर्छ । सरकारले गर्ने काम सरकारले गर्नुपर्छ संयन्त्रले गर्ने होइन । नियुक्ति, सरुवा बढाउको काम पनि राजनीतिक संयन्त्रले गर्नुपर्छ भनेर ठान्यौँ भने त यो डेमोके्रटिक गभर्मेन्ट नै भएन नि । प्रधानमन्त्रीको काम प्रधानमन्त्री र मन्त्रीको काम मन्त्रीले गर्ने हो । संयन्त्रको काम सरकारले लिने नीतिगत सुधारको विषयमा बल पुर्‍याउने हो । केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर हामीले सहयोग गरिरहेका छौं । तर बिँड तातेर केही नहुँदो रहेछ ताप्के पनि तात्नुपर्ने रहेछ । हिजो मैले पनि मन्त्री भएको हिसाबले मन्त्री साथीहरूलाई भनिरहेको हुन्छु । हामीलाई छिटो काम चाहिएको छ । तर किन भइरहेको छैन ?’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ