arrow

विश्वास, आशा र शंकाको भुमरीमा गगन

logo
मनोज लामिछाने, 
प्रकाशित २०८१ चैत ३१ आइतबार
manoj-lamichane-81-12-31.jpg

२०४६ सालको जनआन्दोलनदेखि नेपालको राजनीतिमा सक्रिय रूपमा देखा परेका युवा नेता गगन थापालाई नचिन्ने नेपाली बिरलै भेटिन्छन् । त्रिचन्द्र क्याम्पसमा अध्ययन शुरू गरेपछि विद्यार्थी संगठनमा सक्रिय थापा २०५१ सालमा त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्य सचिव हुँदै २०५५ सालमा स्ववियु सभापति भए पश्चात नेविसंघको केन्द्रीय राजनीतिमा उनको संलग्नता उल्लेखनीय रूपमा बढ्दै गयो ।

२०५१ सालमा नेविसंघले आह्वान गरेको नेपाल बन्दको क्रममा उनी पहिलो पटक जेल परे । उक्त समयमा नेपालमा एमालेको अल्पमतको सरकार थियो । हालका प्रधानमन्त्री केपी ओली गृहमन्त्री थिए । तत्पश्चात: उनी ८ देखि १० पटक जेल परे । २०५९ असोज १८ मा सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा उनलाई राजकाज मुद्दा लाग्यो र उनले आफ्नो अधिकांश समय सडक आन्दोलनमा खर्च गरे । 

नेपाली कांग्रेसका युवा नेता तथा प्रखर वक्ता गगन थापा सदैव चर्चामा रहने एक सांसद हुन् । दोश्रो संविधान सभामा कृषि तथा जलस्रोत समितिको सभापति हुँदा उनले निभाएको भूमिका अत्यन्त सराहनीय मानिएको थियो । २०७३ सालमा उनी जम्मा ९ महिना स्वास्थ्य मन्त्री भए । तत्कालीन समयमा उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि गरेका प्रयासहरु प्रसंशा योग्य थिए । 

उनले स्वास्थ्य क्षेत्रमा सुधारका लागि नितिगत उपलब्धिहरु गरेका थिए । डायलासेस सेवा तथा मृगौला प्रत्यारोपण, बाथ, मुटु रोगको शल्यक्रिया निःशुल्क गरिएको थियो । नेपालमा पहिलो पटक कलेजो प्रत्यारोपण सेवा शुरु भएको थियो । विशिष्टलाई १५ लाख रुपैया भन्दा बढी उपचार खर्च नदिने व्यवस्था, कान्ति अस्पतालमा नवजात शिशुको निःशुल्क उपचारको व्यवस्था, सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला, हरेक सरकारी अस्पताल बिहान ९ देखि ३ बजेसम्म अनिवार्य संचालन गर्ने नीति ल्याएका थिए । उनको पहलमा स्थानीय निकायका लागि झण्डै ७ सय चिकित्सक नियुक्त गरिएको थियो । मुटु र क्यान्सरको उपचार सेवा विस्तार, बिना दर्ता संचालन भएका स्वास्थ्य संस्थाहरु बन्द र कानूनी दायरामा ल्याइएको थियो ।

सरकारी स्वास्थ्यकर्मीले अवैध संस्थामा सेवा दिन नपाउने व्यवस्था गरिएको थियो । काठमाडौँमा जनता स्वास्थ्य केन्द्रहरूको स्थापना, वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ ओटा स्वास्थ्य संस्थाहरुलाई निःशुल्क डायलासिस सेवाका लागि अनुमति, मेडिकल कलेजहरुसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रिया सहितको विषेशज्ञ सेवा शुरु, नेपालगञ्जमा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खोल्ने निर्णय, पुल दरबन्दी सृजना, ५० शैया भन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा ईकाई गठन गर्ने व्यवस्था, पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था, सुर्तीजन्य पदार्थ जथाभावी बेच्न रोग, विद्यालयमा सामुदायिक नर्सको अवधारणा ल्याएका थिए । 

खोप निर्देशिका लागू, एम्बुलेन्स निर्देशिका लागू, प्रयोगशाला निर्देशिका लागू, मदिरा नियन्त्रण तथा नियमन नीति लागू, मानव अंग प्रत्यारोपण नियमावली २०७३ लागू, नियुक्ति तथा मनोनय सम्बन्धी मापदण्ड लागू, स्वास्थ्य संस्था स्थापना तथा संचालन निर्देशिका लागू, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सेवा सुविधा सम्बन्धी कार्यविधि लागू, वैदेशिक तालिम र भ्रमण सम्बन्धी मापदण्ड लागू, मदिरा ऐन लागू, आयुर्वेद नीति लागू, गुणस्तर सुनिश्चितता सम्बन्धी ऐन लागू, प्रविधिजन्य स्वास्थ्य सामग्री निर्देशिका लागू, मानसिक स्वास्थ्य जस्ता नितिहरु लागू गरेका थिए । उनले छोटो समयमा गरेका राम्रा कामका  उदाहरण हुन् यी ।

लोकतान्त्रिक आन्दोलनमा उनको प्रखर वक्तृत्व र लोकप्रिय छवि बनाएका उनले लोकतन्त्रका नायकका रूपमा उनलाई कतिले चित्रण गरे । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट उनी महामन्त्री बने पश्चात् उनलाई पार्टीको भावी सभापतिका रूपमा हेरिन थालिएको छ । 

तर प्रखर र स्पष्ट वक्ताको रुपमा जनता माझ परिचित थापालाई  बेला बेलामा विवादमा तानिरहन्छन् । अहिले उनी पार्टीको सङ्गठन विस्तारका लागि देश दौडाहामा लागेका छन् र आफूलाई पार्टीको भावी सभापतिको उम्मेद्वारको रुपमा कार्यकर्ता माझ सन्देश प्रवाह गर्ने प्रयास गरिरहेका छन् । उनको यो प्रयासलाई उनकै पार्टीका कतिपय नेताहरुले सहजै पचाउन सक्ने अवस्था छैन । 

उनको विपक्षी कित्ताका नेताहरु उनीमा परिपक्वताको कमी भएको भन्दै होच्याउन खोज्छन् । यो रणनीति नै हुनसक्छ कि आगामी महाधिवेशनमा सभापतिको रुपमा स्वीकार नगर्ने भनेर कमजोर पार्न खोज्नु  । 

साथै उनलाई आफ्नो राजनीतिक स्वार्थ पूर्ति गर्नका लागि कृष्ण सिटौलाको गुट, शेखर कोइराला गुट हुँदै अहिले पार्टी सभापति शेरबहादुर देउवा गुटमा लागेको आरोप छ । तर खासमा गगन यसमा दृढ छन् । उनी गुटमा लाग्दैनन् । उनी आफ्नो माहोल बनाउँदा गुट देखिएको हो । किनकि सिटौला सभापतिको उम्मेदवार बन्दा उनी महामन्त्रीका उम्मेदवार थिए । चुनाव हारे । फेरि महामन्त्रीका लागि लडे । त्यतिबेला सिटौला देउवातिर जोडिएपछि रामचन्द्र पौडेल थिए । पौडेलसमेत छुटेपछि शेखर सभापतिका उम्मेदवार हुने भए । 

यहाँ गगनको गुट उही हो । उनको त्यो गुटमा शेखर जोडिएका मात्र हुन् । शेखर नभएका भए र सभापतिको उम्मेदवारको सहमति हुँदा पहिले रामचन्द्र वा पछि प्रकाशमान सिंह पनि हुन सक्थे । यसले भने गगन आफू अरुको गुटमा गएको नभइ एउटा प्रतिस्पर्धी गुट कायम रहेको दाबी गर्छन् । 

राजनीतिमा आरोप-प्रत्यारोप सामान्य कुरा हो । उनीमाथि लागेका आरोपहरुप्रति उनी सचेत र संवेदनशील हुनुपर्छ । अहिले देशले युवा नेतृत्वको माग गरिरहेको छ । हरेक पार्टीलाई युवाहरुले हाँक्नुपर्छ र राष्ट्रको कार्यकारिणी भूमिकामा युवा हुनुपर्छ भन्ने नेपाली जनताको चाहना छ । 

नेपालमा भएका धेरै युवाहरु मध्येका जनताले आशा गरेका एक युवा गगन थापा पनि हुन् । उनले आफूलाई निष्कलंक रुपमा उभ्याउन सक्नुपर्छ । इतिहास पल्टाउने हो भने राजाको शासनकालमा राजाको वरिपरिका आफ्नै भाइ भारदारकै कारण राज्यसत्ता च्युत भएका घटनाहरु धेरै छन् । उनले यसतर्फ चनाखो हुनुपर्छ । 

विगतमा स्थानीय चुनावमा उनकै पार्टीका केही सदस्यहरुले रुष्ट भएर आपनै पार्टीलाई भोट नदिएको कुरा बिर्सनु हुँदैन । यो लेखको उद्धेश्य युवाहरुले देशका लागि राम्रो काम गर्न सक्छन् त्यसैले युवाहरु राज्यसत्ताको केन्द्रमा आउनुपर्छ भन्ने हो । यसका लागि गगन थापालाई एक उदाहरणको रुपमा प्रस्तुत गरिएको हो । उनीमाथि युवाले गर्ने विश्वास पनि त्यही नै हो । 

युवाहरुले क्षणिक स्वार्थका लागि स्टन्टबाजी गर्ने, व्यक्तिगत स्वार्थ भन्दा माथि उठ्न नसक्ने, आफ्नै पार्टी भित्रको गुटबन्दीलाई नतोड्ने र युवाले युवालाई साथ नदिने हो भने वर्तमान समयमा युवाहरु राज्यको नेतृत्वदायी भूमिकामा पुग्न त्यति सजिलो छैन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ