विद्युत अवरुद्ध हुँदा चिकित्सकले मोबाइलको 'लाइट' बालेर जोगाए बिरामी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १८ आइतबार
582
Shares
वीरगञ्ज (पर्सा) । वीरगञ्जस्थित नारायणी अस्पतालको अति संवेदनशील इन्टेन्सिभ केयर युनिट (आईसीयू) र कोरोनरी केयर युनिट (सीसीयू) कक्षमा शुक्रबार राति साढे दुई घण्टा विद्युत आपूर्ति अवरुद्ध हुँदा पनि कुनै बिरामीको ज्यान गएन। चिकित्सक र नर्सिङ स्टाफले मोबाइलको 'लाइट' बालेर बिरामीको ज्यान जोगाउन सफल भए।
शुक्रबार राति १०:३० बजेदेखि शनिबार बिहान १:०० बजेसम्म विद्युत आपूर्ति विच्छेद भएको थियो। यस अवधिमा १७ जना बिरामी आईसीयू र सीसीयू शय्यामा उपचाररत थिए। अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा यो समस्या आएको बताइएको छ।
यो घटनालाई जिल्ला प्रशासन कार्यालय पर्साले गम्भीरतापूर्वक लिएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन प्रमुख, चिकित्सक, नर्सिङ स्टाफ र इलेक्ट्रेसियनलगायतसँग संयुक्त बैठक गरे।
प्रजिअ अर्यालले भने, "अस्पतालको आइसीयू र सिसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो। तपाईंहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो? हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु। जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन।"
प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनलाई इलेक्ट्रेसियनलगायतका कर्मचारीलाई २४सैँ घण्टा ड्युटीमा खटाउन अनुरोध गर्दै, ड्युटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हाल्नुपर्नेमा जोड दिए।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले शुक्रबार राति भएको घटनालाई गम्भीर प्रकृतिको स्वीकार गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहले भने, आईसीयू र सीसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङका कारण यो समस्या आएको दाबी गरे। उनले विद्युत नआएसम्म आईसीयू मा रहेका दुई सिकिस्त बिरामीलाई अर्को अस्पतालमा पठाउने तयारी भइरहेको जानकारी दिएका थिए।