काठमाडौँ । राष्ट्रिय सभाको बैठक बसिरहेको छ। बैठकमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधि सभाबाट प्राप्त जलस्रोत विधेयक, २०८१ सम्बन्धी सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।
त्यसलगत्तै उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
सोही विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा समावेश छ। प्रतिनिधि सभा अवरुद्ध भए पनि राष्ट्रिय सभा निरन्तर चलिरहेको छ ।
बैठकको आकस्मिक समयमै सांसद सुरेशकुमार आले मगरले आफूहरुले भिजिट भिसा प्रकरण छाडे पनि उक्त प्रकरणले आफूहरुलाई नछाडेको भन्दै यसको उच्चस्तरीय छानबिन गर्न माग गरेका छन् ।
उनले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न खडा नभए पनि अध्यागमनका कर्मचारीमाथि शंका रहेको भन्दै यसलाई छानबिन नगरी नहुने बताएका छन् । उनले गृहमन्त्रीले मार्ग प्रशस्त गर्न पनि माग गरेका छन् ।