arrow

इजरेली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति पुग्ला क्षति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १ आइतबार
missile-iran-israel.jpg

काठमाडौँ । इरानले आणविक अस्त्र विकास गर्न खोजिरहेको आशङ्काका बीच इजरायलले इरानमाथि गरेको आक्रमणले इरानको आणविक केन्द्रहरूलाई निशाना बनाएको छ। विज्ञहरूका अनुसार यी आक्रमणहरूले इरानको आणविक कार्यक्रमलाई केही क्षति पुर्‍याएको हुन सक्छ, तर इजरायलले घातक प्रहार गर्ने सम्भावना कम छ।

संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) ले इरानी अधिकारीहरूबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै भनेको छ कि इजरायलले नटान्ज र फोर्डोमा इरानको भूमिगत युरेनियम संवद्र्धन स्थल र इस्फाहानमा युरेनियम रूपान्तरण केन्द्रमा आक्रमण गरेको छ।

आइएइएले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै शुक्रवार इरानको नातान्ज आणविक स्थलको जमिनभन्दा माथिको एक महत्त्वपूर्ण भाग नष्ट भएको जनाएको छ। आणविक प्रसारमा विशेषज्ञता हासिल गर्ने अमेरिकास्थित संस्था इन्स्टिट्युट फर साइन्स एन्ड इन्टरनेसनल सेक्युरिटी (आइएसआइएस) ले भूउपग्रहीय तस्वीरको विश्लेषणमा उक्त स्थलको विद्युत् आपूर्तिमा ‘व्यापक’ क्षति पुगेको उल्लेख गरेको छ। भूमिगत संरचनामा विद्युत् आपूर्ति हुन नसकेमा युरेनियम संवद्र्धनका लागि प्रयोग गरिने सेन्ट्रिफ्युज मेसिनमा ठूलो क्षति पुग्न सक्ने आइएसआइएस इन्स्टिट्युटले जनाएको छ। यदि जगेडा विद्युत्को स्रोत पनि गुम्यो भने युरेनियम संवद्र्धन प्लान्ट तत्कालका लागि काम नलाग्ने अवस्थामा पुग्नेछ।

तेहरानको दक्षिणमा रहेको फोर्डोमा भएको क्षति भने सामान्य रहेको इरानले जनाएको छ। विज्ञहरूका अनुसार इस्फाहानस्थित युरेनियम संवद्र्धन केन्द्र वरपर भण्डारण गरिएको युरेनियमको भण्डारमा आक्रमणले कस्तो प्रभाव पारेको हुन सक्छ भन्ने जानकारी लिन अहिले नै असम्भव छ।

इन्टरनेसनल क्राइसिस ग्रुपका इरान परियोजना निर्देशक अली भाएजले एएफपीसँग भने, "यदि इरानले ‘गोप्य केन्द्रहरू’ मा युरेनियम ठूलो मात्रामा स्थानान्तरण गर्न सफल भयो भने ‘इजरायलको आक्रमण बेकार हुनेछ’।"

भाएजका अनुसार, इजरायलसँग 'नाटान्ज र फोर्डोमा भण्डारण सुविधाहरू नष्ट गर्न' आवश्यक विशाल शक्तिशाली बमहरू छैनन्। इजरायलले इरानको आणविक कार्यक्रमलाई क्षति पुर्‍याउन सक्छ तर यसले कार्यक्रमलाई पूर्ण रूपमा नष्ट गर्न सक्ने सम्भावना छैन।

हतियार नियन्त्रण सङ्गठनका विशेषज्ञ केल्सी डेभेनपोर्टका अनुसार, ती केन्द्र नष्ट गर्न अमेरिकी सैन्य सहयोग आवश्यक पर्छ। उनले आक्रमणबाट नौ जना इरानी आणविक वैज्ञानिकको हत्या भए पनि इजरायलको अभूतपूर्व आक्रमणले इरानले आणविक हतियारमा निर्माण गरेको विशेषज्ञतालाई मेटाउन नसक्ने बताएकी छन्।

आइएइएले प्रभावित क्षेत्रमा विकिरणको स्तर नबढेको बताएको छ। डेभनपोर्टले इरानको युरेनियम संवद्र्धन केन्द्रमा आक्रमण गर्दा हानिकारक विकिरण निस्किने सम्भावना निकै कम रहेको बताएकी छन्। तर, इरानको एक मात्र आणविक ऊर्जा केन्द्र बुशहरमा भएको आक्रमणले स्वास्थ्य र वातावरणमा गम्भीर असर पार्न सक्ने उनले चेतावनी दिएकी छन्।

इजरायलले आक्रमण सुरु गरेपछि आइएइएका प्रमुख राफेल ग्रोसीले आणविक केन्द्रहरूमा ‘कहिल्यै आक्रमण गर्न नहुने’ र इरानी स्थलहरूलाई लक्षित गर्दा ‘इरान, यस क्षेत्र र त्यसभन्दा बाहिरका मानिसहरूका लागि गम्भीर परिणाम’ निम्त्याउनसक्ने बताएका थिए।

संयुक्त राज्य अमेरिकाले सन् २०१८ मा तेहरानको आणविक गतिविधिलाई नियन्त्रण गर्ने ऐतिहासिक सम्झौताबाट एकतर्फी रूपमा पछि हटेपछि विशेष गरी युरेनियम संवद्र्धनमा इरान बिस्तारै पछि हटेको छ।

मे महिनाको मध्यसम्ममा देशमा ४०८.६ किलोग्राम युरेनियम रहेको अनुमान गरिएको छ, जुन आणविक हतियारका लागि आवश्यक ९० प्रतिशतभन्दा बढी तयारी हो। भियनास्थित आइएइएको परिभाषाअनुसार, इरानसँग सैद्धान्तिक रूपमा करिब १० वटा आणविक बमका लागि पर्याप्त आवश्यक सामग्री छ। संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी संस्थाका अनुसार युरेनियम उत्पादन गर्ने इरान एक मात्र गैरआणविक शक्ति सम्पन्न राष्ट्र हो।

आइएइएले संयुक्त राष्ट्रसङ्घको निकायसँग इरानको सहयोगको अभावको आलोचना गर्दै आएको छ, तर यसले भनेको छ कि ‘जारी आणविक कार्यक्रमको अघोषित संरचना बनाइएको कुनै विश्वसनीय सङ्केत छैन’। तेहरानले आणविक हतियार विकास गर्ने महत्वाकाङ्क्षालाई निरन्तर अस्वीकार गर्दै आएको छ।

डेभनपोर्टले यो आक्रमण इरानमा आणविक हतियारको वकालत गर्ने समूहलाई बलियो बनाउन सक्ने कारण हुनसक्ने चेतावनी दिएकी छन्। उनले भनेकी छन्, "इजरायलको आक्रमणले इरानलाई प्राविधिक रूपमा पछाडि धकेलेको छ, तर राजनीतिक रूपमा आक्रमणले इरानलाई आणविक हतियारको नजिक धकेलिरहेको छ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ